गर्मीमा विद्युत् अभाव : मधेसमा बढ्दै छ आक्रोश
सारांश
- मधेस प्रदेशमा चर्को गर्मीका कारण बारम्बार हुने अघोषित विद्युत् कटौतीले जनजीवन कष्टकर बनेको छ।
- उपभोक्ताहरूले प्राविधिक समस्याको दीर्घकालीन समाधान र नियमित मर्मतसम्भारको माग गरेका छन्।
- समस्या समाधानका लागि करिब ४ अर्ब रुपैयाँको लगानीमा ५२५ वटा नयाँ ट्रान्सफर्मर जडान गर्ने परियोजना सुरु भएको छ।
जनकपुरधाम । मधेसवासी यतिखेर उखरमाउलो गर्मी र अनियमित विद्युत् आपूर्तिको दोहोरो मारमा परेका छन् । चर्को गर्मीका बेला बारम्बार हुने अघोषित विद्युत् कटौतीले जनजीवन कष्टकर बन्नुका साथै नागरिकमा आक्रोश बढ्दै गएको छ ।
जलेश्वर नगरपालिका–२ का जानकी साह गर्मीले हायलकायल भएको गुनासो गर्छन् । ‘पटक–पटक विद्युत् जाँदा दिक्क भइसक्यौँ,’ उनले भने, ‘वितरण केन्द्रमा फोन गर्दा प्राविधिक समस्या देखाउँदै मर्मत भइरहेको एउटै जवाफ मात्र आउँछ ।’
मधेसमा हरेक वर्ष गर्मीयाममा यस्तै समस्या दोहोरिने गरेको र नियमित विद्युत् आपूर्ति कहिलेदेखि हुन्छ भन्ने स्पष्ट उत्तर कतैबाट नपाइएको उनको गुनासो छ ।
जलेश्वर–३ का राजु पाण्डे र वडा नम्बर ४ का सुरेश झाको गुनासो पनि यस्तै छ । पाण्डे भन्छन्, ‘वास्तवमै प्राविधिक समस्या हो भने यसको दीर्घकालीन समाधान खोजिनुपर्छ । नागरिकलाई अन्धकारमा राखेर प्राधिकरण जिम्मेवारीबाट पन्छिन मिल्दैन ।’
विद्युत् कटौतीका कारण घरायसी कामकाज मात्र नभई व्यापार व्यवसाय, स्वास्थ्य सेवा र दैनिक जीवन गम्भीर रूपमा प्रभावित भएको झाले बताए । उनले नेपाल विद्युत् प्राधिकरणसँग नियमित मर्मतसम्भार, पूर्वसूचना प्रवाह र प्रभावकारी व्यवस्थापनको माग गरे ।
विशेषगरी बालबालिका, वृद्धवृद्धा र बिरामीहरू गर्मीका कारण बढी प्रभावित भएका छन् । पङ्खा, कुलरजस्ता विद्युतीय उपकरण चलाउन नपाउँदा सर्वसाधारणको दैनिकी कष्टकर बनेको छ ।
के भन्छ वितरण केन्द्र ?
उपभोक्ताको आक्रोशबारे जलेश्वर वितरण केन्द्रका प्रमुख इन्जिनियर रोशन कुमार सिंहले नागरिकको गुनासो जायज भएको स्वीकार गरे । उनले समस्या समाधानका लागि प्रयास भइरहे पनि स्थानीयस्तरमा केही व्यावहारिक कठिनाइ रहेको बताए ।

‘हामी रौजामा ट्रान्सफर्मर जडान गर्न खोजिरहेका छौँ, तर स्थानीयको आवश्यक सहयोग नपाउँदा काम प्रभावित भएको छ,’ सिंहले भने । उनले ३३ केभी लाइन जडान भएपछि समस्या कम हुने र हाल बाटो विस्तारका कारण पनि लाइन काट्नुपर्ने बाध्यता रहेको स्पष्ट पारे । अत्यधिक माग बढेको र हाल एउटै ३३ केभी स्रोतमा निर्भर रहनुपरेकाले समस्या देखिएको भन्दै अर्को स्रोत थपिएपछि समस्या घट्ने उनले दाबी गरे ।
राजधानी जनकपुरधामको अवस्था
मधेस प्रदेशको राजधानी जनकपुरधाममै पनि अघोषित विद्युत् कटौती बढेपछि स्थानीयवासी आक्रोशित हुन थालेका छन् । जनकपुरधाम उपमहानगरपालिका–८ का रोशन राउतले बिनासूचना लाइन काट्ने प्रवृत्ति बढेको भन्दै आक्रोश व्यक्त गरे ।
यस्तै, वडा नम्बर १० का निकेश कर्णले पूर्वजानकारीबिना हुने कटौतीका कारण घरमा रहेका विद्युतीय उपकरणहरू बिग्रिने जोखिम बढेको गुनासो गरे ।
४ अर्बको परियोजना सुरु
मधेस प्रदेशमा कुल २३ वटा वितरण केन्द्रमार्फत विद्युत् प्रवाह भइरहेको छ । प्रदेशभरिबाट अनियमित विद्युत् आपूर्तिबारे गुनासो बढेपछि प्राधिकरण मधेस प्रादेशिक कार्यालयका प्रमुख शम्भु कुसियैत यादवले अत्यधिक गर्मीका कारण ट्रान्सफर्मर तथा मेसिनहरू तातेर बिग्रने गरेको बताए ।

‘मौसम अनुकूल छैन र हाम्रा पुराना संरचनाले अत्यधिक लोड धान्न सकिरहेका छैनन्,’ यादवले भने । समस्या समाधानका लागि प्रदेशभर करिब ४ अर्ब रुपैयाँको लगानीमा ५२५ वटा नयाँ ट्रान्सफर्मर जडान गर्ने परियोजना सुरु भइसकेको उनले जानकारी दिए ।
उपभोक्ताका गुनासा सुन्न आफू राति १२ बजेसम्म कल सेन्टरमै रहने गरेको दाबी गर्दै उनले विगतको तुलनामा सुधार हुँदै गएको र आगामी दिनमा थप सुधार हुने अपेक्षा गरिएको बताए ।
करिब ६४ लाख जनसंख्या भएको मधेस प्रदेशमा विद्युत् सेवाको नियमितता उद्योग, शिक्षा, स्वास्थ्य र सूचना प्रविधिसहितका दैनिक गतिविधिहरूसँग प्रत्यक्ष जोडिएको छ ।
नागरिकहरूले तत्काल भरपर्दो र गुणस्तरीय विद्युत् आपूर्तिको व्यवस्था मिलाउन र यसको दीर्घकालीन समाधान खोज्न माग गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बस्ती हटाएपछि यस्तो देखिए काठमाडौँ उपत्यकाका सुकुमबासी क्षेत्र (तस्बिरहरू)
-
मुख्य राजमार्गहरूको पछिल्लो अवस्था : कतै एकतर्फी, कतै पूर्ण रूपमा बन्द
-
प्रतिनिधि सभा बैठक बस्दै, विनियोजन विधेयक पारित गर्ने कार्यसूची
-
पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार
-
कर्णाली सरकारले जेठमा मात्रै गर्यो २ अर्ब ४० करोड बजेट खर्च
-
हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण