बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

वैदेशिक रोजगार ऐनलाई ‘लगामबिनाको घोडा’ भन्दै मन्त्री यादवले भने, ‘आवश्यक परे अध्यादेशबाटै ल्याउँछु’

बुधबार, ०३ असार २०८३, १४ : १३
बुधबार, ०३ असार २०८३

सारांश

  • मन्त्री रामजी यादवले वैदेशिक रोजगार ऐनलाई 'लगामबिनाको घोडा' को संज्ञा दिँदै यसलाई समयानुकूल परिमार्जन गर्न सरकारले तीव्रता दिएको बताएका छन्।
  • नयाँ ऐनले विगत एक दशकदेखिको बेथिति अन्त्य गर्ने, प्रविधिको प्रयोगमार्फत रिक्रुटमेन्ट प्रणाली सुधार गर्ने र फ्रि भिसा तथा फ्रि टिकटको कार्यान्वयनमा देखिएका जटिलता हटाउने दाबी गरिएको छ।
  • सरकारले स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्न तीनै तहको सहकार्यमा कार्यक्रम ल्याउने र विदेशबाट फर्किएका युवाको सीप तथा अनुभवलाई राष्ट्रहितमा प्रयोग गर्ने गरी तथ्यांक संकलनलाई प्राथमिकता दिएको छ।

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले वैदेशिक रोजगार ऐनलाई समयानुकूल परिमार्जन गर्न सरकारले तीव्रता दिएको बताएका छन्। 

बुधबार प्रतिनिधिसभा बैठकमा मन्त्रालयको विनियोजित बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन्।

विद्यमान वैदेशिक रोजगार ऐनले विगत एक दशकदेखि यस क्षेत्रमा बेथिति निम्त्याएको स्वीकार गर्दै मन्त्री यादवले यसलाई 'लगामबिनाको घोडा'को संज्ञा दिए। पुराना कमजोरीलाई सुधार नगरी अघि बढ्न नसकिने भन्दै उनले नयाँ कानुनले ती सबै समस्या सम्बोधन गर्ने दाबी गरे। ऐन संशोधनको आवश्यकता र तत्परताबारे प्रस्ट पार्दै उनले नयाँ ऐन ल्याउन आफूलाई धेरै हतारो रहेको र आवश्यक परे अध्यादेशबाटै भए पनि ल्याइदिने चेतावनीसमेत दिए।

‘यो ऐन ल्याउन मलाई निकै हतारो छ, आवश्यक परे अध्यादेशमार्फत भए पनि ल्याउनुपर्ने स्थिति थियो तर अहिले हामीले यसलाई अन्तिम रूप दिएका छौँ,’ मन्त्री यादवले भने, ‘आगामी ७ गतेभित्र मस्यौदा कानुन मन्त्रालय पठाउने तयारीमा छौँ र त्यसपछि सदनमा विस्तृत छलफल हुनेछ।’

नेपाली श्रमिकहरू विश्वका १७८ भन्दा बढी मुलुकमा कार्यरत रहेको उल्लेख गर्दै उनले नयाँ ऐनलाई अन्तर्राष्ट्रिय स्तरमा व्यावहारिक बनाउन सबै सरोकारवालासँग गहन परामर्श गरिएको जानकारी दिए। प्रस्तावित कानुनमा वैदेशिक रोजगार क्षेत्रको बेथिति अन्त्यका लागि प्रविधिको प्रयोग (डिजिटलाइजेसन) र वेब पोर्टलमार्र्फत रिक्रुटमेन्ट प्रणाली (इकोसिस्टम) सुधार गर्ने दूरगामी योजनाहरू समावेश गरिएको उनले बताए। नयाँ कानुनी व्यवस्था लागू भएसँगै फ्रि भिसा र फ्रि टिकटको कार्यान्वयनमा देखिएका जटिलता एवं नीतिगत अन्योल पूर्ण रूपमा अन्त्य हुने उनको विश्वास छ।

बैठकमा मन्त्री यादवले तीन तहको सरकारसँगको सहकार्यमा स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्ने काममा सरकार लागिपरेको दाबी गरे। विदेशबाट फर्किएका (रिटर्नी) युवाहरूको ज्ञान, सीप र अनुभवलाई राष्ट्रको हितमा लगाउने गरी उनीहरूको तथ्यांक संकलन गर्ने कामलाई सरकारले प्राथमिकताका साथ अघि बढाएको उनले स्पष्ट पारे। स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्ने उद्देश्यले संघ, प्रदेश र स्थानीय तहको सहकार्यमा राष्ट्रिय रोजगार प्रवर्द्धन कार्यक्रमको व्यवस्था गरिएको उनले जानकारी दिए।

‘हामी रिटर्नीको तथ्यांक संकलन गरी उनीहरू के सिकेर आएका हुन्, कहाँ रुचि छ र कस्तो अवसर खोजेका हुन् भन्ने कुरा बुझ्छौँ,’ उनले भने, ‘उनीहरूको क्षमताअनुसार मुलुकभित्र रोजगारीको अवसर सिर्जना गर्नका लागि आवश्यक कार्यक्रमको व्यवस्था गरिएको छ।’

बढ्दो माग भएको क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गरी पठाउने गरी काम भइरहेको पनि उनले जानकारी दिए। नीति, कार्यविधि, प्रणाली र कार्यान्वयन संरचनालाई स्पष्ट पार्ने काममा सरकारले ध्यान दिएको मन्त्री यादवले बताए। अहिले मन्त्रालय कार्यक्रम थप्ने चरणमा मात्र नभई जग बसाउने चरणमा रहेको उनको भनाइ छ। बजेटमा धेरै महत्त्वपूर्ण सवालहरू समावेश भएको उल्लेख गर्दै उनले जग बसेपछि बजेट बढाउँदै लैजान सकिने बताए।

‘नीति, कार्यविधि, प्रणाली र कार्यान्वयन संरचना स्पष्ट नभएसम्म बजेट राखेर पनि खर्च गर्ने अवस्था हुँदैन,’ उनले भने, ‘यो जग बसेपछि बजेट पनि त्यसरी नै बढाउँदै लैजानुपर्छ र आवश्यक भएमा थप बजेट तत्काल निकासा गर्न सकिन्छ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप