बिहीबार, २८ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
अर्थ-राजनीतिक विश्लेषक भीम भुर्तेलसँग ‘वारपार’

‘यो बजेट टाई लगाउनेलाई हो, गाई पाल्ने किसानका लागि होइन’

‘जुन देशमा प्रधानमन्त्रीले नै आयकर तिर्दैनन्, त्यहाँको कर प्रणाली कसरी दिगो हुन्छ ?’

बिहीबार, २८ जेठ २०८३, २० : ३०
बिहीबार, २८ जेठ २०८३

सारांश

  • अर्थशास्त्री भीम भुर्तेलले आगामी आर्थिक वर्षको बजेटलाई टाई लगाउनेहरूको लागि भएको र किसानहरूको हितमा नभएको टिप्पणी गरेका छन् ।
  • उनले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको विज्ञता र बजेटबीच सामञ्जस्यता नदेखिएको बताउँदै बजेट कार्यान्वयन भए नेपाल श्रीलंका बन्ने दाबी गरेका छन् ।
  • भुर्तेलले बजेट निर्माणमा कानुनी प्रक्रियाको उल्लंघन भएको र यसले सुशासनमा नकारात्मक असर पार्ने बताएका छन् ।

काठमाडौँ । मानवशास्त्र, राजनीतिशास्त्र र अर्थशास्त्रमा त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर भीम भुर्तेल ‘दी युनिभर्सिटी अफ बर्मिङघम’, बेलायतबाट एमएस्सी गरेका अर्थशास्त्री हुन् । इतिहास, दर्शनशास्त्र, धर्मशास्त्र, भौतिकशास्त्रको इतिहास तथा प्रविधिको इतिहासका साथै सैन्य विज्ञानमा रुचि राख्ने उनी हाल नेपाल खुला विश्वविद्यालयमा अन्तर्राष्ट्रिय व्यापार, अन्तर्राष्ट्रिय अर्थशास्त्र, ऊर्जा अर्थशास्त्र पढाउँछन् । भुर्तेलले ‘प्रस्पेक्ट एन्ड च्यालेन्ज अफ नेपलीज इकोनोमी’ किताब लेखेका छन् । 

सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटको कडा आलोचक भुर्तेल अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको दर्शन र बजेटबिच कुनै सामञ्जस्यता देख्दैनन् । यो बजेट अर्थमन्त्री डा. वाग्लेले नलेखेको दाबी गर्दै उनले बजेट कार्यान्वयन भए नेपाल श्रीलंका बन्ने ठोकुवा गर्छन् । भुर्तेलसँग बजेटका विविध विषयमा केन्द्रित रहेर रातोपाटीको ‘वारपार’मा कुराकानी गरिएको छ । प्रस्तुत छ अन्तर्वार्ताको सम्पादित अंश (विस्तृत भिडियोमा हेर्न-सुन्न सकिन्छ) : 

अहिलेका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले एक विज्ञ अर्थशास्त्री हुन् । उनीसँग बलियो राजनीतिक समर्थन र अन्तर्राष्ट्रिय छवि पनि छ । उनले ल्याएको बजेट चाहिँ कस्तो लाग्यो ? 

डा. स्वर्णिम वाग्ले निसन्देह एक काबिल अर्थशास्त्री हुन् । तीनवटा ख्यातिप्राप्त विश्वविद्यालय (अस्ट्रेलियाली ने;नल युनिभर्सिटी, हार्वर्डजस्ता विश्व विद्यालयबाट उच्च शिक्षा हासिल गरेका र अन्तर्राष्ट्रिय विकास संस्थाहरूमा काम गरेका व्यक्तिका रूपमा उनको बायोग्राफी आकर्षक छ । उनी ‘मार्केट इकोनोमी’ बजार अर्थतन्त्र र दोस्रो पुस्ताको आर्थिक सुधारका पक्षपाती हुन् । तर उनीद्वारा प्रस्तुत बजेट हेर्दा उनको विज्ञता, योग्यता र नैतिक निष्ठा कता हरायो जस्तो देखिन्छ ।

Bhim Bhurtel

किनभने बजेटको सुरुमा आर्थिक उदारीकरणका प्रतिवद्धताहरू व्यक्त गरिएपनि अन्तरकुन्तरमा हेर्दा बजेट आफैँसँग बाझिएको छ । उनको सैद्धान्तिक वकालत र बजेटको व्यावहारिक रूपबीच ठुलो खाडल छ । यो बजेटले न त उदारीकरणलाई न्याय गरेको छ, न त सामाजिक न्यायलाई नै । 

अर्थमन्त्रीले राज्यको चरित्र र अर्थतन्त्रको स्वरूप बदल्छु भन्नुभएको छ । के यो बजेटले देशको नयाँ नक्सा कोर्न सक्छ ?

उहाँले दाबी त ठुलो गर्नुभयो, तर यो बजेटले देशको अर्थतन्त्रमा कुनै तात्विक परिवर्तन ल्याउने छाँटकाँट देखिँदैन । बजेटमा प्रयोग गरिएका शब्दावलीहरू जस्तै डिजिटल इकोनोमी, एआई र एनआरएन फन्ड सुन्दा आकर्षक लाग्छन्, तर यिनले नेपालको कुल जनसंख्याको एक प्रतिशतभन्दा कम मान्छेलाई मात्रै फाइदा पुर्‍याउँछ । 

यसमा तपाईंको तर्क के हो ?

नेपालको साक्षरता ७७ प्रतिशत छ, वित्तीय साक्षरता करिब ५९ प्रतिशत र डिजिटल साक्षरता त केवल ३० प्रतिशत मात्र छ । यस्तो अवस्थामा टेलिकमको सेयर बेचेर एआईमा लगानी गर्ने कुरा कत्तिको व्यावहारिक छ ? यो त धनी र प्रविधिमा पहुँच भएकाहरूको वर्गमा थप सम्पत्ति थुपार्ने योजना मात्र हो । अघिल्लो लिभिङ स्ट्यान्डर्ड सर्भेले गरिब २० प्रतिशत जनसंख्याको हिस्सा राष्ट्रिय आयमा केवल १.४१ प्रतिशत मात्र छ भन्छ । यो बजेट टाइ लगाउनेहरूको लागि हो, गाई पाल्ने किसानहरूका लागि होइन ।

बजेटको आकार र यसको राजस्व लक्ष्यका बारेमा तपाईंको टिप्पणी के छ ?

यो बजेट उहाँको आफ्नै सिद्धान्त विपरीत छ । उहाँ वासिङ्टन कन्सेन्सस मान्ने अर्थशास्त्री हुनुहुन्छ, जसले सरकारी खर्च कटौती र लिमिटेड गभर्मेन्टको वकालत गर्छ । तर बजेटमा आन्तरिक र बाह्य गरी करिब १२ खर्ब ऋण लिएर सरकारी खर्च बढाइएको छ । यो कस्तो अस्टोरिटी (व्यय कटौती) हो ? राजस्व लक्ष्यको कुरा गर्दा आयकरको सीमा बढाएर एकललाई १० लाख पुर्‍याइएको छ । १५ सय डलर प्रतिव्यक्ति आय भएको देशमा १० लाख कर छुट दिनु भनेको राजस्वको आधार भत्काउनु हो । यसले गर्दा करिब २ खर्ब राजस्व न्यून हुने देखिन्छ । यो खाडल पुर्न फेरि आन्तरिक ऋण लिने योजना छ । यसले हाम्रो प्रधानमन्त्रीलाई समेत करको दायराबाट बाहिर राखेको छ । जुन देशमा प्रधानमन्त्रीले नै आयकर तिर्दैनन्, त्यहाँको कर प्रणाली कसरी दिगो हुन्छ ?

तपाईंले बजेट निर्माणमा कानुनी प्रक्रिया मिचिएको कुरा पनि उठाउनुभएको छ । यसले सुशासनमा कस्तो असर पार्छ ?

बजेटले सुशासनमार्फत राजस्व बढाउने दाबी गरेको छ, तर बजेट निर्माणकै क्रममा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन र नियमावलीको धज्जी उडाइएको छ । कानुनले तोकेको निर्दिष्ट ढाँचामा बजेट आएको छैन । संसद्मा पेस भइसकेको विधेयकलाई पटक–पटक जथाभावी संशोधन गरिएको छ । संसद्को गरिमा र स्थापित विधि मिचेर बनाइएको बजेटले कसरी सुशासन कायम गर्छ ? यो त महालेखा परीक्षकको आगामी प्रतिवेदनमा पहिलो नकारात्मक टिप्पणी हुने निश्चित छ ।

कतिपयले नेपाल पनि श्रीलंकाकै बाटोमा जान लागेको चिन्ता व्यक्त गर्छन् । के यो बजेटले त्यस्तो संकेत गर्छ ?

हामी श्रीलंकाको त्यही मोडेलमा जाँदैछौँ जसले उसलाई टाट पल्टाएको थियो । श्रीलंकाले पनि भ्याट घटाउने, आयकरको सीमा ह्वात्तै बढाउने र राजस्वको स्रोत खुम्च्याएर जथाभावी ऋण उठाउने काम गरेको थियो ।

Bhim Bhurtel2

नेपालले पनि अहिले त्यही गरिरहेको छ । करको दर ३९ प्रतिशत हुनुपर्ने ठाउँमा २९ प्रतिशतको क्याप लगाइएको छ । धनीहरू करको दायरामा छैनन्, तर ऋणको भार भने बढ्दो छ । यदि यही पारा तीन-चार वर्ष निरन्तर भयो भने नेपालको आर्थिक अवस्था श्रीलंकाको भन्दा फरक हुने छैन ।

बजेटमा आर्थिक वृद्धि ७ प्रतिशत र मुद्रास्फीति ६ प्रतिशतमा सीमित राख्ने भनिएको छ । के यो सम्भव छ ?

यो पूर्णतः असम्भव र जनतालाई झुक्याउने ट्रिक मात्र हो । एकातिर मान्छेको हातमा खर्च गर्ने पैसा  बढाइदिने र अर्कोतिर विकास खर्च पनि बढाउने विस्तारकारी वित्तीय नीतिले बजारमा माग त बढाउँछ, तर हाम्रो उत्पादन क्षमता तत्काल बढ्ने अवस्था छैन । जब थोरै वस्तुका पछाडि धेरै पैसा दौडिन्छ, तब मुद्रास्फीति अनियन्त्रित हुन्छ । कर घटाएर जनतालाई खुसी पारेजस्तो देखिए पनि मूल्यवृद्धिले त्यो छुटभन्दा बढी पैसा जनताको पकेटबाटै तान्छ । यसलाई अदृश्य कर वा अदृश्य चोर भनिन्छ । यसले मान्छेको क्रयशक्ति घटाउँछ र अन्ततः बचत र लगानीमा नकारात्मक असर पार्छ । 

बैंकिङ क्षेत्रमा रहेको तरलता र कर्जा प्रवाह नहुनुको समस्यालाई बजेटले कसरी सम्बोधन गरेको देख्नुहुन्छ ?

यसमा मलाई नीतिगत भ्रष्टाचारको गन्ध आउँछ । बैंकहरूमा पैसा थुप्रिएको छ तर निजी क्षेत्रले कर्जा लिएको छैन । राजस्वमा दुई खर्बको न्यूनता सिर्जना गरेर सरकारले त्यही बराबरको आन्तरिक ऋण बैंकहरूबाट उठाउने योजना बनाएको छ । यसले गर्दा बैंकहरूले निजी क्षेत्रलाई कर्जा दिनुको साटो ढुक्कसँग सरकारलाई ऋण दिएर नाफा कमाउने वातावरण बनेको छ । यो मध्यम वर्गलाई राहत दिने बहानामा बैंकहरूको स्वार्थ पूर्ति गर्ने खेल जस्तो देखिन्छ ।

विद्युत, शिक्षा र स्वास्थ्य जस्ता आधारभूत क्षेत्रमा लगाइएको करका बारेमा तपाईंको धारणा के छ ?

सरकारको नारा विद्युत खपत बढाउने छ, तर बजेटले ५० युनिटभन्दा बढी बाल्नेलाई ५ प्रतिशत भ्याट लगाएको छ । यो त विरोधाभासपूर्ण भयो । धेरै बिजुली बाल्नेलाई प्रोत्साहित गर्नुको साटो दण्डित गरिएपछि कसरी खपत बढ्छ ? यसले विद्युत प्राधिकरणको घाटा झन् बढाउनेछ । त्यस्तै, शिक्षा समता शुल्क र स्वास्थ्यका क्षेत्रमा लगाइएको कर पनि प्रगतिशील छैन ।

Bhim Bhurtel1

अर्थमन्त्रीले आफूलाई समाजवादी होइन भन्नुहुन्छ तर समता कर लगाउनुहुन्छ । उहाँको विचारधारा र कर प्रणालीबिच कतै पनि मेल खाँदैन । यो जहाँ पैसा देखिन्छ, त्यहाँबाट तान्ने मिटरब्याजी सोच मात्र हो ।

विद्युतीय गाडीको करका दर परिवर्तनमा सूचना चुहावट भएको आरोप लागेको छ । यसमा तपाईं के भन्नुहुन्छ ?

यो अत्यन्तै गम्भीर विषय हो । बजेट निर्माणको अन्तिम टोली अर्थमन्त्री, सचिव, सह–सचिव एकदमै सानो हुन्छ । त्यहाँबाट सूचना बाहिर जानु भनेको गम्भीर नैतिक र कानुनी प्रश्न हो । यसमा संसदीय समितिले छानबिन गर्नुपर्छ र त्यो समितिमा प्रतिपक्षको बहुमत हुनुपर्छ । यदि अर्थमन्त्री सफा हुनुहुन्छ भने उनले आफैँ छानबिनको माग गरेर क्लिन चिट लिनुपर्छ । अन्यथा, यसको जिम्मेवारीबाट उनी पन्छिन मिल्दैन । 

डा. स्वर्णिम वाग्ले जस्तो विज्ञ अर्थशास्त्रीले यस्तो बजेट किन ल्याए होलान् ? 

मलाई लाग्छ, यो बजेट स्वर्णिम वाग्लेको बजेट नै होइन । यसमा प्रधानमन्त्रीको राजनीतिक स्वार्थ र अन्य शक्ति केन्द्रहरूको दबाब हाबी छ । आफ्नो प्राज्ञिक निष्ठा र राजनीतिक दर्शनविपरीत बजेट ल्याउनु उनका लागि ठुलो संकट हो । 

अर्थमन्त्रीलाई केही सुझाव छ ?

मेरो सुझाव छ- यदि उहाँलाई आफ्नो विचारधारामा अझै विश्वास छ भने यो बजेटको स्वामित्व नलिई राजीनामा गर्नुस् । राजीनामाले उहाँको मोरल अथोरिटी जोगिन्छ ।

भिडियो/फोटो : मनोज खड्का, आयुष धामी/रातोपाटी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रोहित दाहाल
रोहित दाहाल
लेखकबाट थप