आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
द्विपक्षीय भेटवार्ता

खनाल र जयशंकारबिच भेटवार्ताः कनेक्टिभिटी, ऊर्जा र आर्थिक रूपान्तरणमा प्रतिबद्धता

‘नेपाल–भारतको सम्बन्ध उच्च प्राथमिकतामा छ’
शनिबार, २३ जेठ २०८३, २१ : १६
शनिबार, २३ जेठ २०८३

सारांश

  • परराष्ट्र मन्त्री शिशिर खनाल र भारतीय विदेश मन्त्री एस जयशंकरबिच नयाँ दिल्लीमा द्विपक्षीय भेटवार्ता भएको छ ।
  • भेटमा नेपालको नयाँ सरकार सुशासन, आर्थिक रूपान्तरण र परिणाममुखी कूटनीतिका लागि स्पष्ट जनादेशका साथ आएको स्पष्ट पारिएको थियो ।
  • कनेक्टिभिटी, ऊर्जा, व्यापार र आर्थिक रूपान्तरण जस्ता बहुआयामिक साझेदारीलाई अझ सुदृढ बनाउन दुवै देश प्रतिबद्ध रहेका छन् ।

काठमाडौँ । भारत भ्रमणमा रहेका परराष्ट्र मन्त्री शिशिर खनाल र भारतीय विदेश मन्त्री एस जयशंकरबिच आज नयाँ दिल्लीमा द्विपक्षीय भेटवार्ता सम्पन्न भएको छ ।

नेपालमा नयाँ सरकार गठन भएपश्चात् दुई देशका विदेश मन्त्रीबिच भएको यो पहिलो औपचारिक र महत्त्वपूर्ण राजनीतिक भेटघाट हो । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारत भ्रमणबाट फर्केकै दिन अचानक परराष्ट्र मन्त्री खनाल त्यहाँ भ्रमणमा जानुलाई कूटनीतिक क्षेत्रमा रुचिका साथ हेरिएको छ ।

हिजो भारतीय सरकारका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग भेटेपछि आज विदेशमन्त्री जयशंकरसँग भेटवार्ता गरेका हुन् । गत चैतको अन्तिमतिर मौरिससमा सम्पन्न नवौँ इन्डियन ओसन कन्फरेन्स (भारतीय महासागर सम्मेलन) को साइडलाइन भेटवार्तापछि यी दुई नेताबिच फेरि औपचारिक भेटघाट भएको हो ।

बैठकमा परराष्ट्र मन्त्री खनालले प्रधानमन्त्री बालेन शाह र नेपाली जनताको तर्फबाट भारत सरकारलाई शुभकामना सन्देश दिँदै नेपालको नयाँ सरकार सुशासन, आर्थिक रूपान्तरण र परिणाममुखी कूटनीतिका लागि स्पष्ट जनादेशका साथ आएको स्पष्ट पारेका थिए । उनले भने, 'हामीसँग कुनै पुरानो बोझ वा विवाद छैन, केवल हाम्रा नजिकका छिमेकी र सबैभन्दा महत्त्वपूर्ण साझेदारसँग वास्तविक रूपमै रूपान्तरणकारी सम्बन्ध निर्माण गर्ने दृढ संकल्प छ ।'

नेपाल र भारत दुई देश मात्र नभएर एउटा गौरवशाली र प्राचीन सभ्यताका हिस्सेदार भएको उल्लेख गर्दै उनले यस ऐतिहासिक बन्धनलाई अब आधुनिक विकासमुखी साझेदारीमा बदल्नुपर्नेमा जोड दिएका थिए । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो हालैको भारत भ्रमणका क्रममा ‘हिन्दुस्तान टाइम्स’ मा लेखेको आलेखका आधारमा नेपाल सरकार अगाडि बढ्न चाहेको धारणा पनि राखेका थिए ।

विपतको समयमा र हालैको पश्चिम एसिया संकटका बेला भारतले पुर्‍याएको सहयोगप्रति कृतज्ञता ज्ञापन गर्दै मन्त्री खनालले इन्धन र मलको निरन्तर आपूर्तिका लागि भारत सरकारलाई धन्यवाद दिए ।

भारतीय विदेश मन्त्री जयशंकरले नेपाल र भारतबिच यो अनुपम सम्बन्ध आपसी विश्वास, आपसी सम्मान र साझा समृद्धिको जगमा उभिएको बताए । कनेक्टिभिटी, ऊर्जा, व्यापार र आर्थिक रूपान्तरण जस्ता बहुआयामिक साझेदारीलाई अझ सुदृढ बनाउन भारत सधैँ प्रतिबद्ध रहेका धारणा राखेका थिए ।

यो द्विपक्षीय बैठकले विगतका सहयोग र प्रगतिको समीक्षा गर्नुका साथै आगामी दिनमा दुई देशबिच हुनसक्ने उच्चस्तरीय भ्रमणहरूका लागि महत्त्वपूर्ण आधार तयार पारेको उनले बताए । दुवै देशका मन्त्रीहरूले आपसी सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सबै तहमा अर्थपूर्ण र उद्देश्यपूर्ण रूपमा मिलेर काम गर्ने प्रतिबद्धता जनाएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप