बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय

६० अर्ब डलरमा एआई कोडिङ कम्पनी ‘कर्सर’ किन्दै एलन मस्क

बुधबार, ०३ असार २०८३, १५ : ४२
बुधबार, ०३ असार २०८३

काठमाडौँ।अमेरिकी खर्बपति एलन मस्कको अन्तरिक्ष तथा कृत्रिम बौद्धिकता (एआई) कम्पनी स्पेसएक्सले लोकप्रिय एआई कोडिङ प्लेटफर्म ‘कर्सर’ बनाउने कम्पनी एनिस्फियर किन्ने भएको छ। 

कम्पनीले ६० अर्ब अमेरिकी डलर बराबरको सेयर सम्झौतामार्फत कम्पनी खरिद गर्ने घोषणा गरेको छ। यो सम्झौता स्पेसएक्सको हालैको ऐतिहासिक आइपीओपछि आएको हो। गत साता शेयर बजार प्रवेशसँगै कम्पनीको मूल्याङ्कन २० खर्ब डलरमाथि उक्लिएको छ ।

यस अधिग्रहणले स्पेसएक्सलाई तीव्र गतिमा विस्तार भइरहेको एआई बजारमा बलियो उपस्थिति बनाउन सहयोग गर्ने अपेक्षा गरिएको छ। यसअघि स्पेसएक्सले फेब्रुअरीमा एआई कम्पनी एक्सएआईको अधिग्रहण गरेको थियो।

कर्सरको अधिग्रहणसँगै अब कम्पनीले एआई कोडिङ क्षेत्रमा अझ बलियो पकड बनाउने रणनीति लिएको देखिएको छ।

कर्सर हाल सिलिकन भ्यालीको सबैभन्दा चर्चित एआई कोडिङ उपकरणमध्ये एक हो । यसले प्रोग्रामरहरूलाई कोड लेख्न, सुधार गर्न र स्वचालित रूपमा विकास गर्न कृत्रिम बुद्धिमत्ताको सहायता प्रदान गर्छ।

विशेषज्ञहरूका अनुसार एआई कोडिङ क्षेत्र व्यवसायबाट प्रत्यक्ष आम्दानी हुने प्रारम्भिक सफल एआई बजारहरूमध्ये एक बनेको छ। यही कारणले यस क्षेत्रमा प्रतिस्पर्धा तीव्र हुँदै गएको छ। 

कर्सरलाई हाल एन्थ्रोपिक र ओपनएआई जस्ता कम्पनीहरूको प्रमुख प्रतिस्पर्धी मानिन्छ । यद्यपि पर्याप्त कम्प्युटिङ क्षमताको अभावले यसको विस्तारमा केही चुनौती देखिएको छ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप