मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

कीर्तिमानी मूल्यका ऋषभ पन्तले तलब घटाएर रोजे पुरानै टोली, कुलदीपसँग भयो साटासाट

मङ्गलबार, ०९ असार २०८३, १४ : ५९
मङ्गलबार, ०९ असार २०८३

सारांश

  • ऋषभ पन्तले कीर्तिमानी मूल्यमा लखनउ सुपर जाइन्ट्सबाट दिल्ली क्यापिटल्समा फर्कदा आफ्नो तलब घटाएका छन्।
  • कुलदीप यादवले १३.५ करोड भारतीय रुपैयाँमा लखनउ सुपर जाइन्ट्समा आबद्ध हुने भएका छन्।
  • पन्त र कुलदीप दुवैका लागि आईपीएल २०२६ को सिजन कठिन रह्यो, जसमा पन्तको टोली अन्तिम स्थानमा र कुलदीपले १० विकेट मात्र लिए।

काठमाडौँ। इन्डियन प्रिमियर लिग (आईपीएल) मा लखनउ सुपर जाइन्ट्स (एलएसजी) र दिल्ली क्यापिटल्स (डीसी) बिच ऋषभ पन्त र कुलदीप यादवको हाई-प्रोफाइल खेलाडी साटासाट औपचारिक रूपमा सम्पन्न भएको छ।

पन्त अब आफ्नो पुरानो टोली दिल्ली क्यापिटल्समा फर्किएका छन्, जहाँ उनले सन् २०१६ देखि २०२४ सम्म नौ सिजन आईपीएल खेलेका थिए। आईपीएल २०२५ को अक्सनमा लखनउले उनलाई २७ करोड भारतीय रुपैयाँको कीर्तिमानी मूल्यमा किनेको थाल्यो, जुन अहिलेसम्मकै महँगो मूल्य हो। 

तर अब उनी १५ करोड भारतीय रुपैयाँको परिमार्जित शुल्कमा दिल्ली जाने भएका हुन्। अर्कोतर्फ, स्पिनर कुलदीप यादव भने आफ्नो साबिककै १३.५ करोड भारतीय रुपैयाँको शुल्कमा लखनउ सुपर जाइन्ट्समा आबद्ध हुने भएका छन्।

पन्तको साबिकको मूल्य र हालको मूल्यमा आएको अन्तरका कारण लखनउले आगामी अक्सनका लागि आफ्नो पर्स (खेलाडी किन्न बाँकी रकम) मा १३.७५ करोड थप्न पाउनेछ भने दिल्लीको पर्सबाट १.२५ करोड रुपैयाँ घट्नेछ। हालैका समयमा ट्रेडको हिस्सा बन्दा रवीन्द्र जडेजापछि तलब घटाउने पन्त दोस्रो ठुलो खेलाडी बनेका छन्। 

आईपीएल २०२६ अघि चेन्नाई सुपर किंग्स (सीएसके) ले जडेजा र साम करनलाई राजस्थान रोयल्सका सञ्जु स्यामसनसँग साटासाट गर्दै इतिहासकै सबैभन्दा ठुलो ट्रेड गरेको थियो। सन् २०२२ मा चेन्नाईले जडेजालाई १८ करोडमा टोलीमा राखेको भए पनि राजस्थानले उनलाई १४ करोड तलब दिएर आफ्नो टोलीमा भित्र्याएको थियो।

पन्त र कुलदीप दुवैका लागि आईपीएल २०२६ को सिजन निकै कठिन रह्यो। लखनउको कप्तानी सम्हालेका पन्तले १३ इनिङ्समा १३८.०५ को स्ट्राइक रेटमा मात्र ३१२ रन बनाए, जसमा अविजित ६८ रन उनको उत्कृष्ट प्रदर्शन रह्यो। उनको टोली १४ खेलमध्ये केवल चार जित निकाल्दै अङ्क तालिकाको सबैभन्दा तल रह्यो। 

आईपीएल २०२६ को फाइनल खेल हुनुभन्दा दुई दिनअघि पन्तले लखनउको कप्तानी छाड्ने निर्णय सुनाएका थिए। लखनउका टोली निर्देशक टम मुडीले टोली सन् २०२४ र २०२५ मा सातौँ र २०२६ मा अन्तिम स्थानमा रहेपछि नेतृत्वमा ‘रिसेट’ गर्न खोजिरहेको बताए लगत्तै पन्तको यो निर्णय आएको हो।

यता दिल्ली क्यापिटल्स आईपीएल २०२६ मा छैटौँ स्थानमा सीमित भयो। दिल्लीबाट खेलेका कुलदीपले ११ इनिङ्समा ३७ ओभर बलिङ गर्दै मात्र १० विकेट लिएका थिए। यस सिजन उनी १०.२९ को इकोनोमीसहित निकै महँगो समेत साबित भए। यद्यपि, समग्र रूपमा हेर्दा सन् २०२२ मा दिल्लीमा आबद्ध भएयता कुलदीप टोलीका लागि महत्त्वपूर्ण खेलाडी रहँदै आएका थिए, जहाँ उनले ६५ खेलमा ८.२४ को इकोनोमीमा ७२ विकेट लिएका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप