मङ्गलबार, ०२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

विवादास्पद इसारामा भीएआर रेफ्रीलाई फिफाद्वारा सफाइ

मङ्गलबार, ०२ असार २०८३, १६ : ०६
मङ्गलबार, ०२ असार २०८३

सारांश

  • विश्वकप २०२६ मा भीएआर रेफ्री शन इभान्सले क्यामराको अगाडि हातबाट बनेको 'ओके' को संकेत अनपेक्षित र उपचेतन मनको कम्पन मात्र भएको बताएका छन्।
  • फिफाको विस्तृत छानबिनले उनलाई दोषी नदेखाएपछि इभान्सले आफूले कुनै पनि प्रकारको सन्देश, आबद्धता, खेल वा विश्वासलाई नियतवश सञ्चार गर्न खोजेको कुरालाई पूर्ण रूपमा अस्वीकार गरेका हुन्।
  • यस विवादपछि फिफाले खेल अघिको भीएआर प्रसारण शैलीमा परिवर्तन गर्दै रेफ्रीहरू क्यामरातिर नभई पहिले नै मनिटरतिर फर्केर काम गरिरहेको अवस्थामा देखिन थालेका छन्।

न्युयोर्क । विश्वकप २०२६ मा भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) को भूमिकामा रहेका अस्ट्रेलियाली रेफ्री शन इभान्सले क्यामराको अगाडि हातबाट बनेको ‘ओके’ को संकेत अनपेक्षित र उपचेतन मनको कम्पन मात्र भएको बताएका छन्। 

फिफाको विस्तृत छानबिनले उनलाई दोषी नदेखाएपछि इभान्सले आफ्नो बचाउमा यस्तो स्पष्टीकरण दिएका हुन्। उनले आफूले सो इसारा गरेको कुरामा कुनै हेक्का नभएको दाबी गर्दै कुनै पनि प्रकारको सन्देश, आबद्धता, खेल वा विश्वासलाई नियतवश सञ्चार गर्न खोजेको कुरालाई पूर्ण रूपमा अस्वीकार गरे।

आइतबार जर्मनीले कुरासाओलाई ७–१ को फराकिलो अन्तरले पराजित गरेको खेलअघि डल्लासस्थित रेफ्री केन्द्रबाट भीएआर टोलीको दृश्य प्रत्यक्ष प्रसारणमा देखाइएको थियो। सोही क्रममा ३८ वर्षीय इभान्सले आफ्नो दाहिने हातका औँलाहरूलाई उल्टो ‘ओके’ को आकारमा राखेको प्रस्ट देखिएको थियो। 

यो इसाराका दुईवटा बिल्कुलै फरक अर्थ लाग्ने गर्छन्। एउटा सामान्य र हानिरहित अर्थ हुन्छ भने अर्को अर्थ ‘श्वेत सर्वोच्चता’ अर्थात् रङ्गभेदको अभिव्यक्तिसँग जोडिएको हुन्छ। 

यस विषयमा सामाजिक सञ्जालमा तत्कालै ठूलो विवाद र बहस सुरु भएको थियो। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले यस मामिलाको सुक्ष्म अध्ययन गरेपछि ‘फिफा अनुशासन संहिता’ को उल्लंघन भएको कुनै प्रमाण नभेटिएको भन्दै उनलाई सफाइ दिएको छ।

सफाइ पाएपछि फिफामार्फत एक वक्तव्य जारी गर्दै इभान्सले भने, ‘यस घटनापछि आएका समाचारहरूले मेरो वास्तविक पहिचान र व्यक्तित्वलाई प्रतिबिम्बित गर्दैनन्। अवश्य पनि, सो इसारालाई मानिसहरूले कसरी बुझे र व्याख्या गरे भन्ने कुरा म बुझ्दछु र यसप्रति म खेद प्रकट गर्दछु, तर म पूर्ण स्पष्टताका साथ भन्न चाहन्छु कि मैले जानाजानी वा सचेत रूपमा त्यस्तो कुनै सङ्केत बनाएको थिइनँ।’

खेलको भिडियो प्रमाणले पनि आफ्नो शरीरको अनपेक्षित हलचललाई पुष्टि गर्ने तर्क उनले अघि सारे। म्याचको उत्तरार्धका दृश्यहरूमा आफूले औँलाको बीचमा पेन समातेको बेला धेरै पटक त्यस्तो हलचल दोहोर्‍याएको उनले प्रस्ट पारे। विश्वकपमा रेफ्रीको भूमिका निर्वाह गर्नु आफ्नो खेल जीवनकै सबैभन्दा ठूलो सम्मान भएको भन्दै उनले प्रतियोगिताका बाँकी खेलहरूमा आफ्ना सहकर्मीहरूलाई सहयोग गर्न उत्सुक रहेको बताए।

यस निर्णयलाई अस्ट्रेलियाको व्यावसायिक फुटबल रेफ्री संघ (पीएफआरए) ले स्वागत गरेको छ। संघले एक विज्ञप्ति जारी गर्दै इभान्सले सधैँ व्यावसायिकता, सम्मान र इमानदारीको प्रतिनिधित्व गरेको उल्लेख गर्दै प्रश्न उठाइएका बेला निष्पक्षता, सन्दर्भ र उचित प्रक्रियाको पालना हुनुपर्ने कुरामा जोड दियो। 

यस विवादपछि फिफाले खेल अघिको भीएआर प्रसारण शैलीमा समेत परिवर्तन गरेको छ। त्यसपछिका खेलहरूमा भीएआर कोठा देखाउँदा रेफ्रीहरू क्यामरातिर नभई पहिले नै मनिटरतिर फर्केर काम गरिरहेको अवस्थामा देखिन थालेका छन्।

इभान्सले गरेको सो उल्टो ‘ओके’ इसाराको पृष्ठभूमि अमेरिकाको चर्चित सिटकप ‘माल्कम इन द मिडल’ बाट सुरु भएको एउटा ख्यालठट्टासँग मिल्दोजुल्दो छ, जुन पछि इन्टरनेट मिम बनेको थियो। तर, सन् २०१७ यता यो इसारालाई चरम दक्षिणपन्थीहरूले एकअर्कासँग सञ्चार गर्न प्रयोग गर्न थालेपछि सन् २०१९ मा एन्टी-डेफमेसन लिग (एडीएल) ले यसलाई घृणा फैलाउने संकेतको सूचीमा राखेको थियो। 

रङ्गभेद विरुद्ध काम गर्ने संस्था ‘फेयर नेटवर्क’ र ‘किक इट आउट’ ले पनि यसबारे फिफासँग स्पष्टीकरण माग गरेका थिए। सन् २०१७ देखि फिफाको रेफ्री सूचीमा रहेका अनुभवी भीएआर इभान्सले सन् २०२२ को कतार विश्वकपमा पनि खेल खेलाइसकेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप