बिहीबार, १८ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
फिफा विश्वकप २०२६

एउटै खेलबाट पेलेका दुई ऐतिहासिक कीर्तिमान तोड्दै ह्यारी केनले रचे इतिहास

बिहीबार, १८ असार २०८३, ०२ : ०५
बिहीबार, १८ असार २०८३

सारांश

  • इंग्ल्याण्डका कप्तान ह्यारी केनले फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम ३२ को खेलमा कंगो विरुद्ध २-१ को जित दिलाउने क्रममा पेलेका दुई ऐतिहासिक कीर्तिमान तोडेका छन् ।
  • केनले विश्वकपमा १३ गोल पुर्याउँदै पेलेको १२ गोलको कीर्तिमान उछिनेका छन् ।
  • उनले इङ्गल्याण्डका लागि ७८ अन्तर्राष्ट्रिय गोल गर्दै पेलेको ७७ गोलको रेकर्डलाई पनि पछाडि पारेका छन् ।

काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम ३२ को खेलमा इङ्गल्याण्डका कप्तान ह्यारी केनले कंगो विरुद्ध २–१ को रोमाञ्चक कमब्याक जित दिलाउने क्रममा फुटबल जगतका सर्वकालीन महान् खेलाडी पेलेका दुईवटा ऐतिहासिक कीर्तिमानहरू एकै पटक तोडेका छन् ।

एटलान्टा स्टेडियममा भएको यस भिडन्तमा केनले गरेको दुई गोलले इङ्गल्याण्डलाई अन्तिम १६ मा मात्र पुर्‍याएन, उनलाई फुटबल इतिहासको एउटा विशिष्ट स्थानमा समेत स्थापित गरेको छ ।

यस ऐतिहासिक खेलअघि केनको नाममा ११ विश्वकप गोल र कुल ७६ अन्तर्राष्ट्रिय गोल रहेको थियो । खेलको ७५औँ मिनेटमा पहिलो गोल गर्दै इङ्गल्याण्डलाई १–१ को बराबरीमा ल्याएका केनले पेलेको कीर्तिमान बराबरी गरेका थिए । त्यसपछि ८६औँ मिनेटमा व्यक्तिगत दोस्रो तथा निर्णायक गोल थप्दै उनले पेलेका दुवै कीर्तिमानलाई एकै पटक उछिन्न सफल भए ।

यससँगै विश्वकप इतिहासमा केनको गोल संख्या १३ पुगेको छ, जुन पेलेको १२ गोलको कीर्तिमानभन्दा बढी हो । त्यस्तै, इङ्गल्याण्डका लागि आफ्नो कुल अन्तर्राष्ट्रिय गोल संख्या ७८ पुर्‍याउँदै उनले पेलेको ७७ अन्तर्राष्ट्रिय गोलको ऐतिहासिक रेकर्डलाई समेत पछाडि पारेका छन् ।

यस ऐतिहासिक सफलताका साथै केन जारी विश्वकपको ‘गोल्डेन बुट’ (सर्वाधिक गोलकर्ता) को दौडमा पनि निकै बलियो रूपमा अघि बढेका छन् । प्रतियोगितामा ५ गोल गरिसकेका केन शीर्ष स्थानमा रहेका अर्जेन्टिनाका लियोनेल मेसी र फ्रान्सका किलियन एम्बाप्पेभन्दा मात्र १ गोलले पछाडि छन् । एम्बाप्पे र मेसी ६–६ गोलसहित शीर्ष स्थानमा छन् भने नर्वेका अर्लिङ हालाण्ड र इङ्गल्याण्डका केन ५–५ गोलसहित उनीहरूलाई पछ्याइरहेका छन् । इङ्गल्याण्ड अन्तिम १६ मा प्रवेश गरिसकेकाले केनलाई आगामी खेलहरूमा थप गोल गर्दै मेसी र एम्बाप्पेलाई उछिनेर गोल्डेन बुट जित्ने उत्कृष्ट अवसर रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप