हामी सधैँ सकारात्मक खबरदारी गरिरहने छौँ
सारांश
- रातोपाटी डटकम आजदेखि १४औँ वर्षमा प्रवेश गरेको छ ।
- रातोपाटी डटकम नेपाली, अंग्रेजी र हिन्दी संस्करणमा सञ्चालित छ ।
- रातोपाटी डटकमले सुशासन र समृद्धिका तगाराबारे विशेषाङ्क प्रकाशन गरेको छ ।
रातोपाटी न्युज पोर्टल www.ratopati.com आजदेखि १४औँ वर्षमा प्रवेश गरेको छ । ‘सबैको र सबैभन्दा राम्रो’ हुन यो यात्रामा हामीले दुःखसुखका अनेक उतारचढावहरू भोगेका छौँ । हाम्रो यो सङ्घर्षपूर्ण तर गौरवमय यात्रामा यहाँहरूको साथ, सहयोग, माया र विश्वास अविस्मरणीय छ ।
रातोपाटी न्युज नेटवर्कद्वारा सञ्चालित समाचार पोर्टल रातोपाटी डटकमको तीन भाषा- नेपाली, अङ्ग्रेजी र हिन्दी संस्करण छन् ।
राष्ट्रिय राजनीतिक, सामाजिक र आर्थिक मुद्दाहरूमा विशेष केन्द्रित रातोपाटी डटकमका तीनै संस्करणमा छिनछिनमै ताजा समाचार, खोजमूलक रिपोर्टहरूका अतिरिक्त शिक्षा, विज्ञान प्रविधि, सांस्कृतिक गतिविधि, जीवनशैली, स्वास्थ्य, खेलकुद, मनोरञ्जन र साहित्यसँग सम्बन्धित सामग्रीहरू पोस्ट हुन्छन् । त्यसैगरी, विश्वभर फैलिएका नेपाली ‘डायोस्परा’का सुखदुःखका हालखबर र अन्तर्राष्ट्रिय समाचार पनि यिनमा पोस्ट हुन्छन् ।
रातोपाटी डटकम सङ्घीय स्वरूपको र चौबिसै घण्टा सामग्री ‘अपडेट’ गरिने नेपालकै अग्रणी समाचार पोर्टल हो भन्न पाउँदा हामी गौरवान्वित छौँ ।
हामी समयको भरपर्दो साक्षी हौँ । डिजिटल अक्षर, स्वर, तस्बिर र श्रव्य दृश्यको माध्यमबाट वर्तमानको अभिलेख राख्ने रातोपाटी डटकम इतिहासको एउटा हिस्सा र भावी इतिहासको रेखाङ्कनकर्मी पनि हो ।
नेपाली जनताको दशकौँदेखिको सङ्घर्ष र त्याग तथा नेपाल आमाका हजारौँ सर्वोत्तम छोराछोरीको बलिदानको बदलामा हामीले सङ्घीय लोकतान्त्रिक गणतन्त्र पाएका छौँ । यो युगीन परिवर्तनको रक्षा र नेपाली नागरिकको भलोका पक्षमा अहोरात्र पहरेदारी गर्न हामी प्रतिबद्ध छौँ ।
राष्ट्रियता, सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समावेशिता, नागरिक अधिकार, सुशासन, प्रेस स्वतन्त्रताका पक्षमा हामी अग्रमोर्चामा अविचलित छौँ । राष्ट्रिय अखण्डताको रक्षा तथा क्षेत्रीय, जातीय र धार्मिक सद्भाव संवर्द्धनप्रति हामी समर्पित छौँ ।
स्थापनादेखि आजसम्मका अनुभवले आगामी यात्रा अझ परिपक्व बनाउन हामीलाई सघाउने छन् । यो सुखद क्षणमा हामी हर्षित मात्रै छैनौँ, मुलुकको समृद्धि र नागरिकको सुख, शान्ति र सम्मानका लागि अझ उन्नत स्तरको पत्रकारिता गर्ने साहस पनि बटुलेका छौँ ।
हामी चाहन्छौँ- हाम्रो देश सुन्दर त छँदैछ, यो सुशासनयुक्त र समृद्धसमेत बनोस् । तर व्यवस्था परिवर्तनका अनेक उपलब्धिहरू हासिल भए पनि दिगो सुशासन र समृद्धि प्राप्तिको उत्कट जनआकाङ्क्षा र अपेक्षा अधुरै छन् । त्यसका लागि जिम्मेवारीपूर्ण ढङ्गले समर्पित हुनैपर्ने दायित्वबोध हामीले गरेका छौँ ।
जेनजी विद्रोह पछि भएको आमनिर्वाचनबाट नयाँ राजनीतिक शक्तिको झन्डै दुई तिहाइको सरकार बनेको छ । जनताले भ्रष्टाचारमुक्त र सुशासनयुक्त शासन हुने अपेक्षा र विश्वासका साथ प्राप्त जनादेशमाथि धोका दिने छुट यो सरकारलाई छैन । जनताका आशा-अपेक्षामा तुषारापात नहोस् भनी हामी सरकार र सम्बद्ध सबै पक्षलाई प्रोत्साहन तथा सकारात्मक खबरदारी गरिरहने छौँ ।
चौधौँ वर्ष प्रवेशको अवसरमा आज हामीले मुलुकमा विद्यमान ‘सुशासन र समृद्धिका तगाराहरू’ केलाएर विशेषाङ्क प्रकाशन गरेका छौँ । यही विषयमा हामीले विद्वान-विज्ञहरूसँग गरेको अन्तर्संवाद कार्यक्रमको भिडियो सामग्री पनि पस्किएका छौँ । सुशासन र समृद्धि प्राप्तिका लागि सार्थक बहस र दिगो परिणाम सुनिश्चित गर्न यी सामग्रीहरू उपयोगी साबित हुने विश्वास लिएका छौँ ।
यस सुखद अवसरमा रातोपाटी डटकमको सङ्घर्षपूर्ण तर गौरवमय यात्राका दुःख-सुखमा अविच्छिन्न साथ सहयोग, माया र विश्वास गर्नु हुने हाम्रा आदरणीय पाठक-दर्शक, विद्वान् लेखक, सूचनाका श्रोतहरू, विज्ञापनदाता एवं समस्त शुभेच्छुकहरूप्रति हार्दिक आभार प्रकट गर्दै भविष्यमा पनि यस्तै न्यानो साथ सहयोग र सद्भावको अपेक्षा गरेका छौँ ।
विजया शर्मा
अध्यक्ष
रातोपाटी न्युज नेटवर्क
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरामा ‘खेल सप्ताह’ आयोजना हुँदै
-
हुरीका कारण विनयी त्रिवेणीमा १७ घर र दुई गोठमा क्षति
-
वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व सङ्कलन
-
पोखरा–दुबई हवाई उडानका लागि फ्लाई दुबईले पायो अनुमति
-
सुशासन र समृद्धिका तगाराहरू
-
१२ बजे १२ समाचार: २५ वटा सेवामा हडताल गर्न निषेधदेखि ‘मुसा प्रवृत्ति’को बिगबिगीसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण