५५ वर्ष उमेर हद र ३० वर्षे सेवा अवधि लागु भए स्वास्थ्य क्षेत्रका झन्डै एक हजार जनशक्ति बाहिरिने
सारांश
- निजामती सेवा विधेयकको नयाँ मस्यौदा अनुसार ५५ वर्ष उमेर वा ३० वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीलाई अनिवार्य अवकाश दिँदा स्वास्थ्य क्षेत्रका झन्डै एक हजार जनशक्ति प्रभावित हुने देखिएको छ ।
- राष्ट्रिय कितावखानाको तथ्याङ्क अनुसार हाल स्वास्थ्य सेवातर्फ ५५ वर्षभन्दा बढी उमेरका ४८६ कर्मचारी र ३० वर्षभन्दा बढी सेवा अवधि भएका ४९८ कर्मचारी छन् ।
- विधेयक कार्यान्वयनमा आएमा विशिष्ट श्रेणीदेखि सहायक तहसम्मका अनुभवी चिकित्सक र विशेषज्ञहरू बाहिरिने खतराले प्रादेशिक तथा स्थानीय अस्पतालहरू विशेषज्ञ सेवाबाट वञ्चित हुन सक्ने जनस्वास्थ्य विज्ञहरूले चिन्ता व्यक्त गरेका छन् ।
काठमाडौँ । सरकारले ५५ वर्ष उमेर वा ३० वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीलाई अनिवार्य अवकाश दिने गरी अघि बढाएको निजामती सेवा विधेयकको नयाँ मस्यौदाका कारण स्वास्थ्य सेवा क्षेत्रमा ठुलो प्रभाव पर्ने देखिएको छ ।
यदि यो प्रावधान कार्यान्वयनमा आए स्वास्थ्य सेवा समूहतर्फका झन्डै एक हजार जना कर्मचारी प्रभावित हुन सक्नेछन् । स्वास्थ्य क्षेत्रका कर्मचारी नेपाल स्वास्थ्य सेवा समूहमा पर्छन् ।
राष्ट्रिय कितावखाना (निजामती)ले उपलब्ध गराएको अद्यावधिक तथ्याङ्क अनुसार हाल स्वास्थ्य सेवातर्फ ५५ वर्षभन्दा बढी उमेर पुगिसकेका कर्मचारीहरूको कुल सङ्ख्या ४८६ रहेको छ भने ३० वर्षभन्दा बढी सेवा अवधि पूरा गरिसकेका कर्मचारीहरूको सङ्ख्या ४९८ पुगेको छ ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा तयार पारिएको र अर्थ मन्त्रालयको सहमति पश्चात हाल कानुन मन्त्रालयमा पुगेको उक्त मस्यौदाले स्वास्थ्य सेवाका चिकित्सक, नर्सिङ स्टाफ र प्राविधिक कर्मचारीहरूलाई प्रत्यक्ष प्रभावित पार्ने देखिएको छ । निजामती किताबखानाको अद्यावधिक तथ्याङ्क अनुसार यो विधेयक कानुनका रूपमा लागु भएमा स्वास्थ्य क्षेत्रमा लामो समयदेखि कार्यरत ठुलो सङ्ख्याका कर्मचारी बाहिरिने देखिन्छ ।
निजामती किताबखानाको स्वास्थ्य सेवाका कर्मचारीहरूको तथ्याङ्क केलाउँदा नयाँ प्रावधान कार्यान्वयनमा आए स्वास्थ्य क्षेत्रको नेतृत्वदायी र तल्लो दुवै तहमा व्यापक असर पुर्याउने देखिन्छ । ५५ वर्षभन्दा बढी उमेर र ३० वर्षभन्दा बढी सेवा अवधि दुवै मापदण्ड पूरा गरिसकेका स्वास्थ्य सेवाका कर्मचारीहरूको सङ्ख्यामात्रै २७३ छ । श्रेणीगत रूपमा हेर्दा, ५५ वर्षभन्दा बढी उमेर पुगेका विशिष्ट श्रेणीका १ जना, अधिकृत १२औँ तहका २ जना, अधिकृत एघारौँ तहका २३ जना र अधिकृत दशौँ तहका २ जना छन् ।
यस्तै, अधिकृत आठौँ तहका १० जना, आठौँ तहका दुई जना, अधिकृत सातौँ तहका २ जना, सातौँ तहका तीन जना, अधिकृत छैटौँ तहका २०४ जना, छैटौँ तहका १३ जना र सहायक १६७ जना ५५ वर्षभन्दा बढी उमेर भएका कर्मचारी छन् ।
३० वर्षभन्दा बढी सेवा अवधि भएका कर्मचारी ४९८ जना छन् । जसअन्तर्गत विशिष्ट श्रेणीका १ जना, अधिकृत एघारौँ तहका ९ जना र अधिकृत दशौँ तहका ४ जना, दशौँ तहका दुई रहेका छन् । यस्तै, अधिकृत नवौँ तहका एक जना, अधिकृत आठौँ तहका ७ जना, आठौँ तहका एक जना, अधिकृत सातौँ तहका ५० जना, सातौँ तहका तीन जना, अधिकृत छैटौँ तहका २६७ जना, छैटौँ तहका १७ जना र सहायक १३६ जना ३० वर्षभन्दा बढी सेवा अवधि पूरा गरेका कर्मचारी छन् ।
५५ वर्षभन्दा बढी ३० वर्षभन्दा धेरै सेवा अवधि भएका कर्मचारीको सङ्ख्या २७३ छ । जसअन्तर्गत विशिष्ट श्रेणीका १ जना, अधिकृत एघारौँ तहका ८ जना र अधिकृत दशौँ तहका २ जना, दशौँ तहका २ जना छन् । यस्तै, अधिकृत आठौँ तहका ६ जना, आठौँ तहका एक जना, अधिकृत सातौँ तहका ३१ जना, सातौँ तहका एक जना, अधिकृत छैटौँ तहका १३३ जना, छैटौँ तहका ९ जना र सहायक ७९ जना ५५ वर्ष उमेरभन्दा बढी र ३० वर्षभन्दा लामो सेवा अवधि भएका कर्मचारी छन् ।
दशकौँदेखि स्वास्थ्य क्षेत्रमा रहेर महामारी, जटिल शल्यक्रिया र नीति निर्माणमा विशेष अनुभव हासिल गरेका विशिष्ट श्रेणी, एघारौँ, दशौँ र नवौँ तहका वरिष्ठ चिकित्सक तथा विशेषज्ञहरू एकैपटक बाहिरिँदा प्रादेशिक तथा स्थानीय तहका अस्पतालहरू विशेषज्ञ सेवाबाट वञ्चित हुने खतरा बढ्न सक्ने जनस्वास्थ्य विज्ञ बताउँछन् ।
स्वास्थ्य मन्त्रालयका पूर्वअतिरिक्त सचिव महेन्द्रप्रसाद श्रेष्ठले स्वास्थ्य सेवाको उमेरहद ६५ वर्ष पुर्याउनुपर्ने बताए । उनले भने, ‘स्वास्थ्य सेवा प्राविधिक विषय हो । अरु सेवासँग स्वास्थ्य सेवा तुलना हुन सक्दैन । स्वास्थ्य सेवाको प्रकृति नै फरक छ । चिकित्सकहरू अहिले पनि विदेश पलायन भइरहेका छन् । स्वास्थ्य सेवाको उमेरहद ६५ वर्ष गराउनुपर्छ ।’
एउटा चिकित्सक योग्य हुनै झन्डै ४० वर्ष उमेर लाग्ने भएकाले ५५ वर्ष उमेरहद न्यायसङ्गत नभएको श्रेष्ठले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङमा एक हजार ४३१ प्रतिष्ठानको आर्थिक गणना सम्पन्न
-
बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा पठाइने भ्रामक एसएमएसप्रति सचेत रहन आग्रह
-
हमासद्वारा गाजा शान्ति रोडम्याप योजनाबारे प्यालेस्टाइनी समूहको प्रतिक्रिया पेस
-
लागुऔषधसहित ३१ जना पक्राउ
-
अनुमतिबिना भारतीय हेलिकोप्टर नेपाली आकाशमा
-
मानसरोवर कैलाशको दर्शन गर्नेको सङ्ख्या बढ्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण