सोमबार, २२ असार २०८३
ताजा लोकप्रिय
फिफा विश्वकप २०२६

‘द स्माइलिङ असासिन’ : हालान्डले रचे नर्वेको फुटबल इतिहास

सोमबार, २२ असार २०८३, ११ : ३६
सोमबार, २२ असार २०८३

न्युयोर्क । आफ्नो शान्त स्वभाव, उत्कृष्ट गोल गर्ने क्षमता र चलाख मुस्कानका साथ नर्वेका अर्लिङ हालान्डले फेरि एकपटक इतिहासमा आफ्नो नाम दर्ता गरेका छन्।

फिफा विश्वकपको क्वाटरफाइनलमा नर्वेलाई पुर्‍याएको केही समयपछि देशका उत्कृष्ट फुटबलर मानिने हालान्डले भने, ‘नर्वेको इतिहासमा यो सबैभन्दा अद्भुत दिनहरूमध्ये एक हो।’

२५ वर्षीय यी खेलाडीले अन्तिम समयमा गरेको दुई गोलले पाँच पटकको च्याम्पियन ब्राजिललाई प्रतियोगिताबाट बाहिर पठायो। यससँगै उनको टोली इतिहासमै पहिलो पटक अन्तिम आठमा पुगेको छ।

अग्लो कद, चौडा कुम र गोल गर्ने जन्मजात खुबी भएका हालान्डलाई महत्त्वपूर्ण समयमा नर्वेको टोली कसरी सम्हाल्ने भन्ने राम्रोसँग थाहा भएको धेरैको बुझाइ छ।

खेलको धेरैजसो समय खासै प्रभाव देखाउन नसकेका र बलमा कमै मात्र ‘टच’ पाएका हालान्डले दोस्रो हाफको ‘हाइड्रेसन ब्रेक’ मा प्रशिक्षक स्टेल सोल्बाकेनसँग कुरा गरेका थिए। प्रशिक्षकले उनलाई आफ्नो सम्पूर्ण ऊर्जा लगाएर खेल्न निर्देशन दिए।

प्रशिक्षकको त्यही निर्देशन पालना गर्दै हालान्डले ७९ औँ मिनेटमा हेडमार्फत खेलको पहिलो गोल गरे र निर्धारित समय सकिनुअघि अर्को गोल थपे।

उनी ५४ खेलमा ६२ गोल गर्दै आफ्नो देशका लागि सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थानमा छन्। उनको गोल गर्ने औसत प्रतिखेल १.१५ रहेको छ। उत्कृष्ट फिनिसिङ र शान्त स्वभावको सन्तुलनका कारण लामो कपाल भएका यी फरवार्डलाई प्रायः ‘द स्माइलिङ असासिन’ अर्थात् मुस्कुराउने घातक खेलाडी भन्ने गरिन्छ।

earling-haland-2

नर्वेका लागि हालान्डको गोल यात्रा १४ खेलमा २७ गोल पुगेको छ। ‘म्यान अफ द म्याच’ को उपाधि पाए पनि विनम्र स्वभावका हालान्डले जितको श्रेय भने गोलकिपर ओर्जन नाइलान्डलाई दिए।

जितपछि पत्रकारहरूसँग कुरा गर्दै हालान्डले भने, ‘मैले गोल गरे पनि मेरो लागि म्यान अफ द म्याच उहाँ नै हो। उहाँले धेरै गोल बचाइदिनुभयो, नत्र हामी सायद घर फर्किने थियौं।’

उनले थपे, ‘उहाँकै कारण हामी इतिहासमा पहिलो पटक क्वाटरफाइनल खेल्दैछौं, उहाँप्रति धेरै सम्मान छ।’

  • मेस्सी, एम्बाप्पे र रोनाल्डोको छायामा

म्यानचेस्टर सिटीका यी स्ट्राइकरले गोल्डेन बुटको दौडमा समान सात गोलसहित किलियन एम्बाप्पे र लियोनल मेस्सीसँग बराबरी गरेका छन्। उनी पछाडिबाट आएर फुटबलका हस्तीहरूसँगै सबैभन्दा ठुलो मञ्चमा आफ्नो देशलाई माथि उठाउन सफल भए।

प्रतियोगिता अघिका समाचार शीर्षकहरूमा मेस्सीले के गर्न सक्छन्, क्रिस्टियानो रोनाल्डोले के गर्लान् र एम्बाप्पेबाट के अपेक्षा गर्ने भन्ने मात्र हुन्थ्यो।

हालान्डको सबैभन्दा ठुलो सफलता भनेको करिब तीन दशकपछि नर्वेलाई विश्वकपमा फर्काउनु हो। यी ‘भाइकिङ हिरो’ले असाधारण शक्ति र उत्कृष्ट सीपका साथ प्रतियोगितामा तहल्का मच्चाउँदै आफ्नै कथा लेखेका छन्।

६ फिट ५ इन्च अग्ला यी स्ट्राइकरको खेलको शीर्ष तहसम्मको यात्रा विनम्रता, आत्मविश्वास र एकाग्रताले भरिपूर्ण छ।

ब्राजिलविरुद्धको जितपछि हालान्डले भने, ‘यस प्रतियोगितामा म केही पटक उच्च विन्दुमा पुगेको छु, तर हरेक पटक एउटा नयाँ उचाइ मिल्छ।’

उनले अझै भने, ‘मैले एक वा दुईवटा अवसर पाएँ भने प्रायः त्यो गोलमा परिणत हुन्छ। मलाई ठ्याक्कै थाहा छैन म के गर्छु, मेरो तरिका नै यही हो। मुख्य कुरा खेलमा केन्द्रित हुनु हो र अवसर आउँदा मलाई ठ्याक्कै के गर्नुपर्छ भन्ने थाहा हुन्छ।’

  • ‘यो रात सधैँ सम्झिइनेछ’

आफ्नो टोलीले ब्राजिललाई स्तब्ध पार्दै नेयमारलाई अन्तर्राष्ट्रिय सन्यास लिन बाध्य बनाएपछिको यस क्षणको गाम्भीर्यता हालान्डले राम्ररी बुझेका छन्।

खेलपछिको अन्तर्वार्तामा उनले भने, ‘ब्राजिलविरुद्ध दुई गोल गर्नु मेरो लागि जीवनभरको अनमोल क्षण हो तर ती गोल मेरा मात्र होइनन्।’

उनले थपे, ‘ती गोलहरू सबै कुरा त्याग गर्ने मेरा सहकर्मी, हामीलाई विश्वास गर्ने प्रत्येक प्रशिक्षक, कठिन वर्षहरूमा हाम्रो साथ दिने प्रत्येक समर्थक र अब सबै कुरा सम्भव छ भनेर विश्वास गर्ने नर्वेका प्रत्येक बालबालिकाका हुन्।’

यो जितले आफ्नो आँखामा आँसु ल्याएको स्वीकार्दै हालान्डले भने, ‘यो रात नर्वेका प्रत्येक घरमा सधैं सम्झिइनेछ। हामीले ब्राजिललाई मात्र हराएनौं, हामीले हाम्रो राष्ट्रलाई पुस्तौँपुस्तासम्म रहने एउटा याद दिएका छौँ।’

उनले भने, ‘अब जेसुकै भए पनि यो भावना, यी आँसु र इतिहासको यो पाना हामीबाट कसैले खोस्न सक्दैन।’

haland

उनका समकक्षीहरू विश्वव्यापी चर्चित नामको रूपमा विश्वकपमा प्रवेश गरिरहँदा हालान्ड भने सामाजिक सञ्जालका ‘सेन्सेसन’ थिए। उनी आफ्नो रमाइलो स्न्यापच्याट स्टोरी र इन्स्टाग्राम कन्टेन्टका लागि चिनिन्छन्। यसले उनलाई स्टारडमको परम्परागत बाटोभन्दा फरक, सबैले आफ्नो ठान्न सक्ने, चञ्चल र केही हदसम्म रमाइलो व्यक्तित्व बनाएको छ।

हालान्डले आफ्नो चिनिएको शैलीमै लकर रुमबाट घाँटीमा जर्सी बेरेको एउटा रमाइलो तस्बिर पोस्ट गरे। मीमहरूले पहिले नै अनुमान गरेजस्तै उक्त तस्बिरले केही घण्टामै लाखौं लाइक पायो।

  • ‘रक्षकहरू उनीविरुद्ध खेल्न मन पराउँदैनन्’

हालान्डको शक्ति र गतिले उनलाई खतरनाक खेलाडी बनाएको हो भन्ने प्रश्नमा ब्राजिलका प्रशिक्षक कार्लो एन्चेलोटीले मुख्य कुरा उनको ‘टाइमिङ’ भएको तर्क गरे।

खेलपछिको अन्तर्वार्तामा एन्चेलोटीले भने, ‘उनी हरेक बलको पछि कुदेर वा ९० मिनेटसम्म रक्षकहरूसँग जुधेर ऊर्जा खेर फाल्दैनन्। उनी विपक्षीको अध्ययन गर्छन्, पर्खिन्छन् र रक्षकले कुन बेला एकाग्रता गुमाउँछन् भन्ने ठ्याक्कै बुझ्छन्।’

उनले थपे, ‘त्यसपछि एक सेकेन्डमै उनी गायब हुन्छन्। तपाईँ ८९ मिनेटसम्म उनीविरुद्ध उत्कृष्ट रक्षात्मक खेल खेल्न सक्नुहुन्छ तर फुटबल क्षणहरूले निर्णय गर्ने खेल हो। ती क्षणहरू पहिचान गर्न सायद हालान्ड विश्वकै उत्कृष्ट खेलाडी हुन्।’

प्रशिक्षक एन्चेलोटीले अगाडि भने, ‘त्यसैले रक्षकहरू उनीविरुद्ध खेल्न मन पराउँदैनन्। तपाईँलाई लाग्छ पूरै खेलमा उनलाई नियन्त्रण गरियो, तर अचानक उनी अर्को गोलको खुसी मनाइरहेका हुन्छन्।’

  • भाइकिङ्सको अबको यात्रा के?

इस्टाडियो एज्टेकामा सह-आयोजक मेक्सिकोलाई ३-२ ले पराजित गर्दै इंग्ल्याण्ड क्वाटरफाइनलमा प्रवेश गरेपछि अब हालान्ड र उनको टोलीले ह्यारी केनको टोलीसँग खेल्नेछ।

शनिबार नर्वेले इंग्ल्याण्डको सामना गर्दा हालान्डलाई आफ्नो देशका लागि चम्किने र इतिहास कोर्ने अर्को अवसर हुनेछ।

तर अहिलेको लागि यो क्षण हालान्डकै हो।

मैदानमा चर्चित ‘भाइकिङ रो बोट’ को खुसीयाली मनाउँदै उनले आन्ध्र महासागरपारि रहेका आफ्ना देशवासीहरूलाई भने, ‘सबैले यो क्षणको रमाइलो गर्नुपर्छ।’

उनले थपे, ‘यो एउटा अद्भुत दिन हो। मैले भनेजस्तै यो नर्वेको इतिहासकै सबैभन्दा अद्भुत दिनहरूमध्ये एक हो। यसको मज्जा लिनुस्, यसलाई आत्मसात् गर्नुस् र यो क्षणको रमाइलो गर्नुस्।’

अल जजिरा

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप