बिहीबार, १८ असार २०८३
ताजा लोकप्रिय

रास्वपाका सांसदलाई डिजिटल प्लेटफर्मबारे अभिमुखीकरण दिइने

बिहीबार, १८ असार २०८३, १८ : ३२
बिहीबार, १८ असार २०८३

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीलाई डिजिटल, पारदर्शी र प्रविधिमैत्री बनाउन विकसित डिजिटल प्लेटफर्मबारे सांसदहरूलाई अभिमुखीकरण दिने भएको छ।
  • सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा हुने कार्यक्रममा सांसदहरूलाई प्रणालीको प्रयोग र साइबर सुरक्षाबारे जानकारी दिइनेछ।
  • यो प्रणालीमार्फत सांसदहरूले आफ्ना गतिविधि अद्यावधिक गर्ने, समय माग गर्ने, विषयवस्तु राख्ने, भ्रमण विवरण दिने र नागरिकले गुनासो तथा सुझाव दर्ता गर्न सक्नेछन्।

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीलाई थप डिजिटल, पारदर्शी र प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत विकास गरिएको डिजिटल प्लेटफर्मबारे प्रतिनिधि सभा सदस्यहरूलाई अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने भएको छ।

भोलि बिहान साढे १० बजे रास्वपा संसदीय दलको कार्यालय, सिंहदरबारमा अभिमुखीकरण दिइने मुख्य सचेतक कविन्द्र बुर्लाकाेटीले जानकारी दिए।

सभापति रवि लामिछानेको उपस्थितिमा हुने उक्त कार्यक्रममा सांसदहरूलाई प्रणालीको प्रयोगसम्बन्धी जानकारी दिइनुका साथै साइबर सुरक्षासम्बन्धी सचेतना पनि प्रदान गरिनेछ। कार्यक्रम रास्वपा संसदीय दलको कार्यालय, सिंहदरबारमा आयोजना हुनेछ।

अभिमुखीकरणपछि सबै सांसदले आफ्ना संसदीय तथा जनप्रतिनिधिमूलक गतिविधि अनिवार्य रूपमा प्रणालीमा अद्यावधिक गर्नुपर्ने व्यवस्था गरिएको छ।

प्रणालीमार्फत सांसदहरूबिच भेटघाटका लागि अनलाइनबाटै समय माग गर्न सकिने, संसद्‌मा उठाइने विषयवस्तु पूर्वजानकारीका रूपमा राख्न सकिने तथा निर्वाचन क्षेत्रमा भएका भ्रमण, भेटघाट र अन्य कार्यक्रमहरूको विवरणसमेत नियमित अद्यावधिक गर्नुपर्नेछ।

यस्तै नागरिकहरूले आफ्ना निर्वाचन क्षेत्रका सांसदसँग यही डिजिटल माध्यमबाट गुनासा तथा सुझाव दर्ता गर्न सक्नेछन्। प्रणालीमा सङ्कलित विवरणका आधारमा सांसदहरूको कार्यसम्पादन मूल्याङ्कन गर्न सकिने विशेषता पनि यसमा समावेश गरिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप