सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

अत्यधिक बिदा स्वीकृत गरेपछि सल्यान र जाजरकोटका गुल्मपति फिर्ता बाेलाइए

सोमबार, २५ जेठ २०८३, २१ : १८
सोमबार, २५ जेठ २०८३

सारांश

  • सशस्त्र प्रहरी बलले अत्यधिक बिदा स्वीकृत गरेको पुष्टि भएपछि सल्यान र जाजरकोटका गुल्मपतिलाई कमाण्डबाट फिर्ता बोलाएको छ।
  • प्रधान कार्यालयले खटाएको छानबिन टोलीले जनशक्ति व्यवस्थापनमा गम्भीर लापरबाही भएको निष्कर्षसहित प्रतिवेदन बुझाएको थियो।
  • यसैबिच, कोरला नाकाबाट अवैध भेप आयात प्रकरणमा पनि सुरक्षा निगरानीमा कमजोरी देखिएपछि नेचुङका तत्कालीन कमाण्डरमाथि छानबिन गरी कारबाही प्रक्रिया अघि बढाइएको छ।

काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालले अत्यधिक संख्यामा कर्मचारीलाई बिदा स्वीकृत गरी सङ्गठनात्मक अनुशासनमा कमजोरी देखाएको पुष्टि भएपछि सल्यान र जाजरकोटस्थित गुल्मका कमाण्डर(डीएसपी)लाई कमाण्डबाट फिर्ता बोलाएको छ।

सशस्त्र प्रहरी नायव महानिरीक्षक तथा प्रवक्ता विष्णु प्रसाद भट्टका अनुसार सशस्त्र प्रहरी महानिरीक्षकको कार्यालयमा ती दुई गुल्ममा कार्यरत कर्मचारीहरूलाई अस्वाभाविक रूपमा धेरै संख्यामा बिदा दिइएको सम्बन्धमा उजुरी परेपछि प्रधान कार्यालयले वरिष्ठ उपरीक्षक (एसएसपी) को नेतृत्वमा छानबिन टोली खटाएको थियो।

छानबिन टोलीले स्थलगत अध्ययन तथा अभिलेख परीक्षणपछि सङ्गठनको जनशक्ति व्यवस्थापनमा गम्भीर लापरबाही भएको निष्कर्षसहित प्रतिवेदन बुझाएको थियो। 

सोही प्रतिवेदनका आधारमा दुवै गुल्मपतिलाई कमाण्डबाट हटाई सशस्त्र प्रहरी बल प्रधान कार्यालयको कानुन निर्देशनालयमा हाजिर गराइएको छ।

प्रहरी स्रोतका अनुसार कानुन निर्देशनालयले उनीहरूमाथि विभागीय कारबाही प्रक्रिया अघि बढाइसकेको छ। रिक्त भएका दुवै गुल्ममा छिट्टै नयाँ कमाण्डर खटाइने तयारी गरिएको छ।

यसैबिच, मुस्ताङस्थित कोरला नाकाबाट दुई ट्रकमा अवैध रूपमा भित्रिएको भेप (इलेक्ट्रोनिक चुरोट) प्रकरणमा पनि सुरक्षा निगरानीमा कमजोरी देखिएको भन्दै सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट नेचुङका तत्कालीन कमाण्डर सशस्त्र प्रहरी निरीक्षकमाथि छानबिन गरी कारबाही प्रक्रिया अघि बढाइएको सशस्त्र प्रहरी बलले जनाएको छ।

सङ्गठनभित्र अनुशासन, जनशक्ति व्यवस्थापन र सीमा सुरक्षामा कुनै पनि प्रकारको लापरबाही स्वीकार्य नहुने भन्दै सशस्त्र प्रहरी बलले जिम्मेवार अधिकारीमाथि आवश्यक कारबाहीलाई निरन्तरता दिइने जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप