सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

बन्दको घोषणापछि स्ट्रेट अफ होर्मुजमा जहाज आवागमनमा कमी

सोमबार, ०८ असार २०८३, १२ : ५६
सोमबार, ०८ असार २०८३

सारांश

  • लेबनानमाथि इजरायलको आक्रमणको विरोधमा इरानले स्ट्रेट अफ होर्मुज बन्द गरेको घोषणा गरेपछि जहाज आवागमनमा कमी आएको छ ।
  • सामुद्रिक गुप्तचर कम्पनी विन्डवार्डका अनुसार आइतबार १२ वटा जहाजले मात्रै स्ट्रेट पार गरेका छन्, जुन अघिल्लो दिनको ३५ वटाको तुलनामा कम हो ।
  • अमेरिकी सेनाको सेन्ट्रल कमान्डले जलमार्ग अझै सुरक्षित र खुला रहेको दाबी गरे पनि इरानको दाबी र तथ्याङ्कमा ठूलो अन्तर देखिएको छ ।

तेहरान । लेबनानमाथि इजरायलको आक्रमणको विरोधमा इरानले रणनीतिक जलमार्ग स्ट्रेट अफ होर्मुज पुनः बन्द गरेको घोषणा गरेपछि उक्त क्षेत्रमा जहाजहरूको आवागमन उल्लेखनीय रूपमा घटेको छ । सामुद्रिक गुप्तचर कम्पनी विन्डवार्डका अनुसार आइतबार १२ वटा जहाजले मात्रै स्ट्रेट पार गरेका छन् । 

अघिल्लो दिन ३५ वटा जहाजले उक्त जलमार्ग प्रयोग गरेका थिए । स्ट्रेट प्रवेश गरेका आठ जहाजमध्ये पाँचवटाले आफ्नो अटोमेटिक आइडेन्टिफिकेसन सिस्टम गरेका थिए, जसले उनीहरूको गतिविधि ट्र्याक गर्न कठिन बनाएको थियो ।  

विन्डवार्डले सामाजिक सञ्जाल एक्समा लेख्दै वर्तमान अवस्था अवरुद्धको झल्को दिने खालको भएको जनाएको छ । यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानी राष्ट्रपति मसूद पेजेशकियनबिच अमेरिका–इजरायल र इरानबिचको द्वन्द्व अन्त्य गर्ने समझदारीपत्रमा हस्ताक्षर भएपछि स्ट्रेटमा जहाज आवागमनमा सुधार हुने सङ्केत देखिएको थियो । समुद्री तथ्याङ्क प्रदायक केप्लरका अनुसार बिहीबार २५ वटा जहाजले जलमार्ग पार गरेका थिए, जुन अप्रिल मध्ययता सबैभन्दा उच्च थियो ।

तर शनिबार इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) ले लेबनानमा इजरायलले गरेका ‘अपराध’ तथा अमेरिका शान्ति कायम गर्न असफल भएको आरोप लगाउँदै  स्ट्रेट बन्द गरिएको घोषणा गरेको थियो । यद्यपि, अमेरिकी सेनाको सेन्ट्रल कमान्डले इरानको दाबी अस्वीकार गर्दै जलमार्ग अझै सुरक्षित र खुला रहेको जनाएको छ । सेन्ट्रल कमान्डका अनुसार शनिबार मात्रै ५५ वटा व्यापारिक जहाजले उक्त मार्ग प्रयोग गरेका थिए ।

दुवै पक्षले दिएको तथ्याङ्कमा ठुलो अन्तर देखिएपछि यसको वास्तविक अवस्था अस्पष्ट बनेको छ । क्यानडाको म्याकमास्टर विश्वविद्यालयका आपूर्ति शृङ्खला विज्ञ बेहरुज बख्तियारीका अनुसार केही जहाजहरूले इरानी सैन्य निगरानीबाट बच्न एआईएस बन्द गरी ओमानको तटीय मार्ग प्रयोग गरेको हुनसक्छ । 

‘इरानले यातायात घटेको देखाउन चाहन्छ भने सेन्ट्रल कमान्डले प्रभाव न्यून रहेको देखाउन चाहन्छ । त्यसैले दुवै पक्षका तथ्याङ्क फरक देखिएका हुन सक्छन्,’ उनले भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप