परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे, विदेश मन्त्रालयका अतिरिक्त सचिवद्वारा स्वागत
सारांश
- परराष्ट्रमन्त्री शिशिर खनाल भारतको नयाँ दिल्लीमा भारतीय विदेशमन्त्री डा. एस. जयशङ्करको निमन्त्रणामा पुगेका छन्।
- नयाँ दिल्ली विमानस्थलमा उनलाई भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावारले स्वागत गरे।
- यस भ्रमणका क्रममा परराष्ट्रमन्त्री खनालले आफ्ना भारतीय समकक्षी डा. जयशङ्करसँग व्यापार, लगानी, ऊर्जा तथा आपसी सम्बन्ध विस्तारका विषयमा छलफल गर्नेछन्।
काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल औपचारिक भ्रमणका लागि भारतको नयाँ दिल्ली पुगेका छन्।
भारतीय विदेशमन्त्री डा. एस. जयशङ्करको निमन्त्रणामा उनी आज त्यसतर्फ प्रस्थान गरेका हुन्।
नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएपछि उनलाई भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावारले स्वागत गरे। अतिरिक्त सचिव महावारले भारतको विदेश मन्त्रालयमा नेपाल र भुटान डेस्क हेर्ने गर्छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सरकार बनेपछि यो पहिलो उच्च स्तरीय वैदेशिक भ्रमण हो। नयाँ दिल्ली प्रस्थान गर्नुअघि काठमाडौँमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै परराष्ट्रमन्त्री खनालले रास्वपाको सरकार बनेपछिको यो पहिलो उच्च स्तरीय भ्रमण भएको र यस क्रममा देशको प्राथमिकताका विषयहरूमा केन्द्रित रहेर छलफल हुने बताएका थिए।
यसैबिच मन्त्री खनालको स्वागत गर्दै भारतको विदेश मन्त्रालयले लेखेको छ, ‘नेपालका परराष्ट्रमन्त्री शिशिर खनाललाई उनको पहिलो औपचारिक भारत भ्रमणका लागि हार्दिक स्वागत छ। नियमित उच्चस्तरीय भ्रमण आदानप्रदानको परम्परालाई निरन्तरता दिँदै यस भ्रमणले भारत र नेपालबिचको विशेष साझेदारीलाई अझ सुदृढ बनाउन मद्दत गर्नेछ।’
परराष्ट्र मन्त्रालयले बिहीबार जारी गरेको प्रेस विज्ञप्ति अनुसार भ्रमणका क्रममा परराष्ट्रमन्त्री खनालले आफ्ना भारतीय समकक्षी डा. जयशङ्करसँग औपचारिक द्विपक्षीय भेटवार्ता गर्ने छन्। सो अवसरमा दुई देशका विदेशमन्त्रीबिच नेपाल र भारतको आपसी हितका विविध विषयमा गहन छलफल हुनेछ।
विशेष गरी व्यापार, लगानी, कनेक्टिभिटी, ऊर्जा क्षेत्रमा सहकार्य तथा दुई देशका जनताबीचको आपसी सम्बन्धलाई अझ सुदृढ र विस्तार गर्ने विषयमा केन्द्रित रहेर दुई पक्षबिच वार्ता हुने जनाइएको छ। परराष्ट्रमन्त्री खनाल आफ्ना सबै औपचारिक कार्यक्रमहरू पूरा गरी आउँदो जेठ २४ गते काठमाडौँ फर्कने तालिका रहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाद्वारा वडामा ६३ र पालिकामा ६८ प्रतिशत अधिवेशन सम्पन्न (विवरणसहित)
-
स्ववियुको प्रतिनिधित्व हटाउने अध्यादेशविरुद्धको रिटमा सर्वोच्चको अन्तरिम आदेश
-
कोशी प्रदेश सरकार र ६ पालिकाबिच नवप्रवर्द्धन साझेदारीमा सम्झौता
-
आवेदन खुलाएको झन्डै एक वर्षपछि विशिष्ट संरचना सञ्चालन विकास समितिको कार्यकारी निर्देशकमा तीन जनाको नाम सिफारिस
-
रविलाई भारतले दिएको सम्मान जनमतको सम्मान हो : महामन्त्री बुर्लाकोटी
-
स्वास्थ्यका विभिन्न निकायमा पदाधिकारी र सदस्य नियुक्ति प्रक्रिया स्थगित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण