शनिबार, ०६ असार २०८३
ताजा लोकप्रिय

'हनिमुन पिरियड' सकियो, अब संसद्‍मा कांग्रेस सशक्त रूपमा प्रस्तुत हुने

शनिबार, ०६ असार २०८३, १५ : ०७
शनिबार, ०६ असार २०८३

सारांश

  • प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले वर्तमान सरकारको सुरुवाती सय दिनको कार्यसम्पादन निराशाजनक रहेको भन्दै आलोचना गरेको छ।
  • कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सरकारको 'सय दिनमा सय काम' गर्ने लक्ष्य प्रभावकारी नभएको टिप्पणी गरेका छन्।
  • कांग्रेसका नेता अभिषेकप्रताप साहले सरकारको सुरुवाती सय दिने 'हनिमुन पिरियड' सकिन लागेको उल्लेख गर्दै अबका दिनमा संसद्मा कांग्रेसको भूमिका थप प्रभावकारी र सशक्त हुने बताएका छन्।

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले वर्तमान सरकारको सुरुवाती सय दिनको कार्यसम्पादन निराशाजनक रहेको भन्दै आलोचना गरेको छ।

शनिबार सिंहदरबारमा बसेको कांग्रेस संसदीय दल कार्यसमितिको बैठकपछि कांग्रेसका नेताहरूले सरकारका कामकारबाहीबारे तीव्र असन्तुष्टि व्यक्त गरेका हुन्।

कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सरकारको ‘सय दिनमा सय काम’ गर्ने लक्ष्य प्रभावकारी नभएको टिप्पणी गरेका छन्। सरकारले तोकेका कतिपय कामहरूबारे छलफलसम्म हुन नसकेको बताउँदै उनले भने, ‘सरकारले सय दिनमा सय काम गर्ने घोषणा गरेको थियो, तर तीमध्ये कतिपय विषयमा त छलफलसमेत भएको छैन। काम पूरा हुनु त धेरै टाढाको कुरा हो।’ पौडेलले सरकारले धेरै कामको सूची बनाउनुभन्दा थोरै र निश्चित कामहरू तोकेर त्यसलाई पूर्णता दिएको भए परिणाममुखी हुने सुझावसमेत दिए।

कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेको अध्यक्षतामा बसेको बैठकले सरकारको एक सय दिनको कार्यसम्पादनको समीक्षा गर्ने निर्णय गरेको छ। महामन्त्री पौडेलका अनुसार सरकारले गठनको सय दिनमा गरेका प्रतिबद्धता र तिनको कार्यान्वयनको अवस्थाबारे संसदीय दलका तर्फबाट आधिकारिक धारणा सार्वजनिक गरिनेछ। बैठकमा संसदीय दल र पार्टीबीचको समन्वयलाई थप सुदृढ बनाउने र संसद्मा पार्टीको भूमिकालाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो।

पौडेलले प्रमुख प्रतिपक्षी दलको भूमिका कमजोर भएको भन्ने टिप्पणीको खण्डन गर्दै भने, 'कांग्रेसले सरकारका कमीकमजोरीमाथि निरन्तर खबरदारी गरिरहेको छ। सरकारका गलत कार्यविरुद्ध संसदीय दलका नेता र सांसदहरूले सदनमा सक्रियताका साथ आवाज उठाइरहेका छन्। सरकारले प्रतिपक्षको आवाज नसुने त्यसको मूल्याङ्कन जनताले गर्नेछन्।' उनले जनताको आवाजलाई संसद्‌सम्म पुर्‍याउन पार्टीले संसदीय दललाई आवश्यक सहयोग र सहजीकरण गर्ने स्पष्ट पारे।

पार्टीभित्रका असन्तुष्टिहरूबारे बोल्दै पौडेलले कांग्रेस लामो इतिहास बोकेको पार्टी भएकाले व्यक्ति व्यवस्थापनको चुनौती पुरानै रहेको स्वीकार गरे। ‘पार्टीमा कुनै नीतिगत विमति छैन, व्यक्ति व्यवस्थापनका लागि स्पष्ट विधि आवश्यक छ', उनले थपे, 'पार्टीभित्र देखिएका विमतिहरूलाई समझदारीपूर्ण तरिकाले समाधान गर्दै हामी अगाडि बढ्छौँ। आगामी १५औँ महाधिवेशनमा स्वस्थ प्रतिस्पर्धाका माध्यमबाट नेतृत्व चयन हुने वातावरण सुनिश्चित गरिनेछ र कोही पनि अवसरबाट वञ्चित हुने छैनन्।’

abhisekh

यसैगरी कांग्रेसका अर्का नेता अभिषेकप्रताप साहले सरकारको सुरुवाती सय दिने ‘हनिमुन पिरियड’ सकिन लागेको उल्लेख गर्दै अबका दिनमा संसद्मा कांग्रेसको भूमिका थप प्रभावकारी र सशक्त हुने बताएका छन्। उनले संसद् प्रतिपक्षको थलो भएको स्मरण गराउँदै जनताका सरोकारका विषयमा कांग्रेसले निरन्तर आवाज उठाइरहने स्पष्ट पारे।

वर्तमान सरकार सामाजिक सञ्जालमा मात्र केन्द्रित र लोकप्रियतावादी भएको आरोप लगाउँदै साहले भने, 'हामीले सरकारलाई आफ्नो एजेन्डाअनुसार काम अगाडि बढाउन सय दिनको समय दिएका थियौँ। यो अवधिमा हामीले संयमता अपनायौँ, तर अबका दिनमा हाम्रा हरेक सांसदले संसद्मा जनताका मुद्दालाई अत्यन्तै प्रभावकारी ढङ्गले अगाडि बढाउनेछन्।'

साहले सरकारको बजेट र कर नीतिको कडा आलोचना गर्दै सरकारले जनतालाई मारमा पारेको दाबी गरे। 'साधारण जनताले सरकारबाट राहतको अपेक्षा गरेका थिए, तर सरकारले करमाथि कर थपेर जनतालाई मारमा पारेको छ। सरकारले लिएको ठूलो लक्ष्य र करको बढ्दो दायराले भोलिका दिनमा प्रणालीमै गम्भीर असर पर्न सक्छ', उनले भने। साहले जनताको अपेक्षाअनुसार सरकारले काम गर्न नसकेको दाबी गर्दै अब प्रमुख प्रतिपक्षी दलको हैसियतमा कांग्रेसले सरकारका कामकारबाहीको सूक्ष्म निगरानी गर्ने र सदनमा सशक्त हस्तक्षेप गर्ने चेतावनी दिएका छन्।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप