कृषिलाई सम्मानित र लाभदायी पेसा बनाएर युवाहरूलाई आकर्षित गर्नुपर्छ: आङदेम्बे
सारांश
- कांग्रेस नेता भीष्मराज आङदेम्बेले राष्ट्रिय धान दिवसको अवसरमा कृषि क्षेत्रको विकास र किसानका समस्या समाधानका लागि साझा प्रतिबद्धता आवश्यक रहेको बताएका छन्।
- उनले कृषि क्षेत्रमा लगानी वृद्धि, आधुनिक प्रविधिको प्रयोग, गुणस्तरीय बीउ, मलखाद, सिँचाइ तथा बजार व्यवस्थापनलाई आजको अपरिहार्य आवश्यकता भनेका छन्।
- आङदेम्बेले युवा पुस्तालाई कृषिमा आकर्षित गरी कृषिलाई सम्मानित र लाभदायी पेसा बनाउन तथा खाद्यान्नमा आत्मनिर्भर हुन सबै पक्षबीच साझा प्रतिबद्धताको जोड दिएका छन्।
काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले राष्ट्रिय धान दिवस तथा दही–चिउरा खाने पर्व २०८३ को अवसरमा शुभकामना व्यक्त गर्दै कृषि क्षेत्रको विकास र किसानका समस्या समाधानका लागि साझा प्रतिबद्धताको आवश्यकता औँल्याएका छन्।
स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको कामना गर्दै उनले नेपालको कृषि, संस्कृति र जनजीवनसँग असार १५ को विशेष सम्बन्ध रहेको बताए।
धान नेपालको प्रमुख खाद्यान्न बाली मात्र नभई ग्रामीण अर्थतन्त्रको मेरुदण्ड र नेपाली सभ्यताको अभिन्न हिस्सा भएको उनको भनाइ छ। नेता आङदेम्बेले कृषि क्षेत्रमा लगानी वृद्धि, आधुनिक प्रविधिको प्रयोग, गुणस्तरीय बीउ–बिजन, पर्याप्त मलखाद, भरपर्दो सिँचाइ तथा कृषि उपजको सुनिश्चित बजार व्यवस्था आजको अपरिहार्य आवश्यकता भएको उल्लेख गरे।
नेपालको संविधानले सुनिश्चित गरेको नागरिकको खाद्यसम्बन्धी हकको प्रभावकारी कार्यान्वयनका लागि किसानमैत्री नीति, उत्पादनमुखी कृषि प्रणाली तथा कृषि क्षेत्रमा राज्यको लगानी अझ प्रभावकारी बनाउन आवश्यक रहेको उनले स्पष्ट पारे। आज पनि किसानहरू समयमै मल, बीउ, सिँचाइ तथा उत्पादनको उचित मूल्य नपाउने समस्याबाट पीडित रहेको र जलवायु परिवर्तनका कारण कृषिमा थप चुनौती सिर्जना भएको उनले बताए।
यी चुनौतीहरूको सामना गर्न कृषि अनुसन्धान, जलवायुमैत्री प्रविधिको विकास, कृषि बिमा तथा उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न जरुरी रहेको आङदेम्बेले औँल्याए। बर्सेनि धान तथा चामलको आयात बढ्दै जानु चिन्ताको विषय बनेको भन्दै उनले भने, ‘उर्वर कृषि भूमि बाँझो रहने अवस्थाको अन्त्य गर्दै युवा पुस्तालाई कृषि क्षेत्रमा आकर्षित गर्ने, कृषिलाई सम्मानित र लाभदायी पेसाका रूपमा विकास गर्ने तथा उत्पादन र उत्पादकत्व वृद्धि गरी खाद्यान्नमा आत्मनिर्भर बन्न सबै राजनीतिक दल, सरकार र सरोकारवाला निकायबिच साझा प्रतिबद्धता आवश्यक छ।’
नेपाली कांग्रेस किसानका हक–हितको संरक्षण, कृषिको आधुनिकीकरण, खाद्य सुरक्षाको सुनिश्चितता तथा कृषिको दिगो विकासका पक्षमा सदैव प्रतिबद्ध रहेको उनले विश्वास दिलाए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका र इरानबिच जारी तनाव मत्थर बनाउन सहमति
-
६० वर्ष उमेर पूरा भइसकेका विद्यालय कर्मचारीहरूलाई नहटाउन आग्रह
-
नेदरल्यान्ड्सविरुद्ध मोरक्को : मैदानको भिडन्तभन्दा पर आप्रवासन र पहिचानको कथा
-
मकवानपुरका सीडीओले भनेः चिकित्सकको पर्चाबिना औषधि नबेच्नू
-
कलाकारहरूले मनाए धान दिवस
-
संविधान ब्रेल लिपीमा प्रकाशन गरी निःशुल्क वितरण गर्न सरकारका नाममा परमादेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण