बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय

मासु खान चोरिएका सयौँ बिरालोको उद्धार

बुधबार, ०३ असार २०८३, १० : २२
बुधबार, ०३ असार २०८३

सारांश

  • भियतनाममा मासुका लागि वध गर्न लगिँदै गरेका ४०० भन्दा बढी बिरालोलाई प्रहरीले उद्धार गरेको छ।
  • पशु कल्याणसम्बन्धी संस्था ह्युमेन वर्ल्ड फर एनिमल्सका अनुसार अधिकारीहरूले बिरालो चोरी गर्ने एक सङ्गठित गिरोहको पर्दाफास गरेका छन्।
  • यस घटनामा संलग्न रहेको आरोपमा नौ जनालाई पक्राउ गरिएको छ र उनीहरूले पछिल्ला तीन वर्षदेखि बिरालो चोरी र सङ्कलन गर्दै आएको स्वीकार गरेका छन्।

हो ची मिन्ह । भियतनाममा मासुका लागि वध गर्न लगिँदै गरेका ४०० भन्दा बढी बिरालोलाई प्रहरीले उद्धार गरेको छ । पशु कल्याणसम्बन्धी संस्था ह्युमेन वर्ल्ड फर एनिमल्सका अनुसार अधिकारीहरूले बिरालो चोरी गर्ने एक सङ्गठित गिरोहको पर्दाफास गरेका छन् ।

गएको हप्ता ताय निन्ह प्रान्त र हो ची मिन्ह सहरमा गरिएको छापामारीका क्रममा प्रहरीले ४०० भन्दा बढी जीवित बिरालो तथा बरफमा राखिएका करिब ८० मृत बिरालो फेला पारेको थियो । अर्को एक स्थानबाट थप २१ बिरालो पनि बरामद गरिएको थियो ।

यस घटनामा संलग्न रहेको आरोपमा नौ जनालाई पक्राउ गरिएको छ । हो ची मिन्ह सहर प्रहरीको आधिकारिक पत्रिकाका अनुसार उक्त समूह बिरालो चोरी र संकलनमा विशेषज्ञ आपराधिक गिरोहका रूपमा सक्रिय थियो । भियतनाममा कुकुर र बिरालोको मासु उपभोग कानुनी भए पनि व्यापारीहरूले जनावरको स्रोत पुष्टि गर्ने अनुमति पत्र राख्नुपर्छ । हो ची मिन्ह सहरमा घर पालुवा जनावरको चोरी बढ्दै गएपछि प्रहरीले सोको अनुसन्धान गर्ने क्रममा यो गिरोह पत्ता लगाएको हो ।

अनुसन्धानका क्रममा पक्राउ परेकाहरूले पछिल्ला तीन वर्षदेखि दक्षिणी भियतनामका विभिन्न स्थानबाट बिरालो चोर्ने र सङ्कलन गर्ने गरेको स्वीकार गरेको बताइएको छ । उद्धार गरिएका बिरालामध्ये करिब ४० वटा आफ्ना मालिकसँग पुनर्मिलन गराइसकिएको छ । तर उद्धारअघि लामो समयसम्म खराब अवस्थामा राखिएकाले केही बिरालो पछि मरेको पनि जनाइएको छ ।

पशु अधिकारकर्मीहरूका अनुसार भियतनाममा हरेक वर्ष करिब ५० लाख कुकुर र १० लाख बिरालो मासुका लागि समातिने, चोरी हुने वा तस्करी गरिने गर्छन् । तर, पछिल्ला वर्षहरूमा विशेषगरी युवा पुस्ता र घर पालुवा जनावर पाल्ने मानिसहरू कुकुर तथा बिरालोको मासु व्यापार विरुद्धमा रहनेको संख्या बढ्दै गएको जनमत सर्वेक्षणहरूले देखाएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप