बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय
राजनीति

सक्रिय राजनीतिबाट बिदा भए महरा

बिहीबार, ०४ असार २०८३, १७ : ०२
बिहीबार, ०४ असार २०८३

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता तथा पूर्व सभामुख कृष्णबहादुर महराले सक्रिय राजनीतिबाट बिदा लिएका छन् ।

 बिहीबार एक विज्ञप्ति जारी गर्दै उनले सक्रिय राजनीतिबाट बिदा लिएको घोषणा गरेका हुन् । रातोपाटीसँग कुरा गर्दै महराले स्वास्थ्य अवस्थाका कारण पार्टीको सक्रिय जिम्मेवारीबाट अलग हुने घोषणा गरेको बताए ।

‘पार्टी छाडेको भन्दा पनि सम्पूर्ण जिम्मेवारीबाट अलग भएको हुँ । पार्टीप्रति कुनै वितृष्णा भएर होइन’, उनले भने ।

विगत ४८ वर्षदेखि नेपाली कम्युनिस्ट आन्दोलनमा निरन्तर सक्रिय रहँदै आएका महराले आफू ‘एट्रोफी’ सम्बन्धी नसा र मांसपेशीको समस्याबाट पीडित रहेको बताएका छन् । । नियमित उपचार, थेरापी र औषधि सेवन गर्दा पनि स्वास्थ्यमा अपेक्षित सुधार नभएकाले पार्टीका नियमित गतिविधि र जिम्मेवारी वहन गर्न कठिन भएको महराले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

‘स्वास्थ्य अवस्थाले अपेक्षित साथ दिन सकेन । परिणामस्वरूप, पार्टीका नियमित गतिविधि र जिम्मेवारीहरूमा विगतजस्तै सक्रिय, प्रभावकारी र जिम्मेवार ढङ्गले योगदान गर्न कठिन हुँदै गएको छ,’ वक्तव्यमा भनिएको छ ।

आफ्नो यो निर्णय कुनै राजनीतिक असन्तुष्टि, गुनासो वा वैचारिक विचलनका कारण नभई विशुद्ध स्वास्थ्य अवस्थाले सिर्जना गरेको बाध्यात्मक परिस्थिति मात्र भएको महराले प्रस्ट पारे । 

उनले भनेका छन्, ‘पार्टीको सक्रिय जिम्मेवारीबाट अलग भई साधारण सदस्य रहने निर्णय गरेको जानकारी गराउन चाहन्छु ।’ ४८ वर्षे राजनीतिक यात्रामा साथ दिने सबै साथीहरू, जनता र परिवारप्रति कृतज्ञता व्यक्त गरेका छन् । 

 नेकपा चौथो महाधिवेशनदेखि माओवादी आन्दोलनका विभिन्न चरणहरूमा आफूले क्षमताले भ्याएसम्म योगदान गरेको स्मरण गर्दै उनले नयाँ पुस्ताका ऊर्जावान् युवाहरूले देशलाई समृद्ध र आत्मनिर्भर बनाउने विश्वास व्यक्त गरेका छन् । 

No description available.

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप