शनिबार, ०६ असार २०८३
ताजा लोकप्रिय
रास्वपा महाधिवेशन

चितवनमा कस्तो छ सुरक्षा र ट्राफिक व्यवस्था ?

शनिबार, ०६ असार २०८३, १४ : ५५
शनिबार, ०६ असार २०८३

सारांश

  • चितवन जिल्ला प्रहरी कार्यालयले राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन नजिकिँदै गर्दा सुरक्षा व्यवस्था कडा पारेको छ।
  • महाधिवेशन स्थलको सुरक्षा, ट्राफिक व्यवस्थापन, र पार्किङका लागि सम्पूर्ण तयारी पूरा भएको छ।
  • अत्यावश्यक सवारीसाधन बाहेक केही रुटमा सवारी प्रवेशमा रोक लगाइने र सर्वसाधारणलाई सहयोग गर्न आग्रह गरिएको छ।

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन नजिकिँदै गर्दा चितवन जिल्ला प्रहरी कार्यालयले सुरक्षा व्यवस्था कडा पारेको जनाएको छ। चितवन जिल्ला प्रहरी प्रमुख एसपी रामेश्वर पौडेलका अनुसार महाधिवेशन स्थलको सुरक्षा र ट्राफिक व्यवस्थापनका लागि सम्पूर्ण तयारी पूरा भएको हो।

एसपी पौडेलले भने, ‘हामीले सिभिल र ट्राफिक प्रहरीसहितको सुरक्षा व्यवस्था खडा गरेका छौँ। पार्किङको पनि मजबुत व्यवस्था मिलाइएको छ।’ विशेषगरी पश्चिम र पोखराबाट आउने गाडीहरूलाई वीरेन्द्र क्याम्पसको पछाडिपट्टि र डिग्री क्याम्पसको साइडमा पार्किङ गर्ने व्यवस्था मिलाइएको छ, जहाँ करिब हजार गाडी अट्ने क्षमता छ। यस्तै, पूर्वबाट आउने गाडीका लागि पारस बसपार्क र अन्य क्षेत्रमा पनि पार्किङको व्यवस्था गरिएको छ।

सर्वसाधारणलाई असर नपर्ने गरी ट्राफिक व्यवस्थापन गरिएको एसपी पौडेलले प्रस्ट पारे। ‘हामीले ट्राफिक व्यवस्थापनको सन्दर्भमा राजमार्गहरूलाई जाम नहुने गरी व्यवस्थापन गरेका छौँ,’ उनले भने। पार्किङ स्थलबाट कार्यक्रमस्थलसम्म जानका लागि सटल बसको पनि व्यवस्था गरिएको छ, जसले मानिसहरूलाई कार्यक्रमस्थलसम्म पुर्‍याउनेछ।

अत्यधिक भिड हुने सम्भावनालाई मध्यनजर गर्दै प्रहरीले ६ वटा स्थानबाट सवारीसाधन प्रवेशमा रोक लगाउने तयारी गरेको छ। जसमा मालपोत चोक, सरकारी अस्पतालको गेट, कृषि ज्ञान केन्द्र जाने बाटो र चौबिसकोठी लगायतका क्षेत्र पर्छन् । एसपी पौडेलले भने, ‘अत्यावश्यक सवारीसाधनलाई हामी रोक्दैनौँ, तर धेरै भिडभाड भएमा केही रुटलाई डाइभर्ट गर्नेछौँ।’

प्रधानमन्त्री, मन्त्री र अन्य विशिष्ट व्यक्तिको उपस्थितिलाई ध्यानमा राख्दै सुरक्षा प्रोटोकल अनुसार कडा सुरक्षा व्यवस्था मिलाइएको उनले जानकारी दिए । एसपी पौडेलले सर्वसाधारणलाई अत्यावश्यक कामबाहेक गाडी ननिकाल्न र तोकिएको स्थानमा मात्र पार्किङ गर्न आग्रह गरेका छन्। उनले भने, ‘सर्वसाधारणले ट्राफिक व्यवस्थापनमा सहयोग गरिदिनुहुन हामी अपिल गर्दछौँ।

राष्ट्रिय स्वतन्त्र पार्टीको यो महाधिवेशन चितवनमा ठुलो सङ्ख्यामा प्रतिनिधि र नेताहरूको उपस्थितिका बिच सम्पन्न हुन गइरहेको छ। प्रहरीले सुरक्षाका लागि कुनै पनि अप्रिय घटना नहुने गरी सम्पूर्ण संयन्त्रलाई तयारी अवस्थामा राखेको जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप