के हामी स्ट्याटसबाट शासित हुन अभिशप्त छौँ?
सारांश
- हिटलरलाई व्यवस्था र विचारका रूपमा सञ्चालन गर्ने संयन्त्र मानिएको छ, जसका वैचारिक गुरु नित्से र मनु हुन्।
- फासीवादमा अर्थतन्त्रमा एकाधिकार पुँजीवाद, राजनीतिमा सर्वसत्तावाद, संस्कृतिमा पुरातनको मोह र पितृसत्ताको अभ्यास पाइन्छ।
- मास हिस्टेरिया वा सामूहिक उन्मादले गर्दा निम्न वर्गका मानिसहरूले समेत आफ्नो हित नगर्ने फासीवादीहरूलाई समर्थन गर्ने गर्छन्।
हिटलरको उमेर मृत्युपछि कति हो
ऊ इतिहासमा पूर्णतः कहिले फर्कन्छ
हिटलर ती सब मुलुक कहिले छोड्छ
जहाँ नाम फेरीफेरी
ऊ राज्य गर्दैछ
तर, हावर्ड प्रोफेसर भन्छ–
हिटलर जन्मिरहने जात हो
कैयौँ वर्षदेखि म कक्षामा
प्रजातन्त्र, स्वतन्त्रता, उदारवाद पढाउँदै छु
तर हिटलर जन्मिरहेछ
हिटलर जन्मिरहने जात हो।
– राजव
हिटलर ‘जात’ हो भने सबैभन्दा खुङ्खार र सम्मोहक जात हो। त्यस्तो जात, जुन व्यवस्था र विचार वा आइडियोलोजीका रूपमा सञ्चालन गर्ने संयन्त्र हो। यस्तो व्यवस्था र विचार बनाउनमा हिटलरको मात्रै योगदान थिएन।
हिटलर त यस्तो व्यवस्था र संयन्त्रका कुशल सञ्चालक मात्रै थिए। विचारक थिए– ‘डेथ अफ गड’ अर्थात् ईश्वरको मृत्युको घोषणा गर्ने दार्शनिक फ्रेडरिक नित्से। २०औँ शताब्दीका हिटलरका दार्शनिक गुरु, फासीवादीहरूका वैचारिक प्रणेता।
इसाई धर्मलाई दास, चण्डाल वा शूद्रहरूको धर्म मान्ने र यहुदीहरूलाई घृणा गर्न सिकाउने विचारक हुन्, नित्से। १९औँ शताब्दीका नित्सेका अन्य–घृणा फैलाउने र ‘सुपरम्यान’ बनाउने विचारका वाहक थिए, हिटलर।
हिटलरका गुरु नित्सेका पनि महान् गुरु थिए– मनु। बीस–बाइस सय वर्षअघि मनुस्मृतिको रचना गर्ने ऋषि। दास, चण्डाल वा शूद्रमाथि सबै दलन र अपमानको बोझ थोपर्ने शास्त्र वा कानुन बनाउने ऋषि महर्षि। ब्रह्मालाई ब्रह्माण्डकै रचनाकार मान्ने, ब्राह्मणलाई सबैभन्दा उच्च, सर्वश्रेष्ठ, पवित्र र ज्ञानीगुणी वर्ण मान्ने शास्त्रका रचनाकार मनु।
तिनै मनुले लेखेको भनिने मनुस्मृतिका आधारमा राज्य, समाज र परिवारसँगै मनमाथि शासन गर्ने हाम्रा शासक हुन्– लिच्छविकालका मानदेव, मल्लकालका जयस्थिति मल्ल, शाहकालका राम शाहदेखि राणाकालका जङ्गबहादुर राणासम्म।
जङ्गबहादुरका पालामा जन्मेका र लेखनमा सक्रिय रहेका नित्सेले सन् १८५४ मा लेखिएको ‘मुलुकी ऐन’बारे थाहा पाएका भए कति गदगद हुन्थे! एक वर्णको सर्वोच्चता स्थापित गर्न खोज्ने यी शासकहरूको गुणगान गरी अर्को ‘दस स्पोक जरथुस्त्र’ लेख्थे होलान्।
त्यस शास्त्रको हाइहाइ गर्दै नयाँनयाँ हिटलरले शूद्र, चण्डाल र म्लेच्छहरूको संहार गर्थे होलान्। एक धर्मको पक्षपोषण, एउटा वर्णको सर्वोच्चता तथा अन्य धर्म, वर्ण, जात, जाति, समुदाय वा राष्ट्रप्रतिको घृणा र हिंसाको वैचारिक धागो मनुदेखि हिटलरसम्म जोडिएको छ।
- फासीवादका केही विशिष्ट पक्ष
२०औँ शताब्दीमा देखिएको फासीवादका केही विशिष्ट पक्ष छन्। उदाहरणका लागि, अर्थतन्त्रमा एकाधिकारी पुँजीवाद (मोनोपोली क्यापिटालिजम) जोडिएको छ। पुँजीवादमा सङ्कट आउँदा अझ बेसी एकाधिकारी पुँजीवादको वकालत गर्नमा फासीवादीहरू लागेको देखिन्छ।
राजनीतिमा सर्वसत्तावाद (अथोरिटारियनिजम) फासीवादीहरूको मूल चरित्र हो। उनीहरू उदार लोकतान्त्रिक मूल्यमान्यता र संरचनाको उन्मूलन गर्छन्। उनीहरू कोही निर्वाचित तानाशाहका रूपमा त कोही सडकबाट सत्ता कब्जाकारीका रूपमा वा कोही दुवै पक्षको सम्मिलित रूपमा उदाएका छन्।
फासीवादीहरूको संस्कृति हेर्दा पुरातनको मोह ठूलो स्केलमा पाइन्छ। आफ्नो देशको महानता, आफ्नो परम्परा गौरवशाली, आफ्नो संस्कृति सनातन, सभ्य र श्रेष्ठ ठान्दै रमाउने प्रवृत्ति बलियोसँग छ। उनीहरूका समाज र परिवारमा पितृसत्ताको अभ्यास चर्कोसँग देखिन्छ।
उनीहरूका व्यवहारमा महिलाको स्थान भनेको तीनवटा अङ्ग्रेजी वर्णको ‘के’ (K) मा सीमित छ। जर्मनीको उदाहरण दिने हो भने ‘किन्डर’, ‘कुखे’, ‘किर्खे’ अर्थात् बच्चा, भान्सा र चर्च। राष्ट्रका लागि बच्चा जन्माउने, भान्साघर सम्हाल्ने र चर्च धाउनेमा महिलाको भूमिका सीमित गरिएको पाइन्छ।
धेरैजसो फासीवादीहरूको व्यक्तिगत चरित्र परपीडक हुन्छ, परपीडामा रमाउने खालको हुन्छ। सोचाइ वा विचारको हिसाबले आफ्नो नस्ल, वर्ण, रङ, जात, जाति, समुदाय, लिङ्ग वा क्षेत्रको श्रेष्ठता र प्रभुत्वको पक्षधर हुन्छ। ‘हामी’ र ‘अरू’को भाष्य बनाउँदै आफूभन्दा बाहेकलाई अन्य वा पराया ठानिन्छ, म्लेच्छ मानिन्छ र परायाकरण (अदरिङ) गरिन्छ। अन्यलाई समस्या र सङ्कटको दोष थोपर्न वा सजाय दिनयोग्य र अपराधका लागि जिम्मेवार मानिन्छ।
यस अर्थमा, कसैको दृष्टिकोण र मानसिकतामा अन्धता, भक्तिभाव र जुझारुपना एकसाथ व्यक्ति र समूहमा देखियो र त्यसमा अन्यप्रति द्वेष, घृणा र हिंसा पनि मिसियो भने ‘फासीवाद तयार भयो’ भनेर बुझ्नु सही हुन्छ।
- मास हिस्टेरिया
यो खासमा मनोविज्ञानको भाषामा हिस्टेरियाका रूपमा प्रकट हुन्छ, चाहे व्यक्तिमा होस् या समूह वा समुदायमा। व्यक्तिव्यक्तिमा देखिने यो मानसिक समस्या सामूहिक र सामुदायिक रूपमा देखियो भने ‘मास हिस्टेरिया’ भनिन्छ।
मास हिस्टेरियाको उदाहरण ऋतिक रोशन काण्डमा मधेसी समुदायविरुद्ध, इराकमा नेपाली मारिँदा भदौ १६ गते मुसलमान समुदायविरुद्ध भएका प्रदर्शनमा देखिएको छ। केही वर्षदेखि बढ्दो मात्रामा देखिएका तराई–मधेसमा गाईको नाममा जारी हिंसा वा मुसलमान समुदायविरुद्ध जारी प्रदर्शनमा पनि यो प्रकट भएको छ।
त्यस्तै, भदौ २४ गते पुराना दलका राजनीतिक नेता र व्यापारिक प्रतिष्ठानविरुद्ध भएको सामूहिक उन्मादमा पनि यो देखिएको छ।
यो मास हिस्टेरिया खासमा एक सामाजिक आन्दोलनका रूपमा विकास हुने गरेको छ। यसको अगुवाइ मध्यम वर्गले गरेको इतिहास छ। पुँजीवादी सङ्कटको बेला नराम्ररी प्रभावित हुने, निम्न वर्गमा झरिएला कि भन्ने भयले ग्रस्त यो पेट्टी बुर्जुवा वर्गले नै चलाउने प्रतिगामी र अन्धराष्ट्रवादी, जुझारु र हिंस्रक आन्दोलन हो– फासीवाद।
- किन मर्न, मार्न तयार हुँदै छौँ?
यस आन्दोलनमा सबैभन्दा बढी सक्रिय बनाइन्छन् निम्न वर्गका सदस्य, जसको हित र स्वार्थको रक्षा फासीवादीहरूले गरेको इतिहास नै छैन।
प्रश्न के मात्रै हो भने, आफ्नो हित र स्वार्थको रक्षा नगर्ने फासीवादीहरूलाई नै श्रमिक वा निम्न वर्गका मानिसहरूले किन समर्थन गर्छन्? किन अरूका लागि, विशेषगरी अरूले बनाएका मिथक र भाष्यका लागि मर्न र मार्न तयार हुन्छन्? किन राष्ट्र, देश, धर्म, नस्ल, वर्ण, जात, जाति, समुदाय, क्षेत्र वा अरू कुनै नाममा हिंसा प्रयोग गर्न तम्तयार हुन्छन्?
वर्गीय मुक्तिको आन्दोलनमा होमिनुपर्ने भनिएको वर्ग र त्यसका सदस्यसमेत किन फासीवादी हुन पुग्छन्? सबैभन्दा शोषित वर्ग वा उत्पीडित समुदायका हाम्रै मनमा पनि उत्पीडकको बास त छैन? हामी पनि सर्वसत्तावादी वा पितृसत्तावादी वा परपीडक पनि त छैनौँ, जो कुनै ठूला सङ्कटको बेला अवतार वा चमत्कारीको खोजीमा लाग्छौँ?
हामी नै किन अविकास, कुशासन र गरिबी छुमन्तर गर्ने जादुगर वा मुक्तिदाताको खोजीमा लाग्छौँ? किन कुनै सम्मोहक व्यक्तिप्रति त्वमशरण गर्छौँ? किन लोकरञ्जक वा पपुलिस्ट विचार पछ्याउँदै आफ्नो विवेकलाई पाउमा चढाउँछौँ? किन तिनीहरूका एउटा स्ट्याटसबाट शासित हुन तयार हुन्छौँ?
यहाँ हामी सोच्न, विचार गर्न, मन्थन गर्न भेला भएका छौँ, यसको अर्थ हाम्रो जमिर, हाम्रो विवेक मरेको छैन। हामीले बुद्धदेखि मार्क्ससम्मले भनेझैँ सन्देह गर्न, अविश्वास गर्न, प्रश्न गर्न, ठीक–बेठिक, न्याय–अन्याय छुट्याउन सकेनौँ भने हामी पनि मर्छौँ।
हामीलाई जिउँदै मर्ने र मारिने उन्मादी भिड वा बथान मात्रै बनाउने कुनै वाद, विचार र व्यक्तित्व स्वीकार्य छैन।
(प्रज्ञा प्रतिष्ठानमा शुक्रबार आयोजित ‘फासीवाद मन्थन’ कार्यक्रममा ‘उन्माद: फासीवाद मन्थन’ पुस्तकका लेखक महर्जनले राखेको विचार।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका–इरानबीचको प्रारम्भिक सम्झौतालाई अघि बढाउन कूटनीतिज्ञहरूद्वारा पहल शुरु
-
स्पेनी प्रधानमन्त्री सान्चेजकी श्रीमतीलाई देश छोड्न प्रतिबन्ध
-
तनहुँबाट हराएका २१ जनामध्ये १७ जना फेला
-
कालीगण्डकीमा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मृत्यु
-
बहुविवाह मुद्दाका फरार प्रतिवादी १२ वर्षपछि पक्राउ
-
देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण