शनिबार, ०६ असार २०८३
ताजा लोकप्रिय
बहस

फासीवाद के हो?

शनिबार, ०६ असार २०८३, १८ : ३०
शनिबार, ०६ असार २०८३

सारांश

  • फासीवादका पाँच आयामहरू छन्: धर्मान्धता, राष्ट्रोन्माद, अन्यप्रतिको घृणा, डेमागोगरी र प्रियतावाद, जसले निरङ्कुश शासन व्यवस्था निम्त्याउँछ।
  • फासीवाद सामाजिक सङ्कटको उत्पादन हो, जुन अनिश्चितता, न्यायभन्दा व्यवस्थालाई प्राथमिकता दिने र मध्यम वर्गको असुरक्षाबाट मौलाउँछ।
  • आजको फासीवाद पुरानो चोलामा नभई जातीय वा धार्मिक राष्ट्रवाद, अपराध वा भ्रष्टाचार विरोध जस्ता नयाँ आवरणमा आउँछ।

‘सन्तुलनको नाममा, हनिमुन पिरियडसम्म नबोलौँ भन्ने नाममा छुट दिनुपर्छ भन्ने म ठान्दिनँ। कुनै जनावर कुकुरजस्तो गरी हिँड्छ, कुकुरजस्तो भुक्छ र चालामाला हेर्दा बहुलाएजस्तो छ भने त्यसलाई पहिले टोक्न दिऔँ, टोकेपछि मात्र निराकरणतर्फ लागौँला भनी छोड्न मिल्छ?’

शासकीय शब्दका रूपमा ‘फासीवाद’लाई पाँचवटा आयामबाट हेर्नुपर्ने हुन्छ। पहिलो, यसमा धर्मान्धता हुन्छ। जसरी क्राइस्टलाई किला ठोकेर क्रसमा झुन्ड्याइयो; त्यस्तो किसिमको धर्मान्धता, जसले ‘क्रुसेड’ निम्त्यायो, जसले हिन्दु धर्ममा दलितप्रतिको अन्याय निम्त्यायो। बुद्धमार्गीहरूले बर्मामा रोहिंग्याहरूमाथि गरेका छन् अथवा श्रीलङ्कामा हिन्दुहरूमाथि गरेका छन्। यो सबै धर्मान्धताकै आयाम हो।

फासीवादको दोस्रो आयाम राष्ट्रवाद हो। राष्ट्रभक्ति राम्रो कुरा हो, तर राष्ट्रोन्माद, जसले राष्ट्रका लागि मर्न तयार हुने होइन, मार्न मात्रै तयार हुने बनाउँछ; त्यस्तो राष्ट्रोन्माद फासीवादको राजनीतिक आयाम हो।

तेस्रो, यसको सामाजिक आयाम हुन्छ। त्यो भनेको ‘अन्यप्रतिको घृणा’ हो, जसले ‘म तिमीलाई चिन्दिनँ, त्यसैले म तिमीलाई घृणा गर्छु’ भन्छ।

त्यसपछि चौथोमा आउँछ, ‘डेमागोगरी’ । यो उन्मादका रूपमा अभिव्यक्त हुन्छ। यसले ‘हामीले मात्रै जोगाउन सक्छौँ’ भन्छ।

अनि पाँचौँमा थपिन आइपुग्छ, ‘प्रियतावाद’। यसमा आर्थिक पक्ष गाँसिन आइपुग्छ।

यी पाँचवटै आयामहरू जोडियो भने स्वाभाविक रूपमा त्यो अत्यन्तै निरङ्कुश शासन व्यवस्था हुन जान्छ। यसैको साङ्गोपाङ्गो रूपलाई इटालीमा ‘फासीवाद’ भनियो। जर्मनीमा ‘नाजीवाद’ भनियो। भारतमा ‘हिन्दुत्व’को शासन भन्नुपर्ने होला। नेपालमा हालसम्म स्थापित शब्दावलीमा नजिकको शब्द ‘राणाशाही’ हुन्छ। यो तानाशाहीसँग मिल्दोजुल्दो छ।

तर, प्रत्येकपटक समाजको सतहमा देखापर्ने फासीवादका आफ्नै विशेषता हुन्छन्। हामी अहिले जुन युगमा बाँच्दै छौँ, त्यो कारोबारी युग हो। यसलाई दुई कोणबाट हेर्न मिल्छ। एउटा, यदि माग छ भने आपूर्ति हुन्छ। अर्को, उपलब्ध गराउनेले माग सिर्जना गराउँछ।

राजनीतिक उद्यमीले जहिले पनि माग सिर्जना गराउँछ। सामाजिक दृष्टिकोणबाट हेर्ने हो भने, फासीवादको माग समाजमा अनिश्चितता बढेको समयमा बढी हुन्छ। जब समाजमा ‘न्यायभन्दा बरु व्यवस्था’ अर्थात् ‘नट जस्टिस, बट रुल एन्ड अर्डर’ (Not justice, but rule and order) भन्ने महत्त्वपूर्ण हुँदै जान्छ, फासीवादी चरित्रले समाजमा प्रश्रय पाउँदै जान्छ।

संसारभर कतै सैनिक तानाशाहको नाममा, कतै निर्वाचित निरङ्कुशताको नाममा, कतै पैतृक शासनको नाममा त कतै ठूला व्यापारीहरूको धनाढ्यतन्त्रको नाममा चलेका व्यवस्थाहरू सबै फासीवादका स्वरूप हुन्।

पुरानो जमानाको फासीवादमा अनुशासित सेना तयार गरेर, कानुन लगाएर मुख्यतः सैन्यतन्त्रले त्यसलाई लागू गरेको थियो। अहिलेका आपूर्तिकर्ताहरूलाई त्यति धेरै दुःख गरिराख्नुपर्ने छैन। किनभने समाजमा यसलाई एउटा अवसरका रूपमा देख्ने समूह उत्पन्न भएको छ, जो तपाईँ–हामीजस्तै देखिन्छ।

प्रचारतन्त्रका हतियारहरू यति बलिया भएका छन् कि यो आपूर्तिकर्ताहरूलाई वर्षौँ लगाएर सङ्गठन बनाउनुपर्ने, अनुशासित गर्नुपर्ने, हतियार किन्नुपर्ने झन्झट बेहोर्नु परेन। किनभने इतिहासमै नदेखिएको आर्थिक, सामाजिक र सांस्कृतिक असमानता यति नै बेला सबैभन्दा सघन छ। र, असमानताले कट्टरतालाई बढाउँछ।

संसारभर कतै सैनिक तानाशाहको नाममा, कतै निर्वाचित निरङ्कुशताको नाममा, कतै पैतृक शासनको नाममा त कतै ठूला व्यापारीहरूको धनाढ्यतन्त्रको नाममा चलेका व्यवस्थाहरू सबै फासीवादका स्वरूप हुन्।

झट्ट हेर्दा फासीवादजस्तो देखिँदैन, तर मर्मचाहिँ फासीवादी छ।

खासगरी फासीवाद भनेर हामी जे विषयमा चर्चा गर्न खोजिरहेका छौँ, यसको सामाजिक–सांस्कृतिक जग के हो भन्ने हेरौँ। पहिले नेपालमा यसका आधारहरू के–के हुन् भनी हेरौँ अनि वैश्विक आधारहरूमा यसलाई हेर्नु सान्दर्भिक होला।

अहिले सुरक्षाको अवस्था कस्तो छ भनी हेरौँ। हामीले के देख्यौँ भने, जो एउटा पसलको वा फ्याक्ट्रीको मालिक हो, सामान्य वा अर्बपति हो, उसलाई पनि बिनाआधार लगेर थुन्न सक्ने अवस्था छ। अर्थात्, आर्थिक रूपमा असुरक्षा छ। बेरोजगारीबारे कुरै गर्नु परेन। विदेश पलायन हुनेको सङ्ख्या वा अवस्था हेर्नुभयो भने थाहा हुन्छ।

चराले गुँड छोडेर हिँड्दा पनि साँझ फर्किन्छु भन्ने हुन्छ। हामी यस्तो चरा भएका छौँ, जो गुँडमा फर्किनु नपरोस् भनेर हिँड्नु परेको छ। राज्यप्रति चरम निराशा छ। त्यो भनेको राज्यले राम्रो केही गर्ला भन्ने भाव नै छैन। भ्रष्टाचारको अवस्था त्यस्तै छ। मेसिनरी औजारमा ग्रिज गरेर, तेल हालेर मेसिन चलाऔँ भन्ने त सबैतिर हुन्छ, तर यहाँ त कर तिर्न आफैँले पैसा दिएर काम गराउनुपर्ने अवस्था छ।

पैसा नदिए कामै नहुने, नियम बनाएर भ्रष्टाचार गर्ने अवस्था छ। जात, धर्म, क्षेत्र, भाषा, मधेस–पहाडको पहिचानको सर्वत्र जुन तनाव छ, त्यसले मानिसलाई आफ्नो वास्तविक स्वभावमा सहज भएर बस्न दिएकै छैन।

बालेन्द्र शाहज्यूलाई सूर्यवंशी बन्नुपरेको छ। जनजातिहरूले हाम्रा पुर्खा त मुखिया हुन् भन्नुपरेको छ। अर्थात्, हामी भनेको राजासरह नै त हो भन्नुपरेको छ। सङ्घीयता अपनाइयो तर सङ्कटमा छ। धर्मनिरपेक्षता नाम मात्रैको छ। र, वास्तविक धर्मनिरपेक्षता कतै अस्तित्वमा छैन। यो सबैको बीचमा गणतन्त्र नै कहाँबाट कहाँ पुगेको हो भन्नुपरेको छ।

ठीक यति नै बेला ‘एक जना बलियो नेता आयो भने मात्र त्यसले सबैलाई ठीक पार्छ’, ‘नयाँ जङ्गबहादुर जन्मिनुपर्छ’ अनि ‘भ्रष्टाचारीहरूलाई टुँडिखेलमा लगेर खरीको बोटमा झुन्ड्याउनुपर्छ’ (टुँडिखेलमा हाल खरीको बोट त छैन सायद मञ्चमै झुन्ड्याउनुपर्छ भनेको हुनुपर्छ) भन्ने मनोविज्ञानले सबैलाई शासित गरेको छ।

_MG_8831

अब फासीवादको अन्तर्राष्ट्रिय आयामहरू हेरौँ।

मलाई के लाग्छ भने, फासीवाद नेता वा पार्टीको सङ्कट होइन, सामाजिक सङ्कटको उत्पादन हो। यो सङ्कटलाई एउटा महत्त्वाकांक्षी व्यक्तिले अधिनायकवादी समाधानमा बदल्छ। उसले ‘मलाई चुन्यौ भने सब ठीक पार्छु’, ‘मलाई पत्याऊ’ भन्छ। त्यसमा मध्यम वर्गको असुरक्षा भावले आगोमा घिउ थप्ने काम गर्छ, जसरी इटाली र जर्मनीमा भएको थियो।

खासमा मध्यम वर्गलाई तलबाट जनदबाब र माथिबाट सम्भ्रान्तको डर हुन्छ। उदाहरणका लागि, पहिले मेरो बुबाको पालासम्म मैले मेहनत गरेर छोरालाई पढाएँ अथवा सानै भए पनि पसल खोलिदिएँ वा जग्गाजमिन जोडेर राखिदिएँ भने ऊ अलिकति सम्पन्न हुन्छ भन्ने आशा थियो। तर म हुँदै मेरो छोराको पालासम्म आइपुग्दा मध्यम वर्गलाई त्यस्तो लाग्नै छाडेको छ।

मध्यमवर्गीय परिवारमा मभन्दा मेरो छोराछोरीको भविष्य यही देशमा राम्रो हुन्छ भन्ने नेपालमा मात्रै होइन अमेरिकामा पनि मानिसहरूलाई लाग्न छोडेको छ। आफ्नो शुद्ध कमाइले अमेरिकामा अपार्टमेन्ट र नेपालमा घर किनेर बस्न सक्ने अवस्था झन्झन् साँघुरिँदै गएको छ। भारतका महानगरहरूमा त झन् असम्भवप्रायः छ।

भविष्यप्रतिको यस्तो निष्पट अँध्यारो र अनिश्चितताले फासीवादी अभ्यासलाई बल पुर्‍याउँछ।

फासीवादले नृजातीय राष्ट्रवादलाई अङ्गाल्छ। ‘हामी महान् थियौँ’, ‘शत्रुहरू लागेर हामीलाई बिगारेका हुन्’।

अनि फासीवाद सामाजिक क्रान्तिहरूले बीचमै बाटो बिराए भने पनि मौलाउने अवसर पाउँछ। तपाईँले एउटा सामाजिक क्रान्ति सुरु गर्नुभएको थियो र बीचैमा छाडिदिनुभयो भने– आस जगाएर निराश बनेको जुन अवस्था हुन्छ, त्यसले फासिस्ट शक्तिहरूलाई हुर्किने वातावरण तयार गरिदिन्छ।

अनि फासिस्टहरूले के गर्छन् त? उनीहरूले समस्याको वास्तविक समाधान खोज्नुको सट्टा एउटा शत्रु खडा गर्छन्। त्यो शत्रु बाहिरको भयो भन्ने झन् राम्रो। आन्तरिक हो भने अपेक्षाकृत कम सङ्ख्यामा रहेको त्यो समुदायमाथि नस्लको आरोप लगाउन, राष्ट्रविरोधीको आरोप लगाउन सजिलो हुन्छ।

फासीवादले नृजातीय राष्ट्रवादलाई अङ्गाल्छ। ‘हामी महान् थियौँ’, ‘शत्रुहरू लागेर हामीलाई बिगारेका हुन्’। ‘तिनलाई ठीक पारेपछि सबै ठीक हुन्छ’, ‘यी उपियाँहरूलाई मार्नुपर्छ’ अनि बल्ल हामी ‘शुद्ध’ हुन्छौँ भन्ने हुन्छ।

फासीवादले लोकतन्त्रको कमजोरीबाट पनि फाइदा उठाउँछ। लोकतन्त्रमा चुनावका लागि धेरै पार्टीहरू प्रतिस्पर्धामा जान्छन्। त्यस्तोमा धेरैमा मत बाँडिन्छ। सबैलाई लाग्छ हामी आफ्नो सिद्धान्तमा ठीक छौँ। ठीक यति नै बेला चलाख राजनीतिक उद्यमीले यसैलाई मूल मुद्दा बनाएर आइपुग्छ।

उम्बर्टो इकोले फासीवादको निश्चित लक्षणहरू खुट्याएका छन्। त्यो भनेको परम्पराको पूजा, आलोचनात्मक सोचको अस्वीकार्यता, भिन्नताप्रतिको डर, षड्यन्त्रको राजनीति, शक्तिशालीको पूजा, हिंसा र अनुशासनको महिमा तथा जटिल विचारलाई सरल नारामा घटाउनु।

त्यसैले आजका दिन फासीवाद पुरानो चोलामा फर्किँदैन। समयअनुसार नयाँ आवरण— कहिले जातीय राष्ट्रवाद, कहिले धार्मिक राष्ट्रवाद, कहिले अपराध नियन्त्रण, कहिले भ्रष्टाचार विरोध, कहिले राष्ट्रिय सुरक्षा आदिको आवरणमा आउँछ।

यस्तोमा प्रश्न उठ्छ– हाम्रो देशको निर्वाचित सत्ताधारीको चरित्र कस्तो हो र उनलाई के भन्नु ठीक होला?

मलाई लाग्छ, बालेन शाहको सत्तालाई निर्वाचित राणाशाही भन्दा बेस हुन्छ। अहिलेलाई फासीवाद भन्ने शब्दलाई कमजोर नबनाऔँ। उनलाई तानाशाही पनि भन्न सकिन्छ तर मलाई त्यो शब्द मन पर्दैन। मलाई हाम्रो देशको ‘राणाशाही’जस्तो मिल्दोजुल्दो शब्द हुँदाहुँदै ‘तानाशाही’ किन भन्ने लाग्छ।

राणाशाही भन्दा उनको थररसँग पनि मिल्न जान्छ। हाम्रा सूर्यवंशी बालेन्द्र शाह र उनको राणाशाहीको चरित्र हेर्ने हो भने अभीष्ट ‘हाम्रो देश प्रजातन्त्रका लागि तयार भएकै छैन’, ‘यो देश संविधानवादअनुसार चल्नै सक्दैन’, ‘यो देश चलाउने आधार भनेको बलियो शासक हो’ भन्ने खालको छ।

अब वंशानुगत बलियो शासक ल्यायो भने अन्तर्राष्ट्रिय परिस्थिति, छरछिमेकले मान्दैनन्। तर निर्वाचित अधिशासक भयो भने त त्यसको एउटा वैधानिकता पनि हुन्छ। त्यसैले ‘यो देश बनाउने हो’, ‘भ्रष्टाचारमुक्त गर्ने हो’, ‘विकासको बाटोमा लाने हो’, ‘मङ्गल ग्रहमै जग्गा किन्न सक्ने बनाउने हो’ भन्ने ढङ्गले बोलिरहेका हुन्छन्।

टेक्नोलोजी आजका दिन ‘कन्ट्रोल मल्टिप्लायर’ हो।

यो भनेको आर्थिक रूपमा पुँजीवाद, सामाजिक रूपमा बाहुनवाद, सांस्कृतिक रूपमा हिन्दु धर्मको वर्चस्वलाई यथावत् राख्न खोजिएको हो। यो सबै मिसिँदा के बन्छ त भन्दा समग्रमा निर्वाचित राणाशाहीमार्फत यो देश सञ्चालन गर्नुपर्छ भनेको हो। यस विचारसँग सहमत हुनेहरू नेपालमा सम्भ्रान्त हुन्छन्। सूर्यवंशी बालेन्द्र शाहले यसैलाई राम्रोसँग समातेजस्तो देखिन्छ।

आजको युगको टेक्नोलोजी त्यसैका लागि सहयोगी भएको छ। यसको सबैभन्दा बलियो उदाहरण– राजा महेन्द्रको पालामा धनगढीमा एउटा दङ्गाका कारण दुई टेलिफोन बन्द गर्नुपर्ने भयो। महेन्द्रले अञ्चलाधीशलाई भने, अञ्चलाधीशले त्यहाँको सञ्चार संस्थानको म्यानेजरलाई भने। उनले यसका लागि काठमाडौँ सोध्नुपर्छ भने। काठमाडौँबाट सोधेर धनगढीको टेलिफोन स्विच अफ गर्दासम्म तीन दिन लाग्यो र त्यतिबेलासम्म त्यहाँको दङ्गा सामान्य भइसकेको देखेपछि टेलिफोन नै बन्द गर्नु परेन। तर, आजका दिन यो कुरा कथाजस्तो भइसक्यो।

टेक्नोलोजी आजका दिन ‘कन्ट्रोल मल्टिप्लायर’ हो।

फासीवादले कसरी काम गर्छ भन्नेबारेमा होलोकास्टबाट भागेर अमेरिका पुगेका प्रिन्स्टन विश्वविद्यालयका विद्वान् अर्नस्ट फ्राङ्केलले आफ्नो पुस्तक ‘द डुअल स्टेट’ (The Dual State) मा यसले दुई तहमा काम गर्छ भनेका छन्। एकथरी मानिसका लागि यसले कानुनी प्रशासन, अदालत, निर्वाचन चलाइरहेको हुन्छ। यसबाट लाभान्वितहरूलाई सबै कुरा ठीक छ, सामान्य छ भन्ने नै लाग्छ।

अर्थात् रेल समयमा खुल्न थालेको छ। सबै कर्मचारी समयमै अफिस आइरहेका छन्। तर त्यससँगसँगै एउटा समानान्तर स्टेट पनि चलिरहेको हुन्छ।

समानान्तर स्टेट कस्तो हुन्छ भने शासकलाई जे मन पर्छ त्यो हुन्छ, जे मन पर्दैन त्यो हुँदैन। मन नपरेका मारिन्छन्, मन पर्ने व्यक्तिले पद पाएर हल्लाखल्ला गरिरहेको हुन्छ। र, समाजको बुद्धिजीवी वर्गले आफ्नो बाँच्ने आधार नभत्कियोस् भन्नका लागि सन्तुलनको नाममा सबै ठीक छ, राम्रो छ भनिरहेको हुन्छ। यसले सबैभन्दा बल शासकलाई नै अथवा भन्नुस् राणाशाहीलाई नै पुर्‍याइरहेको हुन्छ।

अब यस्तो अवस्थामा तपाईँ आफैँ भन्नुस्— सन्तुलनको नाममा, हनिमुन पिरियडसम्म नबोलौँ भन्ने नाममा, जनमतको आधारमा आएको शासकको नाममा छुट दिनुपर्छ भन्ने म ठान्दिनँ। कुनै जनावर कुकुरजस्तो गरी हिँड्छ, कुकुरजस्तो भुक्छ र चालामाला हेर्दा बहुलाएजस्तो छ भने त्यसलाई पहिले कसैलाई टोक्न दिऔँ, टोकेपछि मात्र निराकरणतर्फ लागौँला भनी छोड्न मिल्छ?

(प्रज्ञा प्रतिष्ठानमा शुक्रबार आयोजित ‘फासीवाद मन्थन’मा सार्वजनिक बौद्धिक सिके लालले व्यक्त गरेको मन्तव्यको सम्पादित अंश।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सीके लाल
सीके लाल
लेखकबाट थप