शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय
नेपाल भारत सहकार्य

८८ वर्षपछि नेपालमा कफीको उन्नत बीउ

मङ्गलबार, १९ जेठ २०८३, १९ : ००
मङ्गलबार, १९ जेठ २०८३

सारांश

  • ८८ वर्षपछि नेपालमा कफीको उन्नत बीउ भित्रिएको छ, जसले नेपाली कफी क्षेत्रलाई परम्परागत घेराबाट बाहिर निकाल्ने अपेक्षा गरिएको छ ।
  • भारत सरकारको प्राविधिक सहयोगमा नेपालले अरेबिका कफीका चार नयाँ जातका बीउहरू प्राप्त गरेको छ, जसमा एस.७९५, सेलेक्सन.९, काभेरी क्याटिमोर र चन्द्रागिरि रहेका छन् ।
  • यी नयाँ जातहरूमा उत्कृष्ट स्वाद, खडेरी सहन सक्ने क्षमता, रोग प्रतिरोधात्मक शक्ति र उच्च उत्पादन जस्ता विशेषताहरू रहेका छन्, जसले नेपाली कफीको उत्पादकत्व र गुणस्तरमा सुधार ल्याउने विश्वास गरिएको छ ।

काठमाडौँ । नेपाली कफी क्षेत्रलाई परम्परागत घेराबाट बाहिर निकाल्न पहिलो पटक कफीको बीउ भित्रिएको छ ।  

झन्डै ९ दशकअघि वि.सं. १९९५ मा गुल्मीको आँपचौरबाट सुरु भएको कफी खेतीले यतिका वर्षसम्म एउटै मात्र जातको ‘अरेबिका’ कफीमा भर पर्नुपर्ने बाध्यता झेल्दै आएको थियो । तर भारत सरकारको प्राविधिक सहयोग र नेपाल सरकारको निरन्तर पहलपछि अब नेपाली कफी क्षेत्रमा नयाँ बीउ आएको हो । 

भारतले  नेपाललाई उन्नत जातको कफी बीउ (जर्मप्लाज्म)  उपलब्ध गराएको हो ।  सन् २०१८ अगस्ट १६–१७ मा सम्पन्न सातौँ संयुक्त कृषि कार्य समूहको बैठकले दुई देशबिच कृषि क्षेत्रमा व्यापक रणनीतिक साझेदारीको खाका कोरेको थियो ।  

सोही बैठकमा भएको ऐतिहासिक सम्झौताअनुसार धान, मकै, कोदो, गहुँ, तरकारी, फलफूल, उखु र चियाजस्ता बालीका साथै पशुपालनतर्फ मुर्रा जातका राँगा, होल्स्टिन फ्रिजियन र जर्सी गाईको जर्मप्लाज्म आदानप्रदान गर्ने सहमति भएको थियो । यही बृहत्तर सम्झौताको  एउटा विषय कफीको बीउ उपलब्ध गराउने विषय समावेश थियो । 

तत्कालीन समयमा भएको उक्त सहमतिलाई कार्यरूप दिन दुवै देशका प्राविधिक निकायहरूले लामो समयदेखि गृहकार्य गरिरहेका थिए । जसको परिणाम स्वरूप नेपालले कफीको उन्नत बीउ प्राप्त गर्न सफल भएको छ ।

  • अरेबिका कफीका चार नयाँ जात र तिनको महत्त्व

भारतको केन्द्रीय कफी अनुसन्धान संस्थान (सीसीआरआई) ले विकास गरेका र भारतमा अत्यधिक सफल मानिएका चारवटा उन्नत जातका अरेबिका कफीका बीउहरू नेपाल भित्रिएका छन् । जसमा एस.७९५, सेलेक्सन.९, काभेरी क्याटिमोर र चन्द्रागिरि रहेका चिया तथा कफी विकास बोर्डका प्रवक्ता डा. दीपक खनालले जानकारी दिए  । 

खनालका अनुसार प्राप्त ८ केजी बीउमध्ये प्रत्येक जातका २–२ केजी बीउ रहेका छन् । ‘सङ्ख्यामा थोरै देखिए पनि अनुसन्धान र विस्तारका लागि पर्याप्त छ,’ उनी भन्छन् ।  

यी जातहरूमध्ये एस.७९५ लाई यसको उत्कृष्ट स्वाद र गुणस्तरका लागि चिनिन्छ भने  सेलेक्सन.९ खडेरी सहन सक्ने क्षमताका लागि प्रसिद्ध छ । त्यस्तै, ‘काभेरी’ जातले कफीमा लाग्ने घातक रोग ‘लिफ रस्ट’ विरुद्ध लड्न सक्ने क्षमता राख्दछ र चन्द्रागिरि जातले उच्च उत्पादनका साथै ठुला दाना दिने विशेषता बोकेको छ । यी विविध विशेषता भएका बीउहरूको आगमनले नेपाली कफीको पारिस्थितिकीय प्रणालीमा विविधता ल्याउने निश्चित रहेको बोर्ड जनाएको छ ।

  • ८८ वर्षसम्म एउटै प्रजातिमा निर्भर

नेपालमा कफी खेतीको सुरुवात हीरा गिरीले बर्माबाट बीउ ल्याएर गरेदेखि अहिलेसम्म एउटै पुरानो जातमा चित्त बुझाउँदै आएको थियो ।  बोर्डका प्रवक्ता डा. दीपक खनालका अनुसार, एउटै जातमा मात्रै लामो समयसम्म निर्भर रहँदा कफीमा नयाँपन आउन सकेको थिएन र रोगव्याधिको जोखिम पनि उत्तिकै थियो । 

कुनै पनि बालीमा लामो समयसम्म एउटै आनुवंशिक गुण भएको जात लगाउँदा त्यसको उत्पादकत्व बिस्तारै घट्दै जान्छ र नयाँ रोगहरूले सजिलै आक्रमण गर्न सक्छन् । नेपालमा हालसम्म लगाइँदै आएको कफीले अन्तर्राष्ट्रिय बजारमा ‘हिमालयन स्पेसियालिटी कफी’ को पहिचान त बनाएको छ, तर मात्रात्मक रूपमा निकै पछाडि छ ।  

नेपाली कफीको उत्पादकत्व वृद्धि गर्ने उद्देश्यका साथ राष्ट्रिय चिया तथा कफी विकास बोर्डले भारतसँग कफीको बीउ माग गर्न विशेष पहल गरेको थियो । बोर्डले नेपालको माटो र हावापानी सुहाउँदो उच्च उत्पादन दिने कफीको खोजी गर्ने क्रममा भारतको कफी बोर्डसँग सिधै सम्पर्क स्थापित गरेको थियो । 

‘बोर्डको सक्रियताले गर्दा नै जी–टु–जी (सरकार–देखि–सरकार) स्तरमा भएको सम्झौतालाई व्यवहारमा उतार्न सहज भएको हो । बोर्डले केवल बीउ ल्याउने मात्र नभई यसको परीक्षण र विस्तारका लागि विस्तृत योजना समेत तयार पारेको छ,’ प्रवक्ता डा. खनाल भन्छन् ।  

उनले थपे, ‘अन्तर्राष्ट्रिय अभ्यास र प्रविधिको ज्ञान भए पनि बीउको अभावमा रोकिएका अनुसन्धानका कार्यहरू अब द्रुत गतिमा अघि बढ्नेछन् ।’ 

  • नार्क र बोर्डको संयुक्त अनुसन्धान योजना

भारतबाट प्राप्त भएका यी बहुमूल्य बीउहरूलाई सिधै किसानको खेतबारीमा लैजानुअघि नेपालको हावापानीमा तिनको अनुकूलता परीक्षण गरिनेछ । यसका लागि राष्ट्रिय चिया तथा कफी विकास बोर्डले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) सँग प्राविधिक सहकार्य गरेको छ । 

प्राप्त ८ केजी बीउमध्ये ५ केजीभन्दा बढी बीउ नार्कलाई हस्तान्तरण गरिसकेको छ ।  जसलाई नार्कले आफ्ना विभिन्न तीनवटा जलवायु क्षेत्रमा रहेका अनुसन्धान फार्महरूमा रोप्नेछ । बाँकी बीउ बोर्डको आफ्नै क्षेत्रीय कार्यालय पोखरास्थित मालेपाटनमा रहेको परीक्षण केन्द्रमा लगाइनेछ । 

यसरी फरक–फरक उचाइ र वातावरणमा गरिने परीक्षणबाट कुन जात कुन क्षेत्रका लागि सबैभन्दा उपयुक्त हुन्छ भन्ने प्राविधिक निचोड निकालिनेछ । ‘यो परीक्षणको प्रक्रियाले आगामी केही वर्षभित्रै नेपाली किसानलाई कुन ठाउँमा कुन कफी लगाउँदा बढी फाइदा हुन्छ भन्ने आधिकारिक जानकारी उपलब्ध गराउनेछ । त्यसपछि मात्रै व्यावसायिक खेती हुनेछ,’ उनी भन्छन् ।

नेपालमा कफीको माग आन्तरिक र बाह्य दुवै बजारमा उच्च छ, तर हामीले मागअनुसारको आपूर्ति गर्न सकेका छैनौँ । हालको तथ्याङ्क हेर्ने हो भने नेपालमा कफीको उत्पादकत्व निकै न्यून रहेको छ । नयाँ भित्रिएका जातहरू विशेष गरी उच्च उत्पादक क्षमताका लागि विकास गरिएका हुनाले यिनले नेपालको कुल कफी उत्पादनमा आमूल परिवर्तन ल्याउने अपेक्षा गरिएको छ । 

यदि यी नयाँ जातहरू नेपालको हावापानीमा सफल भएमा किसानले अहिलेको तुलनामा दोब्बर वा सोभन्दा बढी उत्पादन लिन सक्नेछन् । उत्पादन बढेसँगै किसानको आम्दानीमा वृद्धि हुनेछ र ग्रामीण क्षेत्रमा स्वरोजगारका अवसरहरू सिर्जना हुनेछन् । यसले नेपालको वैदेशिक व्यापार घाटा कम गर्न र कफी निर्यातबाट विदेशी मुद्रा आर्जन गर्नमा समेत ठोस योगदान पुर्‍याउने विश्वास गरिएको छ ।

Man-in-Nepal-sorts-coffee-cherries

  • रोग प्रतिरोधात्मक क्षमता र जलवायु अनुकूलन

जलवायु परिवर्तनको प्रत्यक्ष असर कृषि क्षेत्रमा परिरहेको वर्तमान अवस्थामा कफी खेती पनि त्यसबाट अछुतो छैन । बढ्दो तापक्रम र अनपेक्षित वर्षाका कारण कफीमा नयाँ–नयाँ रोग र किराहरूको प्रकोप देखिन थालेको छ । 

नेपालको पुरानो जातको कफीमा रोग प्रतिरोधात्मक क्षमता कम हुँदै गएको गुनासो किसानहरूले गर्दै आएका थिए । भारतबाट ल्याइएका ‘काभेरी’ र ‘चन्द्रागिरि’ जस्ता जातहरू विशेष गरी रोगसँग लड्न सक्ने क्षमताका लागि परिचित छन् । यी जातहरूको परीक्षण सफल भएमा नेपाली कफी खेतीमा लाग्ने सिन्दुरे जस्ता रोगहरूको जोखिम कम हुने बोर्डका एक प्राविधिक बताउँछन्  ।

‘जलवायु परिवर्तनको सामना गर्न सक्ने र प्रतिकूल मौसममा पनि स्थिर उत्पादन दिन सक्ने जातहरूको खोजी गर्ने बेलामा नै जर्मप्लाज्म आएको छ । यसले धेरै फाइदा हुन सक्छ,’ उनले भने ।

  • नेपाल–भारत सम्बन्धमा कृषि कूटनीति

भारतले नेपाललाई कफीको जर्मप्लाज्म  अहिले गराए पनि  कृषि कूटनीतिमा भने नयाँ भने होइन ।  यस अघि नेपाललाई भारतले मुर्रा भैँसी पनि दिइसकेको छ । कृषि मन्त्रालय अन्तर्गतका प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका कर्मचारी भारतले नेपालमा गुणस्तरको बीउ दिनुलाई सम्मानको काम बताउँछन् ।   

‘भारतको केन्द्रीय कफी अनुसन्धान संस्थानजस्तो प्रतिष्ठित संस्थाले आफ्नो अनुसन्धानको प्रतिफल नेपालसँग साझा गर्नुले छिमेकी राष्ट्रप्रतिको सद्भाव र सहयोगलाई देखाउँछ,’ उनले भने  । 

Nepali-woman-harvests-coffee-cherries

  • एक दशकमा कफी बढ्यो तर गति सुस्त 

नेपालमा विगत एक दशकको अवधिमा कफी खेतीको व्यावसायिक विस्तारमा सुस्त भने पनि प्रगति भएको देखिएको छ । चिया तथा कफी विकास बोर्डका तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७०/७१ देखि २०८१/८२ सम्मको तथ्याङ्कलाई विश्लेषण गर्दा कफी खेती गरिने क्षेत्रफलमा वृद्धि भएको छ । 

आर्थिक वर्ष २०७०/७१ मा देशभर १ हजार ९ सय ११ हेक्टर क्षेत्रफलमा सीमित रहेको कफी खेती हाल विस्तार भएर ५ हजार ५ सय १ दशमलव १ हेक्टर पुगेको छ । विशेष गरी पछिल्लो एक वर्षमा मात्रै क्षेत्रफलमा करिब १ हजार २ सय हेक्टरको वृद्धि भएको छ ।

क्षेत्रफलसँगै कफीको उत्पादनमा पनि क्रमिक वृद्धि देखिएको छ यद्यपि यो विस्तारको अनुपातमा भने केही सुस्त छ । सुरुवाती वर्ष २०७०/७१ मा ४ सय २९ दशमलव ४ मेट्रिक टन उत्पादन भएकोमा पछिल्लो आर्थिक वर्ष २०८१/८२ मा यो परिमाण बढेर ६ सय ४१ दशमलव ९ मेट्रिक टन पुगेको छ । 

उत्पादनको यस १२ वर्षको यात्रामा आर्थिक वर्ष २०७६/७७ भने निकै चुनौतीपूर्ण देखिएको थियो ।  जसमा क्षेत्रफल र उत्पादन दुवैमा ठुलो गिरावट आई उत्पादन २ सय ७३ मेट्रिक टनमा खुम्चिएको थियो। त्यसयताका वर्षहरूमा भने उत्पादन पुनः सुधारोन्मुख हुँदै नयाँ उचाइतर्फ अघि बढिरहेको देखिन्छ ।

नेपाली कफीको अन्तर्राष्ट्रिय बजारमा माग र निर्यातको अवस्था हेर्दा यसको मूल्यमा राम्रो सुधार देखिएको छ। आर्थिक वर्ष २०७०/७१ मा ६६ हजार १८७ केजी कफी निर्यात गरेर ५ करोड २२ लाख रुपैयाँ आम्दानी भएकोमा परिमाण घटेर ६३ हजार ९ सय ९८ केजी पुग्दा पनि निर्यात मूल्य भने ११ करोड ४३ लाख रुपैयाँभन्दा बढी कायम भएको छ । यसले नेपाली कफीले विश्व बजारमा उच्च गुणस्तरको (स्पेसियालिटी कफी) पहिचान बनाउँदै गएको छ । 

निर्यातको इतिहासमा आर्थिक वर्ष २०८०/८१ सबैभन्दा सफल वर्ष मान्न सकिन्छ, जतिबेला करिब १५ करोड रुपैयाँ बराबरको कफी विदेश निर्यात भएको थियो ।  

  • आयातमा पनि बढ्दै छ कफी 

बाह्य निर्यातसँगै नेपालमा कफीको आन्तरिक खपत पनि तीव्र गतिमा बढिरहेको तथ्याङ्कले देखाउँछ, जसका कारण आयातमा समेत उल्लेख्य वृद्धि भएको छ । आर्थिक वर्ष २०७०/७१ मा ३ करोड ५९ लाख रुपैयाँ बराबरको कफी आयात भएकोमा आर्थिक वर्ष २०८०/८१ सम्म आइपुग्दा यो रकम बढेर ४१ करोड ९८ लाख रुपैयाँ पुगेको थियो । 

विशेष गरी आर्थिक वर्ष २०७५/७६ मा १२ लाख ६२ हजार केजीभन्दा बढी कफी आयात भएको देखिन्छ ।  पछिल्लो वर्ष २०८१/८२ मा भने आयातको परिमाण र मूल्य दुवैमा केही कमी आएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अमृत चिमरिया
अमृत चिमरिया
लेखकबाट थप