आइतबार, २१ असार २०८३
ताजा लोकप्रिय

महँगो मल खरिद र संसदीय उदासीनतालाई लिएर राष्ट्रिय सभामा सरकारको ध्यानाकर्षण

सांसद आले मगरद्वारा बोल्न अस्वीकार
शनिबार, २० असार २०८३, १५ : ०९
शनिबार, २० असार २०८३

सारांश

  • सांसदहरूले कर्णालीको सडक समस्या, मल खरिदमा अनियमितता, सवारी दुर्घटना र शिक्षा-स्वास्थ्य क्षेत्रका बेथितिका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।
  • सांसदहरूले वर्षायाममा कर्णालीका सडक बाढी र पहिरोले अवरुद्ध हुँदा दैनिक उपभोग्य वस्तुको आपूर्ति, स्वास्थ्य सेवा र आपत्कालीन उद्धारमा परेको असरबारे जानकारी गराए।
  • सांसदहरूले मल खरिदमा भारत र नेपालको मूल्यमा ठूलो अन्तर रहेको भन्दै यस प्रक्रियामा पारदर्शिता नभएकोमा छानबिनको माग गरेका छन्।

काठमाडौँ। सांसदहरूले मुलुकको समसामयिक अवस्था, विकास निर्माणमा देखिएका अवरोध र सुशासनका सवालमा सरकारको ध्यानाकर्षण गराएका छन्।

राष्ट्रिय सभाको शनिबार बसेको बैठकको शून्य समयमा बोल्दै सांसदहरूले वर्षायाममा कर्णालीको सडक समस्या, सवारी दुर्घटना, मल खरिदमा देखिएको अनियमितता र शिक्षा-स्वास्थ्यको क्षेत्रमा रहेका बेथितिका विषयमा आवाज उठाएका हुन्। 

बैठकमा सांसद दुर्गा गुरुङले वर्षायाम सुरु भएसँगै कर्णाली प्रदेशका नागरिकले भोग्नुपरेको विकराल सडक यातायात समस्याका बारेमा सदनलाई जानकारी गराइन्। बाढी र पहिरोका कारण सडक अवरुद्ध हुँदा दैनिक उपभोग्य वस्तुको आपूर्ति, स्वास्थ्य सेवा र आपत्कालीन उद्धारमा गम्भीर असर पुगेको उल्लेख गर्दै उनले दिगो सडक पूर्वाधार निर्माण र प्रभावकारी मर्मत सम्भारका लागि माग गरिन्।

सांसद नरबहादुर विष्टले सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको गाडी दैलेख खण्डमा दुर्घटना हुँदा भएको मानवीय क्षतिप्रति दुःख व्यक्त गरे। दुर्घटनामा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनले बेपत्ताको खोजी कार्य तीव्रताका साथ अघि बढाउन माग गरे। उनले सम्भावित बाढी-पहिरोको जोखिम न्यूनीकरणका लागि गृह मन्त्रालयको पूर्वतयारीबारे सदनलाई जानकारी गराउन सरकारको ध्यानाकर्षण गराए। 

मल खरिदमा भएको सम्भावित भ्रष्टाचारको विषय उठाउँदै सांसद नारायणदत्त मिश्रले भारत र नेपालको खरिद मूल्यमा देखिएको ठुलो अन्तरबारे प्रश्न गरे। भारतले प्रति मेट्रिक टन ५४० डलरमा खरिद गर्ने डीएपी मल नेपालले ९०० डलरमा खरिद गर्नुको कारण माग गर्दै उनले यस प्रक्रियामा प्रतिस्पर्धा र पारदर्शिता भए-नभएकोबारे छानबिन गर्न सरकारसँग माग गरे।

सांसद युवराज शर्माले जनसरोकारका विविध विषयमा सरकारको ध्यानाकर्षण गराए। मेलम्ची खानेपानीको पुनः अवरोध, स्वास्थ्य र शिक्षामा गरिएको कर वृद्धि तथा विद्यालय क्षेत्र आसपास हुने सुर्तीजन्य र मदिराजन्य पदार्थको बिक्री वितरणमा नियन्त्रण गर्नुपर्ने उनको भनाइ थियो। शिक्षा प्रणालीमा व्यापक सुधारको आवश्यकता औँल्याउँदै उनले वर्तमान परीक्षा प्रणाली र पाठ्यक्रममा परिवर्तनको खाँचो रहेको बताए। 

सांसद सुरेशकुमार आले मगरले भने शून्य समयमा कुनै पनि विषय नराखी सरकारको कार्यशैलीप्रति साङ्केतिक विरोध जनाए। संसद्मा उठाइएका जनसरोकारका विषयमा मन्त्री र प्रधानमन्त्रीले जवाफ नदिएको भन्दै उनले शून्य समयमा केही नबोल्नु नै उचित हुने विचार राखेर असन्तुष्टि व्यक्त गरे।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप