सोमबार, २२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

इरान युद्धले तेल आपूर्ति गुम्दा पनि टिक्यो विश्व अर्थतन्त्र, तर भविष्यमा मूल्यवृद्धिको जोखिम कायमै

सोमबार, २२ असार २०८३, १४ : ५०
सोमबार, २२ असार २०८३

सारांश

  • इरान युद्धले एक अर्ब ब्यारेलभन्दा बढी तेल आपूर्ति गुमाउँदा पनि विश्व अर्थतन्त्रले अपेक्षाकृत सहजताका साथ सामना गरेको छ ।
  • विश्व बैंकका अनुसार विकसित र विकासशील मुलुकहरूमा अर्थतन्त्रको तेलमाथिको निर्भरता घटेकाले संकट टरेको हो ।
  • रणनीतिक तेल भण्डार घटेको र मध्यपूर्वमा अनिश्चितता कायम रहेकाले भविष्यमा तेलको मूल्य बढ्ने जोखिम रहेको छ ।

लन्डन । इरान युद्ध सुरु भए यता विश्वले एक अर्ब ब्यारेलभन्दा बढी तेल आपूर्ति गुमाउँदा पनि विश्व ऊर्जा बजारले अपेक्षाकृत सहज रूपमा त्यसको सामना गरेको छ । तर युद्धविराम अझै स्थायी नभएको, रणनीतिक तेल भण्डार उल्लेख्य रूपमा घटेको र मध्यपूर्वमा अनिश्चितता कायम रहेकाले आगामी दिनमा तेलको मूल्य पुनः तीव्र रूपमा बढ्न सक्ने जोखिम रहेको विश्लेषकहरूले बताएका छन् ।

गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि आक्रमण सुरु गरेपछि इरानले प्रतिकारस्वरूप विश्वकै महत्त्वपूर्ण तेल ढुवानी मार्ग स्टे«ट अफ होर्मुजमा जहाज आवतजावत सीमित गरेको थियो । त्यसपछि विश्व बजारमा तेलको गम्भीर अभाव हुने र ऊर्जा संकट चर्किने अनुमान गरिएको थियो ।

अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईईए)का अनुसार त्यसपछि चलेको चार महिनाको युद्धले इतिहासकै सबैभन्दा ठूलो ऊर्जा आपूर्ति अवरोध सिर्जना गर्‍यो । सबैभन्दा खराब अवस्थामा विश्व बजारबाट दैनिक एक करोड ४० लाख ब्यारेल तेल आपूर्ति घटेको थियो । यद्यपि सुरुआती अनुमानविपरीत एसिया र युरोपमा पेट्रोल, डिजेल वा हवाई इन्धनको व्यापक अभाव भने देखिएन । अप्रिलमा कच्चा तेलको अन्तर्राष्ट्रिय मापदण्ड ब्रेन्टको मूल्य प्रतिव्यारेल करिब १२६ अमेरिकी डलरसम्म पुगे पनि त्यो सन् २००८ को कीर्तिमानी मूल्यभन्दा झण्डै २० डलर कम थियो । अहिले भने ब्रेन्ट तेलको मूल्य युद्ध सुरु हुनुअघिकै स्तरभन्दा तल झरेको छ ।

बहुपक्षीय कर्जादाता निकाय विश्व बैंकका वरिष्ठ अर्थशास्त्री जोन बाफेसका अनुसार बजारले आपूर्ति अवरोधलाई गम्भीर रूपमा लिए पनि विश्वको ऊर्जा प्रणाली पहिलेभन्दा धेरै लचिलो भएको विश्वासका कारण स्थिति नियन्त्रणबाहिर गएन । विश्व बैंकको तथ्यांकअनुसार सन् १९७० को दशकको तेल संकटयता विकसित मुलुकहरूमा अर्थतन्त्रमा तेलको निर्भरता आधाभन्दा बढी घटेको छ । विकासशील तथा उदाउँदा अर्थतन्त्रमा पनि तेलको निर्भरता करिब २० प्रतिशतले कम भएको छ ।

विश्लेषकहरूका अनुसार यसपटक तीन प्रमुख कारणले विश्वलाई ठूलो संकटबाट जोगायो । पहिलो, साउदी अरेबियार संयुक्त अरब इमिरेट्स (यूएई)ले स्टे«ट अफ होर्मुजबाहेकका वैकल्पिक मार्ग प्रयोग गरेर तेल निर्यात जारी राखे । दोस्रो, चीनसहितका एसियाली देशहरूले तेल खरिद घटाए । तेस्रो, आईईएको नेतृत्वमा विश्वका विभिन्न मुलुकहरूले आफ्नो रणनीतिक भण्डारबाट ठूलो परिमाणमा तेल बजारमा पठाए ।

युद्ध सुरु हुँदा चीनसँग करिब एक अर्ब ४० करोड ब्यारेल तेल भण्डारण रहेको अमेरिकी ऊर्जा सूचना प्रशासनको तथ्यांकले देखाउँछ । यो परिमाण आईईएका ३२ सदस्य राष्ट्रको संयुक्त रणनीतिक भण्डारभन्दा बढी थियो । यो समूहसँग रणनीतिक भन्डारमा एक अर्ब २० करोड ब्यारेल तेल थियो । यसमध्ये अमेरिकासाग मात्र करिब ४१ करोड ३० लाख ब्यारेल तेल थियो । अक्सफोर्ड ऊर्जा अध्ययन संस्थानका विश्लेषक इलिया बुचोभका अनुसार चीनमा पछिल्ला वर्षहरूमा विद्युतीय सवारीसाधनको तीव्र विस्तार, तेल र पेट्रोकेमिकल उत्पादनमा लचकता तथा बजार व्यवस्थापनले पनि विश्व बजारमा दबाब कम गर्न महत्वपूर्ण भूमिका खेलेको हो ।

विश्वकै सबैभन्दा ठूलो तेल आयातकर्ता चीनले खरिद घटाएपछि विश्व बजारमा माग कम भयो। त्यसमाथि आईईएले करिब ४० करोड ब्यारेल रणनीतिक भण्डार बजारमा पठाएपछि आपूर्ति अभावको असर थप कम भयो । यसबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पटक–पटक युद्ध छिट्टै अन्त्य हुने दाबी गरेका कारण पनि बजारमा मनोवैज्ञानिक प्रभाव परेको विश्लेषकहरू बताउँछन् । त्यसले लगानीकर्तालाई तेलको मूल्य अझै बढ्ने अनुमानमा ठूलो लगानी गर्न निरुत्साहित बनाएको थियो ।

गत महिना युद्ध अन्त्यका लागि प्रारम्भिक सहमति भएपछि बजार फेरि सामान्य अवस्थातर्फ फर्किन थालेको देखिएको छ । पूर्व आईईए अधिकारी निल एटकिन्सनका अनुसार अहिले बजारले शान्ति सम्झौता सफल हुने अपेक्षा गर्न थालेको छ । तर विज्ञहरूका अनुसार वास्तविक अवस्था भने अझै पूर्ण रूपमा सामान्य भइसकेको छैन । साउदी अरब, कुवेत, कतार, इराक र बहराइनले उत्पादन र निर्यात पुनः बढाउन थाले पनि इरानी आक्रमणबाट क्षतिग्रस्त ऊर्जा पूर्वाधार पूर्ण रूपमा मर्मत गर्न कतिपय देशलाई अझै वर्षौं लाग्न सक्छ ।

त्यस्तै, स्टे«ट अफ होर्मुज हुँदै सञ्चालन हुने तेल ट्यांकरको संख्या अझै युद्धअघिको अवस्थामा फर्किएको छैन । यसले तेल आपूर्ति पूर्ण रूपमा सहज भइनसकेको संकेत दिएको विश्लेषण गरिएको छ । अर्कोतर्फ, अमेरिका र इरानबीच भएको ६० दिने युद्धविरामको अवधि सकिन लाग्दा स्थायी शान्ति सम्झौताबारे प्रगति सुस्त छ । विशेषगरी इरानको आणविक कार्यक्रमजस्ता विवादास्पद विषय अझै टुंगोमा पुगेका छैनन् । यसबीच अर्को चुनौती भनेको रणनीतिक तेल भण्डार पुनः भर्नु बनेको छ । युद्धका क्रममा विश्वले अभूतपूर्व दरमा भण्डार प्रयोग गरेकाले भविष्यका सम्भावित संकटका लागि बनाइएको सुरक्षा संयन्त्र कमजोर भएको आईईएले जनाएको छ ।

विश्लेषक बुचोभका अनुसार अहिले तत्काल आपूर्ति संकट नआए पनि रणनीतिक भण्डार कम भएकाले भविष्यमा कुनै नयाँ अवरोध आए तेलको मूल्य एकाएक उकालो लाग्ने सम्भावना बढेको छ । रोयटर्सको गणनाअनुसार विश्व बजारमा कच्चा तेलको मूल्य प्रतिव्यारेल ५ डलर मात्र बढ्दा पनि विश्व अर्थतन्त्रमा वार्षिक करिब १९० अर्ब अमेरिकी डलर बराबरको अतिरिक्त भार थपिन्छ । युरोपेली केन्द्रीय बैंकले युद्धअघि सन् २०२७–२०२८ का लागि तेलको औसत मूल्य प्रतिव्यारेल ६३ देखि ६४ डलर रहने अनुमान गरेको थियो । तर युद्धपछि यो अनुमान बढेर ६५ देखि ७५ डलर  पुगेको छ ।

हालको मूल्यका आधारमा युद्धका क्रममा प्रयोग गरिएको रणनीतिक तेल भण्डार पुनः भर्न ७० अर्ब अमेरिकी डलरभन्दा बढी खर्च लाग्ने अनुमान गरिएको छ । विश्लेषकहरूका अनुसार त्यो भण्डार पुनः भरिनुअघि विश्व ऊर्जा बजार अझै पनि ठूलो अनिश्चिततामा रहनेछ । अनुसन्धान संस्था एमएसटी मार्कीका प्रमुख विश्लेषक साउल काभोनिकले इरानले भविष्यमा पनि विभिन्न बहानामा स्टे«ट अफ होर्मुजबाट हुने तेल ढुवानी अवरुद्ध गराउने प्रयास गर्न सक्ने भएकाले बजारले जोखिमलाई कम आँकेको चेतावनी दिएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप