सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

जी–७ को सम्मेलन फ्रान्समा सुरु हुँदैः को–को जाँदैछन्, के छन् एजेन्डा ?

सोमबार, ०१ असार २०८३, १८ : ३४
सोमबार, ०१ असार २०८३

सारांश

  • फ्रान्सको एभियाँ-ले-बाँ सहरमा जी-७ राष्ट्रहरूको शिखर सम्मेलन सुरु भएको छ, जसमा युक्रेन युद्ध, व्यापारिक उतारचढाव र इरान-अमेरिका द्वन्द्व प्रमुख एजेन्डा छन् ।
  • यस सम्मेलनमा जी-७ राष्ट्रका नेताहरूसँगै भारत, युक्रेन, इजिप्ट, साउदी अरेबिया र कतारलगायतका गैर-जी-७ राष्ट्रका प्रमुख नेताहरूलाई पनि अतिथिका रूपमा आमन्त्रित गरिएको छ ।
  • सम्मेलनमा युक्रेन, इरान, विश्व अर्थतन्त्र, व्यापार र चीनको प्रभुत्वलगायतका विषयमा छलफल हुने अपेक्षा गरिएको छ ।

पेरिस । सोमबार फ्रान्सको एभियाँ–ले–बाँ सहरमा जी–७ राष्ट्रहरूको शिखर सम्मेलन सुरु हुँदै छ ।

युक्रेन युद्ध, व्यापारिक उचारचडाव र इरान–अमेरिका द्वन्द्वका विषयहरू नै यस सम्मेलनका प्रमुख एजेन्डा हुनेछन् । 

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्य गर्न प्रारम्भिक सहमति भएको घोषणा गरेपछि उनी अन्य विश्व नेताहरूसँग शिखर सम्मेलनमा सहभागी हुँदैछन् । फ्रान्सले अहिले जी–७ राष्ट्रहरूको पालैपालो आउने अध्यक्षता सम्हालिरहेको छ । जी–७ मा क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान, बेलायत र अमेरिका सदस्य छन् । यस वर्षको सम्मेलन रुस–युक्रेन युद्ध र मध्यपूर्वी द्वन्द्वको पृष्ठभूमिमा आयोजना भइरहेको छ । 

यस वर्षको सम्मेलनमा को–को सहभागी हुँदैछन् ? 

जी–७ राष्ट्रका नेताहरू र सम्मेलनमा प्रतिनिधित्व गर्ने युरोपेली संघबाहेक फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोंले गैर–जी–७ राष्ट्रका केही प्रमुख नेताहरूलाई पनि अतिथिका रूपमा निमन्त्रणा दिएका छन् । यसमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की, इजिप्टका राष्ट्रपति अब्देल फताह अल–सिसी, साउदी युवराज मोहम्मद बिन सलमान तथा कतारका अमिर शेख तमिम बिन हमाद अल थानी रहेका छन् । भारत, युक्रेन, इजिप्ट र कतारका नेताहरूले आफ्नो सहभागिता पुष्टि गरिसकेका छन् भने साउदी युवराज सहभागी हुने वा नहुनेबारे अझै स्पष्ट छैन । 

अस्ट्रेलिया, ब्राजिल, केन्या र दक्षिण कोरियाका नेताहरू पनि सम्मेलनमा सहभागी हुँदैछन् । 

यसैबिच मार्चमै दक्षिण अफ्रिकाले प्रारम्भिक निमन्त्रणा पाएको थियो । तर पछि यस वर्षको सम्मेलनबाट उसले आफ्नो निमन्त्रणा रद्द गरेको घोषणा गरेको थियो । गाजामा इजरायलले गरिरहेको नरसंहारबारे दक्षिण अफ्रिकाको अडान र देशभित्रको श्वेत अल्पसंख्यक समुदायप्रतिको व्यवहारका कारण अमेरिकासँगको सम्बन्ध बिग्रिएको छ । ट्रम्पले यस विषयलाई बारम्बार उठाएका छन् । गत मेमा ह्वाइट हाउसमा दक्षिण अफ्रिकी राष्ट्रपति सिरिल रामाफोसासँग भएको भेटवार्तामा पनि यो विषय अगाडि ल्याइयो । 

ट्रम्प प्रशासनले दक्षिण अफ्रिकामाथि गोरा अफ्रिकन नागरिक (किसान) विरुद्ध हुने ‘उत्पीडन’लाई मौन समर्थन गरेको आरोप लगाउँदै दबाब दिएको छ । तर अमेरिकी दाबीहरूलाई तथ्यहरूले भने पुष्टि गर्दैननन् । रामाफोसाले यी आरोप अस्वीकार गरेका छन् ।

दक्षिण अफ्रिकाको कुल जनसंख्याको १० प्रतिशतभन्दा कम रहेका श्वेत अफ्रिकीहरूले देशको ७० प्रतिशतभन्दा बढी जमिनको स्वामित्व राखेका छन् ।

त्यसैगरी विश्व नेताहरूसँगै एन्थ्रोपिक, ओपनएआई, गुगल र मिस्ट्राल एआईका प्रमुख अधिकारीहरू पनि सम्मेलनमा सहभागी हुने अपेक्षा गरिएको छ । फ्रान्सेली अधिकारीहरूका अनुसार उनीहरू विश्वव्यापी संकट र व्यापक आर्थिक चुनौतीबारे छलफल गर्ने एजेन्डा तयार पारिरहेका छन् । 

युक्रेनबाहेक नेताहरूले इरानसँग सम्बन्धित आगामी कदमहरू तथा विश्वसामु रहेका अन्य महत्त्वपूर्ण चुनौतीहरूमाथि पनि छलफल गर्ने अपेक्षा गरिएको छ । जी–७ का धेरै नेताहरू ट्रम्पको भन्सार शुल्क युद्ध र इरानमाथि इजरायलसँग मिलेर गरिएको आक्रमणबाट प्रत्यक्ष रूपमा प्रभावित भएका छन् ।

एजेन्डामा के छ ?

फ्रान्सको उक्त सहरमा हुने दुईदिने सम्मेलनमा नेताहरूले युक्रेन, इरान तथा विश्व अर्थतन्त्रसम्बन्धी चुनौतीहरूमाथि छलफल गर्ने अपेक्षा गरिएको छ । 

युक्रेनः रुसको युक्रेनमाथिको युद्ध जारी रहँदा मस्को र कीभलाई वार्ताको टेबलमा ल्याउने प्रयास गरिरहेका ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र जी–७ नेताहरूसँग भेटवार्ता गर्ने अपेक्षा गरिएको छ । 

एक वरिष्ठ अमेरिकी अधिकारीले पत्रकारहरूसँग कुरा गर्दै अमेरिकाले ‘युद्ध सकेसम्म छिटो अन्त्य होस्’ भन्ने चाहेको बताएका छन् । 

यता युरोपेली कूटनीतिज्ञहरूले सम्मेलनलाई ट्रम्पलाई अमेरिकाले प्रस्ताव गरेको सम्भावित सम्झौता मस्कोप्रति अत्यधिक अनुकूल रहेको कुरा बुझाउने अवसरका रूपमा हेरेका छन् । युरोपेली राष्ट्रहरू रुससँग संवादका लागि तयार रहेको संकेत दिन चाहन्छन् । तर सँगसँगै प्रतिबन्ध कडा बनाउने र युक्रेनलाई सैन्य सहयोग बढाउने पक्षमा पनि छन् । 

वासिङ्टनस्थित सेन्टर फर स्ट्राटेजिक एन्ड इन्टरनेशनल स्टडिजका भू–राजनीति तथा विदेश नीति प्रमुख भिक्टर चाका भन्छन्, ‘हामीले बढ्दो रूपमा युरोपेलीहरू अमेरिकाको प्रभाव कम भएको विश्वको सम्भावनाबारे सोच्न थालेको देखिरहेका छौँ ।’ 

इरानः युक्रेनबाहेक नेताहरूले इरानसँग सम्बन्धित आगामी कदमहरू तथा विश्वसामु रहेका अन्य महत्त्वपूर्ण चुनौतीहरूमाथि पनि छलफल गर्ने अपेक्षा गरिएको छ । जी–७ का धेरै नेताहरू ट्रम्पको भन्सार शुल्क युद्ध र इरानमाथि इजरायलसँग मिलेर गरिएको आक्रमणबाट प्रत्यक्ष रूपमा प्रभावित भएका छन् । त्यसले तेलको मूल्य तीव्र रूपमा बढाएको छ र विश्व राजनीतिमा नयाँ तनाव सिर्जना गरेको छ । ट्रम्पका एकपक्षीय कदमहरूले नियममा आधारित विश्व व्यवस्थाप्रति अमेरिकाको प्रतिबद्धताबारे पनि ठूला प्रश्नहरू उठाएका छन् । 

ट्रम्पलाई सोमबार म्याक्रोंले स्वागत गर्नेछन् । उनले इजिप्ट, कतार, संयुक्त अरब इमिरेट्स र भारतका नेताहरूसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने अपेक्षा गरिएको छ । 

व्यापारः व्यापार र आर्थिक वृद्धि पनि एजेन्डाको महत्वपूर्ण हिस्सा हुने अपेक्षा गरिएको छ । गत वर्ष ट्रम्पले जी–७ का सबै सदस्य राष्ट्र तथा विश्वका अधिकांश अन्य देशमाथि व्यापक भन्सार शुल्क लगाएका थिए, जसले विश्वव्यापी व्यापार युद्धलाई जन्म दिएको थियो । अमेरिकी सर्वोच्च अदालतले यस वर्ष फेब्रुअरीमा ती शुल्कहरू खारेज गरिदिए पनि जुन महिनामा ट्रम्प प्रशासनले भारत, बेलायत, युरोपेली संघ र अष्ट्रेलियासहित ६० व्यापारिक साझेदारमाथि १० प्रतिशतदेखि १२.५ प्रतिशतसम्म शुल्क लगाउने चेतावनी दिएको छ । यसको कारण जबर्जस्ती श्रमसम्बन्धी कमजोरी भएको आरोप लगाइएको छ । 

ट्रम्प र भारतीय प्रधानमन्त्री मोदीबिचको भेटमा व्यापार र भन्सार शुल्क प्रमुख छलफलको विषय बन्नेछ । 

चीनः विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीन सम्मेलनमा सहभागी छैन । तर नेताहरूले दैनिक प्रयोगका विद्युतीय उपकरणमा आवश्यक पर्ने दुर्लभ खनिज पदार्थहरूको बजारमा बेइजिङको प्रभुत्व र नियन्त्रणलगायतका विषयमा छलफल गर्नेछन् । रोयटर्सका अनुसार फ्रान्सले व्यापक आर्थिक असन्तुलनलाई साझा जिम्मेवारीका रूपमा प्रस्तुत गर्नेछ ।  

उसले चीनले अत्यधिक उत्पादन गरिरहेको, अमेरिकाले अत्यधिक उपभोग गरिरहेको भए पनि युरोपले पर्याप्त लगानी नगरेको तर्क अघि सार्दैछ । ब्राजिल, भारत, केन्या र दक्षिण कोरिया पनि यस छलफलमा सहभागी हुनेछन् । म्याक्रोंले चीनलाई आन्तरिक उपभोग बढाउन आग्रह गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप