‘घरमा पनि सरसफाइ गर’, विश्वकपमा स्टेडियम सफा गर्ने जापानी फ्यानहरूलाई श्रीमतीहरूको सुझाव
सारांश
- जापानी फुटबल फ्यानहरूले विश्वकपपछि स्टेडियम सफा गर्ने बानीको प्रशंसा बटुले पनि घरको काममा श्रीमतीहरूको बोझ बढाएको भन्दै जापानमा आलोचना खेपिरहेका छन्।
- सामाजिक सञ्जालमा भाइरल भएको एक पोस्टमा सार्वजनिक ठाउँमा सफा गर्ने पुरुषहरू घरमा श्रीमतीले गर्ने कामको बोझ पन्छ्याउने गरेको चित्रण गरिएको छ।
- तथ्याङ्कअनुसार जापानी महिलाहरूले घरेलु काममा पुरुषहरूको तुलनामा पाँच गुणा बढी समय बिताउँछन्, जसले घरको काममा असमानता देखाउँछ।
टोकियो । विश्वकप फुटबलका खेलहरू सकिएपछि स्टेडियम सफा गरेर वर्षौँदेखि विश्वभर प्रशंसा बटुल्दै आएका जापानी फुटबल फ्यानहरू यसपटक आफ्नै देशमा भने चर्को आलोचनाको सिकार भएका छन्।
खेलपछि थुप्रिएको फोहोर बोरामा हाल्दै स्टेडियमका सिटहरू सफा गरिरहेका जापानी समर्थकहरूको तस्बिर यसै हप्ता सार्वजनिक भएपछि जापानका महिलाहरूले उनीहरूको दोहोरो चरित्रमाथि प्रश्न उठाएका हुन्। सार्वजनिक ठाउँमा आफैँ फोहोर उठाउने पुरुषहरूले घरको सारा कामको बोझ भने आफ्नी श्रीमतीको काँधमा छोड्ने गरेको भन्दै आलोचना सुरु भएको हो।
यसै विषयलाई लिएर सामाजिक सञ्जालमा एउटा पोष्ट निकै भाइरल बनेको छ। उक्त पोष्टमा एकातिर स्टेडियममा फोहोर उठाइरहेको पुरुषको तस्बिर राखिएको छ भने अर्कोतिर तिनै पुरुष घरको सोफामा पल्टिएर मोबाइल चलाइरहेको र नजिकै लुगा धुने टोकरी भरिएको तथा उसकी श्रीमतीले भाँडा माझिरहेको दृश्य देखाइएको छ।
पोष्टमा लेखिएको छ, ‘जापानी पुरुषहरूले घरको काममा बढी हात बढाउनुपर्छ, किनकि घरको काममा उनीहरूले बिताउने समय विश्वमै सबैभन्दा कम मध्येमा पर्छ।’ उक्त पोष्टलाई सामाजिक सञ्जाल एक्समा ६० हजारभन्दा बढीले लाइक गरेका छन्।
एक प्रयोगकर्ताले अमेरिकी लेखक पीजे ओ’रोर्कको भनाइ उद्धृत गर्दै टिप्पणी गरेका छन्, ‘सबैजना संसार बचाउन चाहन्छन्, तर कसैलाई पनि आमालाई भाँडा माझ्न सघाउने इच्छा हुँदैन।’
अर्का एक प्रयोगकर्ताले लेखेका छन्, ‘स्टेडियममा फोहोर उठाइरहेका यी मानिसहरूमध्ये पक्कै पनि कोही यस्ता पुरुष छन्, जसले घरमा सानो बच्चा र श्रीमतीलाई एक्लै छोडेर विश्वकप हेर्न आएका हुन्।’
सार्वजनिक ठाउँमा सरसफाइ गर्ने र आफ्नो फोहोर आफैँ व्यवस्थापन गर्ने कुरा जापानी संस्कृतिमा गहिरोसँग जोडिएको छ। तर, घरको काम गर्ने मामिलामा भने विकसित देशहरूमध्ये जापानी पुरुषहरू सबैभन्दा पुछारमा पर्छन्। आर्थिक सहयोग र विकास संगठनको सन् २०२१ को तथ्याङ्कअनुसार जापानी महिलाहरूले दैनिक तीन घण्टाभन्दा बढी समय विना ज्यालाका घरेलु काममा खर्चिन्छन्, जुन पुरुषहरूको तुलनामा पाँच गुणा बढी हो। जापानी पुरुषहरूले घरको काममा दैनिक मात्र ४७ मिनेट समय दिने गरेका छन्।
यो असमानता युवा परिवारहरूमा अझ बढी देखिन्छ। सन् २०२१ को सरकारी सर्वेक्षणअनुसार ६ वर्षमुनिका बालबालिका भएका र श्रीमान्-श्रीमती दुवैले कमाउने परिवारमा महिलाहरूले घरको काममा दैनिक ७ घण्टाभन्दा बढी समय बिताउँछन् भने पुरुषहरूले २ घण्टाभन्दा कम समय मात्र दिन्छन्। कतिपय सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले विदेशमा गएर फोहोर उठाउने तर जापानकै ठुला कार्यक्रमहरू पछि सार्वजनिक ठाउँहरू फोहोरले भरिने गरेको भन्दै यसलाई ‘ढोंग’ को संज्ञा समेत दिएका छन्।
तर, घरको कामको बाँडफाँडलाई लिएर विवाद चर्किरहेका बेला धेरैले जापानी फ्यानहरूको स्टेडियम सफा गर्ने यो मौलिक बानीलाई निरुत्साहित गर्नुको साटो प्रोत्साहन गर्नुपर्ने तर्क पनि गरेका छन्। एक प्रयोगकर्ताले लेखेका छन्, ‘यसमा लाजमर्दो कुरा के छ र? विदेशमा जापानीहरूले फोहोर फैलाए भन्ने समाचार आउनुभन्दा त यो कैयौँ गुणा राम्रो हो।’
जापानी फ्यानहरूको यो बानीले अन्य देशका समर्थकहरूलाई पनि प्रभाव पारेको छ। हालै सार्वजनिक भएको एउटा भिडियोमा पोर्चुगलका फ्यानहरूले पनि जापानीहरूको सिको गर्दै खेलपछि ठुला प्लास्टिकका झोलाहरूमा स्टेडियमको फोहोर सङ्कलन गरिरहेको देखिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
८ पेगको नसामा जावेद अख्तरले ९ मिनेटमै लेखेका थिए यो कालजयी गजल
-
पाराग्वेका अल्मिरोनलाई मुख छोपेर बोलेको आरोपमा रातो कार्ड, नयाँ नियमपछि पहिलो घटना
-
सातै प्रदेशमा ‘ब्लु बस’ सञ्चालनको तयारी
-
ट्राफिक कारबाहीमा एकैदिन १९ लाख ६० हजार राजस्व सङ्कलन
-
मुख्यमन्त्री कार्यालयका ‘जलेको’ भनिएका ३० थान ल्यापटप र १४ थान मोबाइल कसले चोर्यो ?
-
सुनसरी र मोरङका स-साना नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण