‘गुट र प्यानल बनाएर तमासा नबनाउनू’
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीको पहिलो महाधिवेशनको निर्वाचनमा गुट, उपगुट र प्यानल नबनाउन निर्देशन दिएका छन्।
- उनले चुनावमा स्वस्थ प्रतिस्पर्धा हुनुपर्ने भन्दै अस्वस्थ गतिविधि नगर्न सचेत गराएका हुन्।
- लामिछानेले महाधिवेशन प्रतिनिधिका लागि तोकिएको ५ हजार रुपैयाँ शुल्कलाई ऐच्छिक बनाएका छन्।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको पहिलो महाधिवेशनअन्तर्गतको निर्वाचनमा कुनै पनि गुट, उपगुट र प्यानल नबनाउन प्रतिनिधिलाई निर्देशन दिएका छन्।
महाधिवेशनको बन्दसत्रको उद्घाटन गर्दै उनले चुनावमा स्वस्थ प्रतिस्पर्धा हुनुपर्ने भन्दै भित्रभित्रै नाम पठाउने र फोनबाट भोट माग्ने जस्ता अस्वस्थ गतिविधि नगर्न सचेत गराएका हुन्।
रास्वपालाई यहाँसम्म ल्याइपुर्याउन नेपाली नागरिकले अथाह विश्वास गरेको भन्दै उनले अब उपलब्धिलाई परिणाममा बदल्ने बेला आएको बताए। ‘सपना देख्दैमा र चाहना राख्दैमा अटो पाइलटमा गएर आफैँ पूरा हुँदैन, यसका लागि केही कदम चाल्नैपर्छ,’ लामिछानेले भने। संसारको राजनीतिक इतिहासमै विरलै हुने गरी पहिलो महाधिवेशनअगावै पार्टीले झण्डै दुई तिहाइको सरकार प्राप्त गरेको दाबी गर्दै उनले यसको महिमागान मात्र गाएर हिँड्न नहुनेमा जोड दिए।
लामिछानेले सभापतिको विशेषाधिकार प्रयोग गर्दै महाधिवेशन प्रतिनिधिका लागि तोकिएको ५ हजार रुपैयाँ शुल्कलाई ऐच्छिक बनाएको घोषणा समेत गरे। धेरै दिन बस्दा प्रतिनिधिको खर्च बढेको र आर्थिक भारकै कारण कोही पनि मतदानबाट वञ्चित भएर फर्किनु नपरोस् भन्नका लागि उनले यस्तो निर्णय लिएका हुन्।
शुल्क तिरिसकेका प्रतिनिधिले चाहेमा रकम फिर्ता लिन सक्ने र शुल्क तिर्न नसक्नेहरूका लागि पार्टीले नै वैकल्पिक स्रोतको व्यवस्था गर्ने उनले प्रस्ट पारे। राजनीतिमा एकअर्काको खुट्टा तान्ने प्रवृत्ति रहेको भन्दै उनले सक्नेले नसक्नेको हात समातेर माथि तान्न आग्रह गरे।
पार्टीभित्र पदीय जिम्मेवारी वा उम्मेदवारीलाई लिएर चलेका विभिन्न अफवाहको पनि उनले खण्डन गरे। सांसद वा मन्त्री भएकालाई उम्मेदवार बन्न नदिने वा पुराना र नयाँबिच विभेद गर्ने कुनै पनि औपचारिक निर्णय पार्टीले नगरेको उनले स्पष्ट पारे। जसले पनि निर्बाध रूपमा उम्मेदवारी दिन पाउने भन्दै उनले कसलाई भोट दिने र कसलाई नदिने भनेर उर्दी जारी गर्ने चरित्र रास्वपाको नभएको बताए।
पार्टीको केन्द्रीय समितिमा पुग्ने नेतृत्व छनोट गर्दा विवेक प्रयोग गर्न उनले प्रतिनिधिलाई आग्रह गरे। ‘कसैले सदस्य बनाइदिएका भरमा वा यहाँसम्म ल्याइदिएका भरमा लालमोहर वा औँठाछाप लगाएर आफ्नो इमान बन्धकी राखेर आउनु हुँदैन,’ उनले भने।
गलत तरिकाले कसैले हलसम्म ल्याइपुर्याएको भए पनि देश र पार्टीप्रति उत्तरदायी भएर सक्षम व्यक्तिलाई मात्र मतदान गर्न उनले सुझाए। गलत पात्र र प्रवृत्तिको एउटा सानो बिउ मात्र रोपिए पनि त्यसले कालान्तरमा दुर्घटना निम्त्याउने भन्दै उनले त्यस्तो परम्परा रास्वपामा भित्रिन नदिन जोड दिए।
निर्वाचनको प्रक्रियामा आफू सबैबाट अलग रहेको बताउँदै उनले चुनाव जसले जिते पनि घण्टीवाहकले नै जित्ने र सबै आफ्नै परिवारको सदस्य भएको बताए। सहमतिको प्रयास भइरहेको भए पनि सबै प्रतिनिधि आफ्ना लागि बराबर र प्रिय भएकाले कसैलाई काखा र कसैलाई पाखा गर्न नसक्ने उनको भनाइ थियो।
कार्यक्रममा लामिछानेले पार्टीभित्र मतभेद वा समस्या आउनु स्वाभाविक भए पनि त्यसलाई समाधान गर्ने क्षमताले नै दललाई परिपक्व बनाउने बताए। पार्टीभित्रका कुनै पनि असन्तुष्टि र मनमुटाबलाई कोठाभित्रै बसेर छलफलमार्फत टुङ्ग्याउनुपर्ने भन्दै उनले सडक वा मैदानमा लगेर तमासा नबनाउन प्रतिनिधिलाई सचेत गराए।
रास्वपा आफ्ना सबै मतभेद अन्त्य गर्न सक्ने पार्टी भएको उदाहरण प्रस्तुत गर्नुपर्ने भन्दै उनले विना विवाद, स्वस्थ र स्वच्छ तरिकाले महाधिवेशन सम्पन्न गरेर इतिहास रच्न आह्वान गरे। बन्दसत्रमा राजनीतिक, आर्थिक र अनुशासन आयोगका प्रतिवेदनहरू प्रस्तुत हुने र त्यसमाथि घनिभूत छलफल गरिने उनले जानकारी दिए।
यस्तो छ सम्बोधनको सम्पादित अंश :
राजनीतिक दलका रूपमा यो यात्रा छोटो भए पनि पक्कै सहज थिएन। यो यात्राको क्रममा आएका घुम्ती र मोडहरूमा यहाँहरू जसरी सहभागी हुनुभयो, यहाँहरू सबै यसको साक्षी हुनुहुन्छ। विभिन्न मञ्च र दस्तावेजहरूमा मैले यस यात्राका उकाली–ओराली र घुम्तीहरूबारे बताउँदै आइरहेको छु। तिनै कुरालाई फेरि दोहोर्याउनु समयको बर्बादी मात्र हुनेछ। तर यति चाहिँ भन्न चाहन्छु– आज हामी जुन मोडमा आइपुगेका छौँ, साँच्चै नै हामीले देखेको एउटा सपनालाई आधिकारिकता र वैधानिकता प्रदान गर्ने यो महाकुम्भ तपाईं–हाम्रो पार्टीको, हाम्रो राजनीतिक जीवनको र समग्रमा यस देशको भविष्यलाई दिशानिर्देश गर्ने एउटा महान् र ऐतिहासिक अवसर हो। हामी सबैले इमानदारीका साथ यो अवसरलाई सदुपयोग गर्नुपर्नेछ भन्ने कुरामा म यहाँहरूलाई दृढ हुन अनुरोध गर्न चाहन्छु।
साथीहरू, विभिन्न अभियानबाट जीवनमा कहिल्यै राजनीति नगरेका मानिसहरूले राजनीति गर्ने अभिप्राय राखेर र स्थापित विभिन्न राजनीतिक दलहरूबाट जम्मा भएर हामी विशाल राष्ट्रिय पार्टी बनेका हौँ। यस हलभित्र आज प्रतिनिधिका रूपमा जम्मा हुनुभएका तपाईं साथीहरूले मूलतः देशभक्तिको प्रतिनिधित्व गर्नुहुनेछ भन्ने कुरामा म निर्धक्क छु। विषम परिस्थितिमा यो दल स्थापना भएको हो र त्यही परिस्थितिलाई हेरेर नेपाली नागरिकले हामीमाथि आफ्नो अथाह विश्वास खन्याएका हुन्। संसारको राजनीतिक इतिहासमै विरलै हुने घटनास्वरुप, पहिलो महाधिवेशनभन्दा अगाडि नै दलको झन्डै दुई तिहाइको सरकार हामीले प्राप्त गरेका छौँ। अब हाम्रा सामु दुईवटा बाटा छन्– यो उपलब्धिलाई लिएर यसको महिमागान गाएर हिँड्ने कि यसलाई परिणाममा बदल्ने ? हाम्रा सामु यी दुई चुनौती छन्।
मैले जोकोहीलाई 'हामी यस सफलताको गीत गाउने, नाच्ने कि यसलाई परिणाममा बदल्ने ?' भनेर सोधेँ भने तपाईंहरूले सोच्दै नसोची 'परिणाममा बदल्ने' भन्नुहुन्छ होला। तर साँच्चै परिणाममा बदल्ने हो भने केही प्रतिबद्धता त गर्नैपर्छ, केही न केही योगदान त गर्नैपर्छ साथी हो ! हामीले चाहना राख्दैमा र सपना देख्दैमा ती कुराहरू एकाएक आफैँ अटो पाइलट मा गएर पूरा हुँदैनन्। त्यसका लागि हामीले केही काम गर्नैपर्छ, केही कदम चाल्नैपर्छ।
अघिल्लो पुस्ताको हिजोको राजनीतिक यात्राजस्तो आजको हाम्रो यात्रा कठिन छैन। हिजो अत्यन्त कठिन थियो– ज्यानलाई जोखिममा राख्नुपर्थ्यो, निर्वासनमा जानुपर्थ्यो, जेलनेल भोग्नुपर्थ्यो, सहिद हुनुपर्थ्यो। शरीरभरि गोलीका छर्राहरू बोकेर बाँच्नुपर्थ्यो। आज फरक छ। समयले चुनौती घटाएको त छैन, तर हिजोको तुलनामा सङ्घर्ष सहज छ भन्दा अत्युक्ति नहोला। यद्यपि सबैको सङ्घर्ष यही यात्रामा पनि सहज भएको छैन। कयौँ साथीहरू पछिल्लो जनयुद्धबाट पनि आउनुभएको छ, त्यहाँ पनि ज्यानको जोखिम थियो। कतिपय साथीहरू हिजोको निर्वासित जीवनमा सङ्घर्ष गर्दागर्दै पुरानो राजनीतिक दलबाट राष्ट्रिय आकाङ्क्षा पूरा नहुने देखेर रास्वपालाई विश्वास गर्दै आउनुभएको छ। कतिपय सशस्त्र सङ्घर्षको त्यो बेलाको प्रतिनिधित्व गर्दै यहाँ आइपुग्नुभएको छ। अनि, आज पनि यही हलमा कयौँ त्यस्ता साथीहरू हुनुहुन्छ, जसले परिवर्तनका लागि लड्दा लागेका गोलीका छर्राहरू शरीरमै बोकेर यहाँ आउनुभएको छ। म तपाईंहरू सबैप्रति उच्च सम्मान व्यक्त गर्न चाहन्छु।
जो जहाँबाट जसरी आउनुभएको भए तापनि हाम्रो उद्देश्य साझा छ। हामीले हिँड्ने बाटो र लक्ष्य प्राप्त गर्ने हाम्रो तरिका चाहिँ एकै हुनुपर्छ। त्यो राजनीतिक हुनुपर्छ र त्यसले परिवर्तनलाई आत्मसात् गरेको हुनुपर्दछ। उपस्थित साथीहरू, यदि हाम्रो राजनीतिक चरित्र उस्तै रह्यो, राजनीतिक खिचातानी उस्तै रह्यो, शक्ति प्राप्त गर्ने दौड उस्तै रह्यो र झन्झन् शक्तिशाली बन्नका लागि गुट–उपगुटको सङ्घर्ष उस्तै रह्यो भने हामीबाट आउने परिणाम पनि पुरानै दलहरूको जस्तै र दुरुस्तै हुन्छ, फरक हुँदैन। फरक परिणाम निकाल्ने हो भने केही फरक त सोच्नैपर्छ। जहाँबाट जसरी आएको भए तापनि यो नीलो रङ्गभित्र हामीले राष्ट्रका लागि गर्नुपर्ने प्रतिबद्धता सँगै मिसिएर आएको छ। त्यसैले हिजोकै शैली अपनाएर फरक परिणाम निकाल्ने कसैले दिवास्वप्न देखेको छ भने त्यो असफलतातिर जान्छ।
त्यसैले म आज बन्दसत्रको यो सुरुवात र उद्घाटन सत्रमा यहाँहरूलाई केही कुरा मात्र बताउन चाहन्छु। पार्टीको महाधिवेशन प्रतिनिधि हुनु भनेको कसैले सदस्य बनाइदिएका भरमा उसैलाई भोट हाल्न लालमोहर वा औँठाछाप लगाएर आफ्नो इमान बन्धकी राखेर आउनु होइन। यदि तपाईंलाई सदस्य बनाउन वा यस हलभित्र ल्याउन कसैले गलत तरिका अवलम्बन गरेको छ र त्यसका लागि तपाईं आफूलाई यो हलसम्म ल्याइदिने मानिसप्रति उत्तरदायी हुनुपर्छ भन्ने सोच्नुहुन्छ भने तपाईं गलत बाटोमा हुनुहुन्छ। तपाईं यो देशप्रति उत्तरदायी हुनुपर्दछ, सिङ्गो पार्टीप्रति उत्तरदायी हुनुपर्दछ। हामी त्यही गलत प्रवृत्तिको विद्रोह गरेर यहाँ आएका हौँ। फेरि त्यसैलाई रोप्ने काम हामीले गर्यौँ भने कुनै न कुनै मोडमा यो दुर्घटनामा जान्छ। दुर्घटनाले हामीलाई कहाँ ल्यायो भन्ने यहाँहरूले देख्नुभएकै छ। त्यसैले यो ऐतिहासिक अवसरलाई दुर्घटनाबाट जोगाउने जिम्मा म तपाईंको विवेकलाई छोड्न चाहन्छु।
मलाई सम्झना छ, अधिवेशन र महाधिवेशनको यो प्रक्रियामा मैले आफूलाई सबै साथीहरूभन्दा अलग राख्ने कोसिस गरेँ। एक ढङ्गले म आइसोलेसन (एकान्त) मा बसेँ। किनकि मलाई थाहा छ, जसले जिते पनि घण्टीवाहक साथीले नै जित्नुहुन्छ। जो जित्नुहुन्छ उहाँ मेरो परिवारको सदस्य हो भन्ने मलाई विश्वास छ। त्यसबीचमा अब्बल मान्छे छान्ने जिम्मा तपाईंको हो। कुनै मित्रले तपाईंलाई यो हलसम्म ल्याइपुर्यायो वा महाधिवेशन प्रतिनिधि बनायो भने उहाँलाई धन्यवाद दिनुहोला। यदि उहाँ गलत हुनुहुँदो रहेछ भने धन्यवादले मात्र चित्त बुझाउनु भन्नुहोला तर भोट चाहिँ सक्षम साथीलाई नै दिनुहोला। म यसलाई दिनु वा उसलाई दिनु भन्दिनँ।
हो, कतिपय साथीहरूलाई 'पार्टीको स्थापना कालदेखि हामी लागेका हौँ, त्यसकारण हाम्रो पो अधिकार हो त' भन्ने पनि लागेको हुन सक्दछ। कतिपय नयाँ आएका साथीहरूलाई 'पुराना साथीहरू मात्र कहाँ पर्याप्त छन् र ! हामी पनि आफ्नो सक्षम घर, सक्षम पुरानो पार्टी र त्यत्रो सङ्गठन छोडेर आश र भरोसा गरेर आएका छौँ, हामी पो अगाडि बढ्नुपर्छ' भन्ने लाग्दछ। तर म सबैलाई एउटै कुरा भन्न चाहन्छु– जसलाई जे लागे तापनि राजनीतिक चरित्र सही हुनुपर्छ। महाधिवेशनबाट पार्टीको सबैभन्दा माथिल्लो, सबैभन्दा महत्त्वपूर्ण र पार्टीको शिर वा मगज मानिने केन्द्रीय समितिमा जाने मानिस तपाईंले विवेकपूर्ण ढङ्गले छान्नुपर्नेछ। मलाई तपाईंको विवेकमा शङ्का लागेको होइन, तर कहीँकतै गलत परम्परा र गलत प्रवृत्तिको एउटा सानो बिउ पनि रोपिन्छ कि भनेर म अलिकति चिन्तित छु। गलत पात्र र प्रवृत्तिको एउटा बिउ पनि नरोपियोस् भनेर यो महाधिवेशनमा म तपाईंहरूलाई बिन्ती गर्न चाहन्छु। किनकि त्यसले दिने परिणाम हामीले देखिसकेका छौँ।
प्रिय साथीहरू, महाधिवेशनका क्रममा चलेका केही अफवाहहरू मैले पनि सुनेको छु। सांसदलाई दिने कि नदिने, मन्त्रीहरूलाई दिने कि नदिने, पुराना भइसकेकालाई दिने कि नदिने, नयाँ आएकालाई दिने कि नदिने भन्ने व्यापक चर्चा र केही नामहरूसमेत उल्लेख भएको सूचना मैले प्राप्त गरेको छु। म तपाईंहरूलाई निर्धक्कका साथ भन्न चाहन्छु– सांसद वा मन्त्रीलाई उम्मेदवार बन्न नदिने भन्ने यस्तो कुनै पनि औपचारिक निर्णय पार्टीले गरेको छैन। त्यस्तो कुनै भ्रम र गुटबन्दीमा तपाईंहरू नलाग्नुहोला। निर्बाध रूपमा उम्मेदवारी दिनुहोस्। उठेका मान्छे चाहे ती सांसद हुन्, मन्त्री हुन्, पार्टी स्थापना कालदेखि लागेका हुन् वा अस्ति भर्खरै रास्वपामा जोडिएका हुन्– कसलाई भोट दिने भन्ने जिम्मा तपाईंको हो। तर यसलाई भोट दिनु वा उसलाई नदिनु भनेर उर्दी जारी गर्ने चरित्र रास्वपाको होइन। हामीले आफ्नो विवेक प्रयोग गर्नुपर्नेछ। हामीले नागरिकलाई के भन्यौँ ? 'यसपटक तपाईंले विवेक प्रयोग गर्नुहोला है, विवेक प्रयोग गरी मतदान गर्नुहोला' भन्यौँ। देशका ५२ लाखभन्दा बढी नागरिकले विवेक प्रयोग गरे र रास्वपालाई आज देशको सबैभन्दा शक्तिशाली राजनीतिक दलका रूपमा खडा गरिदिए। अब त्यही विवेक हामीले पनि प्रयोग गर्नुपर्नेछ। त्यसकारण म यहाँहरूलाई यति अनुरोध गर्न चाहन्छु।
यो हाम्रो पहिलो महाधिवेशन हो र यसलाई अत्यन्त चुस्तताका साथ, विवेकपूर्ण र बुद्धिमत्तापूर्ण ढङ्गले प्रतिनिधिहरूको चयन र निर्वाचन गर्नुपर्ने भएकाले हाम्रा सामु केही चुनौतीहरू आए। नयाँ अनुभव भएकाले मित्रहरूलाई दुःख भयो। म सभापतिको हैसियतले तपाईंहरूले पाउनुभएको दुःखप्रति क्षमायाचना गर्न चाहन्छु। यो गर्मीमा यहाँ आएर तपाईंले यति धेरै दुःख गर्नुभयो। तर सम्झिनुहोस् त, राजनीतिक यात्रामा आफ्नो दल निर्माण गर्न कयौँ पुराना साथीहरूले आफ्नो रगत–पसिना, उमेर, जवानी र भविष्य सबै गुमाएका छन्। हामीले दुई दिन अलिकति दुःख गर्नुपर्यो भनेर यसमा दुःख नमान्नुहोला है साथी हो ! हाम्रै घर बनाउनका लागि हो यो। यो हाम्रो घर हामीले नबनाए कसले बनाउँछ र ?
म तपाईंहरूलाई पार्टी सभापतिको नाताले एउटा विशेषाधिकार प्रयोग गर्दै भन्न चाहन्छु– महाधिवेशन प्रतिनिधिका रूपमा पार्टीले तोकेको ५ हजार रुपैयाँ शुल्कलाई म ऐच्छिक बनाउन चाहन्छु। तिर्न नचाहने साथीहरूले नतिर्दा पनि फरक पर्दैन, त्यसको व्यवस्था पार्टीले गर्नेछ। किनभने यति धेरै दिन यहाँ बस्दा तपाईंहरूको धेरै खर्च भएको छ। खर्चको जोहो गर्न नसकेर वा अप्ठ्यारो परेर भोटै हाल्न नपाई आफ्नो ठाउँ फिर्ता जानुपर्ने बाध्यताको अन्त्य गर्न यो निर्णय गरिएको हो। जो साथीहरूले शुल्क तिरिसक्नुभएको छ, उहाँहरूले चाहनुभयो भने आफूले बुझाएको त्यो ५ हजार फिर्ता लिन सक्नुहुनेछ। बरु त्यसका लागि सक्नेले आफ्नो तर्फबाट 'एक–दुई जना साथीका लागि म तिरिदिन्छु' भनिदिनुभयो भने राम्रो हुन्छ। हुनेले नहुनेको हात समाउँदै जाऔँ। यसबाट एउटा सन्देश पनि जान्छ कि राजनीतिमा प्रायः खुट्टा तानिन्छ, तर यसपटक हामी एकअर्काको हात समातेर साथीलाई माथि तानौँ। खुट्टा नतानौँ, हात तानौँ। होइन कसैले सक्दैन भने पार्टीले वैकल्पिक स्रोतबाट त्यसको व्यवस्थापन गर्नेछ। तपाईंहरूलाई आर्थिक भार नपरोस् भनेर यो ५ हजारलाई ऐच्छिक बनाउने र तिरिसकेकाले चाहेमा फिर्ता पाउने व्यवस्था मिलाउन म पार्टीको सम्बन्धित जिम्मेवार निकायलाई निर्देशन दिन्छु। मलाई लाग्छ, यसले यो गर्मीमा केही न केही शीतलता दियो होला।
साथी हो, पार्टीमा यस्ता मात्र होइन धेरै परिस्थिति सिर्जना हुन सक्छन्। ती परिस्थितिमा पनि हामी सँगै उभिनुपर्नेछ। अहिले पनि तपाईंहरूलाई केही कठिनाइ छ भने भन्नुहोला। तर यो महाकुम्भमा, इतिहासको यो महत्त्वपूर्ण घडीमा इतिहासको साक्षी मात्र होइन, इतिहास लेख्ने यो कार्यमा तपाईंको मत नछुटोस्, तपाईंको सहभागिता नछुटोस्। तपाईंलाई यो गर्मीले पनि नछेकोस् र तपाईंको आर्थिक अवस्थाले पनि नछेकोस्। त्यसको ग्यारेन्टी गर्न म आयोजकहरूलाई निर्देशन पनि दिन चाहन्छु।
उपस्थित प्रतिनिधि साथीहरू, म अब केही छोटा कुरा राखेर यहाँहरूमाझ बिदा हुन चाहन्छु। यति ठूलो भव्य आयोजना गर्दा कहीँ न कहीँ, कतै न कतै कमजोरीहरू अवश्य पनि हुन्छन्। हिजोको प्रक्रियामा हामीलाई कतै चित्त नबुझ्ने कुराहरू पनि देखिए होलान्। समस्या जहिले पनि आउँछन्। फरक यति हो कि समस्या समाधान गर्ने हाम्रो क्षमता कति छ ? समस्या समाधान गर्ने क्षमताले नै एउटा राजनीतिक दललाई परिपक्व बनाउँछ। हामी परिपक्वतातिर अघि बढेको राजनीतिक दल हुनाले हामीबीच भएका केही मनमुटाव, जिज्ञासा वा प्रश्नहरू छन् भने तिनलाई कोठाभित्रै बसेर छलफल गरी टुङ्ग्याउनुपर्छ, न कि सडकको तमासा बनाउने। मलाई विश्वास छ, यहाँहरूले हाम्रा बीचका छलफललाई स्वस्थ र स्वच्छ बनाउनुहुनेछ र त्यसलाई तमासाको रूपमा सडक वा मैदानमा लिएर जाने काम गर्नुहुनेछैन। मतभेदहरू छन् भने तिनलाई समाधान गर्ने हाम्रो विशिष्ट शैली छ र रास्वपा आफ्ना सबै मतभेदहरूलाई अन्त्य गर्न सक्ने पार्टी हो भन्ने उदाहरण तपाईं–हामीले नै दिनुपर्नेछ।
अन्त्यमा, विभिन्न राजनीतिकलगायतका प्रतिवेदनहरू प्रस्तुत हुनेछन्। आर्थिक प्रतिवेदन, अनुशासन आयोगको प्रतिवेदन आदिमा यहाँहरूले ध्यान दिएर हेर्नु नै हुनेछ। यहाँहरूबाट आवश्यक सल्लाह–सुझाव र रचनात्मक आलोचनाको अपेक्षा गरिएको छ। त्यसैगरी पार्टी सभापतिको हैसियतले राजनीतिक प्रतिवेदनको तयारीमा म जुटेकै छु र आज प्रस्तुत पनि गर्नेछु। त्यससँगै बन्दसत्रका बाँकी कार्यक्रम र उम्मेदवारी दर्ता पनि हुनेछ।
हुन त पहिलो महाधिवेशनलाई राष्ट्रिय सहमतिको महाधिवेशन बनाएर सबैलाई सहमत गराई अगाडि बढ्न पनि सकिन्थ्यो होला। त्यो कोसिस भइपनि रहेको छ। तर त्यो जिम्मेवारी सभापतिको मात्र काँधमा आइपर्दा मेरा लागि निकै ठूलो भारी हुन्छ। किनभने आफ्ना प्रिय मित्रहरूका बीचबाट 'सबैभन्दा प्रिय को हो' भनेर चुन्नु मेरा लागि चुनौतीपूर्ण विषय हो। म तपाईंहरूबीच फरक देख्न चाहन्नँ। मेरा लागि तपाईं प्रतिनिधिहरू सबै बराबर हुनुहुन्छ र मेरो हृदयको नजिक हुनुहुन्छ। म तपाईंहरूका बीचमा 'यसलाई छान्ने कि उसलाई' भन्ने छनोटको विधि अपनाउन चाहन्नँ। त्यसैका लागि प्रतिस्पर्धा गर्न लागिएको हो, अन्य कुनै चिजका लागि होइन। किनकि मलाई थाहा छ, जसले जिते पनि घण्टीवाहकले नै जित्ने हो, नीलो क्रान्तिको योद्धाले नै जित्ने हो। त्यसकारण म यसमा निर्धक्क छु।
त्यसैले स्वस्थ प्रतिस्पर्धा गर्ने जिम्मेवारी म यहाँहरूलाई नै दिन चाहन्छु। नामको प्यानल वा गुट बनाउने या अस्वस्थ ढङ्गले भोट माग्ने क्रियाकलाप नगरिदिनुहोला। त्यसलाई अनुशासन आयोग र निर्वाचन आयोगले पनि नजिकबाट हेरिरहेको छ। त्योभन्दा पनि ठूलो कुरा, हामीलाई भोट हाल्ने हाम्रा ५२ लाख जनताले हेरेर बसिरहेका छन्। तिनका लागि भए पनि पार्टीभित्र कुनै गुट–उपगुट नहोस्, कुनै प्यानल नबनोस्, भित्रभित्र नाम पठाउने काम नहोस् र नामको सन्देश फोनफोनमा नजाओस्। हामी 'एक ढिक्का रास्वपा, मात्र रास्वपा र मात्र घण्टीवाहक' हौँ। जसले जिते पनि हामी गर्वका साथ अगाडि बढ्नेछौँ र सिङ्गो संसारलाई भन्नेछौँ– हेर, विनाविवाद स्वस्थ र स्वच्छ प्रतिस्पर्धा गरेर रास्वपाले इतिहास रच्यो ! पहिलो महाधिवेशन हुनु नै इतिहास होइन, पहिलो महाधिवेशन स्वस्थ र स्वच्छ तरिकाले सम्पन्न हुनु र सबैप्रति सद्भाव एवं सम्मान राख्दै अगाडि बढ्नु चाहिँ इतिहास हो। यसकारण इतिहास रच्ने यो अवसरलाई यहाँहरूले गुमाउनुहुने छैन भन्ने कुरामा मैले पूर्ण विश्वास लिएको छु।
फेरि पनि विषम परिस्थितिमा हिमालका टाकुरादेखि पहाडका चुचुरा र मधेसका फाँटदेखि देशका दुर्गम तथा सुगम ठाउँबाट यहाँ पाल्नुभएका सम्पूर्ण प्रतिनिधि साथीहरूलाई म अग्रिम शुभकामना व्यक्त गर्न चाहन्छु। यहाँहरू सबैको यो बसाइ सुखद र सहज रहोस्। इतिहास रच्ने यो अवसरमा पूरै प्रक्रियामा सहभागी भएर एकजना पनि मत हाल्न नछुट्ने वातावरण बनोस्। सबैजना बस्नुहोला। यदि कसैलाई बसाइमा वा आर्थिक रूपले कुनै किसिमको असहजता भएको छ भने आयोजक र पार्टी सभापतिका तर्फबाट यहाँहरूलाई सहज बनाउने जिम्मा हाम्रो भयो। तर आर्थिक वा अन्य कारणले बस्नै नसक्ने अवस्था आएर जानुपर्ने भयो भने त्यसको जानकारी गराउनुहोला। हामी तपाईंलाई त्यस्तो अवस्थाबाट मुक्त गर्न जीउज्यान दिएर काम गर्नेछौँ र सबैसँग सहकार्य तथा सरसल्लाह गर्नेछौँ।
फेरि पनि यहाँहरू सबैलाई स्वागत गर्दै यो बन्दसत्र सुरुवात भएको जानकारी गराउन चाहन्छु। हाम्रा सूचनाहरू आम नागरिकसम्म पुर्याइदिनुहुने तमाम सञ्चारमाध्यमका पत्रकार मित्रहरूलाई पनि म धेरैधेरै धन्यवाद दिन चाहन्छु। बन्दसत्रको औपचारिक सुरुवात भएको घोषणा गर्दै मेरा भनाइहरू यहीँ टुङ्ग्याउँछु। हस्, जय देश, जय घण्टी !
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेको निष्कर्ष : विष्णु पौडेललाई गैरकानुनी, गैरन्यायिक र प्रतिशोधपूर्ण ढङ्गले पक्राउ गरियो
-
रास्वपा महाधिवेशन : बन्दसत्रमा पुगे बालेन शाह
-
मेस्सीमय विश्वकप, एमबाप्पे र हालान्डको उच्च गति, क्रोएसियाले के गर्ला ?
-
गृहमन्त्रीले खाएको अमलेटमा माछाको काँडा, कर्मचारीहरूसँग प्रहरीको सोधपुछ
-
विष्णु पौडेलको म्याद थपबारे बहस सकियो
-
११ जिल्लामा फैलियो बर्ड फ्लुको प्रकोप, पन्छीमा अन्य रोग पनि थपिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण