बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अस्ट्रेलियाली स्पिनरहरूको रेकर्ड : पहिलो टी–२० मा बङ्गलादेश ४ विकेटले पराजित

बिहीबार, ०४ असार २०८३, १० : २९
बिहीबार, ०४ असार २०८३

सारांश

  • अस्ट्रेलियाली स्पिनरहरूले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो पटक ९ विकेट लिँदै ऐतिहासिक कीर्तिमान बनाएका छन्।
  • स्पिनरहरूको उत्कृष्ट प्रदर्शनको मद्दतले अस्ट्रेलियाले पहिलो टी-२० खेलमा बङ्गलादेशलाई ४ विकेटले पराजित गर्‍यो।
  • एडम जाम्पा टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा १५० विकेट लिने पहिलो अस्ट्रेलियाली बलर बनेका छन्।

ढाका । अस्ट्रेलियाली स्पिनरहरूले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो पटक ९ विकेट लिँदै ऐतिहासिक कीर्तिमान बनाएका छन् । स्पिनरहरूको यही उत्कृष्ट प्रदर्शनको मद्दतले मिचेल मार्सको कप्तानीमा रहेको अस्ट्रेलियाले पहिलो टी–२० खेलमा बङ्गलादेशलाई ४ विकेटले पराजित गरेको छ।

अस्ट्रेलियाका लागि लेग स्पिनर एडम जाम्पा र डेब्यू खेल खेलिरहेका जोएल डेभिसले ३–३ विकेट लिएपछि बङ्गलादेश सस्तैमा समेटिएको थियो। चटगाउँमा टस हारेर पहिले ब्याटिङ गर्न उत्रिएको बङ्गलादेशी टोली अस्ट्रेलियाली स्पिनरहरूका अगाडि टिक्न सकेन र पूरा टोली १३२ रनमै अलआउट भयो।

१३३ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले कूपर कनोलीको ४७ रनको इनिङ्स र टिम डेभिडको विस्फोटक ब्याटिङको मद्दतले १७।२ ओभरमा ६ विकेट गुमाएर लक्ष्य भेटाउन सफल भयो।

जाम्पाको १५० टी–२० अन्तर्राष्ट्रिय विकेट पूरा

यो खेलसँगै एडम जाम्पा टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा १५० विकेट लिने पहिलो अस्ट्रेलियाली बलर बनेका छन्। आफ्नो सानदार प्रदर्शनका लागि उनले ‘प्लेयर अफ द म्याच’ को अवार्ड समेत पाए।

जाम्पा टी–२० अन्तर्राष्ट्रियमा १५० वा सोभन्दा बढी विकेट लिने विश्वकै पाँचौँ लेग स्पिनर बनेका छन् । उनीभन्दा अगाडि राशिद खान, ईश सोढी, आदिल राशिद र वानिन्दु हसरङ्गाले यो उपलब्धि हासिल गरिसकेका छन्।

पावरप्लेमा बङ्गलादेशको बलियो सुरुवात

खेलको सुरुवातमै बङ्गलादेशका ओपनर सैफ हसन र तन्जिद हसनले आक्रामक ब्याटिङ गरेका थिए । दुवैले स्पेन्सर जोन्सन र जेभियर बार्टलेट विरुद्ध केही आकर्षक सटहरू प्रहार गरे।

तर, जोन्सनले तन्जिदलाई बार्टलेटको हातबाट क्याच गराएर बङ्गलादेशलाई पहिलो झटका दिए। त्यसपछि सैफ हसन पनि म्याट रेनशको बलमा मिचेल मार्सलाई क्याच थमाउन पुगे।

सुरुवाती विकेट ढलेपछि कार्यवाहक कप्तान तौहिद हृदोय र १८ महिनापछि टोलीमा फर्किएका सौम्य सरकारले बङ्गलादेशको इनिङ्स सम्हालेका थिए । बङ्गलादेशले पावरप्लेको ६ ओभरमा २ विकेट गुमाएर ५२ रन बनाएको थियो, जुन अस्ट्रेलियाविरुद्ध पावरप्लेमा उसको अहिलेसम्मकै सबैभन्दा ठुलो स्कोर हो।

खेलको सातौँ ओभरमा एडम जाम्पाले तौहिद हृदोय यलाई आफ्नो गुग्ली बलमा बोल्ड गर्दै बङ्गलादेशको रन गतिमा पूर्णविराम लगाइदिए। अर्को ओभरमा सौम्य सरकार पनि डेब्यू गरिरहेका निखिल चौधरीको बलमा क्याच आउट हुन पुगे।

त्यसपछि जोएल डेभिसले आफ्नो अन्तर्राष्ट्रिय करियरको दोस्रो बलमै परवेज हुसेन इमोनलाई कूपर कनोलीको हातबाट क्याच गराएर पहिलो सफलता हात पारे। म्याट रेनशले शमीम हुसेनलाई विकेटकिपरको हातबाट क्याच गराए भने डेभिसले डेब्यू खेलाडी अब्दुल गफ्फार सकलेनलाई पनि पवेलियनको बाटो देखाए।

बलिङमा निखिल चौधरीले पनि राम्रो योगदान दिँदै रिशाद हुसेनलाई ३ रनमा आउट गरे। तल्लो क्रममा महेदी हसनले अविजित २९ रन बनाए पनि अर्को तर्फबाट लगातार विकेट झरेका कारण बङ्गलादेशको टोली १३२ रनमै सीमित हुन पुग्यो।

कनोलीले सम्हाले इनिङ्स, सरिफुलको ओभरमा लगातार तीन चौका

१३३ रनको सामान्य लक्ष्य पछ्याउन मैदान उत्रिएको अस्ट्रेलियाको सुरुवात पनि राम्रो हुन सकेन। अघिल्लो एकदिवसीय खेलमा ६ विकेट लिएका बङ्गलादेशी बलर सरिफुल इस्लामले जोश इंग्लिसलाई ५ रनमै बोल्ड गरिदिए।

त्यसपछि क्रिजमा आएका कूपर कनोलीले सोही ओभरमा सरिफुलको लगातार तीन बलमा तीन चौका प्रहार गर्दै टोलीको दबाब कम गरे। कप्तान मिचेल मार्स १३ बलमा १४ रन बनाएर मुस्ताफिजुर रहमानको बलमा आउट भएपछि अस्ट्रेलियाले सुरुवाती झट्का बेहोरेको थियो।

मार्स आउट भएपछि क्रिजमा आएका टिम डेभिडले महेदी हसनको बलमा ९८ मिटर लामो छक्का प्रहार गरेर आफ्नो आक्रामक मनसाय प्रष्ट पारेका थिए। अर्कोतर्फ कनोलीले सानदार ब्याटिङ जारी राख्दै सकलेन र रिशाद हुसेन विरुद्ध धेरै आकर्षक सटहरू खेले।

कनोलीले २७ बलमा ४७ रन बनाए, जुन उनको टी–२० अन्तर्राष्ट्रिय करियरकै उत्कृष्ट स्कोर हो। उनको यो इनिङ्समा ७ चौका र ३ छक्का सामेल थिए। टिम डेभिडले १६ बलमा २० रनको योगदान दिए।

खेलको अन्त्यतिर डेब्यू खेलाडी निखिल चौधरीले १८ रन र म्याट रेनशले पनि १८ रन बनाए । अन्ततः जेभियर बार्टलेटले अर्को बलमा चौका प्रहार गर्दै १० बल बाँकी छँदै अस्ट्रेलियालाई सहज जित दिलाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप