बुधबार, १० असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
राजनीति

विष्णु पौडेल पक्राउविरुद्ध एमालेले संसद्‌मा सशक्त प्रतिवाद गर्ने

मङ्गलबार, ०९ असार २०८३, १७ : ५१
मङ्गलबार, ०९ असार २०८३

काठमाडौँ । नेकपा एमाले संसदीय दलले उपाध्यक्ष विष्णु पौडेललाई सुनियोजित ढङ्गले पक्राउ गरेको भन्दै संसद्‌मा सशक्त प्रतिवाद गर्ने निर्णय गरेको छ । 

मङ्गलबार पार्टी कार्यालय च्यासलमा अध्यक्ष केपी शर्मा ओलीसहित बसेको बैठकले यस्तो निर्णय गरेको सांसद गुरु बरालले जानकारी दिए । 

‘उपाध्यक्ष विष्णु पौडेलको गिरफ्तारी सुनियोजित हो । यसका विरुद्ध संसद्‌मा एमालेले सशक्त प्रतिवाद गर्छ’, बरालले भने, ‘यो विधिको शासन विपरीत हो ।’

त्यस्तै बैठकले मुलुकमा विधिको शासन बहाल गर्न र सरकारी स्वेच्छाचारी अराजक कदमहरुविरुद्ध आवाज उठाउने निर्णय पनि गरेको छ । ‘त्यसबाहेक मुलुकमा बढेको महँगी, बाढी पहिरो लगायतका विषयमा सरकारको ध्यान नगएको भन्दै पीडितको पक्षमा निर्णय गर्न सरकारलाई  दबाब दिने निर्णय गरेको छ’, बडालको भनाइ छ । 

बैठकमा अध्यक्ष ओलीले संसद्‌मा खेल्नुपर्ने भूमिकाका बारेमा ब्रिफिङ गरेका थिए । बैठकले सात बुँदे प्रस्ताव पारित गरेको प्रमुख सचेतक ऐन महरले जानकारी दिए। ‘उपाध्यक्ष पौडेलको पक्राउ प्रतिशोधपूर्ण, अपमानपूर्ण र गैरकानुनी छ’, महरले अविलम्ब रिहाइका लागि सरकारको ध्यानाकर्षण गराएको बताए ।

संसदीय दलको बैठक लगत्तै एमालेको सचिवालय बैठक अध्यक्ष ओली निवास गुण्डुमा बस्दै छ । उक्त बैठकले एमालेको थप रणनीति तय गर्ने सचिव पद्मा अर्यालले जानकारी दिइन् ।

पौडेललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रका आधारमा प्रहरीले सोमबार सुर्खेतबाट पक्राउ गरी काठमाडौँ ल्याएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप