आइतबार, २१ असार २०८३
ताजा लोकप्रिय
फिफा विश्वकप २०२६

विश्वकप पावर र्‍याङ्किङः अर्जेन्टिना शीर्षबाट ओर्लिँदा फ्रान्स र स्पेनले बनाए दाबेदारी

शनिबार, २० असार २०८३, १९ : ३०
शनिबार, २० असार २०८३

सारांश

  • विश्वकपको नकआउट चरणका खेलहरूले फुटबल समर्थकलाई रोमाञ्चित तुल्याएका छन्, जसमा जर्मनी र नेदरल्यान्ड्स जस्ता टोलीहरू बाहिरिएका छन् ।
  • अर्जेन्टिना र इङ्ग्ल्यान्डले कठिन खेल जितेर अन्तिम १६ मा स्थान बनाए भने फ्रान्स र स्पेनले प्रभावशाली प्रदर्शन गरेका छन् ।
  • प्रतियोगिता निर्णायक चरणमा पुगेसँगै फ्रान्स शीर्ष स्थानमा रहँदा स्पेन र अर्जेन्टिना क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् ।

काठमाडौँ । विश्वकपको वास्तविक प्रतिस्पर्धा अब सुरु भएको छ । प्रतियोगिताको ढाँचाका कारण लगभग कुनै रोमाञ्च नभएको समूह चरणपछि नकआउट चरणका पहिलो खेलहरूले भने फुटबल समर्थकलाई लामो समयपछि वास्तविक रोमाञ्चको स्वाद चखाए  । अन्तिम ३२ को चरणमै जर्मनी र नेदरल्यान्ड्सजस्ता बलिया टोली बाहिरिए भने केही अन्य दाबेदारहरू पनि निकै कठिन अवस्थामा पुगे । 

केप भर्डेले साविक विश्वविजेता अर्जेन्टिनालाई मियामीमा अतिरिक्त समयसम्म धकेल्यो । लियोनेल मेस्सी नेतृत्वको अर्जेन्टिना अन्तिम १६ मा पुग्न सफल त भयो, तर त्यसका लागि उसले निकै ठुलो राहतको सास फेर्नुपर्‍यो । 

इङ्ग्ल्यान्डको अवस्था पनि त्यस्तै रह्यो । डीआर कङ्गोविरुद्ध खेलको ७५औँ मिनेटसम्म पछि परेको इङ्ग्ल्यान्डलाई कप्तान ह्यारी केनले दुई गोल गर्दै अन्तिम १६ मा पुर्‍याए । यता फ्रान्स र स्पेनले भने प्रभावशाली प्रदर्शन गर्दै उपाधि जित्ने आफ्नो दाबेदारी स्पष्ट पारे । 

बेल्जियमले सेनेगलविरुद्ध अविश्वसनीय पुनरागमन गर्दै प्रतियोगितामा आफ्नो यात्रा जीवित राख्यो । 

सह–आयोजक तीनै टोली पनि अन्तिम १६ मा प्रवेश गर्न सफल भए । १० खेलाडीमा सीमित अमेरिकाले बोस्निया–हर्जेगोभिनालाई हरायो । मेक्सिकोले इक्वेडरविरुद्ध गोल नखाई लगातार अर्को जित निकाल्यो भने क्यानडाले दक्षिण अफ्रिकाविरुद्ध अन्तिम मिनेटमा निर्णायक गोल गर्दै रोमाञ्चक जित दर्ता गर्‍यो । 

अब प्रतियोगिता निर्णायक चरणमा पुगेको छ । जुलाई १९ मा न्यु जर्सीमा विश्वकपको प्रतिष्ठित ट्रफी उचाल्ने सम्भावना सबैभन्दा बढी कसको छ ? कस्तो छ अन्तिम १६ टोलीको पावर र्याङ्किङ ? 

अन्तिम ३२ बाट बाहिरिएका टोलीहरूः दक्षिण अफ्रिका, जापान, जर्मनी, नेदरल्यान्ड्स, आइभरी कोस्ट, स्विडेन, इक्वेडर, डीआर कङ्गो, सेनेगल, बोस्निया–हर्जेगोभिना, क्रोएसिया, अल्जेरिया, केप भर्डे, अस्ट्रिया, अस्ट्रेलिया र घाना । 

ग्रुप अफ १६ (प्रि–क्वाटरफाइनलमा भिड्न लागिरहेका टोलीहरूः

१६. पाराग्वे (माथि उक्लियो)

समूह चरणको पहिलो खेलमा अमेरिकासँग ४–१ को लज्जास्पद हार बेहोरेपछि पाराग्वे अन्तिम १६ पुग्ला भन्ने कल्पना पनि गर्न गाह्रो थियो । तर त्यसपछि प्रशिक्षक गुस्ताभो अल्फारोको टोली निकै संगठित देखियो । उसले टर्कीलाई पराजित गर्‍यो र अस्ट्रेलियासँग दुवै टोलीलाई फाइदा पुग्ने बराबरी खेल्दै नकआउट चरणमा स्थान सुरक्षित गर्‍यो । 

त्यसपछि बोस्टनमा चार पटकको विश्वविजेता जर्मनीसँग १–१ को बराबरी खेलेपछि पेनाल्टी सुटआउटमा जित निकाल्दै पाराग्वेले आफ्नो विश्वकप इतिहासकै सम्भवतः सबैभन्दा ठुलो उपलब्धि हासिल गर्‍यो । अब भने उसको अगाडि अझ कठिन चुनौती छ । दक्षिण अफ्रिका २०१० मा क्वार्टरफाइनल पुगेर बनाएको आफ्नो उत्कृष्ट विश्वकप इतिहास दोहोर्‍याउन पाराग्वेले अब फ्रान्सलाई हराउनुपर्नेछ, जुन यस प्रतियोगिताकै सबैभन्दा कठिन चुनौतीमध्ये एक मानिएको छ । 

१५. इजिप्ट (माथि उक्लियो) 

यदि निष्पक्ष मूल्याङ्कन गर्ने हो भने बेल्जियमसँगको प्रभावशाली बराबरीपछि इजिप्टले उत्कृष्ट फुटबल खेलेको भन्न सकिँदैन ।

समूह चरणको अन्तिम खेलमा इरानविरुद्ध आवश्यक बराबरी निकाल्न उसले निकै भाग्यको साथ पायो । अस्ट्रेलियाविरुद्ध पनि टोलीको प्रदर्शन उतारचढावपूर्ण थियो । तर अन्तिम परिणाम नै सबैभन्दा महत्त्वपूर्ण हुन्छ । उत्तर अमेरिकामा आउँदासम्म विश्वकप इतिहासमा एउटा पनि खेल जित्न नसकेको इजिप्ट अहिले अन्तिम १६ मा पुगेको छ । 

अस्ट्रेलियालाई पेनाल्टी सुटआउटमा हराउँदै १२ करोडभन्दा बढी जनसंख्या भएको देशलाई उसले ऐतिहासिक खुसी दिएको छ । अब इजिप्टले अन्तिम १६ मा अर्जेन्टिनाको सामना गर्नेछ । 

१४. क्यानडा (माथि उक्लियो)

अन्य दुई सह–आयोजकजस्तै क्यानडाले पनि अहिलेसम्म अपेक्षाकृत सहज प्रतिस्पर्धी पाएको छ । कतार समूहमा परेकै कारण उसले नकआउट चरणमा पुग्ने अवसर पाएको विश्लेषण पनि गरिएको छ । समूह उपविजेता बनेपछि अन्तिम ३२ मा उसको भेट दक्षिण अफ्रिकासँग भयो, जसलाई तुलनात्मक रूपमा कमजोर टोली मानिएको थियो । 

तर जहाँ श्रेय दिनुपर्ने हो, त्यहाँ दिनैपर्छ । प्रशिक्षक जेसी मार्स सबैको रोजाइका प्रशिक्षक नहुन सक्छन्, तर उनले विश्वकप इतिहासमा पहिलो पटक जित निकाल्न नसकेको क्यानडालाई अन्तिम १६ सम्म पुर्‍याएका छन् । अब इतिहास रचिसकेको क्यानडासँग गुमाउन केही छैन । 

ह्युस्टनमा मोरक्कोविरुद्ध खेल्दा क्यानडामाथि कुनै दबाब हुने छैन । दक्षिण अफ्रिकाविरुद्ध अन्तिम समयसम्म संघर्ष गरेर निकालेको १–० को जितले क्यानडा कुनै पनि बलियो टोलीलाई आश्चर्यचकित पार्न सक्षम रहेको देखाइसकेको छ । 

१३. बेल्जियम (माथि उक्लियो)

बेल्जियम अझै प्रतियोगितामा कसरी बाँकी छ भन्ने कुरा धेरैका लागि रहस्यमै छ । समूह चरणमै कमजोर प्रदर्शन गरेको टोली अन्तिम ३२ मा सेनेगलविरुद्ध खेलको ८६औँ मिनेटसम्म २–० ले पछि परेको थियो । प्रशिक्षक रुडी गार्सियाले आफ्नो टोलीका दुई उत्कृष्ट खेलाडी केभिन डे ब्रुयन र जेरेमी डोकुलाई समयअघि नै बाहिर निकालेपछि उनको रणनीतिमाथि प्रश्न उठेको थियो । 

तर त्यसपछि खेलको कथा नै बदलियो । रोमेलु लुकाकु र युरी टिलेमान्सको गोलले बेल्जियमलाई अतिरिक्त समयमा पुर्‍यायो । त्यसपछि विवादास्पद पेनाल्टीबाट टिलेमान्सले विजयी गोल गर्दै टोलीलाई अन्तिम १६ मा प्रवेश गराए । 

भाग्यले बेल्जियमलाई कहिलेसम्म साथ दिन्छ, त्यो हेर्न बाँकी छ । सम्भवतः अमेरिकाविरुद्धको खेलमा त्यो समाप्त पनि हुन सक्छ । तर यदि बेल्जियमका स्टार खेलाडीहरूले आफ्नो वास्तविक लय समाते भने उनीहरू कुनै पनि टोलीका लागि खतरनाक सावित हुन सक्छन् । 

१२. स्विट्जरल्यान्ड (माथि उक्लियो)

सायद स्विट्जरल्यान्डलाई धेरैले खासै ध्यान दिएका छैनन् । तर त्यसले टोलीलाई कुनै असर परेको देखिँदैन । कतारसँग लज्जास्पद बराबरीबाट प्रतियोगिता सुरु गरे पनि प्रशिक्षक मुराट याकिनको टोली संयमित रह्यो ।
क्यानडालाई पराजित गर्दै समूह विजेता बनेको स्विट्जरल्यान्डले अन्तिम ३२ मा अल्जेरियालाई २–१ ले हराउँदै सहज रूपमा अन्तिम १६ मा स्थान बनायो । 

सन् १९५४ पछि स्विट्जरल्यान्ड विश्वकपको क्वार्टरफाइनल पुगेको छैन । तर यसपटक कोलम्बियालाई हराउन सके त्यो इतिहास दोहोरिनेछ । २० वर्षीय प्रतिभाशाली योहान मान्जाम्बी यस विश्वकपका सबैभन्दा चम्किएका युवा खेलाडीमध्ये एक बनेका छन् । उनको गति र शारीरिक क्षमता कुनै पनि रक्षापंक्तिका लागि चुनौती बन्न सक्छ । 

११. नर्वे (माथि उक्लियो)

अन्ततः निर्णायक क्षणमा फेरि एर्लिङ हालान्ड नै नायक बने । आइभरी कोस्टविरुद्ध अतिरिक्त समयतर्फ खेल लम्बिने संकेत देखिइरहेका बेला हालान्डले उत्कृष्ट टिम–मुभको अन्तिम टच दिँदै नर्वेलाई अन्तिम १६ मा पुर्‍याए । उनले आफैंले पनि त्यो गोल अत्यन्त उत्कृष्ट नभएको स्वीकार गरेझैँ मुस्कुराए । 

तर हालान्ड सधैँ सही समयमा सही स्थानमा उपस्थित हुने खेलाडी हुन् । अब प्रश्न छ–के उनले ब्राजिललाई पनि पराजित गर्न सक्लान् ? यो सजिलो हुने छैन । तर प्रतियोगिताको डार्क हर्स मानिएको नर्वे अहिले कुनै दबाबमा छैन । टोली खुलेर खेलिरहेको छ र यही स्वतन्त्रताले उसलाई अझ खतरनाक प्रतिद्वन्द्वी बनाएको छ । 

१०. मेक्सिको (माथि उक्लियो)

सन् १९८६ मा आफ्नै भूमिमा विश्वकप आयोजना गर्दा क्वार्टरफाइनल पुगेयता मेक्सिको फेरि अन्तिम आठमा पुग्न सकेको छैन । तर यसपटक उसले त्यो इतिहास दोहोर्‍याउने वास्तविक अवसर पाएको छ । निस्सन्देह, अन्तिम १६ मा उसको सामना इङ्ग्ल्यान्डसँग हुनेछ, जुन निकै कठिन चुनौती हो । लगातार सात विश्वकपमा अन्तिम १६ बाटै बाहिरिनुपरेको पीडाले मेक्सिकोलाई लामो समयदेखि पछ्याइरहेको छ । 

तर यसपटक अवस्था केही फरक छ । आफ्नै भूमिमा खेलिरहेको मेक्सिको उत्कृष्ट लयमा छ । उसले समूह चरणका तीनै खेल जित्यो र त्यसपछि अन्तिम ३२ मा इक्वेडरलाई सहज रूपमा पराजित गर्‍यो । सबैभन्दा उल्लेखनीय तथ्य के भने मेक्सिकोले अहिलेसम्म प्रतियोगितामा एउटा पनि गोल खाएको छैन । यससँगै अर्को महत्त्वपूर्ण पक्ष पनि छ । इङ्ग्ल्यान्डविरुद्धको खेल विश्वप्रसिद्ध एस्टादियो अज्टेका रंगशालामा हुनेछ, जुन समुद्री सतहबाट करिब २,२०० मिटर उचाइमा अवस्थित छ । मेक्सिकोले यस रंगशालामा विश्वकपको कुनै पनि खेल कहिल्यै हारेको छैन । त्यसैले ‘एल ट्राइ’सँग आफ्नो ऐतिहासिक यात्रा अझै लम्ब्याउने पर्याप्त कारण छन् । 

९. संयुक्त राज्य अमेरिका (माथि उक्लियो) 

सह–आयोजक अमेरिकाको उत्कृष्ट यात्रा निरन्तर जारी छ । सान फ्रान्सिस्कोमा भएको अन्तिम ३२ को खेलमा अमेरिकाले बोस्निया–हर्जेगोभिनालाई परिपक्व प्रदर्शन गर्दै पराजित गर्‍यो । फोलारिन बालोगुनले आफ्नो उत्कृष्ट गोल गर्ने लयलाई निरन्तरता दिए भने मालिक टिलम्यानले आकर्षक फ्रिकिकमार्फत दोस्रो गोल गर्दै अमेरिकालाई विश्वकप इतिहासको केवल दोस्रो नकआउट जित दिलाए । तर यो जितसँगै एउटा ठुलो झट्का पनि लाग्यो । बालोगुनले रातो कार्ड पाएपछि उनी सोमबार हुने बेल्जियमविरुद्धको अन्तिम १६ को खेल गुमाउने भएका छन् । 

यद्यपि प्रशिक्षक मौरिसियो पोचेटिनोको टोली आत्मविश्वासमा छ । बेल्जियमको अहिलेसम्मको प्रदर्शन हेर्दा अमेरिकाले अर्को ऐतिहासिक उपलब्धि हासिल गर्न सक्ने सम्भावना देखिन्छ । यद्यपि मार्चमा भएको मैत्रीपूर्ण खेलमा बेल्जियमले अमेरिकालाई ५–२ ले पराजित गरेको तथ्य पनि बिर्सन मिल्दैन । 

८. पोर्चुगल (माथि उक्लियो)

रोबर्टो मार्टिनेज र क्रिस्टियानो रोनाल्डो साँच्चिकै भाग्यमानी साबित भएका छन् । क्रोएसियाविरुद्ध पहिलो हाफमा राम्रो खेले पनि दोस्रो हाफभरि पोर्चुगल लगभग पूर्ण रूपमा दबाबमा रह्यो । इभान पेरिसिचको गोलबाट पछि परेको पोर्चुगललाई रोनाल्डोले पेनाल्टीमार्फत बराबरी दिलाए । त्यसपछि गोन्कालो रामोसको उत्कृष्ट हेडरले टोलीलाई २–१ को जित दिलायो । तर त्यो मात्र पर्याप्त थिएन । खेलको अन्तिम क्षणमा योस्को ग्भार्डियोलले गरेको गोल विवादास्पद रूपमा रद्द गरियो, जसले पोर्चुगलको भाग्यलाई साथ दिएको स्पष्ट देखायो । 

यसैले स्पेनविरुद्ध पोर्चुगललाई बलियो दाबेदार मान्न अझै गाह्रो छ । यद्यपि पोर्चुगलसँग उत्कृष्ट खेलाडी छन्, विशेषगरी मिडफिल्ड अत्यन्त बलियो छ । गत वर्ष नेसन्स लिगको फाइनलमा स्पेनलाई पेनाल्टी सुटआउटमा हराएको इतिहास पनि उनीहरूसँग छ । तर समूह चरणमा कोलम्बियापछि दोस्रो स्थानमा सीमित भएको पोर्चुगलले समग्र रूपमा प्रभाव पार्न सकेन । क्रोएसियाले पटक–पटक पोर्चुगलको रक्षापंक्ति भत्काएको शैलीले पनि आगामी खेलका लागि राम्रो संकेत दिएको छैन ।

७. कोलम्बिया (माथि उक्लियो)

कोलम्बियाको यात्रा अत्यधिक आकर्षक नभए पनि प्रभावकारी भने अवश्य छ । उसले लगातार आफ्नो काम पूरा गरिरहेको छ । यद्यपि गोल गर्ने क्षमतामा केही कमजोरी देखिएको छ । पोर्चुगलविरुद्ध गोलरहित बराबरी खेल्दा कोलम्बियाले २४ प्रहार गरेको थियो । घानाविरुद्ध अन्तिम ३२ को खेलमा पनि २० प्रयासमध्ये केवल एउटा मात्र गोलमा परिणत भयो । 

तर यस्तो महसुस हुन्छ कि कोलम्बियाको आक्रमण चाँडै नै पूर्ण रूपमा लयमा फर्किनेछ । विशेषगरी लुइस डियाजबाट अझ उत्कृष्ट प्रदर्शनको अपेक्षा गरिएको छ । प्रशिक्षक नेस्टर लोरेन्जोका लागि अर्को सकारात्मक पक्ष भनेको टोलीको रक्षापंक्ति हो । घानामाथि १–० को जितसँगै कोलम्बियाले लगातार तेस्रो खेलमा पनि क्लिन–सिट कायम राखेको छ । 

स्विट्जरल्यान्ड कठिन प्रतिद्वन्द्वी अवश्य हो, तर ब्राजिल २०१४ मा क्वार्टरफाइनल पुगेर बनाएको आफ्नो उत्कृष्ट विश्वकप इतिहास बराबरी गर्ने अवसर कोलम्बियासँग छ । 

६. इङ्ग्ल्यान्ड (माथि उक्लियो)

ठुला प्रतियोगितामा कमजोर प्रदर्शन गर्दै पनि अर्को चरणमा पुग्ने इङ्ग्ल्यान्डको पुरानो कथा यसपटक पनि दोहोरिएको छ । एटलान्टामा डीआर कङ्गोविरुद्ध खेल्दा इङ्ग्ल्यान्ड यस विश्वकपका अन्य दाबेदारहरूको स्तरभन्दा निकै तल देखियो । तर अन्ततः टोलीलाई बचाए कप्तान ह्यारी केनले । उनले दुई गोल गर्दै इङ्ग्ल्यान्डलाई पुनरागमन जित दिलाए र सह–आयोजक मेक्सिकोसँगको रोमाञ्चक अन्तिम १६ भिडन्त तय गराए । प्रतिभाका हिसाबले प्रशिक्षक थोमस टुहेलको टोली मेक्सिकोभन्दा बलियो देखिन्छ । 

तर एस्टादियो अज्टेकामा मेक्सिकोका हजारौं समर्थकको साथ, उच्च उचाइमा खेल्नुपर्ने चुनौती र घरेलु वातावरणले यो खेललाई पूर्ण रूपमा खुला बनाइदिएको छ । कागजमा इङ्ग्ल्यान्ड बलियो देखिए पनि मैदानमा दुवै टोलीको सम्भावना लगभग बराबर देखिन्छ । 

५. ब्राजिल (यथास्थितिमा) 

अन्तिम ३२ को खेलमा जापानविरुद्ध ब्राजिल निकै अप्ठ्यारो अवस्थामा परेको थियो । पहिलो हाफपछि १–० ले पछि परेको ब्राजिलले जापानको तीव्र प्रतिआक्रमणलाई रोक्न पनि सकेको थिएन र आफ्ना अवसरहरू सिर्जना गर्न पनि संघर्ष गरिरहेको थियो । तर कार्लो एन्चेलोट्टी इतिहासकै सबैभन्दा सफल प्रशिक्षकमध्ये एक किन मानिन्छन् भन्ने कुरा उनले फेरि प्रमाणित गरे । 

शान्त र संयमित स्वभावका इटालियन प्रशिक्षकले दोस्रो हाफमा टोलीको संरचना परिवर्तन गर्दै आक्रमणलाई अझ आक्रामक बनाए । 

अनुभवी मिडफिल्डर कासेमिरोलाई मैदानमै राख्ने उनको निर्णय सही सावित भयो । कासेमिरोले बराबरी गोल गरे भने वैकल्पिक खेलाडी गाब्रियल मार्टिनेलीले इन्जुरी समयमा विजयी गोल गर्दै ब्राजिललाई अन्तिम १६ मा पुर्‍याए । यद्यपि ब्राजिल अझै पूर्ण टोली बनेको छैन । फुल–ब्याक र मिडफिल्डमा कमजोरीहरू अझै देखिन्छन् । तर आक्रमणमा उनीहरूसँग विश्वस्तरीय प्रतिभा छ । त्यसमाथि प्रशिक्षक आन्चेलोट्टी बेन्चमा हुँदा पाँच पटकको विश्वविजेता ब्राजिललाई उपाधि दौडबाट बाहिर राख्न सकिँदैन । 

४. मोरक्को (माथि उक्लियो)

नेदरल्यान्ड्सविरुद्ध अन्तिम ३२ को खेलमा मोरक्कोलाई प्रतियोगितामा टिकिरहन इन्जुरी समयको बराबरी गोल आवश्यक परेको थियो । तर त्यसले एउटा तथ्य परिवर्तन गर्दैन–मोरक्को त्यो खेल जित्न पूर्ण रूपमा योग्य टोली थियो । 

मोहम्मद ओउहाबीको टोलीले मोन्टेरेमा अधिकांश समय खेल नियन्त्रणमा राख्यो ।

तर दुर्भाग्य, कमजोर फिनिसिङ र नेदरल्यान्ड्सका गोलरक्षक बार्ट फेरब्रुगेनको उत्कृष्ट प्रदर्शनका कारण मोरक्कोले धेरै अवसर गुमायो । अन्ततः अतिरिक्त समयपछि पेनाल्टी सुटआउटमा जित निकाल्दै सन् २०२२ को विश्वकपमा चौथो स्थान हासिल गरेको टोली फेरि अन्तिम १६ मा पुग्यो । 

अब मोरक्कोसामु क्वार्टरफाइनल पुग्ने सुनौलो अवसर छ । किनभने अन्तिम १६ मा उसको सामना लडाकु भए पनि सीमित क्षमताको क्यानडासँग हुनेछ । 

३. अर्जेन्टिना (तल झर्‍यो) 

केप भर्डेविरुद्ध अर्जेन्टिनाको प्रदर्शनलाई कसरी मूल्याङ्कन गर्ने ? साविक विश्वविजेताले स्पेन रहेको समूहमा अपराजित रहँदै आएको विश्वकपको नवप्रवेशी टोलीबाट कडा चुनौती आउने अनुमान गर्नुपर्थ्यो । तर अर्जेन्टिना केप भर्डेको स्तर र आत्मविश्वास देखेर नै अचम्ममा परेको जस्तो देखियो । 

सम्पूर्ण खेलभरि लियोनेल स्कालोनीको टोली सुस्त, असंगठित र लापरवाह देखियो । यदि लियोनेल मेस्सीको प्रेरणादायी प्रदर्शन र सेट–पिसबाट आएका दुई गोल नभएको भए विश्वकप इतिहासकै सबैभन्दा ठुलो उलटफेर हुन सक्थ्यो । अब इजिप्टविरुद्धको खेलअघि यो ठुलो झट्काले अर्जेन्टिनालाई पुनः केन्द्रित बनाउने अपेक्षा गरिएको छ ।

तर केप भर्डेले एउटा कुरा स्पष्ट गरिदिएको छ—अर्जेन्टिनामा केही गम्भीर कमजोरी छन् । सबैभन्दा ठुलो समस्या भनेको सिर्जनात्मक खेल र गोलका लागि मेस्सीमाथिको अत्यधिक निर्भरता हो । 

२. स्पेन (माथि उक्लियो)

स्वागत छ, स्पेन ! समूह चरणमा अपेक्षाकृत सामान्य प्रदर्शन गरेको साविक युरोपियन च्याम्पियनले अन्ततः विश्व फुटबलको सबैभन्दा ठुलो मञ्चमा आफ्नो वास्तविक क्षमता देखायो । अस्ट्रियामाथि ३–० को प्रभावशाली जितमा मिकेल ओयारजाबालले फेरि उत्कृष्ट प्रदर्शन गर्दै स्पेनलाई विश्वकप जिताउन सक्ने आफ्नो क्षमता प्रमाणित गरे । सन् २०२५ को सुरुआतयता अन्तर्राष्ट्रिय फुटबलमा ओयारजाबालभन्दा बढी गोल केवल एर्लिङ हालान्डले गरेका छन् । तर स्पेनका लागि वास्तविक परीक्षा नकआउट चरण नै थियो । 

किनभने सन् २०१० मा विश्वकप जितेयता स्पेनले नकआउट चरणमा कुनै खेल जित्न सकेको थिएन । अब अर्को चुनौती पोर्चुगल हो । निस्सन्देह, पोर्चुगल अस्ट्रियाभन्दा बलियो प्रतिद्वन्द्वी हो । तर यदि स्पेनले अस्ट्रियाविरुद्ध जस्तै तीव्र प्रेसिङ र आक्रामक फुटबल खेल्न सक्यो भने क्रिस्टियानो रोनाल्डो नेतृत्वको पोर्चुगललाई उसले पूर्ण रूपमा दबाबमा पार्न सक्छ । 

१. फ्रान्स (माथि उक्लियो) 

के लगातार तेस्रो पटक विश्वकपको फाइनलमा पुग्न फ्रान्सलाई कसैले रोक्न सक्छ ? अहिलेसम्मको प्रदर्शन हेर्दा यसको उत्तर ‘सक्दैन’ जस्तै देखिन्छ । यस विश्वकपमा फ्रान्सको आक्रमणपंक्ति सबैभन्दा बलियो मानिएको छ । 

प्रशिक्षक दिदिए देसम्प्ससँग यति धेरै उत्कृष्ट आक्रमणकारी छन् कि उनले देजिरे डुए वा ब्राड्ली बार्कोलामध्ये एकलाई बेन्चमा राख्न सक्छन् । यतिसम्म कि प्रतिभाशाली रायान चेर्कीले पनि पर्याप्त अवसर पाएका छैनन् । स्विडेनविरुद्ध बार्कोलाले प्रतियोगिताको आफ्नो दोस्रो गोल गर्दै फ्रान्सलाई सहज रूपमा अन्तिम १६ मा पुर्‍याए । 

यस खेलमा माइकल ओलिसे र किलियन एम्बाप्पेको प्रदर्शन पनि असाधारण रह्यो । यही लय कायम रहे फ्रान्सलाई शनिबार फिलाडेल्फियामा पाराग्वेमाथि जित निकाल्न धेरै कठिन हुने देखिँदैन । हालसम्मको प्रदर्शनका आधारमा हेर्दा फ्रान्स नै विश्वकप २०२६ को उपाधि जित्ने सबैभन्दा बलियो दाबेदारका रूपमा स्थापित भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप