मेस्सी, एम्बाप्पे र हालान्डलाई १३ गोलको ऐतिहासिक कीर्तिमान तोड्ने अवसर
सारांश
- सन् १९५८ को विश्वकपमा फ्रान्सका जस्ट फन्टेनले बनाएको १३ गोलको कीर्तिमान अहिलेसम्म पनि कायम छ ।
- लियोनेल मेस्सी, किलियन एम्बाप्पे र एर्लिङ हालान्डले २०२६ को विश्वकपमा यो कीर्तिमान तोड्ने सम्भावना छ ।
- आधुनिक फुटबलको रक्षात्मक रणनीति र कडा प्रतिस्पर्धाका कारण यो कीर्तिमान तोड्न कठिन छ ।
काठमाडौँ । फ्रान्सका महान् स्ट्राइकर जस्ट फन्टेनले सन् १९५८ को विश्वकपमा बनाएको १३ गोलको कीर्तिमान अझै पनि तोडिएको छैन । अर्थात् विश्वकपको एउटै संस्करणमा सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान अहिलेसम्म पनि उनकै नाममा दर्ज छ ।
आधुनिक फुटबलमा रक्षात्मक रणनीति, बलियो रक्षापंक्ति र कडा प्रतिस्पर्धाका कारण यस कीर्तिमानलाई धेरैले ‘अभेद्य’ ठान्दै आएका छन् ।
तर सन् २०२६ को विश्वकपमा भने तीन सुपरस्टार (लियोनेल मेस्सी, किलियन एम्बाप्पे र एर्लिङ हालान्ड)ले यो कीर्तिमानलाई चुनौती दिने सम्भावना देखाएका छन्, भलै यो चुनौती निकै कठिन किन नहोस् ।
जस्ट फन्टेनको कीर्तिमान किन यति विशेष छ ?
सन् १९५८ को विश्वकपमा फन्टेनले केवल एकै संस्करणमा १३ गोल गरेका थिए । उनले प्रतियोगिताभर लगातार गोल गर्दै आफ्नो संख्या बढाएका थिए । तेस्रो स्थानका लागि भएको खेलमा पश्चिम जर्मनीविरुद्ध चार गोल गरेपछि उनले १३ गोलको कीर्तिमान बनाएका थिए ।
त्यसयता केवल दुई खेलाडी मात्र एउटै विश्वकपमा दोहोरो अंक (१० वा बढी) गोल गर्न सफल भएका छन् । सान्दोर कोचिस (हंगेरी)ले विश्वकप, १९५४ मा ११ गोल गरेका थिए भने गर्ड मुलर (पश्चिम जर्मनी)ले १९७० मा १० गोल गरेका थिए । त्यसयता कसैले पनि १० गोलको सीमा पार गर्न सकेको छैन ।
मेस्सी सबैभन्दा नजिक
सन् २०२६ को विश्वकपमा अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सी उत्कृष्ट लयमा छन् । समूह चरणको अन्तिम खेलमा प्रशिक्षक लियोनेल स्कालोनीले उनलाई विश्राम दिएका थिए । उनी दोस्रो हाफमा मात्रै मैदान प्रवेश गरे । मैदान छिरेपछि एउटा फ्रिकिक बारमाथिबाट गएको थियो भने अर्को फ्रिकिक उनले भित्ताभन्दा तलबाट उत्कृष्ट रूपमा प्रहार गर्दै गोलमा परिणत गरे ।
त्यो गोलसँगै मेस्सीको यस विश्वकपमा गोल संख्या ६ पुगेको छ । प्रतियोगितामा अर्जेन्टिनाले फाइनलसम्म यात्रा गरेमा मेस्सीले अधिकतम पाँच खेल अझै खेल्न पाउने सम्भावना छ । जस्ट फन्टेनको १३ गोलको कीर्तिमान तोड्न भने उनलाई अझै आठ गोल आवश्यक पर्नेछ ।
संख्याको हिसाबमा हेर्दा पाँच खेलमा आठ गोल गर्नु निकै कठिन लक्ष्य हो । त्यसका लागि उनले प्रति खेल औसत १.६ गोल गर्नुपर्ने हुन्छ ।
तर मेस्सीको हालको लयले सम्भावनालाई पूर्ण रूपमा अस्वीकार पनि गर्न सकिँदैन । अहिलेका ६ गोल नै पछिल्ला १२ वटा विश्वकपमध्ये अधिकांश संस्करणमा गोल्डेन बुट जित्न पर्याप्त हुने आँकडा हो ।
एम्बाप्पेको चुनौती
फ्रान्सका कप्तान किलियन एम्बाप्पे पनि विश्वकपका सबैभन्दा खतरनाक फरवार्डमध्ये एक मानिन्छन् । उनले समूह चरणमा विश्राम पाए पनि नकआउट चरणमा टोलीका मुख्य हतियारका रूपमा पुनः फर्किएका छन् ।
यस विश्वकपमा उनको गोल संख्या चार खेलबाट ६ पुगेको छ । फ्रान्सले फाइनलसम्म यात्रा गरेमा एम्बाप्पेले अधिकतम चार खेल खेल्न सक्छन् । जस्ट फन्टेनको १३ गोलको कीर्तिमान तोड्न उनलाई बाँकी ४ खेलबाट आठ गोल निकाल्नुपर्ने हुन्छ ।
गति, फिनिसिङ क्षमता र ठूला खेलमा प्रभाव जमाउने क्षमताका कारण एम्बाप्पे कुनै पनि खेलमा एकभन्दा बढी गोल गर्न सक्षम खेलाडी हुन् । तर फन्टेनको कीर्तिमान तोड्न उनलाई पनि प्रतियोगिताभर अब प्रति खेल दुईको दरमा गोल गर्ने लय चाहिन्छ नै । फ्रान्सको आक्रामक शैली र एम्बाप्पेको व्यक्तिगत क्षमताले उनलाई सम्भावित दाबेदार बनाउँछ, तर १३ गोल पुग्नु अझै असाध्यै कठिन लक्ष्य हो ।
हालान्डको विस्फोटक सुरुआत
नर्वेका एर्लिङ हालान्ड पहिलोपटक विश्वकप खेलिरहेका भए पनि उनले आफ्नो प्रभाव तत्कालै देखाइसकेका छन् । हालसम्म उनले तीन खेलमा पाँच गोल गरिसकेका छन् । विश्वकपमा उनीभन्दा बढी गोल केवल मेसीले गरेका छन् ।
अन्तर्राष्ट्रिय फुटबलमा हालान्डको गोल गर्ने दर अहिले विश्वकै उत्कृष्टमध्ये एक मानिन्छ । उनले नर्वेका लागि ५३ खेलमा ६० गोल गरिसकेका छन्, अर्थात् औसत प्रत्येक ७२ मिनेटमा एक गोल ।
विश्वकपमा पनि उनले इराकविरुद्ध दुई गोल, सेनेगलविरुद्ध दुई गोल तथा आइभोरी कोस्टविरुद्ध निर्णायक गोल गरेका छन् । हालान्डसँग पनि सम्भावित रूपमा चार खेल खेल्ने अवसर बाँकी छ । फन्टेनको कीर्तिमान बराबर गर्न उनलाई अझै आठ गोल आवश्यक पर्नेछ ।
उनको गोल गर्ने प्राकृतिक क्षमता, सही समयमा सही स्थानमा पुग्ने बानी र उत्कृष्ट फिनिसिङले उनलाई सम्भावित दाबेदार बनाएको छ । तर त्यतिले मात्र पुग्दैन एक त आधुनिक विश्वकपमा लगातार प्रत्येक खेलमा धेरै गोल गर्नु निकै कठिन छ भने आफ्नो टिम प्रतियोगितामा लामो समय टिकिरहनु अपरिहार्य छ ।
आधुनिक फुटबलमा किन कठिन छ ?
सन् १९५८ को फुटबल र अहिलेको विश्वकपबिच ठुलो अन्तर छ । आजका टोलीहरू रक्षात्मक रूपमा धेरै संगठित छन् । विपक्षीका स्टार खेलाडीलाई रोक्न विशेष रणनीति बनाइन्छ । प्रत्येक नकआउट खेल अत्यन्तै प्रतिस्पर्धात्मक हुन्छ, जसका कारण एकै खेलमा तीन वा चार गोल गर्ने अवसर निकै कम हुन्छ । यही कारणले ६८ वर्षदेखि फन्टेनको कीर्तिमान सुरक्षित रहँदै आएको छ ।
तथ्याङ्कले हेर्दा जस्ट फन्टेनको १३ गोलको कीर्तिमान अझै पनि विश्व फुटबलकै सबैभन्दा कठिन व्यक्तिगत उपलब्धिमध्ये एक हो । मेस्सी हाल सबैभन्दा अगाडि देखिन्छन् । गणितीय हिसाबमा एम्बाप्पे र हालान्डसँग मेसीको भन्दा कुल सम्भावित खेलमध्ये एक कम छ । यद्दपि, एम्बाप्पे र हालान्डसँग पनि कुनै पनि खेल गोल बर्साउने क्षमता छ । यी तीन मध्ये कुनै पनि खेलाडीले बाँकी खेलहरूमा निरन्तर दुई भन्दा अधिक गोल गर्न सके गर्न सके मात्र फन्टेनको ६८ वर्ष पुरानो कीर्तिमान वास्तविक चुनौतीमा पर्नेछ ।
अहिलेको अवस्था हेर्दा कीर्तिमान तोडिने सम्भावना कम भए पनि मेस्सी, एम्बाप्पे र हालान्डजस्ता विश्वस्तरीय स्ट्राइकरहरू मैदानमा रहेकाले इतिहास पुनः लेखिने सम्भावनालाई पूर्ण रूपमा नकार्न भने मिल्दैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीका समस्याग्रस्त ५ सहकारीका बचतकर्ताको रकम फिर्ता गर्न निर्देशन
-
‘कोठा नम्बर १३’ अर्थात् यातना गृह र अभिषेक गिरीले चलाएको ‘यमराजको शासन’
-
बागमतीको बजेट सन्तुलित र यथार्थपरक छ : मन्त्री तामाङ
-
यात्रुलाई दुःख–हैरानी दिएको आरोपमा २३ जना पक्राउ, प्रहरीलाई समेत गरेका थिए अभद्र व्यवहार
-
हवाई इन्धनको मूल्य घटेसँगै आन्तरिक हवाई भाडामा कटौती
-
‘पेट्रोलियम पदार्थको बिक्री वितरण सहज भइसक्यो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण