सोमबार, ०४ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

शाहीको प्रश्न – २१ भित्र पुनः अद्यावधिक नगरे डा. शेखर कोइराला, पूर्णबहादुर खड्कालगायतका नेताहरूको सदस्यता खारेज हुन्छ ?

आइतबार, १७ जेठ २०८३, १० : ४०
आइतबार, १७ जेठ २०८३

सारांश

  • नेपाली कांग्रेसका नेता भूपेन्द्र शाहीले पार्टीको क्रियाशील सदस्यता पुनः अद्यावधिक गर्ने नेतृत्वको निर्णयप्रति आपत्ति जनाउँदै विद्रोहको चेतावनी दिएका छन् ।
  • शाहीले पार्टी नेतृत्वलाई ५ बुँदे प्रश्न सोध्दै जेठ २१ भित्र पुनः अद्यावधिक नगरे डा. शेखर कोइराला, पूर्णबहादुर खड्कालगायतका नेताहरूको सदस्यता खारेज गर्न खोजिएको हो भनी प्रश्न गरेका छन् ।
  • कांग्रेसले जेठ २१ गतेभित्र क्रियाशील सदस्यहरूलाई डिजिटल माध्यमबाट अनिवार्य अद्यावधिक गर्न सर्कुलर जारी गरेपछि पार्टीभित्र यसको पक्ष र विपक्षमा बहस सुरु भएको छ ।

काठमाडौँ । नेपाली कांग्रेसका नेता भूपेन्द्र शाहीले पार्टीको क्रियाशील सदस्यता पुनः अद्यावधिक  गर्ने नेतृत्वको निर्णयप्रति आपत्ति जनाउँदै विद्रोहको चेतावनी दिएका छन् । शाहीले विज्ञप्ति जारी गर्दै पहिला नै नवीकरण भइसकेको सदस्यतालाई फेरि अद्यावधिक गर्न दबाब दिनु न्यायसंगत नभएको भन्दै नेतृत्वको नियतमाथि प्रश्न उठाएका छन् । 

‘पार्टी कसैको पेवा र बपौती होइन। कसैको धम्की, लहड र मनपरीतन्त्रबाट पार्टी चल्दैन। हामी कसैको दास र लास होइनौँ।’ शाहीले बदलिएको कांग्रेसले गर्न खोजेको के हो भन्दै नेतृत्वलाई ५ बुँदे प्रश्न समेत गरेका छन् । 

शाहीले जेठ २१ भित्र पुनः अद्यावधिक नगरे डा. शेखर कोइराला, पूर्णबहादुर खड्कालगायतका नेताहरूको सदस्यता खारेज गर्न खोजिएको हो ? भन्दै प्रश्न गरेका छन् । अद्यावधिकको नाममा सबैलाई बाहिर राखेर विशेष महाधिवेशन जस्तै पार्टी एकलौटी कब्जा गर्न खोजिएको हो भन्ने अर्को प्रश्न शाहीले गरेका छन् । 

पहिला नै नवीकरण गरिसकेकाहरूलाई पनि विभिन्न बहानामा सदस्यता रद्द गरेर पार्टी विभाजन गर्ने षड्यन्त्र गरिएको भन्दै शाहीले जेठ २१ पछि पुराना सदस्यहरू सदस्यताविहीन भएर स्वतन्त्र नागरिकको हैसियतमा रहनुपर्ने अवस्था निर्माण गर्न लागिएको हो भन्ने प्रश्न समेत गरेका छन् । 

सदस्यता खारेज गरिएमा यसअघि बुझाइएको नवीकरण शुल्क पार्टीले फिर्ता गर्छ कि आफैँ पचाउँछ भन्दै नवीकरण गरिसकेका सदस्यहरूलाई पुनः अद्यावधिकको नाममा दुःख दिनु गलत भएको बताएका छन् । 

कांग्रेसले आगामी जेठ २१ गतेभित्र देशभरका क्रियाशील सदस्यहरूलाई डिजिटल माध्यमबाट अनिवार्य अद्यावधिक गर्न सर्कुलर जारी गरेपछि पार्टीभित्र यसको पक्ष र विपक्षमा बहस सुरु भएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप