फिफा विश्वकप २०२६ का १२ अद्वितीय प्रतिभा
विश्वकप सुरु हुनु अघि नै यस प्रश्नको उत्तर खोज्न नर्थइस्टर्न विश्वविद्यालयको नेटवर्क साइन्स इन्स्टिच्युटका अनुसन्धानकर्ताहरूले विशाल र विस्तृत तथ्यांकको विश्लेषण गरेका छन् र प्रतियोगिताका प्रमुख खेलाडीहरूको सूची सार्वजनिक गरेका छन्, जसमध्ये अधिकांश निचोडले अहिले पनि काम गरिरहेको छ ।
यस अनुसन्धान टोलीको सबैभन्दा सबल पक्ष भनेको ‘हुडल स्ट्याट्सबम’को तथ्यांक हो । यस डेटासेटमा हरेक खेलमा ३ हजार ४ सयभन्दा बढी क्षणलाई अभिलेखमा राखिन्छ । हरेक पास, सट, ड्रिब्ल, ट्याकल, प्रेसर, बल खेलाइलगायत गतिविधि समयसहित र मैदानको ठ्याक्कै कुन स्थानमा भएको हो भन्ने विवरणसमेत यसमा समावेश हुन्छ ।
विश्वकपअघिको विश्लेषणका लागि प्रयोग गरिएको डेटासेटमा १३ हजारभन्दा बढी खेल समावेश थिए ।
क्लाइन भन्छन्, ‘हामीसँग यति समृद्ध घटना–आधारित तथ्यांक छ, जसले फुटबल खेलको मलाई सबैभन्दा जादुमय लाग्ने पक्षलाई समेत समेट्छ ।’ क्लाइनले अघिल्लो सिजनका विभिन्न सांख्यिकीय सूचकका आधारमा विश्वकपमा विशेष ध्यान दिनुपर्ने १२ खेलाडी छनोट गरेका छन् ।
यद्यपि उनले प्रयोग गरेको डेटासेटमा फ्रान्सको लिग–१ का खेल समावेश छैनन्, जबकि त्यस लिगका धेरै खेलाडी विश्वकपमा सहभागी छन् ।

समग्र प्रभाव
तथ्यांकअनुसार खेलमा सबैभन्दा ठूलो समग्र प्रभाव पार्ने शीर्ष तीन खेलाडी छन् । ती हुन्, लियोनेल मेस्सी (अर्जेन्टिना), माइकल ओलिसे (फ्रान्स), र भिनिसियस जुनियर (ब्राजिल) । क्लाइनका अनुसार यी खेलाडीहरूले केवल गोल गर्ने वा असिस्ट दिने मात्र होइनन्, पूरै खेलको स्वरूप परिवर्तन गर्ने क्षमता राख्छन् ।
यसका लागि उनले ‘अन–बल भ्यालु’ नामक सूचक प्रयोग गरेका छन् । यस सूचकले कुनै खेलाडीको कुनै पनि गतिविधिले आफ्नो टोलीको गोल गर्ने सम्भावना कति बढायो वा घटायो भन्ने मापन गर्छ । यसमा मेस्सीको तथ्यांक अत्यन्त प्रभावशाली छ । अगस्ट २०२५ यता मियामीमा उनले २९ गोल र २३ असिस्ट गरेका छन् । तर तथ्यांकले अर्को अझ रोचक कुरा पनि देखाएको छ ।
क्लाइन भन्छन्, ‘मेस्सीका सामान्य देखिने गतिविधिहरूले समेत टोलीको आक्रमण सफल बनाउने सम्भावनामा ठुलो प्रभाव पार्छन् । यही नै उनको जादु हो ।’
तथ्यांकअनुसार मेस्सी मुख्यतः मैदानको बिच भागबाट खेल सञ्चालन गर्छन् । उनी केवल आफैं सट हान्ने मात्र होइनन्, रक्षापंक्तिको पछाडि सटीक ‘थ्रु बल’ पास दिएर पनि गोलका अवसर सिर्जना गर्छन् । यता माइकल ओलिसे र भिनिसियस जुनियर भने परम्परागत विङ फरवार्डको भूमिकामा खेल्छन् । उनीहरू दुवैले पाखाबाट आक्रमण गर्दै अन्तिम तेस्रो भागसम्म बल पुर्याउँछन् र टाढाको पोस्टतर्फ सटीक फिनिसिङ गर्छन् ।
ओलिसेले कर्नर किकमार्फत धेरै असिस्ट दिएर आफ्नो खेलमा अर्को महत्त्वपूर्ण आयाम थपेका छन् ।
गोल गर्ने क्षमता
तथ्यांकको विश्लेषणअनुसार विश्वकपमा विशेष ध्यान दिनुपर्ने उत्कृष्ट गोलकर्ताहरू हुन्ः ह्यारी केन (इङ्ग्ल्यान्ड), एर्लिङ हालान्ड (नर्वे), किलियन एम्बाप्पे (फ्रान्स) । क्लाइनका अनुसार उत्कृष्ट फिनिसरलाई बुझ्न ‘अपेक्षित गोल (एक्स जी)’ भन्ने सूचक अत्यन्त महत्त्वपूर्ण हुन्छ ।

एक्स जिले कुनै पनि सट गोलमा परिणत हुने सम्भावना कति छ भन्ने अनुमान गर्छ । यसमा सट हानिएको दूरी, कोण, रक्षात्मक दबाबलगायत विभिन्न पक्षलाई आधार बनाइन्छ । यस सूचकले खेलाडीले गोल गर्यो कि गरेन भन्ने मात्र होइन, उसले पाएको अवसर कति गुणस्तरीय थियो भन्ने पनि मूल्याङ्कन गर्छ ।
क्लाइनका अनुसार यी तीनै खेलाडी ‘एक्स जि’का आधारमा विश्वकै उत्कृष्ट फिनिसर हुन् ।
एर्लिङ हालान्ड
हालान्डले म्यानचेस्टर सिटीबाट प्रिमियर लिगमा १२६ सटबाट २७ गोल गरेका थिए । उनले आफ्नो अपेक्षित गोल (एक्स जि) भन्दा पनि बढी गोल गरेका छन् । यसको मुख्य कारण उनी रक्षापंक्तिको पछाडि उत्कृष्ट रूपमा दौडिने र उच्च सम्भावना भएका स्थानमा बल प्राप्त गर्ने क्षमतामा निपुर्ण हुनु हो ।
क्लाइन भन्छन्, ‘उनी अहिले जीवित रहेका उत्कृष्ट गोलकर्तामध्ये एक हुन् । उनी अग्ला, शक्तिशाली, तीव्र गतिका र अत्यन्त चलाख छन् । उनको धेरैजसो सट पेनाल्टी क्षेत्रभित्रबाट आउने भएकाले बाहिरबाट प्रहार गरेको सट कमै देख्न पाइन्छ ।’
ह्यारी केन
इङ्ग्ल्यान्डका कप्तान ह्यारी केन पनि उस्तै घातक स्ट्राइकर हुन् । उनले बायर्न म्युनिखबाट बुन्डेसलिगामा ११९ सटबाट ३६ गोल गरेका थिए । तथ्यांकले के देखाउँछ भने केन विशेषगरी गोलपोस्टको कुनातर्फ अत्यन्तै सटीक फिनिसिङ गर्न माहिर छन् ।

किलियन एम्बाप्पे
फ्रान्सका सुपरस्टार एम्बाप्पे भने लगभग पूर्ण रूपमा दायाँ खुट्टा प्रयोग गरेर फिनिसिङ गर्छन् । तथ्यांकअनुसार उनले हेडमार्फत गोल गर्ने प्रयास भने निकै कम गर्छन् ।
रक्षात्मक योगदान
तथ्यांकअनुसार विश्वकपमा सबैभन्दा प्रभावशाली रक्षात्मक योगदान दिने सम्भावना भएका खेलाडीहरू हुन् – विलियम सालिबा (फ्रान्स), लुका भुस्कोभिच (क्रोएसिया) र एन्टोनियो रुडिगर (जर्मनी) । यद्यपि जर्मनी भने प्रतियोगिताबाटै बाहिरिसकेको छ ।
क्लाइनका अनुसार विशेष रूपमा ध्यान दिनुपर्ने नाम हो लुका भुस्कोभिच ।
उनी भन्छन्, ‘यो प्रतियोगिता सकिँदासम्म भुस्कोभिचको चर्चा निकै चुलिनेछ । उनी असाधारण प्रतिभाका खेलाडी हुन् । धेरै क्लब अहिले नै उनलाई अनुबन्ध गर्न इच्छुक छन् ।’ तथ्यांकले पनि यही पुष्टि गर्छ । भुस्कोभिच मैदानभर सक्रिय देखिन्छन् । उनी नियमित रूपमा ट्याकल जित्छन्, विपक्षीको पास काट्छन्, सट ब्लक गर्छन्, र खतरनाक बल क्लियर गर्छन् । विशेषगरी आफ्नै रक्षात्मक क्षेत्रमा विपक्षीको दबाबलाई गोलको अवसर बन्नुअघि नै समाप्त पार्ने क्षमता उनको ठूलो विशेषता हो ।
क्लाइन भन्छन्, ‘यस विश्वकपका आदर्श डिफेन्डर भनेकै उनी हुन् ।’
सालिबा र रुडिगर किन फरक छन् ?
सालिबा र रुडिगरका रक्षात्मक हिट म्याप अपेक्षाकृत कम देखिन्छन् । तर यसको अर्थ उनीहरू कमजोर रक्षक हुन् भन्ने होइन । बरु उनीहरू विश्वका उत्कृष्ट क्लबका लागि खेल्ने भएकाले उनीहरूको टोलीले कम दबाब बेहोर्छ र उनीहरूले हस्तक्षेप गर्नुपर्ने अवस्था कम आउँछ । तर टोलीलाई निर्णायक रक्षात्मक प्रदर्शन आवश्यक पर्दा भने यी दुवै खेलाडी उत्कृष्ट रूपमा प्रस्तुत हुन्छन् ।
ड्रिब्लिङ
तथ्यांकअनुसार विश्वकपमा सबैभन्दा प्रभावशाली ड्रिब्लिङ गर्ने खेलाडीहरू हुन् – लामिन यामल (स्पेन), यान डियोमान्डे (आइभरी कोस्ट), र जेरेमी डोकु (बेल्जियम) ।

लामिन यामाल
स्पेनका युवा स्टार लामिन यामालको खेलबाट आँखा हटाउन गाह्रो हुने क्लाइन बताउँछन् । उनले भने, ‘तपाईं दिनभरि उनका हाइलाइट भिडियोहरू मात्र हेरेर बिताउन सक्नुहुन्छ ।’ तथ्यांकले पनि त्यसलाई पुष्टि गर्छ ।
गत सिजन बार्सिलोनाबाट खेल्दा यामालले प्रतिखेल औसत आठ वटा ड्रिब्लिङ प्रयास गरेका थिए । साथै उनको अन–बल भ्यालु २.३० थियो, जुन विश्वकै उत्कृष्टमध्ये एक मानिन्छ । उनी प्रायः दायाँ विङबाट भित्रतर्फ कट गर्दै विपक्षीको रक्षालाई छिचोल्छन् । त्यसपछि उनी खतरनाक क्षेत्रमा प्रवेश गरी अन्तिम तेस्रो भागमा उच्च गुणस्तरका गोल अवसर सिर्जना गर्छन् ।
यान डियोमान्डे
आइभरी कोस्टका यान डियोमान्डेको खेल शैली भने यामालभन्दा फरक छ । उनी मैदानको कुनै एक क्षेत्रमा सीमित हुँदैनन् । बरु दुवै विङ प्रयोग गर्दै पूरै मैदानमा सक्रिय रहन्छन् । उनी एकैसाथ विपक्षीमाथि दबाब सिर्जना गर्ने र गोलका अवसर बनाउने दुवै भूमिकामा उत्कृष्ट छन् ।
क्लाइनको विश्वास छ कि विश्वकप समाप्तिसम्म डियोमान्डे प्रतियोगिताका सबैभन्दा धेरै खोजिने प्रतिभामध्ये एक बन्नेछन् र उनलाई अनुबन्ध गर्न ठुला क्लबहरूबिच प्रतिस्पर्धा हुनेछ । हाल डियोमान्डे आरबी लेइप्जिगबाट खेलिरहेका छन् ।
जेरेमी डोकु
म्यानचेस्ट सिटीमा रहेका बेल्जियमका जेरेमी डोकु विस्फोटक गति र सीधा आक्रमणका लागि परिचित छन् । उनी मुख्यतः बायाँ विङबाट तीव्र गतिमा अघि बढ्छन्, त्यसपछि एक्कासि भित्रतर्फ मोडिन्छन् र तीव्र तथा निर्णायक गतिका साथ गोलतर्फ अघि बढ्दै रक्षकहरूलाई लगातार दबाबमा राख्छन् ।
यस विश्लेषणले ड्रिब्लिङ केवल विपक्षी खेलाडी छल्ने कला मात्र नभई टोलीको गोल गर्ने सम्भावना बढाउने महत्त्वपूर्ण हतियार भएको देखाएको छ । यामाल र डोकुले आफ्ना व्यक्तिगत सीप, गति र सिर्जनात्मक खेलमार्फत विश्वकप २०२६ का सबैभन्दा रोमाञ्चक ड्रिब्लरका रूपमा आफूलाई स्थापित गर्ने अपेक्षा गरिएको छ । डियोमान्डेको टोली आइभरी कोस्ट भने नर्वेसँगको पराजयसँगै प्रतियोगिताबाट बाहिरिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरियाली प्रवर्द्धन गर्न छ लाख बिरुवा वितरण
-
अन्तिम १६ मा स्थान बनाएसँगै पोर्चुगलको स्पेनसँग भेट पक्का
-
अनुहारमा बरफ लगाउने ट्रेन्ड : के साँच्चै फाइदाजनक छ?
-
के श्रीमान्-श्रीमतीबिच सधैँ झगडा हुन्छ? सम्बन्ध सुधार्न अपनाउनुहोस् यी ४ उपाय
-
क्रोएसियालाई स्तब्ध बनाउँदै पोर्चुगल विश्वकपको प्रिक्वार्टरफाइनलमा प्रवेश
-
खसी, कुखुरा वा माछा: प्रोटिनका लागि कुन सबैभन्दा उत्तम?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण