सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय
महानगर

स्मार्ट बन्दै ललितपुर महानगर : अब जरिवाना तिर्न ‘ई-चलान’, लाइन बस्ने झन्झट अन्त्य

जरिवानाको रसिद मोबाइलमै, क्युआरबाटै भुक्तानी
सोमबार, ०१ असार २०८३, १२ : ५२
सोमबार, ०१ असार २०८३

सारांश

  • ललितपुर महानगरपालिकाले जरिवाना तिर्नका लागि ‘एलएमसी ई-चलान’ डिजिटल प्रणाली सुरु गरेको छ।
  • यस प्रणालीमार्फत सेवाग्राहीले मोबाइलबाटै जरिवाना भुक्तानी गर्न सक्ने र बैंकमा लाइन बस्नुपर्ने झन्झट अन्त्य हुनेछ।
  • यो प्रणालीले आर्थिक अनियमितता रोक्ने, समय बचत गर्ने र सरकारी कार्यप्रणालीलाई मितव्ययी बनाउने दाबी गरिएको छ।

ललितपुर । ललितपुर महानगरपालिकाले आफ्नो सेवा प्रवाहलाई थप प्रविधिमैत्री, पारदर्शी र व्यवस्थित बनाउने उद्देश्यका साथ ‘एलएमसी ई-चलान’ (डिजिटल जरिवाना व्यवस्थापन प्रणाली) कार्यान्वयनमा ल्याएको छ।

कारबाहीका लागि जरिवाना तिर्न बेहोर्नुपर्ने परम्परागत झन्झट अन्त्य गर्ने भन्दै यस्तो व्यवस्था ल्याइएको ललितपुर महानगर प्रहरीका प्रमुख सीताराम हाछेथुले बताए। 

यो व्यवस्थालाई फिल्डमा प्रभावकारी रूपमा सञ्चालन गर्न ललितपुर महानगर प्रहरीलाई अत्याधुनिक ‘एचसिसीटीजी पीओएस’ मेसिन उपलब्ध गराइएको छ। यसबाट महानगर प्रहरीले स्थलगत रूपमै डिजिटल प्रणालीमार्फत जरिवाना काट्ने र भुक्तानी प्रक्रिया अगाडि बढाउनेछ।

‘यो डिजिटल जरिवाना व्यवस्थापन प्रणाली लागु भएपछि सेवाग्राहीले जरिवाना तिर्नका लागि बैंकमा गएर लामो लाइन बस्नुपर्ने र भौचर भर्नुपर्ने झन्झटबाट मुक्ति पाउनेछन्,’ ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जनले भने।

chiribabu manjari

सेवाग्राहीले आफ्नै मोबाइलबाट तुरुन्तै भुक्तानी गर्न सक्ने हुनाले यो प्रणाली अत्यन्तै छिटो र छरितो साबित हुने महानगरको दाबी छ। प्रणाली सुरु गर्दै मेयर महर्जनले भने, ‘यसरी संकलित जरिवाना रकम सिधै ललितपुर महानगरपालिकाको बैंक खातामा जम्मा हुने भएकाले आर्थिक अनियमितता र भ्रष्टाचारको सम्भावना नै हुँदैन।’

नगर प्रहरी प्रमुख हाछेथुका अनुसार भुक्तानी सम्पन्न हुनेबित्तिकै सेवाग्राहीले आफ्नो मोबाइलमा तत्कालै डिजिटल रसिद प्राप्त गर्नेछन्, जसले गर्दा भुक्तानीको प्रमाण मोबाइल बैंकिङ वा डिजिटल वालेटमा सधैँ सुरक्षित रहनेछ।

महानगरको दाबीअनुसार यस प्रणालीमा बैंक खाता नम्बर वा अन्य आवश्यक विवरण म्यानुअल रूपमा टाइप गरिरहनु नपर्ने भएकाले गलत खातामा पैसा जानेजस्ता प्राविधिक त्रुटिहरूको जोखिम हुँदैन। यो प्रणालीले नगद बोकिरहनुपर्ने आवश्यकता नहुने र कागजको भौचर छपाइ तथा नगद व्यवस्थापनको प्रशासनिक खर्चसमेत जोगिने भएकाले यसले सरकारी कार्यप्रणालीलाई थप मितव्ययी बनाउने मेयर महर्जनले बताए।

जरिवाना तिर्नका लागि महानगर प्रहरी कार्यालयसम्म धाइरहनु नपर्ने हुँदा सेवाग्राहीको समयको ठुलो बचत हुनेछ। भुक्तानीका लागि प्रणालीले ई-चलान जारी गरेपछि उपलब्ध हुने क्युआरलाई इसेवा, खल्ती वा जुनसुकै बैंकको मोबाइल एपबाट सजिलै स्क्यान गरी रकम चुक्ता गर्न सकिने व्यवस्था मिलाइएको छ।

यो भुक्तानी प्रणालीमा एउटै डिभाइसमा स्क्यानर, प्रिन्टर र एन्ड्रोइड ट्याब्लेट जडान गरिएको हुनाले रसिद काट्नका लागि छुट्टै प्रिन्टर वा कम्प्युटरको आवश्यकता पर्दैन। यसले क्युआर कोड र ‘नियर फिल्ड कम्युनिकेसन’ दुवै प्रविधि सपोर्ट गर्ने हुनाले मोबाइल वालेट वा कार्डबाट तत्काल भुक्तानी लिन सकिन्छ। यो मेसिन निकै हलुका र हातमा बोकेर सजिलै हिँड्न मिल्ने खालको भएकाले कार्यालयभित्र वा बाहिर जुनसुकै स्थानमा सजिलै प्रयोग गर्न सकिने गरी पोर्टेबल बनाइएको छ।

व्यस्त समयमा पनि तुरुन्तै रसिद उपलब्ध गराउन यसमा उच्च गतिको थर्मल प्रिन्टर राखिएको छ। फोरजी, वाईफाई र ब्लुटुथ कनेक्ट सपोर्ट गर्ने भएकाले यसले जुनसुकै क्षेत्रमा पनि निर्वाध रूपमा नेटवर्क सञ्चालन गर्न सक्ने नगर प्रहरी प्रमुख हाछेथुले बताए। धुलो र सामान्य पानीका छिटाबाट जोगिने गरी विशेष रूपमा डिजाइन गरिएको यो मेसिन १.२ मिटरको उचाइबाट खस्दासमेत सहन सक्ने क्षमताको छ। यसमा रहेको उच्च क्षमताको ब्याट्रीले गर्दा चार्ज सकिने चिन्ताबिना यो मेसिन लामो समयसम्म सञ्चालन गर्न सकिन्छ। ललितपुर महानगर प्रहरीले यो प्रविधिमार्फत २४सै घण्टा सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ।

  • कुन कारबाहीका लागि तिर्न सकिन्छ ?

नगर प्रहरी प्रमुख हाछेथुका अनुसार महानगर प्रहरी बलमार्फत हुने जरिवानाहरू यहाँबाट तिर्न सकिन्छ। ‘जथाभाबी फोहोर फालेको, अनुमतिबिना खुला क्षेत्रमा आगो बालेको, महानगरभित्र रहेका बगैँचा, फुल र बिरुवाहरूमा क्षति पुर्‍याएको, अनधिकृत क्षेत्रमा पार्किङ गरेको लगायतका कारबाहीको जरिवाना यहीँबाट तिर्न सकिन्छ,’ हाछेथुले भने।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप