बजेटमाथि रास्वपा सांसदकै आक्रोश : शक्ति केन्द्रको वरिपरि मात्रै घुम्यो
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटले मुलुकका गम्भीर समस्या र भौतिक पूर्वाधारका क्षेत्रलाई प्राथमिकतामा राख्न नसकेको भन्दै सरकारको आलोचना गरेका छन्।
- रास्वपा सांसद भरत पराजुलीले वायु प्रदूषणका कारण वार्षिक करिब २६ हजार नागरिकको ज्यान गइरहेको र अर्थतन्त्रमा कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को ६ प्रतिशत बराबरको क्षति भइरहेको तथ्यांक प्रस्तुत गर्दै दीर्घकालीन समाधानका लागि बजेटमा स्पष्ट दृष्टिकोण नदेखिएको बताए।
- अर्का सांसद हरिप्रसाद भुसालले मुलुकको सुरक्षा संयन्त्रभित्र व्याप्त भ्रष्टाचार र बजेट विनियोजनमा देखिएको असन्तुलनप्रति सरकारको ध्यानाकर्षण गराउँदै बजेट शक्ति केन्द्रको वरिपरि घुमेको आशंका व्यक्त गरे।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटले मुलुकका गम्भीर समस्या र भौतिक पूर्वाधारका क्षेत्रलाई प्राथमिकतामा राख्न नसकेको भन्दै सरकारको आलोचना गरेका छन्।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा मन्त्रालयगत बजेटमाथिको छलफलमा भाग लिँदै उनीहरूले सुरक्षा निकायमा व्याप्त असुली, जीर्ण सडक र वायु प्रदूषणजस्ता विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन्।
रास्वपा सांसद भरत पराजुलीले वायु प्रदूषणको भयावह अवस्था र जीर्ण सडक पूर्वाधारको विषयमा गम्भीर चिन्ता व्यक्त गरे। नेपालमा वायु प्रदूषणका कारण वार्षिक करिब २६ हजार नागरिकको ज्यान गइरहेको र अर्थतन्त्रमा कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को ६ प्रतिशत बराबरको क्षति भइरहेको उनले तथ्यांक प्रस्तुत गरे।
काठमाडौँ र विराटनगरजस्ता सहर विश्वकै प्रदूषित सूचीमा पर्ने गरेको उल्लेख गर्दै उनले यसको दीर्घकालीन समाधानका लागि विशेषज्ञकृत राष्ट्रिय अनुसन्धान केन्द्र स्थापना गर्न बजेटमा कुनै स्पष्ट दृष्टिकोण नदेखिएको बताए। ‘चीन र भारतले वैज्ञानिक अध्ययनमार्फत प्रदूषण नियन्त्रणका उपाय अपनाएजस्तै नेपालले पनि आफ्नै भौगोलिक र सामाजिक अवस्थाअनुसार कदम चाल्नुपर्छ,’ उनले भने।
विकास निर्माणका सन्दर्भमा बोल्दै पराजुलीले ग्रामीण क्षेत्रमा अझै पनि नागरिक तुइनको जोखिमपूर्ण यात्रा गर्न बाध्य रहेको र सामान्य सडक पहुँचको अभावमा ज्यान गुमाउनुपरेको स्थिति चित्रण गरे। आफ्नै निर्वाचन क्षेत्र सिन्धुपाल्चोक–१ को उदाहरण दिँदै उनले दुई घण्टाको बाटो तय गर्न ६–७ घण्टा लाग्ने गरेको र यसले शिक्षा, स्वास्थ्य र कृषिलाई प्रत्यक्ष असर पारेको बताए। व्यापारिक दृष्टिकोणले महत्वपूर्ण अरनिको राजमार्गको धुलिखेल–बाह्रबिसे खण्ड अत्यन्तै जीर्ण र पहिरोको जोखिममा रहेको भन्दै उनले यसको स्तरोन्नतिका लागि बजेट मौन रहेकोमा आपत्ति जनाए। जलविरे–तेमाथान, ढाकलाङ–भैरवकुण्ड र बाल्का–तौथली–जलजले–खरिढुंगा जस्ता रणनीतिक सडकलाई बजेटमा समावेश नगरिएको उनको गुनासो छ।
तातोपानी नाकाको दुर्दशाप्रति लक्षित गर्दै पराजुलीले भने, ‘वार्षिक २५ अर्ब राजस्वको लक्ष्य राखिएको तातोपानी भन्सार, अध्यागमन र सुरक्षाकर्मीका आवास अझै पनि २०७२ सालको भूकम्पपछिको भग्नावशेषबाट सञ्चालित छन्। सीमाको अर्कोतर्फ चीनले स्मार्ट सिटी बनाइरहँदा हाम्रो तर्फको अवस्थाले राष्ट्रिय प्रतिष्ठामै आँच पुर्याएको छ।’
ऊर्जा क्षेत्रको सुधारका लागि दूरदराजमा गुणस्तरीय विद्युत् सेवा पुर्याउने प्रतिबद्धता बजेटमा छुट्नु दुःखद रहेको उनको तर्क थियो। वर्षायाममा उत्पादित विद्युत् खपतको संयन्त्र विकास, प्राधिकरणको बक्यौता असुली र जलविद्युत् आयोजना निर्माणमा देखिएका जग्गा प्राप्तिसम्बन्धी कानुनी जटिलता हटाउन सरकारले ठोस कदम चाल्नुपर्नेमा उनले जोड दिए। परराष्ट्र र अर्थ मन्त्रालयको कार्यक्रममा समेत तातोपानी क्षेत्रको सीमा नक्सांकन र भौतिक संरचना सुधारका लागि कुनै ठोस योजना नआएको भन्दै उनले बजेटमा पुनर्विचार गर्न आग्रह गरे।
यसैगरी रास्वपाकै अर्का सांसद हरिप्रसाद भुसालले मुलुकको सुरक्षा संयन्त्रभित्र व्याप्त भ्रष्टाचार र बजेट विनियोजनमा देखिएको असन्तुलनप्रति सरकारको ध्यानाकर्षण गराए। सडकमा सुरक्षाकर्मीहरूबाटै भइरहेको अवैध असुली र जिल्लाका विकास योजनामा बजेटको न्यूनताका विषयमा उनले सरकारको कडा आलोचना गरे।
नागढुंगा चेकपोस्टमा सवारी चालकहरूबाट सुरक्षाकर्मीले लुकिछिपी रकम असुल्ने गरेको दाबी गर्दै भुसालले भने, ‘नागढुंगाबाट दैनिक करिब १९ सय सवारीसाधन भित्रिन्छन्। एउटा सवारीबाट सय रुपैयाँका दरले मात्र उठाउँदा पनि दैनिक २ लाख र वार्षिक करोडौँ रुपैयाँ राज्यकोषमा नभई व्यक्तिको खल्तीमा पुगिरहेको छ।’
काठमाडौं भित्रिने सवारीसाधनबाट नियमविपरीत रकम उठाउने प्रवृत्तिले सुरक्षाकर्मीको ध्यान सुरक्षा जाँचभन्दा असुलीमा केन्द्रित भएको उनको भनाइ छ। भ्रष्टाचारलाई केवल गाली गरेर मात्र समाधान नहुने उल्लेख गर्दै उनले सुरक्षाकर्मीको मनोबल उच्च बनाउन पर्याप्त बजेट, सेवासुविधा र पारिश्रमिकको न्यायोचित व्यवस्थापन गर्न सरकारसँग माग गरे।
बजेटको समीक्षा गर्दै भुसालले कर प्रणालीमा सरलीकरण र आयकर छुटको सीमा वृद्धिलाई सकारात्मक कदमका रूपमा टिप्पणी गरे। यद्यपि, कर छुटका कारण उत्पादन र रोजगारीमा वृद्धि हुन नसके राजस्व संकलनमा गम्भीर दबाब पर्ने जोखिम रहेको उनले औँल्याए।
भुसालले आफ्नो गृहजिल्ला अर्घाखाँचीका महत्त्वपूर्ण योजना बजेटमा नसमेटिएको भन्दै असन्तुष्टि व्यक्त गरे। प्रधानमन्त्री र सम्बन्धित मन्त्रालयबाट आश्वासन पाए पनि बजेट वक्तव्यमा ती योजना नपर्दा जनतालाई जवाफ दिन कठिन भएको उनको भनाइ छ। विशेषगरी निर्माणाधीन अर्घा भगवती विमानस्थल र जिल्लाका रणनीतिक सडकलाई उपेक्षा गरिएको उनले बताए।
उनले सडक निर्माणको सुस्त गतिप्रति व्यंग्य गर्दै भने, ‘२ अर्ब लागत अनुमान गरिएको सडकका लागि ५ करोड रुपैयाँ मात्र विनियोजन गरिएको छ। यही गतिले काम हुने हो भने एउटा सडक सम्पन्न हुन चार दशक कुर्नुपर्ने देखिन्छ।’
साँघुरो सडकका कारण बर्सेनि मानवीय क्षति हुने गरेको सन्धिखर्क–गोरुसिंगे सडकको स्तरोन्नतिका लागि बजेट अत्यन्त न्यून रहेको उनले जानकारी दिए। बजेट शक्ति केन्द्रको वरिपरि घुमेको आशंका व्यक्त गर्दै भुसालले आगामी दिनमा बजेट कार्यान्वयनमा न्यायोचित प्राथमिकता दिन र दुर्गम जिल्लाप्रति संवेदनशील बन्न सरकारलाई आग्रह गरे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितवनबाट अपहरणमा परेका बालकको काठमाडौँमा सकुशल उद्धार, संलग्न ५ जना भारतीय पक्राउ
-
सङ्घीय बजेट बेलुन फुलेजस्तो, प्रदेश बजेट चाहिँ कस्तो ?
-
सडक निर्माण भ्रष्टाचार मुद्दामा निर्माण व्यवसायीसहित चार जनाले पाए सफाइ
-
विश्वविद्यालयका उपकुलपति उम्मेदवारको प्रस्तुतीकरण र अन्तर्वार्ता असार १३ देखि १५ गतेसम्म
-
नेकपा कोशी प्रदेशको कार्य विभाजन टुङ्गियाे, जिल्ला र विभागहरूमा जिम्मेवारी बाँडफाँड
-
के हो ई-पासपोर्ट छपाई प्रकरण, किन पक्राउ परे राहदानी विभागका महानिर्देशक ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण