शनिबार, ०६ असार २०८३
ताजा लोकप्रिय

अमेरिका–इरान वार्ता आइतबार नै हुनसक्ने

शनिबार, ०६ असार २०८३, २१ : ०४
शनिबार, ०६ असार २०८३

काठमाडौँ । अमेरिकी उपराष्ट्रपति जेडी भान्सले इरानसँगको वार्ता आइतबारबाट नै सुरु हुन सक्ने बताएका छन् ।

वार्ताका लागि अमेरिकी राष्ट्रपतिका दूत स्टिभ विटकोफ र राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ जारेड कुनर स्विट्जरल्यान्ड पुगिसकेको उनले बताए ।

शनिबार फक्स न्यूजसँगको अन्तर्वार्तामा भान्सले आफू पनि छिट्टै स्विट्जरल्यान्ड जाने र वार्ता आइतबारबाट नै सुरु हुन सक्ने बताए ।

यसैबीच, लेबनानमा इजरायलले गरेको आक्रमणको विरोध भएको छ । अमेरिकासँगको समझदारी पत्रमा इरान र यस क्षेत्रका लेबनान लगायत इराननिकट शक्तिहरूको आक्रमणलाई पनि रोक्ने सहमति भएको र इजरायल र लेबनानबीच शुक्रबार युद्धविराम घोषणा भए पनि आक्रमण नरोकिएको भन्दै इरानको मुख्य सैन्य कमान्ड खातम अल–अन्बियाले हर्मुज जलडमरू बन्द गर्ने घोषणा गरेको छ । अमेरिकाले नयाँ शान्ति समझदारी उल्लङ्घन गरेको र इजरायलले दक्षिणी लेबनानमा युद्धविराम तोडेको भन्दै इरानले यस्तो कदम चालेको जनाएको छ ।

भान्सले इरानले जलडमरू बन्द गरेको कुनै प्रमाण नदेखिएको बताउँदै फक्स न्यूजसँग भने, “हामीले इरानीहरूले हर्मुज जलडमरू बन्द गरेको कुनै प्रमाण देखेका छैनौं । तर त्यहाँ रहेका विष्फोटक पदार्थहरू हटाउन केही समय लाग्ने भएकाले पूर्णरूपमा नियमित जहाज आवागमनमा केही समय लाग्नेछ ।”

पाकिस्तानको विदेश मन्त्रालयले शनिबार इस्लामावाद समझदारी पत्रअनुसार अमेरिका र इरानबीच प्राविधिक स्तरको वार्ता आइतबार स्विट्जरल्यान्डको बुरगेनस्टकमा हुने जनाएको छ ।

दुवै देशका प्रतिनिधि तथा मध्यस्थकर्ता पाकिस्तान र कतारका प्रतिनिधिहरू वार्तामा सहभागी हुनेछन् ।

पाकिस्तानले मध्यस्थकर्ताको भूमिकामा यो प्रक्रियालाई निरन्तर सहयोग गर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप