तस्करीको गुनासोपछि गृहमन्त्रीको ‘एक्सन’, सुरक्षा अधिकारीलाई बन्द कोठामा राखेर केरकार
सारांश
- गृहमन्त्री सुधन गुरुङले झापाको काँकडभिट्टा र मेची भन्सार क्षेत्रमा हुने गरेको तस्करीबारे एक महिलाले गुनासो गरेपछि सुरक्षा अधिकारीहरूलाई बन्द कोठामा राखी केरकार गरेका छन्।
- मन्त्री गुरुङले इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डीएसपी निशेष चापागाईं र सशस्त्र प्रहरीका डीएसपी विकास थापा लगायतका सुरक्षा अधिकारीहरूको मोबाइल फोन अनुसन्धानका लागि नियन्त्रणमा लिई फरेन्सिक ल्याब पठाउन निर्देशन दिएका छन्।
- गृहमन्त्रीले जनताले सास्ती पाउने र केही सीमित व्यक्तिले तस्करीबाट अकुत सम्पत्ति कमाउने दिन अब सकिएको बताएका छन्।
विराटनगर । झापाको पूर्वी नाका काँकडभिट्टा र मेची भन्सार कार्यालय क्षेत्रमा सेटिङमै तस्करी हुने गरेको एक महिलाले गृहमन्त्री सुधन गुरुङसँग गुनासो गरेपछि हंगामा भएको छ ।
काँकडभिट्टाकी महिला बन्दना मेचेले सार्वजनिक स्थलमै संगठित रूपमा तस्करी हुने गरेको गुनासो आइतबार सीमा क्षेत्रको अनुगमनको गर्न पुगेका मन्त्री गुरुङसमक्ष गरेकी थिइन् ।
मेचेले गृहमन्त्रीकै अगाडि उभिएर सुरक्षाकर्मीका ‘घुमुवा’ हरूले मासिक रूपमा कसरी रकम असुल्छन् र पैसा नदिने साना व्यापारीलाई दुःख दिएर ठुला तस्करलाई कसरी स्कर्टिङ गरेर सामान भित्र्याउँछन् भन्ने कुरा बताएकी थिइन् ।
उनले तस्करीमा संलग्न केही प्रहरी कर्मचारीहरूको नामसमेत किटेरै मन्त्रीलाई जानकारी गराएकी थिइन् । ‘हामी जस्ता साना व्यापारीले ल्याएको १०–२० किलो चिनी र कपडा समात्ने तर सेटिङमा आउने करोडौँका सामान बोकेका काला गाडीहरूलाई स्यालुट ठोकेर छोड्ने ? यो कस्तो प्रशासन हो मन्त्रीज्यू ?,’ उनले प्रश्न गरेकी थिइन् ।
महिलाको यस्तो गुनासोपछि गृहमन्त्री गुरुङले तत्कालै एक्सन लिएका छन् । उनले मेची भन्सार कार्यालयको निरीक्षणका क्रममा प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल र भन्सार प्रमुख शिवलाल न्यौपानेलगायतका अन्य प्रशासनिक अधिकारीहरूलाई बाहिरै राखेर सुरक्षा निकायका अधिकारीहरूलाई मात्रै बन्द कोठाभित्र राखेर केरकार गरेका थिए ।
छलफलका क्रममा गृहमन्त्रीले इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डीएसपी निशेष चापागाईं र सशस्त्र प्रहरीका डीएसपी विकास थापालाई आफ्ना मोबाइल फोनहरू टेबुलमा राख्न निर्देशन दिएका थिए । स्रोतका अनुसार ती दुवै डीएसपीका मोबाइल फोनहरू अनुसन्धानका लागि तत्काल नियन्त्रणमा लिएर ‘फरेन्सिक ल्याब’ (विधि विज्ञान प्रयोगशाला) पठाउन गृहमन्त्रीले निर्देशन दिएका थिए ।
ती मोबाइलमा भएका कल डिटेल, ह्वाट्सएप च्याट र तस्करहरूसँगको संवाद रहे नरेको हेरिने सुरक्षा स्रोतले जानकारी दिएको छ ।
मेची नगरपालिकाको सीमा क्षेत्र जोरसिमल चेकपोष्टमा खटिएका वरिष्ठ हवल्दार श्याम चौधरी र सहायक हवल्दार नारायण खनालको मोबाइल पनि जफत गरिएको स्रोतको दाबी छ । उनीहरूले तस्करहरूसँग सिधै सम्पर्क राख्ने र सीमामा कुन बेला कुन गाडी छिराउने भन्ने निर्णय गर्ने गरेको दाबी गरिएको छ ।
‘तस्करीको सामान बोकेका काला सिसा लगाइएका गाडीहरू ९० किलोमिटर प्रतिघण्टाको गतिमा हुइँकिँदा पनि प्रहरीले चेकजाँच गर्दैन,’ मेचेले भनेकी थिइन्, ‘गाडीहरूमा लत्ताकपडा र खाद्यान्न मात्र होइन, लागू औषध र विष्फोटक पदार्थसमेत हुन सक्ने खतरा हुन्छ ।’
यता, डीएसपी निशेष चापागाईंले भने आफ्नो मोबाइल मन्त्रीले नियन्त्रणमा लिएको कुरालाई अस्वीकार गरेका छन् । प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख डीआईजी विनोद घिमिरेले पनि आफू त्यस घटनाबारे जानकार नरहेको बताए ।
‘यो उतै सोध्नुपर्ने विषय हो । म झापा गएको पनि थिइनँ । तपाईंले जस्तै मिडियामा आएर थाहा पाएको हुँ,’ घिमिरेले भने ।
गृहमन्त्री गुरुङले भने भन्सार कार्यालयभित्रै भएको केरकारका क्रममा भने अधिकारीहरुको बैंक एकाउन्ट र मोबाइलका सन्देशहरूले सबै कुरा बोल्ने बताएका थिए । ‘जनताले सास्ती पाउने र केही सीमित व्यक्तिले तस्करीबाट अकुत सम्पत्ति कमाउने दिन अब सकिए,’ उनले भनेका थिए ।
विराटनगरको जोगमनी, झापाको भद्रपुर र काँकडभिट्टाजस्ता नाकाहरूबाट संगठित रूपमा हुने तस्करीले स्वदेशी उद्योगलाई धराशायी बनाउँदै आएको छ । गृहमन्त्रीको यो अनुगमनले संगठित तस्करी हुने गरेको विषय छताछुल्ल भएको छ ।
भन्सारका एक अधिकृतका अनुसार मन्त्रीको यो सक्रियताले पहिलो पटक तस्करीको लाइन अवरुद्ध भएको छ । ‘यस्तो डर कहिल्यै देखिएको थिएन, अब यो कति दिन टिक्छ भन्ने मात्र हो,’ ती अधिकृतले भने ।
सुरक्षा स्रोतका अनुसार झापाको भद्रपुर नगरपालिकाको पूर्वतर्फ नेपाल बैंक नजिकैको क्षेत्रबाट मनोज र सुबोध नाम गरेका व्यक्तिहरूको समूहले गुट्खा बनाउने कच्चा पदार्थ, लत्ताकपडा र सीटीसी चियामा प्रयोग गरिने प्रतिबन्धित रङको अवैध कारोबार गर्ने गर्दछन् ।
सशस्त्र प्रहरी बल (एपिएफ) को क्याम्पभन्दा केही दक्षिणतर्फबाटै ठुलो मात्रामा तस्करी हुने गरेको छ । यहाँ तुला, दीपक, भिमा, गणेश, मेघु, अजय र राजन ढुसी भनिने व्यक्तिहरू सक्रिय छन् । यो समूहले मुख्यगरी कपडा, सवारी साधनका पार्टपूर्जा र माछाको अवैध पैठारी गर्ने गरेको स्रोतको दाबी छ ।
तस्करीको जालोमा महिलाहरूको संलग्नता पनि उत्तिकै देखिएको छ । सतिघट्टा नाकाबाट कला नामकी महिलाले कपडाको तस्करी गरिरहेकी छिन् भने राइसिङ पुल र मिलन चोक (बाहुनडाँगी क्षेत्र) मा सीताको समूहले कपडाको अवैध कारोबार सम्हालिरहेको छ । यस्तै, फोहोरमैला व्यवस्थापन क्षेत्र र मेची डाँडाबाट उषा नामकी महिलाले कपडा तस्करीको नेतृत्व गरिरहेको स्रोत दाबी गर्छ ।
बाहुनडाँगीको साधुगौडा र तिरिङ क्षेत्रमा हात्ती धपाउन बनाइएका टुङ (मचान) छेउका लुकिछिपी बाटोहरू प्रयोग गरी श्याम लामा र नेत्र सुब्बाले सीताका सामानहरू सीमा पार गराउने जिम्मा लिएका छन् ।
नेपालमा मलको हाहाकार भइरहँदा बाहुनडाँगी प्रहरी चौकीकै नजिकबाट दैनिक २५० देखि ३०० बोरा युरिया मल साइकलमा राखेर मेहताको घर आसपासबाट ओसारपसार हुने गरेको स्रोतको भनाइ छ ।
तस्करहरूले साना सवारी, साइकल र भरियाको प्रयोग गरी सामान ओसार्ने गरेका छन् । इलामको पशुपतिनगर, मानेभन्ज्याङ र जौबारीदेखि झापाका दर्जनौँ नाकाहरूमा तस्करीको लाइन खुला रहनुमा सशस्त्र र जनपद प्रहरीका अधिकारीहरूकै मौन समर्थन रहेको आरोप लागेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्षणभरमै फेरियो सिंहदरबारको दृश्य, नियमविपरीत पार्किङ गरिएका सवारी साधनहरूको ह्विल लक
-
सुर्खेत बहुमुखी क्याम्पसमा भर्ना शुल्ककाे विरोध
-
सय दिनमा सरकारले अभूतपूर्व काम गरेको अर्थमन्त्रीको दाबी
-
मुद्रास्फीतिलाई ५.५ प्रतिशतको सीमाभित्र राख्ने राष्ट्र बैंकको लक्ष्य
-
ऋण लिन बैंक नै चाहिने अवस्था अन्त्य गर्दै राष्ट्र बैंक
-
सोमबारदेखि नयाँ कम्पनीले राहदानी छाप्ने, डाटा सार्न यो साता सेवा प्रभावित हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण