एमाले युवाहरूले थाले मत सर्वेक्षण, सोधे १८ प्रश्न
सारांश
- नेकपा एमाले निकट युवाहरूले पार्टी पुनर्गठन र रूपान्तरणका लागि 'पुनर्जागरण अभियान-२०८२' अन्तर्गत असार १२ देखि २२ सम्म १८ प्रश्नसहितको मत सर्वेक्षण सुरु गरेका छन् ।
- यो अभियानले पार्टीको भावी दिशा, नेतृत्व हस्तान्तरण, सङ्गठनात्मक पुनःसंरचना, पुस्तान्तरण र आन्तरिक लोकतन्त्रीकरणका विषयमा कार्यकर्ता तथा शुभेच्छुकको धारणा सङ्कलन गर्नेछ ।
- संकलित सुझाव पार्टीको उपाध्यक्ष रामबहादुर थापा 'बादल' नेतृत्वको कार्यदललाई बुझाइनेछ र यसपटकको सर्वेक्षणको नतिजा सार्वजनिक गरिनेछ ।
काठमाडौँ । पार्टी पुनर्गठन र रुपान्तरणको पक्षमा रहेका नेकपा एमालेनिकट युवाहरूले पार्टी रूपान्तरण र पुनःसंरचनाका लागि ‘पुनर्जागरण अभियान–२०८२’ अन्तर्गत मत सर्वेक्षण सुरु गरेका छन् ।
असार १२ गतेबाट सुरु भएको अभियान १० दिनसम्म अर्थात् असार २२ सम्म सञ्चालन हुने उनीहरूको भनाइ छ । त्यसका लागि खुला रूपमा गुगल फर्ममार्फत विभिन्न १८ वटा प्रश्न सोधिएको छ । उक्त फर्ममार्फत स्वदेश तथा विदेशमा रहेका एमालेका सङ्गठित सदस्य, समर्थक, शुभेच्छुक तथा स्वतन्त्र नागरिकले सुझाव दिन सक्नेछन् ।
अभियानको मुख्य उद्देश्य पार्टीको भावी दिशा, नेतृत्व हस्तान्तरण, सङ्गठनात्मक पुनःसंरचना, पुस्तान्तरण र आन्तरिक लोकतन्त्रीकरणका विषयमा कार्यकर्ता तथा शुभेच्छुकको प्रत्यक्ष धारणा सङकलन गर्नु रहेको अभियानका नेतृत्वकर्ता गजेन्द्र थपलियाले जानकारी दिए ।
गुगल फारममार्फत सञ्चालन गरिएको सर्वेक्षणमा सहभागीका सुझावलाई गोप्य राखिने र प्राप्त निष्कर्ष पार्टीलाई औपचारिक रूपमा बुझाइने थपलियाको भनाइ छ ।
एमालेले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ नेतृत्वको कार्यदलले चुनावी समीक्षा र पार्टी पुनर्गठनबारे विभिन्न प्रदेशमा पुगेर सुझाव संकलन गरिरहेको छ । तर, त्यो सुझाव सिमित नेता कार्यकर्ताको मात्र हुने भएकाले तल्ला तहका कार्यकर्ता, समर्थक सुभेच्छुक र स्वतन्त्र नागरिकसहित अन्य पार्टीका नेता कार्यकर्ताको समेत धारणा बुझ्न अभियान थाल्नुपरेको एमालेनिकट बौद्धिक परिषद्का अध्यक्षसमेत रहेका एमाले रूपान्तरण र पुनःसंरचनाका लागि पुनर्जागरण अभियानका संयोजक गजेन्द्र थपलियाको भनाइ छ ।
पार्टीले पुनर्गठन र रूपान्तरणको बहस अघि बढाइरहेका बेला कार्यकर्ता र शुभेच्छुकको प्रत्यक्ष सुझाव नलिएकाले देश–विदेशमा रहेका सबै एमाले समर्थकसम्म पुगेर उनीहरूको धारणा सङ्कलन गर्ने उद्देश्य राखिएको थपलिया बताउँछन् ।
उनका अनुसार संकलित सुझाव उपाध्यक्ष रामबहादुर थापा वादल नेतृत्वको कार्यदललाई बुझाइनेछ ।
‘अहिले एमालेको रुपान्तरण, हस्तान्तरण र पुस्तान्तरण गरेर मात्र तीव्र गतिमा नेपालको कम्युनिस्ट आन्दोलनमा भइरहेको क्षतिलाई रोक्न सकिन्छ, नत्र भने कम्युनिस्ट आन्दोलन भविष्यमा नेपालमा कहिल्यै पनि नउठ्ने गरी जमिनमुनि धस्सिनेछ,’ सर्वेक्षणका लागि तयार पारिएको फारमको सबैभन्दा माथि लेखिएको छ, ‘फलतः नेपालको राष्ट्रियता र समृद्धिको आन्दोलन र सपना त्यहीँ तुहिनेछ । तसर्थ, यस महत्त्वपूर्ण अभियानमा तपाईंको विचार बुझ्न यो सर्वेक्षण अभियानका रुपमा सञ्चालन गर्दैछौँ र यस अभियानमा तपाईंको अमूल्य सुझाबको अपेक्षा गरेका छौँ ।’
‘तपाईको विचार र मतलाई सर्वेक्षणको गोपनियताको सिद्धान्त बमोजिम सम्पूर्ण हिसाबले गोप्य राखिनेछ,’ सहभागिता जनाउनेलाई विश्वासमा लिन खोजिएको छ ।
यसअघि सोही समूहले एमालेको विधान महाधिवेशन अघि ७० वर्षे उमेर हदर र २ कार्यकाललगायत मुद्दामा मत सर्वेक्षण गरेको थियो । उक्त सर्वेक्षण शिलवन्दी गरेर पार्टी नेतृत्वलाई बुझाइएको थियो । तर यसपटकको सर्वेक्षण नतिजा सार्वजनिक गरिने नेता थपलियाको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीर र ट्रमालाई निर्देशन : यही हप्ताभित्र शुलभ फार्मेसी सञ्चालनमा ल्याउनू
-
कुन टिमको विगत कस्तो ? ब्राजिल र जापानमा कुन बलियो ? (भिडियो)
-
इन्दिरा जोशीको आइटम गीत ‘सेन्सेसन’मा आश्माको बोल्ड अवतार
-
अमृत कोषमा बढ्न थाल्यो दुधको माग, धान्न अस्पताललाई मुस्किल
-
२० तस्बिरमा हेर्नुहाेस् रोपाइँ महोत्सव
-
इजरायलको निर्णयप्रति अजरबैजान असन्तुष्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण