पाराग्वेको 'फोहोरी खेल', एम्बाप्पेलाई मैदानमै प्रशिक्षकले दिए दुई गार्ड
एजेन्सी । ‘पाराग्वेका खेलाडीहरूको व्यवहार पूर्ण रूपमा लज्जास्पद थियो । यदि उनीहरू मेरो टोलीमा हुन्थे भने म आफैं मैदानबाट बाहिर निकाल्थें,’ इङ्ल्यान्डका पूर्वगोलरक्षक जो हार्टले बीबीसी वानसँगको कुराकानीमा यस्तो कडा प्रतिक्रिया दिएका हुन् ।
यस विश्वकपमा यसअघि सबै प्रतिद्वन्द्वीलाई सहज रूपमा पराजित गर्दै आएको फ्रान्सले यसपटक भने जित निकाल्न नयाँ तरिका अपनाउनुपर्यो । विश्वकप उपाधि पुनः जित्ने सपना जीवित राख्न फ्रान्सले पाराग्वेलाई १–० ले हराउँदै कठिन संघर्षपछि क्वार्टरफाइनलमा स्थान सुरक्षित गर्यो ।
पाराग्वेले अन्तिम ३२ मा जर्मनीलाई पेनाल्टी सुटआउटमा हराएर प्रतियोगिताकै सबैभन्दा ठुलो उलटफेरमध्ये एक गर्दै तटस्थ समर्थकहरूको मन जितेको थियो । तर फिलाडेल्फियाको अत्यधिक गर्मीमा खेलिएको अन्तिम १६ को खेलमा पाराग्वेले आफ्नो अर्को विवादास्पद रूप पनि देखायो ।
खेलभर पाराग्वेका खेलाडीहरूले बारम्बार कडा ट्याकल, धक्कामुक्की र उक्साउने व्यवहार प्रदर्शन गरे । आन्द्रेस कुबासले फ्रान्सका एड्रियन राबियोमाथि निकै खतरनाक ट्याकल गरे पनि रेफ्रीले उनलाई कार्ड देखाएनन् ।
त्यसपछि हुआन होसे कासेरेसले किलियन एमबाप्पेलाई लात हाने, तर त्यस घटनामा पनि कुनै कारबाही भएन । अझ अचम्मको कुरा के रह्यो भने फ्रान्सका मानु कोने, ब्राड्ली बारकोला र माइकल ओलिसेले भने पहेँलो कार्ड पाए, तर खेलभर बारम्बार फाउल गर्ने पाराग्वेका एक जना खेलाडीले पनि पहेँलो कार्ड पाएनन् ।
यहाँसम्म कि खेलको अन्तिमतिर बराबरी गोलको खोजीमा रहेको पाराग्वेका गाब्रियल आवालोसले फ्रान्सका डिफेन्डर दायोट उपामेकानोको पेटमा कुहिनो प्रहार गर्दा पनि रेफ्री मौन रहे । पूर्व इंग्ल्यान्ड डिफेन्डर माइका रिचर्डसले बीबीसी वानमा भने, ‘यो दृश्य हेर्न निकै लाजमर्दो थियो,’ उनले थपे, ‘पाराग्वे यसभन्दा राम्रो टोली हो । उनीहरूले रक्षात्मक रूपमा उत्कृष्ट खेलिरहेका थिए । यस्तो अनावश्यक व्यवहार देखाउन उनीहरूलाई कुनै आवश्यकता थिएन ।’
यस जितसँगै फ्रान्सले बोस्टन स्टेडियममा हुने क्वार्टरफाइनलमा मोरक्कोसँग भिड्ने अवसर सुरक्षित गरेको छ । खेलको निर्णायक क्षण दोस्रो हाफको ७०औँ मिनेटतिर आयो ।
पाराग्वेका डिएगो गोमेजले फ्रान्सका युवा फरवार्ड डेजिरे डुएलाई पेनाल्टी क्षेत्रमा लडाएपछि रेफ्री इल्गिज टान्ताशेभले सुरुमा खेल जारी राखेका थिए । तर भिडियो सहायक रेफ्रीको सुझावपछि उनले मैदानछेउको मनिटरमा घटना पुनः हेरे र अन्ततः फ्रान्सलाई पेनाल्टी प्रदान गरे ।

रेफ्रीको समग्र प्रदर्शनलाई भने खेलपछि व्यापक रूपमा आलोचना गरियो । धेरै विश्लेषकले उनले खेलको सुरुदेखि नै कडा नियन्त्रण कायम गर्न नसकेको टिप्पणी गरे ।
पेनाल्टीअघि पनि पाराग्वेको अवरोध
पेनाल्टी दिने निर्णय भएपछि पनि पाराग्वेका खेलाडीहरूले खेल ढिलाइ गराउने प्रयास गरे । उनीहरूले रेफ्रीलाई चारैतिरबाट घेरेर निर्णय परिवर्तन गराउन खोजे भने डिफेन्डर गुस्ताभो भेलास्केजले पेनाल्टी स्पटको माटो खोतल्दै बल प्रहार गर्न कठिन बनाउने प्रयास गरे । तर यी सबै प्रयासका बाबजुद किलियन एमबाप्पे विचलित भएनन् ।
उनले सहज रूपमा पेनाल्टी गोल गर्दै यस विश्वकपमा आफ्नो सातौँ गोल पूरा गरे । यससँगै गोल्डेन बुटको दौडमा उनले लियोनेल मेस्सीको सात गोलको बराबरी पनि गरे ।
फ्रान्सका प्रशिक्षकको असन्तुष्टि
फ्रान्सका मुख्य प्रशिक्षक दिदिए डेसाँले खेलपछि पाराग्वेको व्यवहारप्रति असन्तुष्टि व्यक्त गरे । उनले पत्रकार सम्मेलनमा भने, ‘विपक्षी बेन्चबाट केही अपमानजनक टिप्पणीहरू पनि आए, जुन आवश्यक थिएन ।’ खेल सकिएपछि पनि तनाव समाप्त भएन । अन्तिम सिट्टी बजेलगत्तै पाराग्वेका गुस्ताभो भेलास्केज फ्रान्सेली खेलाडीहरूसँग झगडा गर्न पुगेपछि मैदानमा केहीबेर धक्कामुक्कीको अवस्था सिर्जना भयो ।
‘फुटबलका सबै तिगडम पाराग्वेले प्रयोग गर्यो’
स्कटल्यान्डका पूर्व विङ्गर प्याट नेभिनले बीबीसी रेडियो फाइभ लाइभसँग कुरा गर्दै पाराग्वेको रणनीतिलाई फुटबलका सबै ‘डार्क आर्टस्’ अर्थात् खेल बिगार्ने उपायहरूको प्रयोग भएको बताए । उनले भने, ‘पाराग्वेले फ्रान्सेली खेलाडीहरूलाई लगातार उक्साउने, धक्का दिने र मानसिक रूपमा अस्थिर बनाउने प्रयास गर्यो । पहेँलो कार्ड नआउने सीमाभित्र रहेर उनीहरूले खेल बिगार्ने हरेक उपाय अपनाए ।’
पाराग्वेका ‘फोहोरी तिगडम’ के–के थिए ?
खेलका क्रममा पाराग्वेका खेलाडीहरूले गरेका केही विवादास्पद घटनाहरूः
गुस्ताभो भेलास्केजले एमबाप्पेको पेनाल्टीअघि पेनाल्टी स्पटको माटो खोतले ।
दायोट उपामेकानोको शरीरमा कुहिनो प्रहार गरियो ।
मातियास गालार्जाले जुल्स कुन्डेको अनुहारमा हात लगाए ।
गालार्जाले आफैँ लडेर माइकल ओलिसेलाई कार्ड दिलाउने प्रयास गरे ।
आन्द्रेस कुबासले एड्रियन राबियोमाथि निकै खतरनाक ट्याकल गरे ।
यी सबै घटनाका बाबजुद पाराग्वेका कुनै पनि खेलाडीले पहेँलो कार्ड पाएनन्, जुन खेलपछिको सबैभन्दा ठुलो विवाद बन्यो ।
अत्यधिक गर्मीबीचको कठिन खेल
पहिलो हाफमा फ्रान्सले लक्ष्यतर्फ एउटा पनि प्रहार गर्न सकेन । त्यसले खेल फ्रान्सका लागि निराशाजनक बन्ने संकेत दिएको थियो । यसमा फिलाडेल्फियाको अत्यधिक गर्मीले पनि ठूलो प्रभाव पारेको थियो । खेल सुरु हुँदा तापक्रम ३८.३ डिग्री सेल्सियस मापन गरिएको थियो, जसका कारण यो विश्वकप इतिहासकै सबैभन्दा गर्मीमा खेलिएका खेलमध्ये एक बन्यो ।
विश्वकप इतिहासमा सबैभन्दा धेरै तापक्रममा खेलिएको खेल भने सन् १९९४ मा अमेरिकाको फ्लोरिडामा भएको आयरल्यान्ड र मेक्सिकोबीचको खेल हो, जहाँ तापक्रम ४३ डिग्री सेल्सियस पुगेको थियो । तर कठिन मौसम र पाराग्वेको आक्रामक खेलशैलीका बाबजुद फ्रान्सले जित निकाल्न सफल भयो ।
‘हामी पनि आवश्यक परे कुरूप फुटबल खेल्न सक्छौँ’
खेलपछि एमबाप्पेले पाराग्वेको खेलशैलीबारे प्रतिक्रिया दिँदै भने, ‘हामीलाई पनि आवश्यक पर्दा कुरूप शैलीको फुटबल खेल्न आउँछ ।’ उनले थपे, ‘पाराग्वेले हामीलाई सजिलै जित्न सकिन्छ भन्ने सोचेको थियो । उनीहरूले हामी औपचारिक पोसाक लगाएर आउने सज्जन टोली हौँ भन्ने ठाने । तर हामी तयार भएर आएका थियौँ । त्यो शैलीको खेलमा पनि हामी उनीहरूभन्दा राम्रो थियौँ ।’
एमबाप्पेका अनुसार पाराग्वेको खेल्ने शैली फरक भए पनि त्यसलाई गलत भन्न मिल्दैन । ‘त्यो उनीहरूको फुटबल शैली हो । फुटबल खेल्ने एउटै सही तरिका हुँदैन । उनीहरूले त्यही शैलीबाट जित्ने प्रयास गरे, तर अन्ततः जित हाम्रो भयो ।’

डेसाँले किन एमबाप्पेलाई सुरक्षा दिए ?
फ्रान्सका प्रशिक्षक दिदिए डेसाँले खेलको अन्तिम समयमा आफ्ना खेलाडीलाई एमबाप्पेको वरिपरि घेरा बनाउन निर्देशन दिएको खुलासा गरे । उनले भने, ‘मैले टोलीका दुई सबैभन्दा बलिया खेलाडीलाई अन्तिम समयमा किलियनको वरिपरि उभिन भनेको थिएँ, किनभने उनीहरूले उसलाई फेरि कडा ट्याकल गर्ने निश्चित थियो ।’
डेसाँले पाराग्वेको शैलीबारे थप्दै भने, ‘यो सजिलो खेल थिएन । उनीहरूले फुटबलका सबै तिगडम प्रयोग गरे । यस्तो फुटबलले दर्शकलाई स्टेडियममा तान्दैन, तर रक्षात्मक रूपमा उनीहरू उत्कृष्ट थिए । दक्षिण अमेरिकी टोलीविरुद्ध खेल्नु सधैं कठिन हुन्छ ।’
‘एमबाप्पेले संयम गुमाएनन्’
पाराग्वेका खेलाडीहरूले सुरुदेखि नै किलियन एमबाप्पेलाई लक्ष्य बनाएर खेल खेले । उनीमाथि लगातार फाउल गरियो, उक्साउने प्रयास गरियो र मानसिक दबाब सिर्जना गर्ने रणनीति अपनाइयो । तर एमबाप्पेले भने आफ्नो संयम कायम राखे । उनले अधिकांश अवस्थामा कुनै प्रतिक्रिया जनाएनन्, बरु विपक्षी खेलाडीहरूको व्यवहारलाई मुस्कुराएर टारिदिए ।
पूर्वइंग्ल्यान्ड गोलरक्षक जो हार्टले एमबाप्पेको व्यवहारको प्रशंसा गर्दै भने, ‘यस खेलमा एमबाप्पेले जसरी आफूलाई नियन्त्रणमा राखे, त्यो मलाई निकै मन पर्यो ।’ उनले थपे, ‘पहिलो मिनेटदेखि नै पाराग्वेका खेलाडीहरू उनको पछि लागेका थिए । जब एमबाप्पे उनीहरूलाई देखेर हाँसे, त्यसमा कुनै अहंकार थिएन; उनले त्यसको अधिकार कमाएका थिए ।’
हार्टले रेफ्रीको प्रदर्शनमाथि पनि प्रश्न उठाए ।
‘म यस्तो फुटबल खेल्न कहिल्यै चाहन्नथें । रेफ्रीले कुनै पनि अवस्थामा खेल नियन्त्रण गर्न सकेनन् । ९० मिनेटभर पाराग्वेका एक जना खेलाडीले पनि कार्ड नपाउनु अचम्मको कुरा हो ।’
‘अब पाराग्वेको सम्मान गर्न गाह्रो हुन्छ’
जर्मनीका पूर्व मिडफिल्डर टोमस हिट्जल्सपर्गरले पनि पाराग्वेको खेलशैलीको आलोचना गरे । उनले बीबीसीसँग भने, ‘उनीहरूले जस्तो व्यवहार गरे, त्यसपछि मसँग पाराग्वेका लागि कुनै सम्मान बाँकी रहेन ।’ यद्यपि उनले पाराग्वेली समर्थकको दृष्टिकोण फरक हुन सक्ने स्वीकार गरे ।
‘यदि तपाईं पाराग्वेका हुनुहुन्छ भने तपाईंलाई आफ्नो टोली योद्धाजस्तै लाग्न सक्छ । तर यदि तपाईं फ्रान्सेली वा तटस्थ समर्थक हुनुहुन्छ भने यस्तो प्रदर्शनपछि उनीहरूलाई सम्मान गर्न गाह्रो हुन्छ । यो केवल लज्जास्पद मात्र होइन, त्योभन्दा पनि खराब थियो ।’
‘फ्रान्स सुन्दर फुटबल पनि खेल्न सक्छ, आवश्यक परे युद्ध पनि’
फ्रान्सका फरवार्ड रायन चेर्कीले पाराग्वेविरुद्धको खेलले टोलीको अर्को पक्ष पनि देखाएको बताए । उनले भने, ‘हामीलाई थाहा थियो यो अत्यन्त कठिन र शारीरिक प्रतिस्पर्धाले भरिएको खेल हुनेछ, विश्वकपमा यस्तो एउटा खेल खेल्नु हाम्रो लागि पनि आवश्यक थियो, ता कि सबैले बुझून् —फ्रान्स केवल सुन्दर फुटबल मात्र खेल्दैन, आवश्यक परे मैदानमा युद्ध गर्न पनि तयार हुन्छ ।’
त्यस्तै, आर्सनलका डिफेन्डर विलियम सालिबाले पनि टोली पाराग्वेको रणनीतिबारे पहिल्यै सचेत रहेको बताए । उनले भने, ‘हामीले उनीहरूका अघिल्ला खेलहरूको भिडियो हेरेका थियौँ । उनीहरूले कडा ट्याकल गर्ने, फाउल गर्ने र विपक्षीलाई उक्साउनेछन् भन्ने हामीलाई थाहा थियो ।’

सालिबाले थपे, ‘हामीले आफ्नो ध्यान खेलमै केन्द्रित राख्नुपर्थ्यो । यदि हामी पनि झगडामा अल्झिन्थ्यौँ भने खेल हाम्रो नियन्त्रणबाट बाहिर जान सक्थ्यो । त्यसैले हामी शान्त रह्यौँ,' उनले अन्त्यमा भने, ‘सुरुदेखि नै हामी तीन–तीन गोल गर्दै जित्ने बानीमा थियौँ । तर आजको १–० को कठिन जित पनि त्यत्तिकै मूल्यवान् छ ।’
विश्लेषणः रेफ्रीले धेरै फाउल छुटाए
सन् २०२६ को फिफा विश्वकपमा रेफ्रीहरूले खेललाई सकेसम्म अविरल रूपमा सञ्चालन गर्ने नीति अपनाएका छन् । तर फ्रान्स र पाराग्वेबीचको खेलमा भने यही दृष्टिकोण उल्टै समस्या बन्यो । उज्बेकिस्तानका रेफ्री इल्गिज टान्ताशेभले खेल सुरु भएदेखि नै पाराग्वेको आक्रामक शैलीलाई कडाइका साथ नियन्त्रण गर्नुपर्ने थियो । पाराग्वेले सुरुदेखि नै कडा ट्याकल, शारीरिक दबाब र विपक्षीलाई खेल्न नदिने रणनीति अपनाउने सम्भावना स्पष्ट थियो ।
विश्लेषकका अनुसार रेफ्रीले सुरुमै आफ्नो अधिकार स्थापित गर्दै आवश्यक कार्ड देखाएको भए खेल धेरै शान्त हुन सक्थ्यो । यसको उदाहरणका रूपमा शनिबार भएको क्यानडा–मोरक्को अन्तिम १६ को खेललाई लिइएको छ । त्यस खेलमा रेफ्री माइकल ओलिभरले पहिलो हाफमै छ वटा पहेँलो कार्ड देखाएका थिए । त्यसपछि खेलाडीहरू संयमित बने र दोस्रो हाफमा केवल दुई वटा मात्र पहेँलो कार्ड देखाउनुपर्यो ।
तर फिलाडेल्फियामा भने ठीक उल्टो भयो ।
तर फाउलको तथ्यांकले वास्तविकता देखाउँदैन
आधिकारिक तथ्यांकअनुसार पाराग्वेले १३ र फ्रान्सले ११ फाउल गरेका थिए । तर विश्लेषक डेल जोन्सनका अनुसार यो तथ्यांकले खेलको वास्तविक चित्र प्रस्तुत गर्दैन । उनका अनुसार पाराग्वेका धेरै रणनीतिक फाउल, बलबाहिर भएका धक्कामुक्की र उक्साउने गतिविधि रेफ्रीको नजरबाट छुटे । सबैभन्दा आश्चर्यजनक कुरा के रह्यो भने खेलभर यति धेरै विवादास्पद घटनाका बाबजुद पाराग्वेका एक जना खेलाडीले पनि पहेँलो कार्ड पाएनन्, जबकि फ्रान्सका तीन खेलाडी भने कार्डको भागीदार बने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्राजिल र नर्वेको पहिलो हाफ गोलरहित बराबरीमा समाप्त
-
नर्वेविरुद्ध ब्राजिलले गुमायो सुनौलो अवसर, ब्रुनो गिमारेसद्वारा पेनाल्टी मिस
-
किसानलाई ५० प्रतिशत अनुदानमा फलफूलका बिरुवा
-
इतिहास सच्याउने दाउमा ब्राजिल, मेसी–एम्बाप्पेलाई भेट्ने दाउमा नर्वेका हालान्ड
-
भैरहवा भन्सारमा ४ जना नियन्त्रणमा
-
१२ बजे १२ समाचार: अदालत जाने तयारीमा कांग्रेसदेखि असारे विकासमा प्रदेश सरकारहरूसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण