मङ्गलबार, २३ असार २०८३
ताजा लोकप्रिय
विश्वकप

एक अमेरिकी सपनाको अवसान, बालोगुन विवादकै कारण अमेरिकाले सहानुभूति समेत गुमायो

मङ्गलबार, २३ असार २०८३, १४ : ५७
मङ्गलबार, २३ असार २०८३

सारांश

  • बेल्जियमसँग ४-१ को लज्जास्पद हार बेहोर्दै अमेरिका विश्वकप फुटबलको अन्तिम १६ बाट बाहिरिएको छ।
  • बालोगुन विवाद र कमजोर रक्षापंक्ति अमेरिकाको हारको मुख्य कारण बनेको छ।
  • यस हारले अमेरिकामा फुटबलको भविष्यमाथि प्रश्नचिह्न खडा गरेको छ।

काठमाडौँ । अमेरिकाले खेलेका विश्वकप फुटबल खेल विशेष तामझामबाट सुरु हुन्थे । देशभक्तिपूर्ण नाराले गुञ्जिएको उत्साही समर्थक समूह, आतिशबाजी, धुवाँका फ्लेयर र अमेरिकी सैन्य विमानहरूको प्रदर्शन । यी सबथोक त्यहाँ थिए ।

तर पहिलो पटक विश्वकप जित्ने अमेरिकी सपना मंगलबार बिहान अव्यवस्थित ढंगले समाप्त भयो । बेल्जियमसँग ४–१ को लज्जास्पद हार बेहोरेपछि अमेरिकाको विश्वकप यात्रा अन्त्य भयो ।

यो सन् १९९० यताकै अमेरिकाको सबैभन्दा ठुलो हार थियो । यसअघि टोलीका खेलमा देखिएको उत्साहपूर्ण वातावरण अन्तिम सिटी बज्नुअघि नै फिक्का बनिसकेको थियो । बेल्जियमले चौथो गोल गरेपछि सियाटल स्टेडियमबाट समर्थकहरू ठुलो सङ्ख्यामा बाहिरिन थाले ।

सह–आयोजक अमेरिकाको अन्तिम १६ बाट भएको यो बहिर्गमन केही दिन यता चर्चामा रहेको अर्को विवादसँग पनि जोडिएको थियो । अघिल्लो खेलमा रातो कार्ड पाएका फोलारिन बालोगुनमाथि एक खेलको प्रतिबन्ध फिफाले विवादास्पद रूपमा स्थगित गरेपछि उनी बेल्जियमविरुद्ध खेल्न पाएका थिए ।

यसअघि अमेरिकाको उत्कृष्ट प्रदर्शनले देशभर उत्साह जगाएको थियो, तर बालोगुन प्रकरणले त्यो सकारात्मक माहोलमा असर पारेको देखियो, जुन कुरा बेल्जियमले पनि महसुस गरेको थियो ।

खेलअघि बेल्जियमका डिफेन्डर टिमोथी कास्टान्येले भने, ‘अमेरिकाविरुद्ध संसार हाम्रो पक्षमा रहेको देख्दा राम्रो लागेको छ ।’ बालोगुनले पनि आफूमाथिको निर्णय विवादास्पद हुने अपेक्षा गरेको बताएका थिए ।

उनले भने, ‘रातो कार्ड पाउँदा मैले निर्णय स्वीकार गरेको थिएँ, पछि खेल्न पाउने भनिएपछि त्यो निर्णय पनि स्वीकार गरेँ । यस विषयमा भन्नुपर्ने अरू धेरै कुरा छैन ।’

बालोगुन विवादले अमेरिकालाई कति असर गर्‍यो ?

नतिजामात्रै होइन, अमेरिकाको प्रदर्शन नै यसअघि देखिएकोभन्दा फरक थियो । पोचेटिनोले प्रतियोगिताको सुरुवातमा टोलीमा रहेको ‘अन्डरडग’ मानसिकता हटाउँदै आत्मविश्वासपूर्ण र आक्रामक फुटबल खेलाएका थिए । त्यसैले धेरै समर्थकलाई अमेरिकाले यसपटक चमत्कार गर्न सक्ने विश्वास थियो ।

खेलअघि एक समर्थकले भनेका थिए, ‘हामी विश्वकप जित्नेछौँ ।’ सियाटल स्टेडियमबाहिर भेला भएका धेरै समर्थकमा यस्तै आत्मविश्वास देखिन्थ्यो ।

धेरैले अघिल्लो खेलमा बोस्निया–हर्जेगोभिनाका डिफेन्डर तारिक मुहरेमोभिचमाथि गरेको फाउलका कारण सोझै रातो कार्ड पाए पनि बालोगुनलाई खेल्न अनुमति दिइएकोमा खुसी व्यक्त गरेका थिए । फिफाले उनको स्वचालित एक खेल प्रतिबन्ध १२ महिनाका लागि स्थगित गर्ने निर्णय गरेपछि व्यापक आलोचना भएको थियो । युइएफए, बेल्जियम र इंग्ल्यान्डका प्रशिक्षक थोमस टुचेलले समेत यसको विरोध गरेका थिए ।

यो विवाद अमेरिकी राजनीतिसम्म पुगेको थियो । राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार आफूले फिफालाई निर्णय पुनरावलोकन गर्न आग्रह गरेको बताए । उनका अनुसार त्यो फाउल नै थिएन ।

विश्वकपमा तीन गोल गरिसकेका बालोगुन बेल्जियमविरुद्ध मैदान उत्रिए पनि प्रभाव जमाउन सकेनन् । खेलपछि प्रशिक्षक पोचेटिनोलाई सोधियो, ‘के अत्यधिक चर्चाको केन्द्र बन्नुले असर गर्‍यो ?’

पोचेटिनोले भने, ‘यसले हाम्रो प्रदर्शनमा असर गरेन । यो कुनै बहाना होइन । आज हाम्रो दिन थिएन । तर व्यक्तिगत रूपमा हेर्दा, मानिसहरूले गाली गर्नु वा खराब सन्देश पठाउनुको अर्थ के हो ?’

‘प्रतिबन्धविरुद्ध अपिल गर्नु संघको अधिकार हो । मेरो काम टोलीलाई प्रशिक्षण दिनु थियो । यदि फिफाले बालोगुनलाई खेल्न अनुमति दिएको हो भने त्यो हाम्रो समस्या होइन ।’

‘धेरै मानिसको व्यवहारबाट म निराश छु । उनीहरूले राजनीति, हेरफेर, नैतिकता र इमानदारीको कुरा गरे । फुटबलको इतिहास हेर्दा व्यक्तिगत रूपमा म निराश छु ।’

बेल्जियमका प्रशिक्षक रुडी गार्सियाले खेलपछि बालोगुन आफूकहाँ आएको खुलासा गरे । उनले भने, ‘यो उनको गल्ती होइन । दोष उनीमाथि लगाउन मिल्दैन । मैले उनलाई यही कुरा भनेँ ।’

कमजोर रक्षापंक्तिले डुबायो अमेरिकालाई

अमेरिकाको मुख्य समस्या आक्रमणभन्दा पनि रक्षापंक्तिमा देखियो । पहिलो गोलमा चाल्र्स डे केटेलारेलाई बक्सभित्र कसैले मार्क गर्न सकेन र उनले सहजै गोल गरे । अमेरिकाले बराबरी गोल फर्काएलगत्तै डे केटेलारेले दुई डिफेन्डरलाई उछिन्दै हेडमार्फत दोस्रो गोल थपे ।

तर तेस्रो गोल सबैभन्दा लज्जास्पद बन्यो । अमेरिकी गोलरक्षक म्याट फ्रिज बल क्लियर गर्न आफ्नो क्षेत्रबाहिर निस्किएका थिए । त्यसै बेला डे केटेलारेले बल खोसे र हान्स भानाकेनले पेनाल्टी क्षेत्रबाहिरबाट सहजै बललाई पोस्टको कुनामा छिराए । त्यससँगै बेल्जियम ३–१ ले अघि बढ्यो र अमेरिकी समर्थकहरूको आत्मविश्वास पनि समाप्त भयो ।

अन्तिम १० मिनेटमै दर्शकहरू मैदान छाड्न थाले । इन्जुरी समयमा रोमेलु लुकाकुले चौथो गोल गरेपछि झन् धेरै समर्थक घर फर्किए । एक निराश समर्थकले भने, ‘बलका लागि लड्ने इच्छाशक्ति नै देखिएन । आज टोलीमा कुनै ऊर्जा थिएन । फुटबल नै जीवितजस्तो लागेन ।’

अर्का समर्थकले भने, ‘अमेरिकाले धेरै अनावश्यक गल्ती गर्‍यो । उनीहरूले आफ्नो उत्कृष्ट खेल खेलेनन् । बेल्जियमले जित्न आवश्यक खेल खेल्यो र दर्शकलाई पूर्ण रूपमा मौन बनायो ।’

पोचेटिनोले पनि सुरुदेखि नै आफ्नो टोली खेलमा समाहित हुन नसकेको स्वीकार गरे ।

उनले भने, ‘सुरुदेखि नै हामी खेलसँग जोडिन सकेनौँ । हामी कहिल्यै खेलमा थिएनौँ । बराबरी गोल गरेपछि तुरुन्तै अर्को गोल खायौँ । सुरुदेखि नै अवस्था निकै कठिन थियो ।’

यस हारले अमेरिकामा विश्वकपको विरासतलाई कस्तो असर पार्ला ?

विश्वकप सुरु हुनुअघि अमेरिकामा उत्साह अपेक्षाकृत कम देखिए पनि प्रतियोगिता सुरु भएपछि माहोल पूर्ण रूपमा बदलिएको थियो । देशभरका फ्यान जोन र बारहरू समर्थकले भरिएका हुन्थे भने अमेरिकी राष्ट्रिय टोलीको जर्सी जताततै देखिन्थ्यो ।

d903f830-79ba-11f1-8257-1765759c449e.jpg

नकआउट चरणसम्मको यात्रा र आकर्षक आक्रामक फुटबलले फुटबलप्रतिको चासो उल्लेखनीय रूपमा बढाएको थियो । तर अहिले अमेरिका पनि सह–आयोजक क्यानडा र मेक्सिकोसँगै अन्तिम १६ बाट बाहिरिएको छ ।

अमेरिकी मिडफिल्डर टायलर एडम्सले भने, ‘आजको हारले हामीले हासिल गर्न खोजेको सम्पूर्ण उपलब्धिको प्रतिनिधित्व गर्न सक्दैन । राम्रो र खराब दुवै दिन हुन्छन् । आज खराब दिन थियो । हामी चाहेजति अगाडि बढ्न सकेनौँ, तर यदि हाम्रो यात्राले केही बालबालिकालाई प्रेरित गर्‍यो भने हामीले केही सही काम गरेका छौँ ।’

बीबीसी स्पोट्र्ससँग कुरा गरेका धेरै समर्थकले पनि केही समयपछि समग्र प्रदर्शनलाई सकारात्मक रूपमा हेरिने विश्वास व्यक्त गरे । तर उनीहरूका अनुसार अमेरिका अझै स्थापित फुटबल राष्ट्र बन्न धेरै टाढा छ ।

एक समर्थकले भने, ‘हामीले उत्कृष्ट प्रतियोगिता आयोजना गर्‍यौँ । देशमा फुटबलको भविष्यप्रति हामी निकै उत्साहित छौँ ।’

‘यस देशमा अहिले सबैले विश्वकपकै चर्चा गरिरहेका छन्,’ अर्का समर्थकले थपे, ‘दीर्घकालीन रूपमा हामीले अझै धेरै प्रगति गर्न बाँकी छ । केही देशमा फुटबल संस्कृति पुस्तौँदेखि बनेको छ । हामी अझै त्यो स्तरमा पुगेका छैनौँ ।’

अब पोचेटिनोको भविष्य के हुन्छ ?

पूर्व टोटेनहम प्रशिक्षक पोचेटिनोको अमेरिकासँगको सम्झौता विश्वकप सकिएसँगै समाप्त हुँदैछ, तर खेलपछि उनले आफ्नो भविष्यबारे कुनै स्पष्ट सङ्केत दिएनन् ।

उनले भने, ‘अब केही समय विश्राम गर्ने, सोच्ने, छलफल गर्ने र संघ तथा हाम्रो निर्णय के हुन्छ हेर्ने समय हो । हामीबिच निकै राम्रो सम्बन्ध बनेको छ, तर अहिले त्यसबारे कुरा गर्ने समय होइन । यदि संघले चाहे आगामी केही सातामा हामी भविष्यबारे छलफल सुरु गर्न सक्छौँ ।’

बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप