सोमबार, २२ असार २०८३
ताजा लोकप्रिय

राष्ट्रियसभा : दलित समुदायसँग गरिएको प्रतिबद्धता कार्यान्वयन माग

सोमबार, २२ असार २०८३, १३ : २१
सोमबार, २२ असार २०८३

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसदहरूले दलित समुदायसँग गरिएको प्रतिबद्धता कार्यान्वयन, सडक सुरक्षा, महङ्गी नियन्त्रण, लैङ्गिक समानता, महिला स्वरोजगार र सार्वजनिक यातायातलगायतका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

सांसद पदमबहादुर परियारले सरकारको १०० बुँदे शासकीय सुधार कार्यक्रमअन्तर्गत दलित समुदायसँग क्षमायाचना गर्ने तथा सुधारका कार्यक्रम ल्याउने प्रतिबद्धता कार्यान्वयन नभएको भन्दै सरकारसँग जवाफ मागे । सांसद मनरुपा शर्माले साझा बसमा निलो रङ प्रयोग गरिएको विषयप्रति आपत्ति जनाउँदै सार्वजनिक सम्पत्तिको पहिचान र मौलिकता जोगाउन आग्रह गरिन् ।

सांसद रुक्मिणी कोइरालाले लैङ्गिक असमानता, जातीय विभेद तथा श्रम शोषण अन्त्यका लागि प्रभावकारी नीति र कार्यक्रम कार्यान्वयन गर्न सरकारसँग आग्रह गरिन् । सांसद रेणु चन्दले बढ्दो सडक दुर्घटनाप्रति चिन्ता व्यक्त गर्दै सडक सुरक्षालाई उच्च प्राथमिकतामा राख्न सरकारको ध्यानाकर्षण गराइन् ।

यसैगरी सांसद विष्णुकुमारी सापकोटाले महिलालाई स्वरोजगार बनाउने कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्न सरकारसँग माग गरिन् ।

सांसद विष्णुदेवी पुडासैनीले ट्राफिक नियम कडाइ गर्दा सर्वसाधारणले अनावश्यक सास्ती भोग्नुपर्ने अवस्था आउन नदिन आग्रह गर्दै सडकका खाल्डाखुल्डी तथा असुरक्षित सडक संरचना तत्काल सुधार गर्नुपर्ने बताइन् ।

सांसद श्रीकृष्णप्रसाद अधिकारीले बढ्दो महङ्गीका कारण सर्वसाधारणको जनजीवन कष्टकर बन्दै गएको उल्लेख गर्दै बजार अनुगमनलाई प्रभावकारी बनाउन सरकारसँग आग्रह गरे ।

सांसद सावित्री मल्लले कर्णाली राजमार्गमा बढ्दो सवारी दुर्घटनाप्रति सरकारको ध्यानाकर्षण गराउँदै सडक सुरक्षाका उपाय प्रभावकारी रूपमा लागू गर्नुपर्नेमा जोड दिइन् । सांसद विष्णुबहादुर विश्वकर्मा र कृष्णबहादुर रोकायले पनि समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप