सुदूरपश्चिम सरकारद्वारा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठ)
सारांश
- सुदूरपश्चिम सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि पूर्वाधार विकास, पर्यटन प्रवर्धन, स्वास्थ्य सेवा विस्तार, शिक्षा सुधार र गरिबी न्यूनीकरणलाई प्राथमिकतामा राखी नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
- सरकारले सडक सञ्जाल नजोडिएका दुर्गम गाउँपालिकालाई सडक सञ्जालमा जोड्ने, २५ लाखभन्दा कम लागतका आयोजनामा बजेट नदिने र स्वास्थ्य क्षेत्रमा १०० शय्या क्षमता विस्तार तथा डायलाइसिस सेवा विस्तार गर्ने योजना अघि सारेको छ ।
- शिक्षातर्फ नमुना विद्यालय विकास, छात्रवृत्ति कार्यक्रम निरन्तरता, युवा स्वरोजगारका लागि स्टार्टअप तथा लघु उद्यम कार्यक्रम, पर्यटन प्रवर्धनका लागि पदमार्ग निर्माण र गरिबी न्यूनीकरणका कार्यक्रम सञ्चालन गरिनेछ ।
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि आफ्नो वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सोमबार प्रदेश सभाको बैठकमा प्रदेश प्रमुख नजिर मियाँले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरे।
सरकारले आगामी वर्षका लागि पूर्वाधार विकास, पर्यटन प्रवर्द्धन, स्वास्थ्य सेवा विस्तार, शिक्षा सुधार र गरिबी न्यूनीकरणलाई मुख्य प्राथमिकतामा राखेको छ ।
सरकारले प्रदेश गौरवका आयोजनाहरूलाई आगामी आर्थिक वर्षभित्रै सम्पन्न गर्ने लक्ष्य राखेको छ। सडक यातायात गुरुयोजना अन्तर्गत प्रदेश लोकमार्ग र सहायक मार्गहरूको स्तरोन्नति गरिने जनाइएको छ ।
विशेष गरी हालसम्म सडक सञ्जालले नछोएका बझाङको साइपाल, दार्चुलाको अपि हिमाल र बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको केन्द्रलाई प्रादेशिक सडक सञ्जालमा जोडिने घोषणा गरिएको छ ।
यस्तै, २५ लाख रुपैयाँभन्दा कम लागतका आयोजनामा प्रदेशले बजेट विनियोजन नगर्ने र साना योजना स्थानीय तहमार्फत कार्यान्वयन गर्ने नीति लिइएको छ ।
स्वास्थ्य क्षेत्रलाई सुदृढ बनाउन ‘मुख्यमन्त्री स्वास्थ्य क्षेत्र सुधार कार्यक्रम’ घोषणा गरिएको छ। जसअन्तर्गत सेती प्रादेशिक अस्पताल, महाकाली प्रादेशिक अस्पताल र टीकापुर अस्पताललाई १०० शय्याको क्षमतामा विस्तार गरिनेछ।
पहाडी ६ जिल्लाका जिल्ला अस्पतालहरूलाई बिरामीको चाप अनुसार न्यूनतम २५ देखि ५० शय्यामा विस्तार गरिने नीति लिइएको छ । साथै, मिर्गौलाका बिरामीका लागि डायलाइसिस सेवा विस्तार र सेती प्रादेशिक अस्पतालमा ‘क्याथल्याब’ स्थापना गरिने कार्यक्रममा उल्लेख छ ।
शिक्षा क्षेत्रमा सुधार ल्याउन प्रत्येक निर्वाचन क्षेत्रका एक–एक वटा माध्यमिक विद्यालयलाई प्रदेश नमुना विद्यालयका रूपमा विकास गरिने भएको छ। विपन्न र जेहेन्दार विद्यार्थीका लागि ‘मुख्यमन्त्री शैक्षिक प्रोत्साहन छात्रवृत्ति’ र बादी समुदायका लागि ‘बादी उत्थान छात्रवृत्ति’ कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
युवा स्वरोजगारका लागि ‘प्रदेश प्रमुख स्टार्टअप कार्यक्रम’ र ‘मुख्यमन्त्री लघु उद्यम कार्यक्रम’ मार्फत सीप विकास र सहुलियतपूर्ण कर्जाको व्यवस्था गरिनेछ। ‘एक स्थानीय तह, एक लघु औद्योगिक ग्राम’ कार्यक्रमलाई पनि विस्तार गरिनेछ ।
समृद्ध प्रदेशको आधार’ नाराका साथ खप्तड, बडिमालिका, रामारोशन र अपि–सैपाल क्षेत्रमा पदमार्ग निर्माण गरिनेछ। आगामी वर्षभित्रै खप्तड र बडिमालिका क्षेत्रमा विद्युत् सेवा पुर्याउन नेपाल विद्युत् प्राधिकरणसँग समन्वय गरिने नीति लिइएको छ। खानीडाँडा, चिसापानी, राजकाँडा र मलास क्षेत्रलाई हिलस्टेसनका रूपमा विकास गरिनेछ ।
उच्च गरिबीको दर रहेका अछामको ढकारी र कमलबजार, डोटीको शिखर, बाजुराको त्रिवेणी तथा बैतडीको सिगास र शिवनाथ गाउँपालिकामा सघन रूपमा गरिबी न्यूनीकरण कार्यक्रम सञ्चालन गरिनेछ। मुक्त हलिया, कमैया र कमलरीहरूको पुनःस्थापनाका लागि पनि विशेष प्याकेज ल्याइने कार्यक्रममा उल्लेख छ ।
‘एक पालिका, दुई उत्पादन’ कार्यक्रमलाई परिमार्जन गरी प्रभावकारी बनाइने र कृषिलाई आधुनिकीकरण गरिने सरकारको लक्ष्य छ । बाजुरा, बझाङ र दार्चुलामा ‘भेडा–बाख्रा पालन कार्यक्रम’ सञ्चालन गरी ऊन र गलैँचा उद्योगलाई प्राथमिकता दिइनेछ ।
प्रदेश प्रमुख मियाँले प्रस्तुत गरेको यो नीति तथा कार्यक्रमले सुदूरपश्चिमको आर्थिक र सामाजिक रूपान्तरणमा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास सरकारले लिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यायालयबारे निर्ममतापूर्वक समीक्षा गर्ने बेला भइसक्यो : रास्वपा सांसद न्यौपाने
-
देशभर अति भारी वर्षाको सम्भावना, २३ जिल्लामा रात्रिकालीन सवारी साधन चलाउन रोक
-
धनुषामा खैरो हेरोइन र गोलीसहित एक युवक पक्राउ
-
रूसमा भएको युक्रेनी आक्रमणमा ७ जनाको मृत्यु, २४ घाइते
-
पाल्पा, अर्घाखाँची र रुपन्देहीका तटीय क्षेत्रमा सतर्क रहन आग्रह
-
नागरिक अगुवा डा. देवेन्द्रराज पाण्डेको निधनमा आङदेम्बेद्वारा दुःख व्यक्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण