अटेरी १५ मेडिकल कलेज, अझै बुझाएनन् झण्डै तीन करोड बक्यौता
सारांश
- नेपाल मेडिकल काउन्सिलमा १५ वटा मेडिकल तथा डेन्टल कलेजहरूले विद्यार्थी भर्ना शुल्क वापतको झण्डै तीन करोड रुपैयाँ बक्यौता बुझाएका छैनन् ।
- कलेज अफ मेडिकल साइन्सेज भरतपुर र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको बक्यौता सबैभन्दा बढी छ ।
- तोकिएको समयभित्र बक्यौता नबुझाए विद्यार्थीको परीक्षा दर्ता र विदेशी चिकित्सक शिक्षकको दर्ता प्रक्रिया रोक्का गरिने नेपाल मेडिकल काउन्सिलले जनाएको छ ।
काठमाडौँ । नेपाल मेडिकल काउन्सिलमा चिकित्सा शिक्षा अध्यापन गराउने विभिन्न मेडिकल तथा डेन्टल कलेजहरूले लामो समयदेखि विद्यार्थी भर्ना शुल्क वापतको झण्डै तीन करोड रुपैयाँ रकम भुक्तानी नगरेको पाइएको छ ।
काउन्सिलको पछिल्लो तथ्याङ्क अनुसार विभिन्न १५ वटा शिक्षण संस्थाहरूबाट कुल २ करोड ७५ लाख ५७ हजार रुपैयाँ बक्यौता उठ्न बाँकी देखिएको छ ।
जसअनुसार सबैभन्दा बढी बक्यौता भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेजको छ । उसको ६८ लाख ५० हजार रुपैयाँ र धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ५८ लाख ७० हजार रुपैयाँ रहेको छ । यसैगरी ललितपुरको किष्ट मेडिकल कलेजको २२ लाख ४२ हजार, जनकपुरको जानकी मेडिकल कलेजको २० लाख २० हजार, महाराजगन्ज मेडिकल कलेजको १८ लाख ९९ हजार र नेपाल मेडिकल कलेजको १८ लाख ९५ हजार रुपैयाँ बक्यौता देखिन्छ ।
मनिपाल कलेजको नाममा १२ लाख ५१ हजार रुपैयाँ, चितवन मेडिकल कलेजले १२ लाख २० हजार रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिन्छ ।
काठमाडौँ विश्वविद्यालय स्कूल अफ मेडिकल साइन्सेजको नाममा १० लाख ७५ हजार रुपैयाँ बक्यौता छ । नोबेल मेडिकल कलेजले ८ लाख ७५ हजार रुपैयाँ बुझाउन बाँकी छ । काठमाडौँ मेडिकल कलेजको ७ लाख रुपैयाँ, एमबी केडिया डेन्टल कलेजले ४ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।
नेपाल आर्मी इन्स्टिच्युट अफ हेल्थ एन्ड साइन्सले २ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।
यसअघि २०८२ चैत्र २७ गते र २०८३ वैशाख २४ गते दुई पटकसम्म सूचना जारी गरी ताकेता गर्दा समेत कतिपय कलेजहरूले जिम्मेवारीबोध नगरी रकम बुझाउन आलटाल गरेपछि काउन्सिलले आज (बिहीबार) जारी गरेको सूचनामा तोकिएको समयभित्र बक्यौता नतिर्नेमाथि कडा कारबाही गर्ने जनाएको छ ।
नयाँ निर्णयबमोजिम नियम उल्लंघन गर्ने कलेजका विद्यार्थीहरूको परीक्षा दर्ता र त्यहाँ कार्यरत विदेशी नागरिक चिकित्सक शिक्षकहरूको दर्ता प्रक्रिया पूर्ण रूपमा रोक्का गरिने काउन्सिलले स्पष्ट पारेको छ । यसरी प्रक्रिया रोक्का भएपछि विद्यार्थी र शिक्षकमा पर्न जाने सम्पूर्ण एकेडेमिक असुविधा र क्षतिको जिम्मेवार स्वयं सम्बन्धित मेडिकल कलेजहरू नै हुनुपर्ने चेतावनी निमित्त रजिष्ट्रार डा. दिपेन्द्र पाण्डेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
काउन्सिलको बिहीबारको पूर्ण बैठकको निर्णयानुसार बक्यौता रकम स्पष्ट रूपमा उल्लेख गरी कलेजहरूलाई पुनः अन्तिम पत्राचार गरिसकिएको छ । केही कलेजले आफ्नो दायित्व बुझेर रकम भुक्तानी गरे पनि अझै धेरैजसो शिक्षण संस्थाहरूले अटेरी गरिरहेका छन् । मेडिकल काउन्सिलले विद्यार्थीहरूको भविष्य र शिक्षण संस्थाको साख जोगाउन पनि कलेज सञ्चालकहरूलाई तुरुन्तै आफ्नो कानुनी र आर्थिक दायित्व पूरा गर्न र बक्यौता बुझाउन आग्रह गरेको छ ।
नेपाल मेडिकल काउन्सिलका बोर्ड सदस्य डा. छवि पन्थीले विद्यार्थी भर्ना शुल्क वापतको बाँकी बक्यौता रकम तोकिएको समयभित्र अनिवार्य रूपमा भुक्तानी गर्न सम्बन्धित मेडिकल तथा डेन्टल कलेजहरूलाई पुनः स्मरण गराइएको बताए ।
डा. पन्थीले भने, 'नेपाल मेडिकल काउन्सिलले विद्यार्थी भर्ना शुल्क वापतको बाँकी बक्यौता रकम तोकिएको समयभित्र अनिवार्य रूपमा भुक्तानी गर्न सम्बन्धित मेडिकल तथा डेन्टल कलेजहरूलाई पुनः स्मरण गराएको छ । निर्धारित समयभित्र पनि बक्यौता रकम भुक्तानी नगर्ने संस्थाहरूको विद्यार्थीहरूको प्रोभिजनल रजिष्ट्रेसन र विदेशी चिकित्सक शिक्षकहरूको रजिष्ट्रेसनसम्बन्धी प्रक्रिया रोक्का गरिनेछ । सम्बन्धित सबै संस्थाहरूलाई समयमै दायित्व पूरा गरी आवश्यक प्रक्रिया अघि बढाउन हार्दिक अनुरोध गर्दछौँ।’
डा. पन्थीले पछिल्लो पटक ५० लाखभन्दा बढी रकम उठाइसकिएको बताए । पन्थीले भने, ‘पटक–पटकको सूचनालाई अटेर गरी आजको मितिसम्म रकम भुक्तानी नगरेका मेडिकल कलेजहरूले अविलम्ब रकम बुझाउन अनुरोध गर्दछौँ । अटेर गरेर ढिलासुस्ती गरेको पाइएमा काउन्सिलले कानुनी उपचार खोज्नेछ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी स्थानमा राति भारी वर्षाको सम्भावना
-
पूर्वमन्त्री बस्नेतसहित १६ जना विरुद्धको भ्रष्टाचार मुद्दाकाे सुनुवाइ ‘हेर्दाहेर्दै’ मा
-
‘रास्वपा संघीयता खारेजीको पक्षमा छैन, प्रत्यक्ष निर्वाचित कार्यकारीमा एकमत छ’
-
शिक्षा नियमावली संशोधन : विद्यार्थीलाई घाममा उभ्याउनेदेखि अपमानजनक व्यवहारमा रोक
-
एमालेका पूर्वसांसद लक्ष्मी महताे काेइरी पक्राउ
-
सावधान ! सीआईबीको नामबाट कानुनी कारबाहीको धम्की दिँदै इमेल आयो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण