रास्वपाको कर्णाली अधिवेशनमा कचिङ्गलः कोही बहिष्कार गर्ने, कोही प्यानलमार्फत चुनावमा
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कर्णाली प्रदेशको सभापतिका उम्मेदवार नन्दकिशोर (एनके) बस्नेतले चुनाव प्रक्रियामा विवाद भएपछि मतदान बहिष्कार गरेका छन् ।
- बस्नेतले प्रतिनिधि छनोट र उम्मेदवारी दर्ता क्रममा त्रुटि भएको तथा अन्तिम नामावलीमा दरखास्त नदिएका व्यक्तिको नाम समावेश गरिएको आरोप लगाएका छन् ।
- निर्वाचन समितिले भने बस्नेतका आरोप अस्वीकार गर्दै कार्यविधि अनुसार निर्वाचन प्रक्रिया अघि बढेको र एक व्यक्तिको कारणले निर्वाचन नरोकिने स्पष्ट पारेको छ ।
सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कर्णाली प्रदेशको सभापतिका उम्मेदवार नन्दकिशोर (एनके) बस्नेतले चुनाव बहिष्कार गरेका छन् । आइतबारदेखि वीरेन्द्रनगरमा जारी प्रथम अधिवेशनमा सभापतिका लागि मदन खड्का, स्नेहा उपाध्याय र बस्नेत उम्मेदवार थिए ।
मंगलबार बिहान १० बजेदेखि मतदान सुरु भए पनि बस्नेतले उक्त चुनाव बहिष्कार गरे । खासमा कार्यतालिका अनुसार चुनाव सोमबार नै हुनुपर्ने थियो, तर प्रतिनिधि छनोटदेखि उम्मेदवारी दर्ताका क्रममा विवादका कारण हुन चुनाव सकेन ।
ती समस्या हल नै नगरी चुनाव गराउन थालिएपछि आफूले बहिष्कार गरेको बस्नेतले रातोपाटीलाई बताए । ‘मेरो तर्फबाट यो बहिष्कारजस्तै नै हो । यो चुनावमा भाग लिनुभन्दा नलिएरै माथिल्लो स्तरमा सचेत गराएको छु,’ उनले भने ।
बस्नेतका अनुसार, प्रतिनिधि छनोटको विवाद छँदै थियो । ‘त्यसलाई हामी अझै विवाद नगरौँ, त्यो पछि पार्टीमै कुरा राखौँला भनियो,’ उनले भने, ‘त्यसपछि हामीले ल ठिकै छ, अब अगाडि नै जाऔँ भनेर हिजो उम्मेदवारी दर्ताको क्रममा लाग्यौँ । सोही क्रममा उम्मेदवारी आह्वान भयो । सबैको दरखास्त पर्यो र दरखास्त परेको नामावली बाहिर आयो ।’
उम्मेदवारको नामावली बाहिर आइसकेपछि दाबी–विरोधको कार्यतालिका थियो । ‘दाबी–विरोध कसले गर्नुभयो भन्ने थाहा भएन, तर फेरि अन्तिम नामावली आउँदाखेरि दरखास्त नै नदिएको मान्छेको नाम आयो,’ उनले भने ।
पहिलाको लिस्टमा प्रदेशका सह–महामन्त्री राज शाहको दरखास्त नै नपरेको भनेर नाम आयो, तर दोस्रो लिस्टमा उनको नाम पहिलो नम्बरमा आएको बस्नेतको आरोप छ ।
यस्तै, महिला क्लस्टरमा सात जनाको मात्र उम्मेदवारी प¥यो भनेर नाम बाहिर आएको, तर लास्टमा १० जनाको नाम आएको बस्नेत बताउँछन् । ‘त्यो बारेमा हिजो जति पनि इस्यु थियो । त्यहाँ साथीहरूले नारा–जुलुस पनि गर्नुभयो,’ उनले भने, ‘अनि त्यसलाई हिजो हामीले भोलि बिहान सात बजेसम्म यो विषय टुङ्ग्याउने, बसेर छलफल गर्ने र त्यसपछि मात्र अगाडि जाने भनेर हिजो साँझको कार्यक्रम स्थगित गरियो ।’
त्यसपछि के भयो ? (बस्नेतको भनाइ जस्ताको त्यस्तै)
आज बिहान साढे सात बजेदेखि छलफलमा बसेपछि हामीले कुरा राख्यौँ, तर वहाँहरूले हैन–हैन, हिजोको इस्यु केही हुँदैन । अब चुनावमा जाने, हिजो जे भयो–भयो । यो यस्तै हो’ भन्नुभयो ।
मैले भनेँ— अहिलेसम्मको कुरा अनुसार जसको उम्मेदवारी प¥यो, उसैको नाममात्र आउने हो, पछि दाबी–विरोधमा नाम थप्न पाइँदैन । नाम थप्न कहिल्यै पनि पाइँदैन । हो, त्यो विषयमा कुरा नमिलेपछि हामीबिच विवाद भयो । मैले यसलाई रोकेरमात्र अगाडि जाऔँ भन्दा साथीहरूले ‘हैन, चुनावमा जाने’ भन्नुभयो ।

ल त्यसो भए तपाईंहरू दुई जना उम्मेदवार (मदन र स्नेहा) हुनुहुन्छ, तपाईंहरू बस्नुस् भनेँ । उहाँहरूले हामी बहुमतको आधारमा जान्छौँ भन्नुभयो । ल यसमा पनि बहुमत–अल्पमत लगाउनुहुन्छ भने झन् कुरा के भयो र ? भनेर निस्किएँ । त्यसपछि उहाँहरूले भोटिङ सुरु गर्नुभयो । म यो भोटिङमा हस्ताक्षर गर्दिनँ भनेर बाहिरै बसिरहेको छु ।
मैले मतदान प्रक्रियामा पनि सहभागिता जनाइनँ । कुनै पनि माइन्युटमा हस्ताक्षर गरिनँ ।
त्यही सिलसिलामा उहाँहरूले फेरि ‘मदन खड्का प्यानल’ भनेर प्यानलको लिस्ट आउट गर्नुभयो । प्यानल लिस्ट निकालिसकेपछि राष्ट्रिय स्वतन्त्र पार्टीको लागि सबैभन्दा ठुलो घातक कुरा हो यो । प्यानल बनाएर लड्ने, गुट बनाउने भन्ने कुरा राष्ट्रिय स्वतन्त्र पार्टीमा हुँदैन । ग्रुप बनाएर लडिसकेपछि त पार्टी सिद्धियो नि । यसमा चित्त नबुझेर मैले तत्कालै पार्टीको सम्बन्धित विभागहरूमा लिखित रूपमा उजुरी गरेको छु । त्यसपछि मतदान नगरी बाहिरै बसेँ । अहिलेसम्मको अवस्था यही हो ।
निर्वाचन समितिद्वारा बस्नेतका आरोप अस्वीकार
यता निर्वाचन समितिले भने बस्नेतले लगाएका आरोप अस्वीकार गरेको छ । समितिले बस्नेतका कारण निर्वाचन रोक्न नसकिने पनि बताएको छ ।
निर्वाचन समितिका संयोजक बीपी दाहालले निर्वाचनसँग सम्बन्धित पार्टीको कार्यविधि अनुसार निर्वाचन प्रक्रिया अघि बढेको बताए ।
बस्नेतले उम्मेदवारी दर्ताका क्रममा उठाएका आरोपको पनि दाहालले खण्डन गरेका छन् । उनका अनुुसार कार्यविधिमा टेकेर एउटा प्रारम्भिक नामावली सार्वजनिक गरिन्छ, प्रारम्भिक नामावली सार्वजनिक गर्ने भनेको अर्थ नै त्यहाँ छुटेका कोही हुन सक्छन्, कसैले दाबी विरोध गर्न सक्छन् भनेर गरेको हो । त्यसैले अन्तिम नामावलीमा पहिलेको तुलनामा केही फरक पर्नु स्वाभाविक हुने उनको तर्क छ ।
पहिला ७ जना र पछि १० जनाको नाम राखिएको विषयमा प्रस्ट पार्दै दाहालले भने, ‘जो महिलाले सुरुमा हामी दलितमा बस्छौँ भनेका थिए, उनै महिलाहरूले फेरि हामी महिलामा बस्छौँ भने । त्यही कुरालाई ठुलो इस्यु बनाइयो । अन्तिम नामावली आएकै थिएन । उहाँले अन्तिम नामावलीमा पनि हामी यहाँ बस्छौँ भनेरचाहिँ भन्नु पनि भएन । पछि त्यो जारी भयो, जारी भइसकेपछि उहाँहरू आएर विवाद गर्न थाल्नुभयो । भएको यत्ति हो ।’

बस्नेतको बहिष्कारपछि पनि अघि बढाइयो निर्वाचन किन ?
निर्वाचन समिति संयोजक दाहालले बस्नेतले हस्ताक्षर नगरे पनि मतदानको प्रक्रिया अगाडि बढेको दाबी गरे ।
‘एनके बस्नेत त एउटा पक्ष भएको कारणले रोकिने कुरा हैन,’ उनले भने, ‘एउटा व्यक्तिको कारणले यत्रो मासलाई हामीले रोक्न त सक्दैनौँ । त्यसकारणले गर्दा उहाँको अरू मतदाता नामावली भएका मान्छेहरू जो–जो लिस्टमा हुनुहुन्छ, वहाँहरू आएर भोट हालिहाल्नुभयो । रहनुभयो उहाँमात्रै ।’
कार्यविधि, विधान, नियमावलीमा टेकेर नै निर्वाचनको काम अघि बढाइएको उनले बताए । विशेष परिस्थितिमा निर्वाचन आयोगले लिने निर्णय नै सर्वोपरी हुने उनको भनाइ छ । ‘त्यसकारण उहाँ आए पनि, नआए पनि निर्वाचन अगाडि बढ्यो,’ उनले थपे ।
बस्नेतलाई धेरै सम्झाइ–बुझाइ गर्दा पनि नमानेको दाहालले बताए । ‘यो पार्टीको आन्तरिक जीवनको कुरा हो, पार्टीलाई सुदृढीकरण गर्ने कुरा हो, यो पहिलो अधिवेशन हो भनेर धेरै सम्झायौँ,’ उनले भने, ‘अहिले समायोजनको अवस्था भएको कारणले समायोजन अधिवेशन पनि हो । अर्को, यसलाई सुदृढीकरण गर्दै जानुपर्छ । विधिमै टेक्ने भन्ने पनि होइन, विधिलाई पनि फलो गर्न सकिन्छ । यो राजनीतिक एउटा प्रोसेस हो, यो प्रोसेसभित्र आउनुपर्छ भन्ने पनि हो ।’
विभिन्न पक्षबाट मान्छेहरू पार्टीमा प्रवेश गरेको जिकिर गर्दै उनले सबैको आ–आफ्नै चासो र स्वार्थ हुन सक्ने दाहालले बताए । ‘अब रास्वपाभित्र आइसकेपछि रास्वपाको चरित्रभित्र घुलमिल हुनलाई धेरै समय लाग्न सक्छ,’ उनले भने, ‘हाम्रो आचारसंहिता, हाम्रो निर्वाचनसँग सम्बन्धित कार्यविधि जे छ, त्यसलाई फलो गरेर अगाडि बढिराखेका छौँ ।’
यसैबिच जारी मतदान सकिएको छ । संयोजक दाहालका अनुसार, केहीबेरमा मतगणना गर्ने तयारी भइरहेको छ । अधिवेशन आइतबारदेखि वीरेन्द्रनगरको शुभ होटलमा आयोजना गरिए पनि निर्वाचन भने सिटी हलमा भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सङ्घीय बजेट बेलुन फुलेजस्तो, प्रदेश बजेट चाहिँ कस्तो ?
-
सडक निर्माण भ्रष्टाचार मुद्दामा निर्माण व्यवसायीसहित चार जनाले पाए सफाइ
-
विश्वविद्यालयका उपकुलपति उम्मेदवारको प्रस्तुतीकरण र अन्तर्वार्ता असार १३ देखि १५ गतेसम्म
-
नेकपा कोशी प्रदेशको कार्य विभाजन टुङ्गियाे, जिल्ला र विभागहरूमा जिम्मेवारी बाँडफाँड
-
के हो ई-पासपोर्ट छपाई प्रकरण, किन पक्राउ परे राहदानी विभागका महानिर्देशक ?
-
नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक गाैतमलाई थुनामा पठाउने आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण