मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

रोल नं १ को विशेष शोमा कसले के भने ?

मङ्गलबार, १९ जेठ २०८३, १६ : ०३
मङ्गलबार, १९ जेठ २०८३

सारांश

  • चलचित्र 'रोल नं १' को राजधानीमा विशेष प्रदर्शनी आयोजना गरियो, जसमा कलाकार, पत्रकार र राजनीतिज्ञहरूको सहभागिता थियो ।
  • विशेष प्रदर्शनीमा सहभागीहरूले चलचित्रको विषयवस्तु र प्रस्तुतिको प्रशंसा गर्दै विद्यार्थी र अभिभावक सबैले हेर्नुपर्ने फिल्म बनेको धारणा राखे ।
  • चलचित्रले किताबी ज्ञानभन्दा सीप र रुचि चिन्नु नै वास्तविक शिक्षा भएको सन्देश दिएको छ ।

काठमाडौँ । गत शुक्रबारदेखि देशभर प्रदर्शनमा आएको चलचित्र ‘रोल नं १’ को राजधानीमा विशेष प्रदर्शनी (स्पेसल स्क्रिनिङ) आयोजना गरिएको थियो ।

निर्माण टिमले सोमबार साँझ दरबारमार्गस्थित जय नेपाल हलमा आयोजना गरेको चलचित्रको विशेष प्रदर्शनीमा निर्देशक तुलसी घिमिरे, कलाकारहरू जितु नेपाल, कमलमणि नेपाल, मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’, अभिनेत्रीहरू अञ्जना बराइली, नीता ढुंगाना, सञ्चिता लुइँटेल, गरिमा शर्मा, पञ्चमी घिमिरे, लुनिभा तुलाधर, सरिता गिरी, हास्यव्यङ्ग्य रियालिटी शो ‘कमेडी च्याम्पियन’का निर्देशक विशाल भण्डारी, हास्यकलाकार भरतमणि पौडेल, मेक्सम गौडेल, अभिनेता हरिहर अधिकारी, पूर्वमन्त्री तथा राष्ट्रिय सभा सांसद सुनिलबहादुर थापा, एन–प्याब्सनका महासचिव आरबी कटुवाल लगायत थुप्रै कलाकार, पत्रकार र राजनीतिज्ञहरूको सहभागिता थियो ।

विशेष प्रदर्शनीमा सहभागीहरूले चलचित्रको विषयवस्तु र प्रस्तुतिको प्रशंसा गर्दै ‘रोल नं १’ विद्यार्थी र अभिभावक सबैले हेर्नुपर्ने फिल्म बनेको धारणा राखे ।

चलचित्र हेरेपछि हास्यकलाकार जितु नेपालले चलचित्रको संवाद र सन्देश राम्रो रहेको बताए । ‘हामीले जहिले पनि बच्चालाई कक्षाकोठाको नम्बरमा मात्र सीमित गर्यौँ । तर यो चलचित्रले प्रस्ट पारेको छ कि कोठाभित्रको नम्बरले मात्र जीवनको नम्बर निर्धारण गर्दैन । शिक्षालाई सीपसँग जोड्नुपर्ने आजको आवश्यकतालाई फिल्मले निकै सान्दर्भिक रूपमा उठाएको छ,’ जितुले भने ।

त्यस्तै, अर्का कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’ले चलचित्रलाई एउटा ‘किताब’को संज्ञा दिए । उनले भने, ‘यो चलचित्रभन्दा पनि पढ्नुपर्ने एउटा किताब जस्तो लाग्यो । विशेषगरी दुर्गम क्षेत्रको शिक्षा र एउटा बुबाले छोराको भविष्यका लागि गर्ने सङ्घर्षले मेरो मन छोयो ।’

कलाकार लुनिभा तुलाधरले ‘रोल नं १’ हरेक अभिभावकले हेर्नुपर्ने चलचित्र भएको बताइन् ।

अभिनेत्री सञ्चिता लुइँटेलले चलचित्रको लेखन र प्रस्तुतिलाई ‘मर्मस्पर्शी’ भन्दै यसले किताबी ज्ञानभन्दा सीप ठूलो हो भन्ने सन्देश प्रभावकारी ढङ्गले दिएको बताइन् । अभिनेत्री नीता ढुंगानाले फिल्म हेर्दा आफू निकै भावुक भएको र यसले बालबालिकामाथि थोपरिने पढाइको दबाबलाई वास्तविक रूपमा चित्रण गरेको प्रतिक्रिया दिइन् ।

‘फिल्मको विषयवस्तु निकै बलियो छ । बालबालिकाको मनोविज्ञान र उनीहरूमाथि थोपरिने पढाइको दबाबलाई फिल्मले राम्रोसँग देखाएको छ । फिल्म हेर्दा निकै इमोसनल भइने रहेछ,’ अभिनेत्री नीताले भनिन् ।
विशेष प्रदर्शनीमा सहभागी अधिकांशले किताबी ज्ञानले मात्र जीवन नचल्ने, बरु सीप र रुचि चिन्नु नै वास्तविक शिक्षा भएको र चलचित्रले त्यही देखाएको बताए ।

जोन योञ्जनको निर्देशन रहेको चलचित्रमा मुकुन भुसाल, सुशांक मैनाली, रेणुनाथ योगी, एवनराज उप्रेती, सिर्जना अधिकारीको अभिनय छ । विनोद पौडेल र जान्वी पौडेल चलचित्रका निर्माता हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप