नर्वेको भाइकिङ स्टाइल
सारांश
- सेनेगललाई पराजित गरेपछि नर्वेली राष्ट्रिय टोलीले विश्वकप २०२६ को समूह चरण सफलतापूर्वक पार गरेर समर्थकहरूसँग भाइकिङ शैलीमा उत्सव मनाएको छ ।
- विश्वकप २०२६ सुरु हुनुअघि नर्वेली टोलीले भाइकिङ शैलीमा फोटोसुट गरेको थियो जसमा खेलाडीहरू पूर्ण युद्ध पोसाकमा देखिएका थिए ।
- भाइकिङ शब्दले मूल रूपमा समुद्री डाकू, समुद्री घुमन्ते वा आक्रमणकारीलाई जनाउँछ र यो शब्द पुरानो नर्स शब्द 'भिक' बाट आएको मानिन्छ जसको अर्थ 'खाडी' हो ।
न्युयोर्क । सेनेगलसँगको जित पश्चात नर्वेको राष्ट्रिय टोलीले विश्वकप २०२६ को समूह चरण सफलतापूर्वक पार गरेपछि आफ्ना समर्थकहरूलाई परम्परागत भाइकिङ शैलीको डुङ्गा चलाउने उत्सवमा सहभागी हुन आमन्त्रण गरेर उत्सव मनायो ।
यसले धेरैलाई यूईएफए युरो २०१६ मा आइसल्यान्डको राष्ट्रिय टोलीको सम्झना गरायो, जुन आफ्नो प्रसिद्ध ‘भाइकिङ क्ल्याप’ का कारण विश्वभर चर्चित बनेको थियो ।
त्यसो त विश्वकप २०२६ सुरुहुनु अघि नै नर्वे टोलीले विश्वकपलाई ‘भाइकिङ अभियान’ मा निस्किएको भन्दै भाइकिङ शैलीमै फोटोसेसनसमेत गरेको थियो । त्यतिबेला टोलीका सदस्यहरूले फोटोग्राफर डेभिड यारोको सहयोगमा पूर्ण युद्ध पोसाकमा खिचिएका तस्बिरहरूको एक शृङ्खला नै सार्वजनिक गरेका थिए ।
त्स्विरमा नर्वेको टोली समुद्री किनारमा तीनवटा भाइकिङ जहाज (लाम्चा जहाज)हरूको अगाडि उभिएको देखिएको थियो, जुन प्रारम्भिक मध्ययुगमा इङ्ग्ल्यान्डको तटीय क्षेत्रमा आक्रमण गर्ने ऐतिहासिक भाइकिङहरूले प्रयोग गरेका जहाजजस्तै थिए ।

नर्वेका स्टार खेलाडी एर्लिङ हालान्डको व्यक्तिगत तस्बिर पनि सार्वजनिक गरिएको थियो, जसमा उनी हातमा तरबार र ढाल बोकेर, खुला लामो कपालसहित देखिएका थिए । म्यानचेस्टर सिटीका यी चर्चित फरवार्डले २०२५–२६ सिजनमा ३४ खेलको सुरुआती टोलीमा पर्दा २७ गोल र ८ असिस्ट गरेका थिए । एर्लिङ हालान्ड नर्वे टोलीको फोटोसुटमा समेत एक भाइकिङ योद्धाजस्तै देखिएका थिए ।
नर्वेको विश्वकप यात्रा जुन १६ मा इराकविरुद्धको खेलबाट सुरु गरेको थियो जहाँ हालान्डले व्यक्तिगत दुई गोल गर्दा नर्वे ४–१ले विजयी भएको थियो । सेनेगलसँगको दोस्रो खेलमा समेत हालान्डले दुई गोल गरे जुन ३–२को जित निकाल्न पर्याप्त भयो र नकआउट चरण सुनिश्चित गर्यो । अब यसले एम्बाप्पेको फ्रेन्च टोलीको सामना गर्नेछ । हलान्ड र एम्बाप्पे दुवैले दुई खेलबाट चार–चार गोल गर्दै गोल्डेन बुट माथिको दाबेदारी सशक्त बनाएका छन् ।
जे होस् फुटबल पण्डितबाट कौशलता र शिर्जनशिलताको अभाव भएको कटु आलोचना बेहोर्दे आएका हालान्डले यस विश्वकपमा समेत भाइकिङको ‘आक्रमणकारी’ छवीलाई कायमै राखेका छन् ।
आखिर के हो त ‘भाइकिङ’, को हो भाइकिङ ?
भाइकिङ शब्दले मूल रूपमा कुनै जातीय समूह वा राष्ट्रियतालाई जनाउँदैन थियो । बरु परम्परागत रुपमा यसले ‘समुद्री डाकु’, ‘समुद्रीक घुमन्ते’ वा ‘आक्रमणकारी’ भन्ने अर्थ दिन्थ्यो । प्राचीन नर्स भाषामा ‘भाइकिङ’ शब्दले विदेश यात्रा वा समुद्री अभियानमा जाने व्यक्तिलाई जनाउँथ्यो, जबकि ‘फारा ई भाइकिङ’ वाक्यांशको अर्थ साहसिक यात्रा, व्यापार वा लुटपाटका लागि समुद्री यात्रामा निस्कनु भन्ने हुन्थ्यो ।
‘भाइकिङ’ शब्द सम्भवतः पुरानो नर्स शब्द ‘भिक’ बाट आएको मानिन्छ, जसको अर्थ ‘खाडी’, ‘समुद्री प्रवेशद्वार’ वा ‘समुन्द्री किनार’ हुन्छ । त्यसैले भाइकिङको शाब्दिक अर्थ ‘खाडी क्षेत्रबाट आउने व्यक्ति’ भन्ने हुन्छ, जसले सुरक्षित रुपमा आफ्ना लामो जहाजहरू समुद्रमा उतार्थ्यो ।
नर्वेको आधुनिक राष्ट्रिय पहिचान पनि भाइकिङहरूसँग गहिरोगरी गाँसिएको छ, किनकि अधिकांश भूभाग खुला समुन्द्रले घेरिएको नर्वेको भौगोलिक स्वरूपले नै भाइकिङ युगलाई आकार दिएको थियो । अनि यसको राजकीय इतिहास त्यही भाइकिङ युगबाट जन्मिएको थियो ।

‘भाइकिङ’ र नर्वेको साइनो
भाइकिङ युग (लगभग सन् ७५०–१०५०) मा स्क्यान्डिनेभियामा बसोबास गर्ने मानिसहरूलाई बाहिरी संसारले सामान्यतः ‘नर्सम्यान’ वा ‘डेन’ भनेर चिन्थ्यो । तर व्यापार, आक्रमण वा अन्वेषणका लागि जहाजमा चढेर समुद्री यात्रामा निस्कने जनसंख्याको एउटा हिस्सालाई मात्र ‘भाइकिङ’ भनिन्थ्यो ।
नर्वेलाई आफ्नो भू–दृश्यले नै लामो जहाजहरू निर्माण गर्न प्रेरित गर्यो । प्राचीन समयमा स्थलमार्गबाट यात्रा गर्नु लगभग असम्भव थियो । नर्वेका अफ्यारा र लामा समुन्द्रिक किनारा र त्यसमा चट्टानी भूगोल हुँदै मिल्न जाने साघुँरा खोलानाला र गल्छी (फ्योर्डहरू)का कारण लामा ढुंगा बनाए । यसैले प्रारम्भिक नर्स समुदायलाई समुद्री प्रविधिमा दक्ष बन्न बाध्य बनायो । उनीहरूले साँघुरा नदी र खतरनाक खुला समुद्र दुवैमा चल्न सक्ने प्रसिद्ध काठका लामो जहाजहरू निर्माण गरे ।
पूर्वतिर अवस्थित स्विडिस भाइकिङहरू मुख्यतः रूसतर्फ पूर्वमा गएका थिए भने मुख्य युरोपियन भूमिसँग जोडिएका डेनिस भाइकिङहरू मुख्यभूमि युरोपतर्फ केन्द्रित थिए । तर नर्वेली भाइकिङहरू एटलान्टिक महासागर पार गर्दै पश्चिमतर्फ गए । उनीहरूले आइसल्यान्ड र ग्रिनल्यान्डमा बसोबास स्थापना गरे र अन्ततः क्यानडाको न्युफाउन्डल्यान्डस्थित ल’आन्स ओ मेडोज क्षेत्रमा बस्ती बसाए । यसरी उनीहरू क्रिस्टोफर कोलम्बसभन्दा धेरै शताब्दीअघि नै उत्तर अमेरिकासम्म पुगेको मानिन्छ । समुद्री अन्वेषणको यही विरासत नर्वेली राष्ट्रिय गौरवको प्रमुख आधार बनेको छ ।
एकीकृत नर्वे भन्ने अवधारणा पनि भाइकिङ राजाहरूले निर्माण गरेका थिए । सन् ८७२ मा प्रसिद्ध भाइकिङ सेनानायक हाराल्ड फेयरहेयरले हाफर्सफ्योर्डको युद्ध जितेर आपसमा लडिरहेका स्वतन्त्र क्षेत्रीय समुदायहरूलाई पहिलो पटक एउटै नर्वेली राज्यअन्तर्गत एकीकृत गरेका थिए ।
अहिले आधुनिक युगमा विश्वकप २०२६को लागि ‘नर्वेली भाइकिङहरू’ फेरि एकपटक एटलान्टिक महासागर पार गर्दै मेक्सिको, अमेरिका र क्यानडामा भइरहेको ‘जंग’मा सामेल भइरहेका छन् । अनि परिणाममुखी चार सशक्त आक्रमण निकाल्दै एर्लिङ हालान्डले आफू खास ‘भाइकिङ योद्धा’ भएको सिद्ध गरिसकेका छन् ।
यद्यपि, ‘नर्वेली भाइकिङहरू’ अबको एकमहिने फुटबल युद्धमा कति समय टिक्छन् भन्नेचाहिँ समग्र ‘बटालियन’को सामर्थ्यमा भर पर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रूपन्देहीमा १४ हजारभन्दा बढीलाई राहदानी वितरण
-
परराष्ट्र मन्त्री शिशिर खनालद्वारा रास्वपाको केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता
-
१० बजे १० समाचार : प्रदेश सभा खारेज गर्ने रास्वपाको प्रस्तावदेखि सुकुमबासीलाई अल्टिमेटमसम्म
-
नेपालगन्जमा तीन दिन विद्यालय बन्द
-
शाखा अधिकृत पौडेललाई सेवाबाट हटाइयाे
-
एमाले सचिवालयको निष्कर्ष : विष्णु पौडेलको पक्राउ गैरकानुनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण