शुक्रबार, १२ असार २०८३
ताजा लोकप्रिय

अयोध्याकाे राम मन्दिरमा दान हिनामिनासम्बन्धी विवाद चुलियो

शुक्रबार, १२ असार २०८३, १० : २५
शुक्रबार, १२ असार २०८३

नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गरेको करिब दुई वर्षपछि राम मन्दिरमा भक्तजनले चढाएको करोडौं भारु बराबरको नगद तथा बहुमूल्य दान हिनामिना भएको आरोपसम्बन्धी विवाद उत्कर्षमा पुगेको छ । २०२४ को जनवरीमा उद्घाटन भएको तीनतले मन्दिर अहिले भारतकै प्रमुख तीर्थस्थलमध्ये एक बनेको छ । 

यहाँ वार्षिक करिब ५ करोड श्रद्धालु आउने अनुमान गरिएको छ । मन्दिर परिसरमा दैनिक ७० हजारदेखि ८० हजारसम्म भक्तजन पुग्ने गरेका छन् भने सप्ताहन्त र चाडपर्वमा यो संख्या झन् बढ्ने गरेको छ । 

तर हालै दिनहरूमा भक्तजनले चढाएका नगद, सुन, चाँदी र बहुमूल्य गहनाको व्यवस्थापनमा अनियमितता भएको आरोप सार्वजनिक भएपछि राजनीतिक विवाद सुरु भएको हो ।  यस विषयमा भारतको सर्वोच्च अदालतमा स्वतन्त्र छानबिनको माग गर्दै निवेदनसमेत दर्ता गरिएको छ ।

यसैबिच उत्तर प्रदेश सरकारले घटनाको अनुसन्धान गर्न तीन सदस्यीय विशेष अनुसन्धान टोली (एसआईटी) गठन गरेको छ । मन्दिरको व्यवस्थापन गर्ने श्री राम जन्मभूमी तीर्थ क्षेत्र ट्रष्टले भने सबै आरोप अस्वीकार गरेको छ । ट्रस्टका महासचिव चम्पत राईले सामाजिक सञ्जालमार्फत जारी भिडियो सन्देशमा दान संकलन, गणना तथा लेखापरीक्षणको प्रक्रिया नियमित रूपमा ट्रस्टी, कर्मचारी तथा स्टेट बैंक अफ इन्डियाका प्रतिनिधिहरूको उपस्थितिमा हुने भएकाले कुनै अनियमितता फेला नपरेको बताएका छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार आर्थिक वर्ष २०२४–२५ मा मन्दिरले करिब ३ अर्ब २७ करोड भारु आम्दानी गरेको थियो । योसँगै राम मन्दिर भारतकै उच्च आम्दानी गर्ने धार्मिक संस्थामध्ये एक बनेको छ ।

अयोध्याका एक पूर्व विधायकले ७ करोड भारुभन्दा बढी रकम हराएको आरोप लगाएपछि यो विषय राष्ट्रिय बहसको केन्द्र बनेको छ । राम जन्मभूमि–बाबरी मस्जिद विवाद दशकौँसम्म भारतको राजनीति, धर्म र कानुनी बहसको केन्द्रमा रहँदै आएको थियो । सन २०१९ मा  सर्वोच्च अदालतले विवादित जमिनमा राम मन्दिर निर्माण गर्न अनुमति दिँदै मस्जिद निर्माणका लागि वैकल्पिक जग्गा उपलब्ध गराउन आदेश दिएको थियो । 

उत्तरी भारतको अयोध्यामा रहेको यो मन्दिर १६औँ शताब्दीको बाबरी मस्जिद रहेको स्थानमा निर्माण गरिएको हो । उक्त मस्जिद सन १९९२ मा हिन्दू भीडद्वारा भत्काइए थियो । त्यसपछि उत्पन्नसाम्प्रदायिक हिंसामा करिब २,००० जनाको ज्यान गएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप