मङ्गलबार, २३ असार २०८३
ताजा लोकप्रिय

तीन वर्षभित्र कर्णालीका सबै स्थानीय तहका केन्द्र जोड्ने सडक दुई लेन बनाइने

मङ्गलबार, २३ असार २०८३, १३ : ५६
मङ्गलबार, २३ असार २०८३

सारांश

  • सरकारले आगामी तीन वर्षभित्र कर्णाली प्रदेशका सबै स्थानीय तहका केन्द्र र जिल्ला सदरमुकाम जोड्ने सडकलाई दुई लेनमा स्तरोन्नति गर्ने घोषणा गरेको छ ।
  • पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले राष्ट्रिय सभामा सांसदहरूको प्रश्नको जवाफ दिँदै कर्णाली क्षेत्रका सडक र पुल निर्माणलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताए ।
  • मन्त्री लम्सालले पहिरो नियन्त्रणका लागि करिब २७ अर्ब रुपैयाँ बजेट व्यवस्थापन गरिएको र उत्तरी चिनियाँ सीमानासम्म सडक सञ्जाल विस्तारलाई पनि प्राथमिकता दिइएको जानकारी दिए ।

काठमाडौँ । सरकारले कर्णाली प्रदेशका सबै स्थानीय तहका केन्द्र र जिल्ला सदरमुकाम जोड्ने सडकलाई आगामी तीन वर्षभित्र दुई लेन बनाउने घोषणा गरेको छ । 

पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले राष्ट्रिय सभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन् । कर्णाली क्षेत्रका सडक र पुलको निर्माण कार्य सरकारको उच्च प्राथमिकतामा रहेको मन्त्री लम्सालले बताए ।

हाल निर्माणाधीन सडक खण्डमा करिब ९ वटा पुलहरू ‘डिजाइन एण्ड बिल्ड’ विधिबाट अगाडि बढाउने प्रक्रियामा रहेको जानकारी दिँदै उनले स्थलगत अध्ययनपछि आवश्यकताअनुसार थप पुलहरू निर्माण गरिने उल्लेख गरे । पुल र सडकको वास्तविक अवस्था बुझ्न र देखिएका समस्या समाधान गर्न आफू आगामी साउन ३ गते स्थलगत निरीक्षणमा जान लागेको मन्त्री लम्सालको भनाइ थियो ।

सदनमा बोल्दै मन्त्री लम्सालले भने, ‘हाल कायम रहेका एक लेनका सडकहरूलाई तीन वर्षभित्र दुई लेनमा विस्तार गर्ने सरकारको लक्ष्य छ । यसै आर्थिक वर्षमा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) र लागत अनुमान तयार गरी काम शुरु गरिनेछ । पहिचान भएका पहिरोहरूको दीर्घकालीन समाधानका लागि करिव २७ अर्ब रुपैयाँ बजेट व्यवस्थापन गरिएको छ । आगामी तीन वर्षभित्र पहिरोको समस्या अन्त्य गर्ने गरी काम भइरहेको छ ।’

मुगु लगायत कर्णालीका सडक सञ्जाल नपुगेका वा कच्ची सडक रहेका पालिका केन्द्रसम्म सुरक्षित सडक पुर्‍याउन पर्याप्त बजेट विनियोजन गरिएको र यसै वर्ष टेण्डर प्रक्रिया अगाडि बढ्ने जानकारी उनले दिए । सडक दुर्घटना न्यूनीकरणका लागि सडकको स्तरोन्नति अनिवार्य रहेको उल्लेख गर्दै मन्त्री लम्सालले पहिरो नियन्त्रणका लागि सरकारले विशेष योजना अघि सारेको बताए ।

यसका साथै, उत्तरी चिनियाँ सीमानासम्म सडक सञ्जाल विस्तार गर्ने कार्यलाई पनि सरकारले विशेष प्राथमिकतामा राखेको छ । पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण मानिएको यस सडक खण्डलाई सीमासम्मै पुर्‍याउने गरी काम अगाडि बढाइने मन्त्री लम्सालले सभालाई जानकारी दिए । स्थलगत निरीक्षणबाट फर्केपछि सडक र पुलको थप विस्तृत विवरण सदनमा पेस गर्ने उनले बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप