सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

कांग्रेस सदस्यता अभियान : ७ लाख ८२ हजारमध्ये ४ लाख १७ हजारले पाए ‘एनसीआईडी’

सोमबार, २५ जेठ २०८३, २१ : १३
सोमबार, २५ जेठ २०८३

सारांश

  • नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिकको अन्तिम म्याद जेठ २८ गतेसम्म कायम राखेको छ।
  • आगामी १५औँ महाधिवेशनमा सहभागी हुन विशिष्ट परिचय नम्बर (एनसीआईडी) लाई प्रमुख आधार बनाइने भएको छ।
  • हालसम्म ७ लाख ८२ हजार क्रियाशील सदस्यमध्ये ४ लाख १७ हजारले एनसीआईडी प्राप्त गरिसकेका छन्।

काठमाडाैँ । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिकको अन्तिम म्याद आगामी जेठ २८ गतेसम्म कायम राख्दै सबै क्रियाशील सदस्यलाई अनिवार्य रूपमा अद्यावधिक प्रक्रियामा सहभागी हुन आग्रह गरेको छ। साथै, आगामी १५औँ महाधिवेशनमा सहभागी हुन विशिष्ट परिचय नम्बर (एनसीआईडी) लाई प्रमुख आधार बनाइने निर्णय गरेको छ।

साेमबार कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा जारी प्रेस विज्ञप्तिमा नेपाली कांग्रेस सदस्यता व्यवस्थापन केन्द्रीय समितिको सोमबार बसेको बैठकले क्रियाशील सदस्यता अद्यावधिकका लागि थप गरिएको समयसीमा जेठ २८ सम्म नै अन्तिम रहने निर्णय पुन:स्मरण गराइएकाे छ। समितिले तोकिएको अवधिभित्र सदस्यता अद्यावधिक गरी एनसीआईडी प्राप्त गर्न सबै सदस्यलाई आग्रह गरेको छ।

बैठकले आगामी १५औँ महाधिवेशनलाई पूर्ण रूपमा प्रविधिमा आधारित बनाउने निर्णयसमेत गरेको छ। सोहीअनुसार पार्टीको डिजिटल प्रणालीमार्फत प्रत्येक क्रियाशील सदस्यलाई विशिष्ट परिचय नम्बर उपलब्ध गराइने र महाधिवेशनमा सहभागी हुन यही नम्बर प्रमुख आधार हुने जनाइएको छ।

समितिका अनुसार जेठ २५ गते साँझ ५ बजेसम्म अद्यावधिक गर्न योग्य ७ लाख ८२ हजार २०९ क्रियाशील सदस्यमध्ये ४ लाख १७ हजार ७५३ जनाले एनसीआईडी प्राप्त गरिसकेका छन् भने ९८ हजार १४३ जनाले स्वयं अद्यावधिक फारम भरेर प्रक्रिया अगाडि बढाएका छन्।

बैठकले सदस्यता अद्यावधिक गर्न चाहने कुनै पनि योग्य सदस्यलाई प्रक्रियाबाट वञ्चित नगरिने सुनिश्चितता गरेको छ। अद्यावधिक प्रक्रियामा कुनै तहबाट अवरोध भए केन्द्रीय कार्यालयमा सिधै सम्पर्क गरी प्रक्रिया पूरा गर्न सकिने व्यवस्था मिलाइएको जनाएको छ।

त्यस्तै, नयाँ क्रियाशील सदस्यता वितरणलाई पनि पार्टी विधानअनुसार निरन्तर अघि बढाउने निर्णय गरिएको छ। अनलाइनमार्फत प्राप्त आवेदन वडा तहको सिफारिस हुँदै प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिबाट स्वीकृत हुने व्यवस्था रहेको समितिले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप